सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेरि भरोसा गर्न थाल्नुहोस्‌

फेरि भरोसा गर्न थाल्नुहोस्‌

परिवार आनन्दमय बनाउने तरिकाहरू

फेरि भरोसा गर्न थाल्नुहोस्‌

स्टीभ a: “जेनीले यसरी धोका देलिन्‌ भनेर मैले सपनामा पनि चिताएको थिइनँ। अवैध सम्बन्ध गाँस्नेलाई कसरी भरोसा गरूँ? उनलाई माफी दिन मलाई कत्ति गाह्रो भयो, शब्दमा व्यक्‍त गर्नै सक्दिनँ।”

जेनी: “मलाई थाह छ, मैले उहाँको भरोसा तोडेकी छु। म अत्यन्तै लज्जित छु। साँच्चै माफी माग्न चाहन्छु भनेर उहाँलाई प्रमाण दिन मलाई वर्षौं लाग्यो।”

अवैध यौनसम्बन्ध राख्ने व्यक्‍तिसित सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर निर्णय गर्ने छुट बाइबलले निर्दोष पति वा पत्नीलाई दिएको छ। b (मत्ती १९:९) तर माथि उल्लिखित स्टीभले भने सम्बन्धविच्छेद नगर्ने निर्णय गरे। तिनी र तिनकी पत्नी जेनीले वैवाहिक सम्बन्धलाई निरन्तरता दिने अठोट गरे। तथापि सँगै जीवन बिताउने अठोट भएर मात्र पुग्दैन रहेछ भनेर तिनीहरूले बुझिहाले। किन? तिनीहरूले गरेको टिप्पणीअनुसार जेनीको नाजायज सम्बन्धले गर्दा तिनीहरूबीचको भरोसा चकनाचुर भइसकेको थियो। दाम्पत्य जीवन सुखमय बनाउन भरोसा अत्यावश्‍यक भएकोले बिग्रेको सम्बन्ध सुधार्न तिनीहरू दुवैले धेरै मेहनत गर्नुपर्छ।

नाजायज सम्बन्धजस्तो गम्भीर कुराले गर्दा श्रीमान्‌-श्रीमतीबीच फाटो आएको थियो तर तपाईंहरू आफ्नो दाम्पत्य जीवन जोगाउन सक्दो प्रयास गर्दै हुनुहुन्छ भने तपाईंहरूलाई पक्कै सजिलो हुनेछैन। त्यस्तो सम्बन्धबारे चाल पाएको सुरुका केही महिना सहन निकै गाह्रो हुन सक्छ। तर वैवाहिक सम्बन्ध जोगाउन गरेको प्रयास खेर जाँदैन। तपाईंहरू गुमेको भरोसा फेरि कसरी कमाउन सक्नुहुन्छ? बाइबलमा पाइने बुद्धिमानी सल्लाहले मदत गर्न सक्छ। यी चार सुझाव विचार गर्नुहोस्‌:-

१ एकअर्कासित इमानदार हुनुहोस्‌। प्रेषित पावलले लेखे: “तिमीहरूले झूट त्यागिसकेको हुनाले अब . . . सत्य बोल।” (एफिसी ४:२५) झूट अनि अर्ध-सत्यले मात्र होइन, केही नबोली चुपचाप बस्दा पनि आपसी भरोसा गुम्छ। त्यसैले एकअर्कासित खुलस्त अनि इमानदार भई कुराकानी गर्नुहोस्‌।

सुरुमा तपाईं यस विषयमा कुरा गर्नै चाहनुहुन्‍न होला। तर कुनै न कुनै दिन त्यसबारे खुलस्त कुरा गर्नै पर्ने हुन्छ। तपाईं एक-एक कुरा नकोट्याउने विचार गर्नुहुन्छ होला तर त्यसबारे पटक्कै कुराकानी नगर्नु पनि बुद्धिमानी होइन। जेनी भन्छिन्‌, “सुरुमा त त्यसबारे कुरा गर्न एकदमै गाह्रो भयो, साह्रै फोहोरी महसुस भयो। त्यस्तो कुकर्म गरेकोमा मलाई साह्रै पछुतो लाग्छ। त्यो घटना बिर्सेर पनि सम्झन चाहन्‍नँ।” तर कुराकानी नगर्दा समस्या झनै चर्किन सक्छ। किन? स्टीभ भन्छन्‌, “जेनीले आफ्नो अवैध सम्बन्धबारे कुरै गर्न नचाहेकोले मलाई शङ्‌का लागिरह्‍यो।” त्यतिखेरको कुरा सम्झँदै जेनी स्वीकार्छिन्‌, “त्यसबारे उहाँसित कुरै नगर्दा बिग्रिएको सम्बन्धमा मलहमपट्टी लगाउनै सकेनौं।”

हो, यस्तो विश्‍वासघातबारे अलिकता मात्रै कुरा उप्काउन खोज्नु पनि सहिनसक्नु हुन्छ। दीपाका श्रीमान्‌ पवनले सेक्रेटरीसित अवैध सम्बन्ध राखेछन्‌। दीपा भन्छिन्‌, “मनमा तीनथुप्रा प्रश्‍न थिए। कसरी? किन? उनीहरू के कुरा गर्छन्‌? एकोहोरो यही विषयमा मात्र सोचिरहेकीले मेरो मन छियाछिया भयो। समय बित्दै जाँदा मनमा अझ धेरै प्रश्‍न उब्जन थाले।” पवन भन्छन्‌, “कहिलेकाहीं दीपा र मेरो कुराकानी भनाभनमा परिणत हुन्थ्यो र त्यसो हुनु स्वाभाविकै थियो। तर पछि हामी सधैं एकअर्कासित माफी माग्थ्यौं। इमानदार भई कुराकानी गरेकोले हामी एकअर्कासित घनिष्ठ हुन सक्यौं।”

तपाईं यस्तो कुराकानीलाई कसरी तनावमुक्‍त बनाउन सक्नुहुन्छ? तपाईंको मुख्य उद्देश्‍य दोषी श्रीमान्‌ वा श्रीमतीलाई सजाय दिनु होइन, बरु यो दुःखद घटनाबाट पाठ सिकेर वैवाहिक सम्बन्धलाई दह्रिलो बनाउनु हो। चल शू र तिनकी श्रीमती मी योङ्‌लाई नै लिनुहोस्‌। चल शूले अवैध सम्बन्ध राखेको मी योङ्‌ले थाह पाएपछि तिनीहरूले आफ्नो सम्बन्धलाई केलाएर हेरे। चल शू भन्छन्‌, “म आफ्नै कुरामा मस्त थिएँ भनेर मैले थाह पाएँ। मेरो ध्याउनै अरूलाई खुसी पार्नमा थियो। मानिसहरू मबाट जे चाहन्थे, म त्यही गर्थें। म आफ्नो अधिकांश समय र ध्यान अरूलाई नै दिन्थें। त्यसैले श्रीमतीलाई समय नै दिन सकिरहेको थिइनँ।” समस्या के हो बुझेपछि चल शू र मी योङ्‌ले आवश्‍यक छाँटकाँट गरे र समयमा तिनीहरूको सम्बन्ध सुध्रियो।

यसो गरे कसो होला? धोका तपाईंले दिएको हो भने बहाना बनाउने वा निर्दोष जीवनसाथीलाई दोष दिने नगर्नुहोस्‌। गल्ती स्वीकार्नुहोस्‌; तपाईंले गर्दा नै यस्तो दुःख आइपरेको हो भनेर मानिलिनुहोस्‌। तर तपाईं निर्दोष जीवनसाथी हो भने दोषी श्रीमान्‌ वा श्रीमतीसित चिच्याउने कराउने नगर्नुहोस्‌ र अपशब्द पनि नबोल्नुहोस्‌। दुर्वचन लगाउनुभएन वा कुवाच्य बोल्नुभएन भने दोषी जीवनसाथीले तपाईंसित खुलस्त कुराकानी गर्न सक्नेछन्‌।—एफिसी ४:३२.

२ मिलेर काम गर्नुहोस्‌। बाइबल भन्छ, “एकभन्दा दुई असल हो।” किन? “तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्‌, किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्‌न सहायता गर्छ।” (उपदेशक ४:९, १०) फेरि भरोसा गर्न थाल्न सक्दो प्रयास गर्दै हुनुहुन्छ भने यो सिद्धान्त सत्य साबित हुन्छ।

तपाईंहरू मिलेर कोसिस गर्दै हुनुहुन्छ भने फेरि भरोसा गर्न सक्नुहुनेछ। तर आफ्नो दाम्पत्य जीवन जोगाउने सङ्‌कल्प दुवै जनाले गर्नुपर्छ। एकलैले मात्र प्रयास गर्न खोज्नुभयो भने तपाईंले समस्यामाथि समस्या थोपरिरहेको हुनेछ। दुवैले एकअर्कालाई साथी ठान्दै सँगै प्रयास गर्नुपर्छ।

स्टीभ र जेनीले त्यसै गरे। जेनी भन्छिन्‌, “समय लाग्यो। तर हामी दुवैले मिलेर कोसिस गर्दा हाम्रो सम्बन्ध बलियो भयो। मैले अब फेरि कहिल्यै उहाँको चित्त नदुखाउने प्रण गरें। उहाँको मन भाँचिएको थियो तैपनि उहाँ हाम्रो वैवाहिक सम्बन्ध टुक्रिएको चाहनुहुन्‍न थियो। सधैं उहाँप्रति वफादार रहनेछु भनेर म हरेक दिन उहाँलाई विभिन्‍न तरिकाले आश्‍वस्त पार्छु। उहाँले पनि मलाई माया गर्न छोड्‌नुभएको छैन। यसको लागि म सधैं उहाँप्रति कृतज्ञ छु।”

यसो गरे कसो होला? श्रीमान्‌-श्रीमतीले फेरि एकअर्कालाई भरोसा गर्न सिक्न मिलेर काम गर्ने अठोट गर्नै पर्छ।

३ पुरानो बानी त्यागेर नयाँ बानी विकास गर्नुहोस्‌। श्रोताहरूलाई अवैध यौनसम्बन्धबारे होसियार गराइसकेपछि येशूले यस्तो सल्लाह दिनुभयो: “यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ।” (मत्ती ५:२७-२९) दोषी जीवनसाथी तपाईं हो भने आफ्नो वैवाहिक सम्बन्धलाई जोगाउन के-कस्ता काम गर्न छोड्‌नुपर्ने हो वा के-कस्ता झुकाव मनबाट निकालेर फाल्नुपर्ने हो, विचार गर्न सक्नुहुन्छ कि?

कुरा स्पष्ट छ, जससित अवैध यौनसम्बन्ध राख्नुभएको थियो, तिनीसित तपाईंले कुनै किसिमको सम्बन्ध राख्नुहुँदैन। c (हितोपदेश ६:३२; १ कोरिन्थी १५:३३) यसअघि उल्लेख गरिएका पवनले सेक्रेटरीसित फेरि भेटघाट नहोस्‌ भनेर काम गर्ने समयमा फेरबदल गर्नुका साथै मोबाइलफोनको नम्बर पनि परिवर्तन गरे। तर त्यतिले मात्र पुगेन। पवन हर हालतमा आफ्नी श्रीमतीको भरोसा कमाउन चाहन्थे, त्यसैले तिनले जागिर नै छोडिदिए। तिनले आफ्नो फोन पनि फालिदिए र श्रीमतीको फोन मात्र प्रयोग गर्न थाले। तिनको यस्तो त्याग खेर गयो कि? तिनकी श्रीमती दीपा भन्छिन्‌, “यो घटना भएको छ वर्ष बितिसक्यो। तैपनि त्यसले फोन गर्ला कि भन्‍ने चिन्ताले कहिलेकाहीं सताउँछ। तर अहिले म उहाँलाई भरोसा गर्न सक्छु। उहाँ फेरि प्रलोभनमा पर्नुहुनेछैन भनेर म ढुक्क छु।”

दोषी जीवनसाथी तपाईं हो भने तपाईंले आफ्नो व्यक्‍तित्व पनि परिवर्तन गर्नुपर्ने हुन्छ। जस्तै, तपाईंको बानी अरूलाई मन पराएको भान पर्नेगरि जिस्कने (फ्लर्ट गर्ने) वा अरूसित रोमान्स गरेको कल्पनामा रमाउने हुन सक्छ। त्यसो हो भने “पुरानो व्यक्‍तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काइ”-दिनुहोस्‌। यसको साटो तपाईंको जीवनसाथीले तपाईंलाई अझै भरोसा गर्न सक्ने नयाँ बानी विकास गर्नुहोस्‌। (कलस्सी ३:९, १०) पारिवारिक पृष्ठभूमि र हुर्केको वातावरणले गर्दा तपाईं स्वभावैले स्नेह व्यक्‍त गर्न सक्नुहुन्‍न कि? सुरुमा त तपाईंलाई अप्ठेरो लाग्छ होला। तर पनि जीवनसाथीलाई धेरै माया गरेको देखाइरहनुहोस्‌ र तिनलाई मात्र माया गरेको प्रमाण दिनुहोस्‌। स्टीभ सम्झन्छन्‌, “अक्सर जेनी सुस्तरी मेरो हात छोएर स्नेह व्यक्‍त गर्छिन्‌। उनी मलाई ‘आइ लभ यू’ पनि भनिरहन्छिन्‌।”

केही समय आफ्नो सम्पूर्ण गतिविधिबारे एक-एक जानकारी खुलाउँदा राम्रो हुन्छ। यसअघि उल्लेख गरिएकी मी योङ्‌ भन्छिन्‌, “दिनभरि के-के भयो, उहाँ मलाई सबै बताउनुहुन्थ्यो। मसित कुनै कुरा लुकाएको छैन भनेर सानो-सानो कुरासमेत सुनाउनुहुन्थ्यो।”

यसो गरे कसो होला? के गर्दा आपसी भरोसा पुनः बढाउन सकिन्छ, एकअर्कालाई सोध्नुहोस्‌। त्यसको सूची बनाउनुहोस्‌ र त्यसैअनुसार व्यवहारमा लागू गर्नुहोस्‌। साथै दुवै मिलेर रमाइलो गर्न सकिने गतिविधि पनि आफ्नो तालिकामा थप्नुहोस्‌।

४ कहिले सम्बन्धलाई अघि बढाउने निर्णय गर्नुहोस्‌। पहिलेकै जस्तो सामान्य जीवन सुरु गर्ने समय यही हो भन्‍ने निष्कर्षमा पुग्न हतार नगर्नुहोस्‌। हितोपदेश २१:५ यस्तो चेतावनी दिन्छ, “हतार गर्ने मानिस निश्‍चय कङ्‌गाली हुन्छ।” आपसी भरोसा पुनः विकास गर्न समय लाग्छ, सायद वर्षौं।

तपाईंलाई जीवनसाथीले धोका दिएको हो भने तिनलाई पूर्णतया माफी दिइहाल्नुभन्दा केही समय पर्खनुहोस्‌। मी योङ्‌ सम्झन्छिन्‌, “विश्‍वासघात गर्ने श्रीमान्‌लाई श्रीमतीले माफी दिन नसकेको देख्दा मलाई साह्रै अनौठो लाग्थ्यो। त्यति लामो समयसम्म पनि किन रिसाइराख्नुपरेको होला, म बुझ्नै सक्दिनथें। तर मेरो आफ्नै श्रीमान्‌ले मलाई धोका दिंदा माफी दिनु वास्तवमा कत्ति गाह्रो रहेछ, मैले बुझें।” अक्सर केही समय बितिसकेपछि मात्र माफी दिन र भरोसा गर्न सकिन्छ।

हुन पनि उपदेशक ३:१-३ यसो भन्छ, “निको पार्ने एउटा समय” छ। सुरुमा त तपाईंलाई मनको बह नपोख्दा नै आफ्नो सुरक्षा हुन्छ जस्तो त लाग्ला। तर लामो समयसम्म यसरी बस्दा भने सम्बन्ध सुधार्न सकिंदैन। बिग्रेको सम्बन्धमा मलहम लगाउन जीवनसाथीलाई माफी दिनुहोस्‌ र आफ्नो भित्री भावना तथा विचार व्यक्‍त गरेर माफी दिएको देखाउनुहोस्‌। अनि जीवनसाथीलाई पनि तिनको दुःखसुख, चिन्ता-फिक्री तपाईंसित बाँड्‌न प्रोत्साहन दिनुहोस्‌।

मन कुँड्याउने कुराहरू मात्र सम्झेर बस्ने नगर्नुहोस्‌। यस्ता भावनालाई मनमा उब्जन नदिन भरमग्दुर प्रयास गर्नुहोस्‌। (एफिसी ४:३२) परमेश्‍वरले बसालेको उदाहरण मनन गर्दा मदत पुग्न सक्छ। प्राचीन समयका इस्राएलीहरू यहोवाका उपासकहरू थिए तर तिनीहरूले उहाँलाई त्याग्दा उहाँको असाध्यै चित्त दुख्यो। उहाँलाई कत्तिको चित्त दुखेको थियो, त्यो बुझाउन यहोवा परमेश्‍वरले आफूलाई धोका पाएको जीवनसाथीसित दाँज्नुभयो। (यर्मिया ३:८, ९; ९:२) तर उहाँले ‘सधैं रीस गरिरहनुभएन।’ (यर्मिया ३:१२) तिनीहरूले साँचो पश्‍चाताप गरेर उहाँकहाँ फर्कंदा उहाँले तिनीहरूलाई माफी दिनुभयो।

तपाईंहरू दुवैलाई सम्बन्ध सुधार्न आवश्‍यक छाँटकाँट गरिसकेको जस्तो महसुस भएपछि भने तपाईंहरू निर्धक्क हुन सक्नुहुनेछ। त्यसपछि दाम्पत्य जीवनलाई जोगाउने धुनमा मात्र लागिरहने नभई दुवैले मिलेर अन्य लक्ष्यहरू पनि हासिल गर्न सक्नुहुन्छ। तापनि बेलाबेला आफ्नो प्रगति जाँच्ने गर्नुहोस्‌। त्यतिमै चित्त बुझाएर बस्नेचाहिं नगर्नुहोस्‌। कहिलेकाहीं असफल हुँदा लत्तो नछोड्‌नुहोस्‌; कोसिस गरिरहनुहोस्‌ र एकअर्कासित गरेको वाचाप्रति प्रतिबद्ध हुनुहोस्‌।—गलाती ६:९.

यसो गरे कसो होला? दाम्पत्य जीवनलाई पहिलेको जस्तै तरिकामा बिताउन खोज्नुभन्दा नयाँ तरिकामा बिताउने र बलियो सम्बन्ध विकास गर्ने कोसिस गर्नुहोस्‌।

तपाईं सफल हुन सक्नुहुन्छ

सफल होइँदैन कि भनेर चिन्ता लाग्दा यो कुरा याद गर्नुहोस्‌: विवाहको आरम्भक परमेश्‍वर हुनुहुन्छ। (मत्ती १९:४-६) त्यसैले उहाँको मदत पाएर तपाईं आफ्नो वैवाहिक सम्बन्धलाई जोगाउन सक्नुहुन्छ। यस लेखमा उल्लेख गरिएका तीनै दम्पतीले बाइबलमा पाइने बुद्धिमानी सल्लाह पालन गरेर आ-आफ्नो सम्बन्धलाई जोगाउन सफल भए।

स्टीभ र जेनीको जीवनमा उथलपुथल मच्चिएको अहिले २० वर्षभन्दा धेरै भइसक्यो। आफ्नो वैवाहिक सम्बन्धलाई फेरि बलियो पार्न तिनीहरूले गरेको प्रयासबारे स्टीभ छोटकरीमा यसो भन्छन्‌, “यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि हाम्रो सम्बन्धमा उल्लेखनीय सुधार भयो। हामीले पाएको मदत अनमोल थियो। त्यसैले यस्तो कठिन अवस्था पनि मिलेर पार गऱ्‍यौं।” जेनी भन्छिन्‌, “यस्तो गाह्रो समयमा पनि एकअर्काको साथ नछोडेकोले कत्ति राम्रो भयो। सँगै बाइबल पढेर अनि निकै मेहनत गरेर अहिले हाम्रो दाम्पत्य जीवन एकदमै सुखमय भएको छ।” (w12-E 5/01)

[फुटनोटहरू]

a केही नाम परिवर्तन गरिएका छन्‌।

b त्यस्तो निर्णय गर्न मदतको लागि ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी), अप्रिल २२, १९९९, पृष्ठ ६ र अगस्त ८, १९९५, पृष्ठ १० र ११ का लेखहरू हेर्नुहोस्‌।

c भेटघाट गर्नै पर्ने अवस्थामा (जागिरको सिलसिलामा) बाहेक अरू बेला भेटघाट नगर्नुहोस्‌। अनि भेट्‌नै पर्दा एक्लै होइन, अरू पनि भएको बेला र श्रीमान्‌ वा श्रीमतीलाई कारण थाह दिएर मात्र भेट्‌नुहोस्‌।

आफैलाई सोध्नुहोस्‌ . . .

▪ अवैध यौनसम्बन्धको बाबजुद मैले आफ्नो वैवाहिक सम्बन्धलाई जोगाउन खोज्नुको कारण के-के हुन्‌?

▪ अहिले मेरो जीवनसाथीले के-कस्ता गुण विकास गरेको देखेको/देखेकी छु?

▪ विवाहअघि भेटघाट गर्दा मैले सानोतिनो कुरामा पनि कसरी उहाँप्रतिको/ऊप्रतिको आफ्नो माया व्यक्‍त गरें अनि म अहिले पनि कसरी त्यसो गर्न सक्छु?