सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस् | हनोक

“तिनले परमेश्वरलाई खुसी पारेका थिए”

“तिनले परमेश्वरलाई खुसी पारेका थिए”

हनोक धेरै वर्ष बाँचे, लगभग ३६५ वर्ष। हुन त यस्तो कुरा कल्पना गर्न हामीलाई गाह्रो लाग्ला तर तिनी अहिलेका मानिसहरूको तुलनामा चार गुणाभन्दा धेरै समय बाँचे। त्यतिबेलाका मानिसहरूको आयुलाई विचार गर्ने हो भने हनोक वृद्ध भइसकेका थिएनन्‌। अहिलेका मानिसहरूको तुलनामा त्यतिबेलाका अर्थात्‌ ५ हजार वर्षअघिका मानिसहरू धेरै लामो समयसम्म बाँच्थे। पहिलो मानिस आदम ६०० वर्षको हुँदा हनोकको जन्म भएको थियो। हनोक जन्मिएपछि आदम अझै ३०० वर्ष बाँचे। आदमका केही सन्तान योभन्दा पनि अझै लामो समयसम्म बाँचे। हनोकको उमेर ३६५ वर्ष भए पनि तिनी हट्टाकट्टा नै थिए। अझै लामो समय बाँच्न सक्ने अवस्थामा थिए। तर दुःखको कुरा, त्यस्तो भएन।

हनोकको जीवन खतरामा परेको थियो। परमेश्वरबाट पाएको सन्देश मानिसहरूलाई सुनाउँदा मानिसहरूले तिनलाई लखेटिरहेको र तिनी भागिरहेको दृश्य कल्पना गर्नुहोस्। ती विरोधीहरू रिसले मुरमुरिएका थिए। मानिसहरूले तिनलाई घृणा गरे। तिनले सुनाएको सन्देशलाई मानिसहरूले वास्तै गरेनन्‌ र तिनलाई पठाउनुहुने परमेश्वरको पनि अनादर गरे। तिनीहरूले हनोकको परमेश्वर यहोवालाई त आक्रमण गर्न सक्दैनथे तर हनोकलाई भने सक्थे। आफ्नो परिवारलाई भेट्‌न पाइने हो कि होइन भनेर हनोक निकै चिन्तित भएको पनि हुन सक्छ। तिनले श्रीमती, छोरीहरू, छोरा मतूशेलह र नाति लेमेकको चिन्ता गरेका हुन सक्छन्‌। (उत्पत्ति ५:२१-२३, २५) के हनोकको जीवन यतिमै समाप्त भयो त?

हनोकको विषयमा बाइबलमा त्यति धेरै चर्चा गरिएको छैन। बाइबलमा तिनको विषयमा जम्मा तीन ठाउँमा छोटो विवरण दिइएको पाउँछौं। (उत्पत्ति ५:२१-२४; हिब्रू ११:५; यहूदा १४, १५) तर ती पदहरूमा उल्लेख गरिएको विवरण विश्वासको खानी हनोकको बारेमा स्पष्ट चित्र कोर्न काफी छ। के तपाईं परिवारको हेरविचार गर्दै हुनुहुन्छ? सही कुराको पक्षमा उभिन तपाईंलाई गाह्रो भएको छ कि? त्यसो हो भने हनोकको विश्वासबाट तपाईं धेरै कुरा सिक्न सक्नुहुन्छ।

“हनोक परमेश्वरका साथसाथ हिंड्‌थे”

हनोकको समयका मानिसहरू साह्रै खराब थिए। तिनीहरू आदमको वंशावलीमा सातौं पुस्ताका थिए। आदम र हव्वाले त्रुटिरहित अवस्था गुमाएको केही समय मात्र बितेकोले मानिसहरू त्रुटिरहित अवस्थाबाट त्यति टाढा पुगिसकेका थिएनन्‌। त्यसैले त्यतिबेलाका मानिसहरूको आयु लामो हुन्थ्यो। तर तिनीहरू नैतिक र आध्यात्मिक तवरमा निकै खस्किसकेका थिए। हिंसा जताततै व्याप्त थियो। आदमपछिको पुस्ताका कयिनले आफ्नै भाइ हाबिलको हत्या गरेपछि हिंसाको सुरुवात भएको थियो। कयिनको सन्तानमध्ये एक जनाले आफू कयिनभन्दा अझै हिंस्रक र इखालु भएकोमा घमन्ड गऱ्यो! यो तेस्रो पुस्ता झनै दुष्ट थियो। त्यतिबेलाका मानिसहरूले यहोवाको नामको पुकारा त गरे तर उहाँको उपासना गर्न भने होइन। तिनीहरूले यहोवाको नाम अनादर हुने तरिकामा प्रयोग गरे।—उत्पत्ति ४:८, २३-२६.

हो, यस्तो प्रचलन हनोकको समयमा एकदमै व्याप्त भइसकेको थियो। हनोकले आफ्नो जीवनमा छनौट गर्नुपरेको थियो। तिनी भीडको पछि लाग्ने थिए? या स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने साँचो परमेश्वर यहोवाको पछि लाग्ने थिए? हाबिलबारे सिक्न पाउँदा हनोकले प्रोत्साहन पाएको हुनुपर्छ। हाबिलले यहोवालाई खुसी पार्ने तरिकामा उहाँको उपासना गरेकोले आफ्नो ज्यानै गुमाउनुपरेको थियो। हनोकले पनि यहोवाको पक्षमा उभिने निर्णय गरे। यस विषयमा उत्पत्ति ५:२२ यसो भन्छ: “हनोक . . . परमेश्वरको साथसाथ हिंड्‌दै रहे।” परमेश्वरको वास्तै नगर्ने दुष्ट संसारमा बाँच्नु परे पनि हनोकले परमेश्वरको सेवा गरिरहे। ‘परमेश्वरको साथसाथै हिंड्‌ने व्यक्ति’ भनेर बाइबलले उल्लेख गरेको पहिलो व्यक्ति तिनी नै हुन्‌।

त्यही बाइबल पदमा मतूशेलह जन्मिएपछि पनि हनोक परमेश्वरको साथसाथै हिंडिरहे भनेर उल्लेख गरिएको पाउँछौं। हनोक लगभग ६५ वर्षको हुँदा तिनको घरबार भइसकेको थियो। तिनकी श्रीमतीको नाम बाइबलमा दिइएको छैन अनि कति जना “छोराछोरीहरू” थिए भन्ने विवरण पनि दिइएको छैन। आफ्नो परिवारको लालनपालन गर्दै यहोवा सँगसँगै हिंड्‌ने हो भने कुनै पनि बुबाले आफ्नो परिवारलाई परमेश्वरको तौरतरिकाअनुसार डोऱ्याएको हुनुपर्छ। श्रीमतीप्रति वफादार रहेको परमेश्वर चाहनुहुन्छ भन्ने कुरा हनोकले बुझेका थिए। (उत्पत्ति २:२४) तिनले छोराछोरीलाई यहोवा परमेश्वरबारे सिकाउन भरमग्दुर कोसिस गरेको हुनुपर्छ। यसको परिणाम कस्तो भयो?

बाइबलमा त्यसबारे विस्तृत विवरण दिइएको छैन। हनोकको छोरा मतूशेलहको विश्वासबारे बाइबलमा केही बताइएको छैन। बाइबलमा उल्लेख गरिएको सबैभन्दा लामो आयु भएको व्यक्ति उनी नै हुन्‌। जलप्रलय आएको वर्षमै उनको मृत्यु भयो। मतूशेलहको छोराको नाम लेमेक थियो। लेमेकले आफ्नो हजुरबुबा हनोकसँग एक सय वर्षभन्दा धेरै समय सँगसँगै बिताए। लेमेकको विश्वास बलियो थियो। यहोवाले लेमेकलाई तिनको छोरा नूहको बारेमा भविष्यवाणी गर्न प्रेरणा दिनुभयो। त्यो भविष्यवाणी जलप्रलयपछि पूरा भयो। आफ्नो जिज्यूबुबा हनोकजस्तै नूह पनि परमेश्वरको साथसाथै हिंड्‌ने व्यक्ति थिए। हुन त नूहले हनोकलाई कहिल्यै भेट्‌न पाएनन्‌ तैपनि हनोकको विश्वासबाट उनले पाठ सिक्न सके। नूहले हनोकको बारेमा आफ्नो बुबा लेमेकबाट अथवा हजुरबुबा मतूशेलहबाट वा हनोकको बुबा येरेदबाट सिकेको हुनुपर्छ। नूह ३६६ वर्षको हुँदा येरेदको मृत्यु भएको थियो।—उत्पत्ति ५:१८, २५-२९; ६:९; ९:१.

आदम र हनोकबीचको भिन्नता विचार गर्नुहोस्। आदम त्रुटिरहित थिए, तैपनि यहोवा विरुद्ध पाप गरे अनि आफ्ना सन्तानहरूमा विद्रोह गर्ने झुकाव र दुःख सारे। तर हनोक त्रुटिपूर्ण भए तापनि यहोवा सँगसँगै हिंडे र आफ्ना सन्तानलाई परमेश्वरमाथि विश्वास गर्नुपर्ने कुरा सिकाए। हनोक ३०८ वर्षको हुँदा आदमको मृत्यु भयो। के स्वार्थी मानिस आदमको मृत्यु भएकोमा हनोकले बिलौना गरे? त्यो त हामीलाई थाह छैन। जे होस् “हनोक परमेश्वरका साथसाथ हिंड्‌थे।”—उत्पत्ति ५:२४.

यदि तपाईं आफ्नो परिवारको लालनपालन गर्दै हुनुहुन्छ भने हनोकको विश्वासबाट कस्तो पाठ सिक्न सक्नुहुन्छ? हुन त परिवारको भौतिक आवश्यकता पूरा गर्नु जरुरी छ तर आध्यात्मिक आवश्यकता पूरा गर्नु झनै महत्त्वपूर्ण छ। (१ तिमोथी ५:८) तपाईंले त्यो आवश्यकता बोलीद्वारा मात्र नभई कामैद्वारा पूरा गर्नुपर्छ। हनोकजस्तै परमेश्वरसँगै हिंड्‌ने अनि उहाँको स्तर अनुरूप जीवन बिताउने छनौट गरेमा तपाईंले पनि आफ्नो परिवारलाई आफ्नो उदाहरणद्वारा असल कुरा सिकाउन सक्नुहुन्छ।

हनोकले “तिनीहरूको विषयमा भविष्यवाणी गरेका थिए”

परमेश्वरमा विश्वास नगर्ने संसारमा बाँच्नुपर्दा हनोकलाई एकदमै एक्लो महसुस भएको हुन सक्छ। तर के यहोवा परमेश्वरले तिनलाई याद गर्नुभयो? हो, गर्नुभयो। उहाँले आफ्ना यी विश्वासी सेवकसित कुरा गर्नुभयो। यहोवाले हनोकलाई त्यतिबेलाका मानिसहरूलाई सुनाउने सन्देश दिनुभयो अनि तिनलाई भविष्यवक्ता नियुक्त गर्नुभयो। तिनी नै बाइबलमा उल्लेख गरिएको पहिलो भविष्यवक्ता थिए जसले भविष्यवाणी गरेको सन्देश बाइबलमा रेकर्ड गरिएको छ। हनोकले गरेको भविष्यवाणीबारे सयौं वर्षपछि येशूका भाइ यहूदाले परमेश्वरबाट प्रेरणा पाएर लेखे। *

हनोकले कस्तो भविष्यवाणी गरे? तिनले यसो भने: “हेर, यहोवा आफ्ना लाखौं-लाख पवित्र स्वर्गदूतहरूसित सबैलाई दण्ड दिन, दुष्टहरूलाई तिनीहरूका सबै दुष्ट कामहरूको दोषी ठहराउन अनि दुष्ट पापीहरूलाई उहाँविरुद्ध बोलेका सबै घिनलाग्दा कुराहरूको सजाय दिन आउनुभयो।” (यहूदा १४, १५) सायद तपाईंले हनोकको भविष्यवाणीमा भूतकाल प्रयोग भएको याद गर्नुभयो होला। मतलब भविष्यवाणीमा भनिएको कुरा परमेश्वरले पहिल्यै पूरा गरिसक्नुभएको तरिकामा तिनले बताएका छन्‌। हनोकपछिका धेरैजसो भविष्यवक्ताले यही शैली अपनाए। यी भविष्यवक्ता आफूले गरेको भविष्यवाणी पक्कै पूरा हुनेछ भन्ने कुरामा विश्वस्त भएकोले तिनले यसलाई पहिल्यै पूरा भइसकेको तरिकामा बताए।—यशैया ४६:१०.

हनोकले भ्रष्ट संसारमा निडर भई परमेश्वरले दिनुभएको चेतावनी सुनाए

मानिसहरूलाई त्यो चेतावनी सुनाउँदा हनोकलाई कस्तो लाग्यो होला? त्यो चेतावनी एकदमै सशक्त थियो। तिनले मानिसहरू र तिनीहरूको क्रियाकलापलाई बुझाउन धेरै पटक “दुष्ट” भन्ने शब्द प्रयोग गरे। अदनको सुन्दर बगैंचा गुमेपछिको संसार एकदमै भ्रष्ट भइसकेको कुरा त्यो भविष्यवाणीले बुझाउँथ्यो। यहोवाले आफ्ना “लाखौं-लाख पवित्र स्वर्गदूतहरू” चलाएर त्यस दुष्ट संसारलाई नाश गर्नुहुने थियो। हनोक एक्लैले निडर भएर यो चेतावनी सुनाए। आफ्नो हजुरबुबा हनोकले साहसी भई प्रचार गरेको देख्दा लेमेक छक्क परेका हुन सक्छन्‌!

हनोकको विश्वासले हामीलाई यस्तो प्रश्न सोध्न उत्प्रेरित गराउँछ: ‘संसारप्रति परमेश्वरको जुन दृष्टिकोण छ, के हाम्रो पनि त्यही दृष्टिकोण छ?’ हनोकले निडर भई सुनाएको चेतावनी आजको संसारमा पनि लागू हुन्छ। हनोकले चेतावनी दिएअनुरूपै यहोवाले नूहको समयमा जलप्रलयद्वारा दुष्ट मानिसहरूलाई नाश गर्नुभयो। त्यो विनाश अब आउनै लागेको अझ ठूलो विनाशको नमुना थियो। (मत्ती २४:३८, ३९; २ पत्रुस २:४-६) त्यतिबेलाजस्तै यस दुष्ट संसारलाई परमेश्वरले लाखौं-लाख स्वर्गदूत चलाएर नाश गर्नुहुनेछ। त्यसकारण हनोकले दिएको चेतावनीलाई हामीले हल्कासित लिनु हुँदैन र यसबारे अरूलाई पनि सुनाउनुपर्छ। हाम्रा परिवारका सदस्यहरू र इष्ट-मित्रहरूको विश्वास बेग्लै हुन सक्छ अनि हामी कहिलेकाहीं एक्लो महसुस गर्न सक्छौं। तर यहोवाले हनोकको साथ कहिल्यै छोड्‌नु भएन अनि अहिले पनि उहाँ आफ्ना सेवकहरूको साथ छोड्‌नु हुन्न।

‘मृत्यु देख्न नपरोस् भनेर तिनलाई स्थानान्तरण गरियो’

हनोकको मृत्यु कसरी भयो? यसबारे बाइबलले त्यति धेरै जानकारी दिएको छैन। उत्पत्तिको किताबमा यतिमात्र भनिएको छ: “हनोक परमेश्वरका साथसाथ हिंड्‌थे। तिनी रहेनन्‌, किनभने परमेश्वरले तिनलाई उठाइलानुभयो।” (उत्पत्ति ५:२४) परमेश्वरले हनोकलाई कसरी उठाइलानुभयो? प्रेषित पावलले यसो भने: “विश्वासैले गर्दा हनोकलाई स्थानान्तरण गरियो, ताकि तिनले आफ्नो मृत्यु देख्न नपरोस्। अनि तिनी कतै पनि भेटिएनन्‌ किनभने परमेश्वरले तिनलाई स्थानान्तरण गरिसक्नुभएको थियो। तिनलाई स्थानान्तरण गरिनुअघि तिनले परमेश्वरलाई असाध्यै खुसी पारेको साक्षी पाइसकेका थिए।” (हिब्रू ११:५) हनोकले ‘मृत्यु देख्न नपरोस् भनेर तिनलाई स्थानान्तरण गरियो’ भन्नुको मतलब के थियो? केही बाइबल अनुवादमा हनोकलाई परमेश्वरले स्वर्ग लैजानुभयो भनेर बताइएको पाउँछौं तर यो हुन सक्दैन। किनकि स्वर्ग उक्लेको पहिलो व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ भनेर बाइबलमा स्पष्ट बताइएको छ।—यूहन्ना ३:१३.

त्यसोभए हनोकलाई “स्थानान्तरण गरियो” अनि तिनले “मृत्यु देख्न” परेन भन्नुको मतलब के थियो? यहोवाले तिनको शरीरलाई स्थानान्तरण गर्नुभयो जसले गर्दा हिंस्रक विरोधीहरूको हातमा पर्नुअघि नै तिनको मृत्यु भयो। तर हनोकको मृत्यु हुनुभन्दा अघि नै “तिनले परमेश्वरलाई असाध्यै खुसी पारेको साक्षी पाइसकेका थिए।” कसरी? हनोकको मृत्यु हुनुअघि परमेश्वरले तिनलाई पृथ्वी सुन्दर बगैंचामा परिणत भएको कुरा दर्शनमार्फत देखाउनुभएको हुन सक्छ। हनोकले यहोवाको अनुमोदन पाएको यस्तो स्पष्ट सङ्‌केत पाएपछि तिनको मृत्यु भयो। हनोक र अन्य थुप्रै विश्वासी पुरुष र स्त्रीबारे प्रेषित पावलले यसो लेखे: “तिनीहरू सबैले आफ्नो मृत्यु नहोउन्जेल अन्तसम्मै विश्वास गरे।” (हिब्रू ११:१३) विरोधीहरूले हनोकको शवलाई धुइँधुइँती खोजे होलान्‌ तर “तिनी कतै पनि भेटिएनन्‌” किनकि यहोवाले हनोकको शवलाई गायब पारिसक्नुभएको थियो। तिनीहरूले हनोकको शवलाई हानि नपुऱ्याऊन्‌ र झूटो धार्मिक प्रचलनमा नमुछून्‌ भनेर यहोवाले यसो गर्नुभएको हुनुपर्छ। *

बाइबलमा बताइएको कुरा मनमा राख्दै हनोकको मृत्यु कसरी भयो होला भनेर कल्पना गरौं। तिनी स्वाँस्वाँ गर्दै दौडिरहेका छन्‌। तिनले सुनाएको चेतावनीको कारण तिनलाई विरोधीहरूले लखेटिरहेका छन्‌। ज्यान जोगाउन लुक्ने ठाउँ भेट्टाए पनि त्यहाँ धेरै समय लुक्न सकिंदैन भन्ने कुरा तिनलाई थाह छ। तिनलाई मार्न खोज्ने मानिसहरू तिनको नजिकै आइसकेका छन्‌। लुकेर बस्दै गरेको बेला तिनी यहोवालाई प्रार्थना गर्छन्‌। त्यसपछि तिनले आफ्नो मन एकदमै हल्का भएको महसुस गर्छन्‌। तिनले एउटा दर्शन देख्छन्‌ र तिनलाई आफू त्यहीं भएजस्तो लाग्छ। तिनलाई आफू एकदमै शान्त र सुन्दर ठाउँमा भएको महसुस हुन्छ।

यहोवाले उठाइ लैजानुअघि हनोकले दुर्व्यवहार भोग्दै थिए

हनोकले आफू बाँचिरहेको समयभन्दा बिलकुलै नौलो संसार देखेको कल्पना गर्नुहोस्। यो तिनलाई अदनको बगैंचाजस्तै सुन्दर लाग्यो। तर मानिसहरू छिर्लान्‌ कि भनेर करूबहरूले त्यस ठाउँलाई सुरक्षा दिइरहेका भने थिएनन्‌। सबै मानिसहरू स्वस्थ थिए अनि कोही बूढा-बूढी थिएनन्‌। त्यहाँ शान्ति छाएको थियो। कसैले कसैलाई दुःख दिंदैनथ्यो अनि धर्मको कारण सताउँदैनथ्यो। हनोकले चाहिं यहोवा परमेश्वरको माया र अनुमोदन पाएको महसुस गरे। त्यही ठाउँ अब तिनको घर हुने थियो। तिनले आँखा चिम्ले, शान्तिको लामो सास फेरे अनि तिनी चिर निद्रामा परे।

अहिले पनि तिनी चिर निद्रामै छन्‌। तर यहोवाले तिनलाई बिर्सनुभएको छैन। येशूले प्रतिज्ञा गर्नुभएअनुसारै परमेश्वरको सम्झनामा हुनेहरूले येशूको स्वर सुन्नेछन्‌ र चिहानबाट निस्किआउनेछन्‌। तिनीहरूले आँखा खोल्दा पूरै पृथ्वी सुन्दर अनि शान्तिले भरिएको नयाँ संसार भइसकेको हुनेछ।—यूहन्ना ५:२८, २९.

के तपाईं पनि त्यस्तो संसारमा जीवन बिताउन चाहनुहुन्छ? हनोकलाई भेटेको क्षण कल्पना गर्नुहोस्! अनि तिनीबाट सिक्न सक्ने कुराहरूबारे विचार गर्नुहोस्। तिनको जीवनको अन्तिम घडीबारे हामीले कल्पना गरेको कुरा वास्तविकतासँग कत्तिको मेल खायो तिनले हामीलाई बताउनेछन्‌। तर तिनीबाट हामीले अहिल्यै सिक्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ। हनोकको विषयमा चर्चा गरेपछि पावलले यसो भने: “विनाविश्वास उहाँलाई खुसी पार्न असम्भव छ।” (हिब्रू ११:६) त्यसैले आउनुहोस्, हामी सबै जना हनोकको विश्वासको अनुकरण गरिरहौं।

^ अनु. 14 हनोकको किताब नाम दिइएको एउटा किताबबाट यहूदाले यस्ता विवरण उल्लेख गरेका हुन सक्छन्‌ भनेर केही शास्त्रविद्‌हरू भन्ने गर्छन्‌। तर त्यो किताबमा लेखिएका कुराहरू भरपर्दा छैनन्‌। त्यो किताब हनोकले लेखेको भन्ने कुरा पनि झूटो हो। त्यो किताबको लेखक को हो र कहिले लेखियो, कुनै आधिकारिक प्रमाण छैन। तर त्यस किताबमा हनोकले गरेको भविष्यवाणी भने सही तरिकामा उल्लेख गरिएको छ। त्यो भविष्यवाणी प्राचीन समयको कुनै लिखित वा मौखिक स्रोतबाट लिइएको हुन सक्छ तर अहिले त्यो स्रोत अस्तित्वमा छैन। यहूदाले त्यही प्राचीन स्रोत प्रयोग गरेका हुन सक्छन्‌ वा येशू ख्रीष्टबाट थाह पाएका हुन सक्छन्‌। किनभने येशूले हनोकलाई स्वर्गबाट हेरिरहनुभएको थियो।

^ अनु. 20 मानिसहरूले मोशा र येशूको शवलाई हानि नपुऱ्याऊन्‌ भनेर यहोवाले तिनीहरूको शवलाई पनि त्यसरी नै गायब पार्नुभयो।—व्यवस्था ३४:५, ६; लूका २४:३-६; यहूदा ९.