सीधै सामग्रीमा जाने

यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?

यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?

 यहोवाको साक्षी हुन के गर्नुपर्छ भनेर येशूले मत्ती २८:१९, २० मा बताउनुभएको छ। ती बाइबल पदहरूमा येशू ख्रीष्टको चेला बन्‍न के गर्नुपर्छ भनेर लेखिएको छ। ख्रीष्टको चेला बन्‍नुमा यहोवाबारे अरूलाई बताउनु अथवा साक्षी दिनु समावेश छ।

 पहिलो कदम: बाइबलको शिक्षा सिक्नुहोस्‌। येशूले आफ्ना अनुयायीहरूलाई ‘चेला बनाओ अनि सिकाओ’ भनेर आज्ञा दिनुभयो। (मत्ती २८:१९, २०) “चेला” भनेर अनुवाद गरिएको शब्दको शाब्दिक अर्थ “सिक्ने व्यक्‍ति” हो। बाइबलमा आनन्दित अनि अर्थपूर्ण जीवन बिताउन चाहिने थुप्रै जानकारी पाइन्छ। (२ तिमोथी ३:१६, १७) यस्तो जानकारी विशेषगरि येशूले दिनुभएको शिक्षामा पाइन्छ। हामी तपाईंलाई निश्‍शुल्क रूपमा बाइबलको कुरा सिकाउन खुसी छौं।—मत्ती १०:७, ८; १ थिस्सलोनिकी २:१३.

 दोस्रो कदम: सिकेको कुरा लागू गर्नुहोस्‌। आफूले ‘आज्ञा गरेको सबै कुरा पालन’ पनि गर्नै पर्छ भनेर येशूले बताउनुभयो। (मत्ती २८:२०) यसको मतलब बाइबलको अध्ययन गर्नुको उद्देश्‍य दिमागी ज्ञान बढाउने मात्र होइन, बाइबल अध्ययन गर्दै जाँदा आफ्नो सोचाइ र आनीबानीमा आमूल परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ। (प्रेषित १०:४२; एफिसी ४:२२-२९; हिब्रू १०:२४, २५) येशूको आज्ञा पालन गर्नेहरूले आफ्नो जीवन यहोवा परमेश्‍वरमा समर्पण गरेर येशूको पछि लाग्ने निर्णय गर्छन्‌।—मत्ती १६:२४.

 तेस्रो कदम: बप्तिस्मा गर्नुहोस्‌। (मत्ती २८:१९) बाइबलमा बप्तिस्मा गर्नुलाई लास गाड्‌नुसित तुलना गरिएको छ। (रोमी ६:२-४ तुलना गर्नुहोस्‌।) बप्तिस्माले आफ्नो पुरानो जीवनशैलीलाई मार्नु र नयाँ जीवन जिउनुलाई सङ्‌केत गर्छ। माथि उल्लेख गरिएका दुइटा कदम तपाईंले चालिसक्नुभयो अनि सफा अन्तस्करण राख्न परमेश्‍वरलाई बिन्ती गर्दै हुनुहुन्छ भनेर सबैलाई थाह दिन बप्तिस्मा गरिन्छ।—हिब्रू ९:१४; १ पत्रुस ३:२१.

बप्तिस्मा गर्न तयार भएँ कि भइनँ भनेर कसरी थाह पाउने?

 मण्डलीका एल्डरहरूसित कुरा गर्नुहोस्‌। तपाईंले बप्तिस्मा गर्नुको अर्थ बुझ्नुभएको छ कि छैन, सिकेको कुराहरू लागू गर्दै हुनुहुन्छ कि हुनुहुन्‍न अनि आफ्नै इच्छाले परमेश्‍वरलाई जीवन समर्पण गर्नुभएको हो कि होइन भनेर पक्का गर्न एल्डरहरूले तपाईंसित कुरा गर्नेछन्‌।—प्रेषित २०:२८; १ पत्रुस ५:१-३.

यहोवाको साक्षीको छोराछोरीले पनि यी कदमहरू चाल्नुपर्छ?

 चाल्नुपर्छ। बाइबलले भनेझैं हामी आफ्ना छोराछोरीलाई “यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी” दिएर हुर्काउँछौं। (एफिसी ६:४) तर हुर्कंदै जाँदा बाइबलको कुरा सिक्न, त्यसको शिक्षा स्वीकार्न अनि सिकेको कुरा लागू गर्न छोराछोरी आफैले निर्णय गर्नुपर्छ। यस्तो निर्णय बप्तिस्माको लागि योग्य हुनअघि नै गरेको हुनुपर्छ। (रोमी १२:२) प्रत्येक व्यक्‍तिले अरूको करकापमा परेर होइन, आफ्नै इच्छाले परमेश्‍वरको सेवा गर्ने निर्णय गर्नुपर्छ।—रोमी १४:१२; गलाती ६:५.