सीधै सामग्रीमा जाने

परिवारका लागि | वैवाहिक जीवन

प्रविधिको उचित प्रयोग कसरी गर्ने?

प्रविधिको उचित प्रयोग कसरी गर्ने?

 प्रविधिले तपाईँको वैवाहिक जीवनलाई बलियो अथवा कमजोर बनाउन सक्छ। तपाईँको वैवाहिक जीवनमा चाहिँ यसले कस्तो असर गरिरहेको छ?

 तपाईँले के बुझ्नुपर्छ?

  •   विवाहित जोडीहरूले बुद्धिमानीपूर्वक प्रविधिको प्रयोग गर्दा लाभ उठाउन सक्छन्‌। उदाहरणको लागि, केही श्रीमान्‌-श्रीमतीले सँगै नहुँदा एकअर्काको हालखबर सोध्न यसको प्रयोग गर्ने गर्छन्‌।

     “‘म तिमीलाई माया गर्छु’ अथवा ‘म तिमीलाई सम्झिरहेको छु’ भनेर मेसेज गर्दा मात्रै पनि खुसी लाग्छ।”—जोनाथन।

  •   प्रविधिलाई राम्रो तरिकामा प्रयोग नगर्दा यसले वैवाहिक सम्बन्धलाई कमजोर बनाउन सक्छ। उदाहरणको लागि, कोही-कोही इलेक्ट्रोनिक डिभाइसहरू बढी नै प्रयोग गर्ने भएकोले आफ्नो जीवनसाथीलाई पर्याप्त समय र ध्यान दिन सक्दैनन्‌।

     “मैले फोन धेरै प्रयोग नगरेको भए मेरो श्रीमान्‌लाई मसित कुरा गर्न अझ सजिलो लाग्ने थियो भनेर मैले धेरै चोटि महसुस गरेको छु।”—जुलिसा।

  •   कसै-कसैले इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्दागर्दै पनि आफ्नो जीवनसाथीसित अर्थपूर्ण कुराकानी गर्न सकिहालिन्छ भन्‍ने सोचाइ राख्ने गर्छन्‌। समाजशास्त्री सेरी टर्केलले एकैचोटिमा धेरै काम गर्न सक्छु भनेर सोच्नु एउटा मिथ्या हो भनेर बताएकी छिन्‌। कसै-कसैलाई यसरी एकैचोटि धेरै काम गर्न सक्नु एउटा क्षमता हो जस्तो लाग्न सक्छ तर वास्तवमा यो क्षमता होइन। तिनको भनाइअनुसार वास्तवमा “हामीले काममाथि काम थप्दै जाँदा हाम्रो कार्य क्षमता घट्‌दै जान्छ।” a

     “मलाई आफ्नो श्रीमान्‌सित कुरा गर्न रमाइलो लाग्छ तर उहाँ अरू नै काममा व्यस्त भएको बेलामा होइन। उहाँ आफ्नो डिभाइसमा व्यस्त हुनुभएको बेला म त्यहाँ भए पनि नभए पनि उहाँलाई मेरो वास्तै छैन जस्तो महसुस हुन्छ।”—सारा।

 निष्कर्ष: तपाईँ प्रविधिलाई कसरी प्रयोग गर्नुहुन्छ, त्यसले तपाईँको वैवाहिक जीवनलाई फाइदा अथवा हानि पुर्‌याउन सक्छ।

 तपाईँ के गर्न सक्नुहुन्छ?

 प्राथमिकता तय गर्नुहोस्‌। बाइबल भन्छ: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।” (फिलिप्पी १:१०) आफैलाई सोध्नुहोस्‌, ‘म र मेरो जीवनसाथी आ-आफ्नो डिभाइसमै अचाक्ली व्यस्त भएकोले हामीले एकअर्कालाई दिनुपर्ने समय दिन सकिरहेका छैनौँ कि?’

 “रेस्टुरेन्टमा खान गएका श्रीमान्‌-श्रीमती आफ्नो फोन चलाउनमै व्यस्त हुनु दुःखलाग्दो कुरा हो। प्रविधिको दास भएर हामी सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ एकअर्कासितको सम्बन्धलाई बेवास्ता गर्न चाहँदैनौँ।”—म्याथ्यु।

 सीमा तोक्नुहोस्‌। बाइबल भन्छ: “कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान्‌ मानिस जस्तोगरि हिँड, समयको पूर्ण सदुपयोग गर।” (एफिसी ५:१५, १६) आफैलाई सोध्नुहोस्‌, ‘मेसेज आउनासाथ तुरुन्तै रिप्लाइ गरिहाल्नुको साटो कम महत्त्वपूर्ण मेसेजहरू अरू नै समयमा रिप्लाइ गर्न सक्छु कि?’

 “आफ्नो फोनलाई आवाज नआउने सेटिङमा राखेर अरू नै उपयुक्‍त समयमा मेसेजहरूको रिप्लाइ गर्नु बेस हो भनेर मैले महसुस गरेको छु। तुरुन्तै रिप्लाइ गरिहाल्नुपर्ने खालको कल, मेसेज अथवा इमेल हामीलाई कमै आउला।”—जोनाथन।

 सम्भव भएसम्म अफिसको काम अफिसमै छोड्‌नुहोस्‌। बाइबल भन्छ: “सबै कामको लागि उचित समय छ।” (उपदेशक ३:१) आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: ‘स्मार्टफोन प्रयोग गरी अफिसको काम घरमै गर्दा के त्यसले मेरो पारिवारिक जीवनमा बाधा पुऱ्‍याइरहेको छ? त्यसो हो भने यसले मेरो वैवाहिक सम्बन्धलाई कस्तो असर गरिरहेको छ? यसबारे मेरो जीवनसाथीको विचार कस्तो छ?’

 “प्रविधिको कारणले हामी जुनसुकै बेला अनि जहाँ पनि काम गर्न सक्छौँ। श्रीमतीसित समय बिताइरहेको बेलामा अफिसको काम नगर्न अनि घरीघरी फोन चेक नगर्न मैले निकै प्रयास गर्नुपर्छ।”—म्याथ्यु।

 प्रविधिको प्रयोग गर्नेबारे आफ्नो जीवनसाथीसित छलफल गर्नुहोस्‌। बाइबल भन्छ: “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।” (१ कोरिन्थी १०:२४) तपाईँ दुई जनाले कसरी प्रविधिको प्रयोग गर्दै हुनुहुन्छ र कस्तो छाँटकाँट गर्नु आवश्‍यक छ भन्‍नेबारे आफ्नो जीवनसाथीसित कुरा गर्नुहोस्‌। यसको लागि तपाईँ यस लेखमा भएको छलफलका लागि सुझावहरू प्रयोग गर्न सक्नुहुन्छ।

 “म र मेरो श्रीमान्‌मध्ये कसैले फोन वा ट्याबलेट बढी नै प्रयोग गरिरहेको जस्तो लागेमा हामी एकअर्कालाई कुरा नलुकाई बताउने गर्छौँ। यसो नगर्दा समस्या हुन सक्छ भनेर हामीले राम्ररी बुझेका छौँ। त्यसैले हामी एकअर्काको विचारधारा राम्ररी बुझ्ने प्रयास गर्छौँ।”—ड्यानयाल।

 निष्कर्ष: आफूलाई प्रविधिको दास बन्‍न नदिनुहोस्‌। बरु त्यसलाई आफ्नो नियन्त्रणमा राख्नुहोस्‌।

a रिक्लेमिङ कन्भर्सेसन—द पावर अफ टक इन अ डिजिटल एज भन्‍ने किताबबाट लिइएको।