सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“अपराध र पैसाको प्रेमले गर्दा मैले धेरै दुःख पाएँ”

“अपराध र पैसाको प्रेमले गर्दा मैले धेरै दुःख पाएँ”
  • जन्म: १९७४

  • जन्मस्थान: अल्बेनिया

  • विगतमा: चोर, लागूपदार्थको कारोबार गर्ने, कैदी

मेरो विगत

 मेरो जन्म अल्बेनियाको राजधानी टिरानामा एउटा गरिब परिवारमा भएको थियो। मेरो बुबा इमानदार हुनुहुन्थ्यो र हामीलाई पाल्नको लागि घण्टौँ काममा घोटिनुहुन्थ्यो। तैपनि घरखर्च चलाउन धौधौ हुन्थ्यो। हाम्रो गरिबी देखेर मलाई साह्रै दुःख लाग्थ्यो। सानो छँदा मसँग जुत्ता थिएन र कहिलेकाहीँ त भोकभोकै बस्नुपर्थ्यो।

 मैले सानैदेखि चोर्न थालेँ। यसो गरेर मैले परिवारलाई मदत गर्दै छु जस्तो लाग्थ्यो। पछि मलाई प्रहरीले पक्रे। सन्‌ १९८८ मा म १४ वर्षको छँदा बुबाले मलाई सुधारगृहमा पठाउनुभयो। त्यहाँ म दुई वर्ष बसेँ र वेल्डिङको काम सिकेँ। त्यहाँबाट निस्केपछि म मेहनत गरेर आफ्नो जीविका चलाउन चाहन्थेँ। तर मैले कामै पाउन सकिनँ। त्यतिबेला अल्बेनियामा राजनैतिक उथलपुथलले गर्दा बेरोजगारी बढेको थियो। दिक्क लागेर फेरि पुराना साथीहरूसित सङ्‌गत र चोर्न थालेँ। तर प्रहरीले हामीलाई पक्रे र हामीले तीन वर्ष जेल सजाय भोग्नुपऱ्‍यो।

 जेलबाट निस्केपछि म फेरि आपराधिक गतिविधिमा संलग्न भएँ। त्यतिबेला अल्बेनियाको आर्थिक अवस्था खस्किएकोले देशमा अराजकता छाएको थियो। मैले गैरकानुनी कामहरू गरेर धेरै पैसा कमाएँ। एकचोटि हातहतियारसहित चोरी गर्ने क्रममा मेरा दुई जना साथी पक्राउ परे। लामो जेल सजायबाट जोगिन मचाहिँ अर्को देशमा भागेँ। त्यतिबेलासम्म युलिन्डासित मेरो विवाह भइसकेको थियो र हाम्रो एउटा छोरा पनि जन्मिसकेको थियो।

 हामी बेलायत गयौँ। म आफ्नी श्रीमती र छोरासँग नयाँ जीवनको सुरुवात गर्न चाहन्थेँ। तर मेरो पुरानो बानी परिवर्तन गर्न मलाई धेरै गाह्रो भयो। मैले फेरि आपराधिक कामहरू गर्न थालेँ। यसपटक मैले लागूपदार्थको कारोबार सुरु गरेँ र झन्‌ धेरै पैसा कमाउन थालेँ।

 मैले लागूपदार्थको कारोबार गर्न थालेको थाह पाएपछि युलिन्डाले कस्तो महसुस गरिन्‌? तिनी यसो भन्छिन्‌: “अल्बेनियामा हुर्केको हुनाले म गरिबीबाट मुक्‍ति पाउन चाहन्थेँ। जीवनस्तर उकास्न म जे गर्न पनि तयार थिएँ। मलाई पैसा नै सबथोक हो जस्तो लाग्थ्यो। त्यसैले आर्टनले झूट बोल्ने, चोर्ने, लागूपदार्थको कारोबार गर्ने जस्ता नराम्रा कामहरू गरे पनि मैले उहाँलाई केही भनिनँ बरु पूरा साथ दिएँ।”

“आर्टनले झूट बोल्ने, चोर्ने, लागूपदार्थको कारोबार गर्ने जस्ता नराम्रा कामहरू गरे पनि मैले उहाँलाई केही भनिनँ बरु पूरा साथ दिएँ।”—युलिन्डा

 तर २००२ मा हाम्रो जीवन उलटपुलट भयो। त्यतिबेला ठूलो परिमाणमा लागूपदार्थको कारोबार गरिरहेको बेला प्रहरीले मलाई पक्रे र म फेरि जेलमा पुगेँ। यसरी हाम्रो भविष्यको योजना र सपनाहरू चकनाचुर भए।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

 मैले चालै नपाउनेगरि बाइबलले मेरो जीवनमा प्रभाव पार्न थियो। सन्‌ २००० मा युलिन्डाले दुई जना यहोवाको साक्षीलाई भेटिन्‌ र तिनीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌। मलाई बाइबलबारे छलफल गर्न पटक्कै रमाइलो लाग्दैनथ्यो। तर युलिन्डालाई भने अध्ययन गर्न साह्रै मन पर्थ्यो। तिनी भन्छिन्‌: “म धर्मकर्म गर्ने परिवारमा हुर्केकीले मलाई बाइबल धेरै मन पर्थ्यो र म यसको आदर गर्थेँ। म पहिल्यैदेखि बाइबलले के सिकाउँछ भनेर बुझ्न चाहन्थेँ। त्यसैले साक्षीहरूसित अध्ययन गर्न पाउँदा म खुसी थिएँ। बाइबलका धेरैजसो शिक्षाहरू मलाई चित्त बुझ्यो। बाइबलबाट सिकेका कुराहरूले मलाई जीवनमा छाँटकाँट गर्न मदत गऱ्‍यो। तैपनि पैसाप्रतिको मेरो सोचाइमा अलिकति पनि परिवर्तन आएको थिएन। आर्टन पक्राउ परेपछि भने बल्ल मेरो आँखा खुल्यो! पैसाबारे बाइबलले सिकाउने कुरा सत्य हो भनेर मैले बुझेँ। हामी पैसा कमाउन दौडधूप गरिरहेका थियौँ। तैपनि हामी खुसी थिएनौँ। यस घटनाबाट मैले परमेश्‍वरका स्तरहरू सबै पालन गर्नुपर्छ भनेर सिकेँ।”

 सन्‌ २००४ मा म जेलबाट छुटेँ र तुरुन्तै लागूपदार्थको कारोबार सुरु गर्ने कोसिस गरेँ। तर युलिन्डाको सोचाइ भने परिवर्तन भइसकेको थियो। तिनले भनेको कुराले मेरो होस फर्कियो। त्यतिबेला तिनले यसो भनेकी थिइन्‌: “अबदेखि मलाई तपाईँको पैसा चाहिँदैन। मलाई मेरो श्रीमान्‌ भए पुग्छ, जो हामीसँगै बसोस्‌ र छोराहरूको असल बुबा बनोस्‌।” तिनको यो कुरा सुनेर म छक्क परेँ। तर तिनको कुरा सही थियो। म धेरै वर्ष परिवारबाट टाढा बसेँ। बेइमानी गरेर पैसा कमाउँदा भोग्नुपरेको सबै दुःखबारे पनि मैले सोचेँ। त्यसपछि मैले आफ्नो जीवनमा छाँटकाँट गर्ने र खराब साथीहरूसँग सङ्‌गत गर्न छोड्‌ने निर्णय गरेँ।

 म आफ्नी श्रीमती र दुई जना छोरासँगै यहोवाका साक्षीहरूको सभाभवनमा गएँ। त्यस बेलादेखि मेरो जीवनले नयाँ मोड लियो। त्यहाँ मैले भेटेका निष्कपट र मित्रैलो साक्षीहरूबाट म प्रभावित भएँ। त्यसपछि मैले बाइबल अध्ययन गर्न थालेँ।

प्रशस्त पैसा भयो भने आनन्दित हुन सकिन्छ भनेर म सोच्ने गर्थेँ

 मैले बाइबलबाट यो कुरा सिकेँ: “पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही[ले] . . . थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्‍याएका छन्‌।” (१ तिमोथि ६:९, १०) यो कुरा कत्ति सत्य छ भनेर मैले आफ्नै अनुभवबाट सिकेँ। विगतमा गरेका गल्तीहरू र त्यसले म र मेरो परिवारलाई पुऱ्‍याएको चोट सम्झेर मलाई असाध्यै पछुतो लाग्यो। (गलाती ६:७) यहोवा र उहाँको छोरा येसुले हामीलाई देखाउनुभएको प्रेमबारे सिकेपछि मैले जीवनमा छाँटकाँट गर्न थालेँ। मैले आफूबारे भन्दा अरूबारे सोच्न थालेँ र परिवारसित धेरै समय बिताउन थालेँ।

मैले कसरी लाभ उठाएको छु?

 मैले बाइबलको यो सल्लाह लागू गरेर लाभ उठाएको छु: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌, अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।” (हिब्रू १३:५) अहिले मैले मनोशान्ति पाएको छु र मेरो अन्तस्करण सफा छ। यसले गर्दा मैले कहिल्यै अनुभव नगरेको आनन्द पाएको छु। मेरो वैवाहिक जीवन पहिलाभन्दा बलियो भएको छ र परिवारमा हामी एकअर्कासित घनिष्ठ हुन सकेका छौँ।

 प्रशस्त पैसा भयो भने आनन्दित हुन सकिन्छ भनेर म सोच्ने गर्थेँ। तर अपराध र पैसाको प्रेमले गर्दा मैले कत्ति धेरै दुःख पाएँ भनेर अहिले बुझेको छु। हामी अहिले धनी छैनौँ तर हामीसँग जीवनको लागि नभई नहुने कुरा छ। त्यो हो, यहोवा परमेश्‍वरसितको मित्रता। पूरै परिवार मिलेर उहाँको उपासना गर्न पाउँदा हामी साँच्चै आनन्दित छौँ।

परिवारसँगै यहोवाका साक्षीहरूको अधिवेशनमा