सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

मेरो जीवन नियन्त्रणबाहिर गइरहेको थियो

मेरो जीवन नियन्त्रणबाहिर गइरहेको थियो
  • जन्म मिति: १९७१

  • जन्मस्थान: टोंगा

  • विगतमा: लागू पदार्थ दुर्व्यसनी अनि झ्यालखानामा परेका

मेरो विगत

 मेरो जन्मथलो टोंगा हो। टोंगामा लगभग १७० टापु छन्‌ र यो प्रशान्त महासागरको दक्षिण-पश्‍चिममा पर्छ। हामी एकदमै सरल जीवन बिताउँथ्यौँ; हाम्रो घरमा बिजुली, गाडी थिएन। तर हाम्रो घरमा पानीको सुविधा भने थियो अनि हामीले कुखुरा पालेका थियौँ। स्कुलको बिदाको बेला हामी तीन दाजुभाइ मिलेर बुबालाई खेतमा सघाउँथ्यौँ। हामीले केरा, तरुल, पिँडालु र सखरखण्ड खेती गर्थ्यौँ। बुबाले यी उब्जनीहरू बेचेर अनि अरू सानातिना काम गरेर परिवार पाल्नुहुन्थ्यो। यहाँका थुप्रै मानिसजस्तै हाम्रो परिवारले पनि बाइबलमा गहिरो आस्था राख्थ्यो र हामी नियमित तवरमा चर्च जान्थ्यौँ। तैपनि धनी मुलुकमा बसाइँ सर्नु नै जीवन उकास्ने एक मात्र तरिका हो जस्तो हामीलाई लाग्थ्यो।

 म १६ वर्षको हुँदा कान्छो मामाले हाम्रो परिवारलाई अमेरिकाको क्यालिफोर्नियामा बसाइँ सर्न मदत गर्नुभयो। नयाँ ठाउँमा घुलमिल हुन हामीलाई एकदमै गाह्रो लाग्यो। त्यहाँ सरेपछि हाम्रो आर्थिक अवस्था सुध्रियो। तर हामी गरिब इलाकामा बस्थ्यौँ। त्यहाँ खतरनाक अपराध अनि लागू पदार्थ सामान्य कुरा थियो। राती अक्सर गोली चलेको आवाज सुनिन्थ्यो र छिमेकीहरू आपराधिक गिरोहहरूको त्रासमा थिए। धेरैजसो मानिसहरू आफ्नो सुरक्षाको लागि अथवा झगडाहरू सुल्झाउन बन्दुक बोक्थे। त्यस्तो झगडामा लागेको एउटा गोली मेरो छातीमा अझै पनि छ।

 म हाई स्कुलमा पढ्‌दा आफ्ना साथीहरूजस्तै हुन चाहन्थे। त्यसैले पार्टीहरूमा मोजमस्ती गर्न, बेस्सरी पिउन, हिंस्रक गतिविधिमा भाग लिन अनि ड्रग्स खान थालेँ। केही समयमै म कोकिनको कुलतमा फसेँ। ड्रग्स किन्‍नको लागि चोर्न थालेँ। हुनत हाम्रो परिवार सधैँ चर्च जान्थ्यो तैपनि खराब काम गर्न साथीहरूको दबाब आउँदा त्यसलाई कसरी प्रतिरोध गर्ने भनेर मलाई कसैले सिकाएन। आफ्नो हिंस्रक गतिविधिले गर्दा म धेरैचोटि पक्राउमा परेँ। मेरो जीवन नियन्त्रणबाहिर गइरहेको थियो र अन्तमा म झ्यालखानामा परेँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

 सन्‌ १९९७ को कुरा हो, एक दिन म झ्यालखानामा छँदा अर्को कैदीले मैले हातमा बाइबल समातिरहेको याद गरेछन्‌। त्यो क्रिसमसको दिन थियो। टोंगाका मानिसहरू क्रिसमसलाई एकदमै पवित्र ठान्छन्‌। ती कैदीले बाइबलमा ख्रिष्टको जन्मबारे वास्तवमा के बताइएको छ भनेर मलाई सोधे। तर मलाई त्यस विषयमा केही थाह थिएन। तिनले मलाई येसुको जन्मबारे बाइबलमा लेखिएको कुरा देखाए; त्यसमा क्रिसमससम्बन्धी चलिआएको प्रचलनबारे केही उल्लेख गरिएको थिएन। (मत्ति २:१-१२; लुका २:५-१४) म छक्कै परेँ। बाइबलमा अरू के-के लेखिएको छ भनेर मलाई जान्‍न मन लाग्यो। ती व्यक्‍ति यहोवाका साक्षीहरूले झ्यालखानामा हरेक हप्ता सञ्चालन गरिरहेको सभामा उपस्थित हुने गरेका रहेछन्‌। म पनि तिनीसित त्यस सभामा उपस्थित भएँ। सभामा बाइबलको प्रकाशको किताबबाट छलफल गरिँदै थियो। मैले बुझ्न त केही बुझिनँ तैपनि तिनीहरूले सबै कुरा बाइबलबाट सिकाउँदा रहेछन्‌ भनेर चाहिँ मैले थाह पाएँ।

 साक्षीहरूले बाइबल अध्ययनको प्रस्ताव राख्दा मैले खुसीसाथ स्विकारेँ। अध्ययन गर्दै जाँदा बाइबलमा उल्लेख गरिएको भविष्यको पार्थिव प्रमोदवनको प्रतिज्ञाबारे मैले पहिलो चोटि थाह पाएँ। (यसैया ३५:५-८) परमेश्‍वरलाई खुसी पार्ने हो भने मैले जीवनमा आमूल परिवर्तन गर्नै पर्छ भनेर बुझेँ। यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको प्रमोदवनमा बाँच्ने हो भने मैले सबै खराब आनीबानी त्याग्नु पर्छ भनेर महसुस गरेँ। (१ कोरिन्थी ६:९, १०) त्यसैले मैले आफ्नो रिसलाई काबूमा राख्ने, चुरोट छोड्‌ने, फेरि कहिल्यै मात्तिनेगरि नपिउने र लागू पदार्थ दुर्व्यसन नगर्ने दृढ सङ्‌कल्प गरेँ।

 मेरो जेल सजाय सकिनै लाग्दा सन्‌ १९९९ मा अख्तियारवालाहरूले मलाई अर्कै झ्यालखानामा सारे। त्यसपछि एक वर्षभन्दा बढी समयसम्म मैले साक्षीहरूलाई भेट्‌ने मौका पाइनँ। तैपनि आफ्नो जीवन सुधार्दै लैजान म दृढ थिएँ। सन्‌ २००० मा अमेरिकी सरकारले मलाई त्यहाँ बस्न अनुमति दिएन र टोंगा फिर्ता पठाइदियो।

 टोंगा फर्केपछि मैले यहोवाका साक्षीहरूलाई भेट्टाउन निकै प्रयास गरेँ। तिनीहरूलाई भेटेपछि फेरि अध्ययन गर्न थालेँ। आफूले सिकिरहेको कुरा मलाई एकदमै मन पर्थ्यो। त्यहाँका साक्षीहरूले पनि अमेरिकाका साक्षीहरूले जस्तै बाइबलबाटै सबै कुरा सिकाइरहेको देख्दा म दङ्‌गै परेँ।

 टोलछिमेकमा बुबालाई सबैले चिन्थे किनभने चर्चमा उहाँको ठूलो ओहदा थियो। मैले साक्षीहरूसित सङ्‌गत गर्न थालेको देखेर सुरुमा त मेरो परिवारलाई अनौठो लाग्यो अनि त्यो कुरा उहाँहरूलाई मन परेन। तर बाइबलका सिद्धान्तहरूले मलाई आफ्नो जीवनमा परिवर्तन गर्न मदत गरेको देखेर मेरा बुबाआमा खुसी हुनुभयो।

टोंगाका धेरैजसो मानिसले जस्तै म पनि हरेक हप्ता काभा पिएर घण्टौँ बिताउँथे

 मलाई परिवर्तन गर्न सबैभन्दा गाह्रो लागेको बानी भनेको टोंगाको एउटा लोकप्रिय पेय पदार्थ काभा पिउन छोड्‌नु थियो। टोंगाका धेरैजसो मानिस हरेक हप्ता काभा पिएर घण्टौँ बिताउँछन्‌। यो एक प्रकारको खुर्सानीको बोटको जराबाट बनाइने नसालु पेय पदार्थ हो। टोंगा फर्केपछि म हरेक रातजसो काभा पिउन जान्थेँ अनि होसहवास नगुमुन्जेल पिउँथे। त्यो मेरो बानी नै भइसकेको थियो। बाइबलका सिद्धान्तसित मेल नखाने मानिसहरूसित सङ्‌गत गरेकोले म त्यस्तो कुलतमा फसेँ। तर पछि त्यो बानी परमेश्‍वरलाई मन पर्दैन भनेर मैले बुझ्न मदत पाएँ। परमेश्‍वरको आशिष्‌ अनि अनुमोदन पाउन मैले आवश्‍यक छाँटकाँट गरेँ।

 यहोवाका साक्षीहरूको सबै सभामा उपस्थित हुन थालेँ। परमेश्‍वरलाई खुसी पार्न चाहनेहरूसितको सङ्‌गतले मलाई प्रलोभनहरू तिरस्कार गर्न मदत गऱ्‍यो। मैले सन्‌ २००२ मा बप्तिस्मा गरेँ अनि यहोवाको साक्षी बनेँ।

मैले कसरी लाभ उठाएको छु?

 परमेश्‍वरले देखाउनुभएको धीरजबाट मैले लाभ उठाएको छु, जसबारे बाइबलमा यस्तो लेखिएको छ: “यहोवा परमेश्‍वर . . . तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।” (२ पत्रुस ३:९) उहाँले यस भ्रष्ट संसारलाई पहिल्यै नाश गर्न सक्नुहुन्थ्यो। तर मजस्तो मानिसहरूलाई उहाँसित मित्रता गाँस्न समय मिलोस्‌ भनेर उहाँले पर्खेर बस्नुभयो। यहोवाबारे सिक्न मैले पनि अरूलाई मदत दिन सक्छु भनेर थाह पाउँदा खुसी लाग्छ।

 यहोवाको मदत पाएर मैले आफ्नो जीवन पूरै नियन्त्रणबाहिर गएर बरबाद हुनदेखि रोक्न सकेँ। आफ्नो कुलत त्यागिसकेको हुनाले मैले चोर्न छोडिसकेको छु। बरु छिमेकीहरूलाई पनि यहोवाको मित्र बन्‍न मदत गर्छु। यहोवाका साक्षीहरूसित सङ्‌गत गर्दै जाँदा मैले मेरी प्यारी पत्नी टेया पाएँ। अहिले हाम्रो सानो छोरा पनि छ। हाम्रो परिवार सुखी छ। हामी सपरिवार मिलेर मानिसहरूलाई भविष्यमा शान्तिमय प्रमोदवनमा जीवन बिताउने बाइबलको आशाबारे सुनाउँछौँ।