सीधै सामग्रीमा जाने

परिवारका लागि | वैवाहिक जीवन

अफिसको कामलाई अफिसमै सीमित राख्नुहोस्‌

अफिसको कामलाई अफिसमै सीमित राख्नुहोस्‌

 यस प्रविधिको युगमा तपाईँको हाकिम, सहकर्मी वा ग्राहकले तपाईँ चौबीसै घण्टा उपलब्ध भएको आशा गर्छन्‌। यसले गर्दा काम र व्यक्‍तिगत जीवनबीच सन्तुलन कायम गर्न गाह्रो हुन्छ। जस्तै, तपाईँ आफ्नो वैवाहिक जीवन अनि जीवनको अरू महत्त्वपूर्ण पक्षलाई पर्याप्त समय दिन सक्नुहुन्‍न।

 तपाईँले के बुझ्नुपर्छ?

  •   प्रविधिले गर्दा तपाईँ घरमै हुँदा पनि अफिसको काम गर्न सक्नुहुन्छ, जसले गर्दा जीवनसाथीलाई दिनुपर्ने समय पनि कामले खाइदिन सक्छ। तपाईँलाई कामसम्बन्धी हरेक कल, इमेल वा मेसेज नगरी नहुने कामजस्तो लाग्न सक्छ।

     “कामबाट फर्केर परिवारसँग समय बिताउने कुरा त उहिले-उहिलेको कुराजस्तो लाग्न थालिसक्यो किनभने कामसम्बन्धी इमेल र फोन आउँदा जीवनसाथीलाई समय दिनुको सट्टा त्यतातिरै ध्यान जान्छ।”—जेनेट।

  •   काम र व्यक्‍तिगत जीवनबीच सन्तुलन कायम गर्न तपाईँ आफैले कदम चाल्नुपर्छ। राम्रो योजना बनाउनुभएन भने जीवनसाथीलाई दिनुपर्ने समय कामले नै खाइदिन सक्छ।

     “यसले सबैभन्दा धेरै असर गर्ने त जीवनसाथीलाई नै हो। किनभने तपाईँलाई ‘उहाँले बुझिहाल्नुहुन्छ नि! उहाँले यस्तो कुरा मनमा लिनुहुन्‍न। बरु उहाँसँग पछि समय बिताउँछु’ जस्तो लाग्न सक्छ।”—हलि।

 काम र व्यक्‍तिगत जीवनबीच सन्तुलन कायम गर्न मदत गर्ने सुझावहरू

  •   वैवाहिक जीवनलाई प्राथमिकता दिनुहोस्‌। बाइबल यसो भन्छ: “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (मत्ति १९:६) यदि तपाईँ आफू र आफ्नो जीवनसाथीबीच कुनै मानिसलाई आउन दिनुहुन्‍न भने कामलाई पनि तपाईँहरूबीच आउन नदिनुहोस्‌।

     “कोही-कोही ग्राहक आफूले पैसा तिरेकोले तपाईँ हरसमय उपलब्ध हुनुपर्छ भन्‍ने सोचाइ राख्छन्‌। तर वैवाहिक जीवनलाई प्राथमिकता दिनुपर्छ भन्‍ने बुझेकोले म तिनीहरूलाई छुट्टीको दिनमा म काम गर्दिनँ बरु पछि सकेसम्म छिटो सम्पर्क गर्छु भनेर बताउने गर्छु।”—मार्क।

     आफैलाई सोध्नुहोस्‌: ‘के मैले आफ्नो व्यवहारबाट कामलाई भन्दा वैवाहिक जीवनलाई महत्त्वपूर्ण ठानेको देखाइरहेको छु?’

  •   ‘नाइँ’ भन्‍न सिक्नुहोस्‌। बाइबल यसो भन्छ: “जो मर्यादामा रहन्छ, ऊ बुद्धिमान्‌ हुन्छ।” (हितोपदेश ११:२) कहिलेकाहीँ कुनै कामलाई इन्कार गर्नु वा त्यो काम अरूलाई नै दिनु बुद्धिमानी हुन्छ। यसो गर्दा हामी मर्यादामा रहिरहेका हुन्छौँ अर्थात्‌ आफ्नो सीमितता स्विकारिरहेका हुन्छौँ।

     “म प्लम्बिङको काम गर्छु। कहिलेकाहीँ ग्राहकहरूले आत्तिएर तुरुन्तै मदत चाहियो भन्छन्‌। तर उनीहरूले तोकेको समयभित्र पुग्न सक्दिनँ भने अरू नै प्लम्बरको नाम दिन्छु।”—क्रिस्टोफर।

     आफैलाई सोध्नुहोस्‌: ‘थप काम स्विकार्दा जीवनसाथीले आफूलाई बेवास्ता गरिएको महसुस गर्छन्‌ भने के म त्यस कामलाई इन्कार गर्छु? यसबारे मेरो जीवनसाथीले कस्तो जवाफ दिन्छन्‌?’

  •   एकअर्काको लागि समय छुट्ट्याउनुहोस्‌। बाइबल यसो भन्छ: “सबै कामको लागि उचित समय छ।” (उपदेशक ३:१) कामको भार धेरै हुँदा जीवनसाथीको लागि समय छुट्ट्याउनु झनै जरुरी छ।

     “सबै कामकुरा एकैचोटि आइपर्दा एकअर्कासित समय बिताउन हामी एउटा समय तोक्छौँ। जस्तै, बेलुकी सँगै खाना खाने वा सँगै वाकमा जाने। यसो गर्दा हामीले एकअर्कालाई पूरै समय दिन सक्छौँ।”—डेबोरा।

     आफैलाई सोध्नुहोस्‌: ‘के म जीवनसाथीसित समय बिताउन आफ्नो कामको तालिका मिलाउँछु? यसबारे मेरो जीवनसाथीले कस्तो जवाफ दिन्छन्‌?’

  •   इलेक्ट्रोनिक साधन अफ गर्नुहोस्‌। बाइबल यसो भन्छ: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।” (फिलिप्पी १:१०) जीवनसाथीसित समय बिताउँदा कामसम्बन्धी मेसेज वा कलले बाधा नपुऱ्‍याओस्‌ भनेर आफ्नो इलेक्ट्रोनिक साधन अफ गर्न सक्नुहुन्छ कि?

     “म तोकेको समयबाहेक अरू बेला काम नगर्न सक्दो कोसिस गर्छु। कामको समय सिद्धिएपछि म फोनको नोटिफिकेसन अफ गर्छु।”—जेरेमि।

     आफैलाई सोध्नुहोस्‌: ‘के मलाई हाकिम वा ग्राहकले खोजे भने सधैँ उपलब्ध हुनुपर्छ जस्तो लाग्छ? यसबारे मेरो जीवनसाथीले कस्तो जवाफ दिन्छन्‌?’

  •   अव्यावहारिक माग नगर्नुहोस्‌। बाइबल यसो भन्छ: “तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्‌।” (फिलिप्पी ४:५) कहिलेकाहीँ काममा सदाभन्दा धेरै समय दिनुपर्ने हुन्छ। उदाहरणको लागि, तपाईँको जीवनसाथीको कामको किसिमले गर्दा तिनले आफूलाई जुन बेला पनि उपलब्ध गराउनुपर्ने हुन्छ। त्यसैले आफ्नो जीवनसाथीबाट बढ्‌तै माग नगर्नुहोस्‌।

     “मेरो श्रीमान्‌को सानो व्यवसाय छ। प्रायजसो कामपछि पनि नगरी नहुने कामहरू आइपर्छ। कहिलेकाहीँ त मलाई झिजो पनि लाग्छ। तर उहाँले मेरो लागि प्रशस्त समय दिने भएकोले मलाई कुनै गुनासो छैन।”—बेभर्ली।

     आफैलाई सोध्नुहोस्‌: ‘के म आफ्नो जीवनसाथीको कामको भार विचारै नगरी तिनीबाट बढ्‌तै माग गर्छु? यसबारे मेरो जीवनसाथीले कस्तो जवाफ दिन्छन्‌?’

 छलफलका लागि सुझावहरू

 सुरुमा यी प्रश्‍नहरू छुट्टाछुट्टै विचार गर्नुहोस्‌। त्यसपछि सँगै मिलेर आ-आफ्नो जवाफ छलफल गर्नुहोस्‌।

  •   के तपाईँको जीवनसाथीले तपाईँले घरमा पनि अफिसकै काम गरिरहेकोले कहिल्यै गुनासो गरेका छन्‌? छन्‌ भने के तपाईँलाई तिनको गुनासो जायज लाग्छ?

  •   काम र व्यक्‍तिगत जीवनबीच सन्तुलन कायम गर्ने सन्दर्भमा तपाईँलाई कुन क्षेत्रमा अझ सुधार गर्न सक्छु जस्तो लाग्छ?

  •   के तपाईँलाई आफ्नो जीवनसाथीले अफिसको काम अफिसमै सीमित राख्न सक्दैनन्‌ जस्तो लागेको थियो? थियो भने कहिले?

  •   काम र व्यक्‍तिगत जीवनबीच सन्तुलन कायम गर्ने सन्दर्भमा तपाईँ आफ्नो जीवनसाथीले कस्तो परिवर्तन गरेको चाहनुहुन्छ?