सीधै सामग्रीमा जाने

रक्सीबारे बाइबल के भन्छ? के यो पिउनु पाप हो?

रक्सीबारे बाइबल के भन्छ? के यो पिउनु पाप हो?

बाइबलको जवाफ

 ठिक्क मात्रामा रक्सी पिउनु पाप होइन। बाइबलमा मद्यलाई परमेश्‍वरको वरदान भनिएको छ, जसले जीवनलाई अझ रमाइलो बनाउन सक्छ। (भजन १०४:१४, १५; उपदेशक ३:१३; ९:७) साथै दाखमद्यले औषधीको काम गर्छ भनेर पनि बाइबलमा बताइएको छ।—१ तिमोथि ५:२३.

 येसुले पृथ्वीमा हुनुहुँदा दाखमद्य पिउनुभएको थियो। (मत्ति २६:२९; लुका ७:३४) अनि उहाँले एउटा विवाह-भोजमा पानीलाई दाखमद्यमा परिणत गर्नुभएको थियो।—युहन्‍ना २:१-१०.

धेरै पिउनुका खतराहरू

 हो, बाइबलमा रक्सीको राम्रा पक्षहरूबारे बताइएको छ। अर्कोतर्फ, धेरै पिउनु र मात्तिने गरी पिउनु गलत हो भनेर पनि बताइएको छ। त्यसैले कुनै ख्रिष्टियनले पिउने छनौट गर्छन्‌ भने तिनले ठिक्क मात्रामा मात्र पिउनुपर्छ। (१ तिमोथि ३:८; तितस २:२, ३) बाइबलमा धेरै पिउन नहुनुका केही कारणबारे बताइएको छ।

  •   धेरै पिउँदा त्यसले मानिसको सोच्ने र निर्णय गर्ने क्षमतालाई असर गर्छ। (हितोपदेश २३:२९-३५) मात्तिएको व्यक्‍तिले बाइबलको यो आज्ञा पालन गर्न सक्दैन: “आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर। यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाउन सक्नेछौ।”—रोमी १२:१.

  •   अत्यधिक मात्रामा रक्सी पिउँदा होस हराउँछ र “सही काम गर्ने इच्छालाई कमजोर बनाउँछ।”—होसे ४:११; एफिसी ५:१८.

  •   बेसरी पिउनुले गरिबी र गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।—हितोपदेश २३:२१, ३१, ३२.

  •   धेरै पिउने र पियक्कड व्यक्‍तिले परमेश्‍वरलाई दुःखी बनाउँछ।—हितोपदेश २३:२०; गलाती ५:१९-२१.

कति पिउँदा अति हुन्छ?

 रक्सी पिउने व्यक्‍तिले आफू र अरूलाई खतरामा पार्छ भने तिनले धेरै रक्सी पिएको भन्‍न सकिन्छ। बाइबलअनुसार पियक्कड व्यक्‍ति नशाले मात्तिने मात्र होइन तर तिनले आफ्नो होसहवास गुमाउँछ, हिँड्‌दा लर्खराउँछ, निहुँ खोज्ने कुरा गर्छ वा तिनको बोली लरबराउँछ। (अय्युब १२:२५; भजन १०७:२७; हितोपदेश २३:२९, ३०, ३३) नमात्तिने गरी पिउने व्यक्‍ति पनि ‘धेरै पिउने दबाबमा’ पर्न सक्छ र त्यसले गर्दा गम्भीर नतिजा भोग्न सक्छ।—लुका २१:३४, ३५.

कस्तो अवस्थामा पिउन चटक्कै छोड्‌नुपर्छ?

 बाइबलमा ख्रिष्टियनहरूले कस्तो अवस्थामा पिउन चटक्कै छोड्‌नुपर्छ भनेर पनि बताइएको छ:

  •   पिउँदा कसैलाई ठक्कर पुग्छ भने।—रोमी १४:२१.

  •   पिउँदा स्थानीय कानुन उल्लङ्‌घन हुन्छ भने।—रोमी १३:१.

  •   कसैले पिउन थालेपछि आफूलाई रोक्न सक्दैन भने। रक्सीको लत लागेकाहरू र त्यसको दुरुपयोग गर्नेहरू ठोस कदम चाल्न तयार हुनुपर्छ।—मत्ति ५:२९, ३०.