सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | अन्त के को र कहिले?

“अन्त” तर के को?

“अन्त” तर के को?

“अन्त नजिक छ!” भन्‍ने वाक्य सुन्दा तपाईंको मनमा के आउँछ? अन्तरिक्षबाट तारा खसेर पृथ्वी र मानिसजातिलाई सखाप पारेको दृश्‍य कल्पना गर्नुहुन्छ कि? अथवा कुनै प्रलय वा तेस्रो विश्‍वयुद्धले पृथ्वीलाई भस्म पारेको सोच्नुहुन्छ? यस्ता दृश्‍यहरूको कल्पनाले कोही-कोही चिन्तित हुन सक्छ भने कोही-कोहीलाई यस्ता कुराहरू वाहियात वा हाँसउठ्‌दो पनि लाग्न सक्छ।

तर बाइबलमा भने यस्तो लेखिएको छ: “यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) यही घटनाक्रमलाई “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिन” र “हार-मागेडोन” वा “आरमागेडोन” पनि भनिन्छ। (प्रकाश १६:१४, १६) अन्तको विषयमा थुप्रै धर्मभित्र गोलमाल छ। साथै अनौठा र निराश पार्ने विचारधाराहरू पनि व्याप्त छन्‌। कुरा जेसुकै भए तापनि बाइबलमा अन्त भनेको के हो र के होइन भन्‍नेबारे स्पष्ट लेखिएको छ। साथै परमेश्‍वरको वचनमा अन्त कत्तिको नजिक छ भन्‍नेबारे पनि बताइएको छ। सबैभन्दा खुसीको कुरा त यस दिनबाट हामी कसरी बच्न सक्छौं भन्‍ने कुरा बाइबलमा पाइन्छ। तर पहिला हामी यस दिनबारे फैलिएका गलत धारणाहरू के-के हुन्‌ अनि अन्त वास्तवमा के हो भनेर पत्ता लगाऔं। त्यसोभए बाइबलअनुसार “अन्त” भनेको के हो त?

अन्त भनेको यी कुराहरू होइनन्‌:

  1. १. पृथ्वीको विनाश

    बाइबलमा यस्तो लेखिएको छ: “पृथ्वी कहिल्यै नडग्मगाओस्‌ भनेर त्यसलाई उहाँले जगमाथि स्थिर पार्नुभयो।” (भजन १०४:५, NRV) परमेश्‍वरले पृथ्वीको विनाश गर्नुहुन्‍न अनि अरूलाई विनाश गर्न पनि दिनुहुन्‍न भनेर बाइबलका अरू थुप्रै पदमा पनि उल्लेख गरिएको छ।—उपदेशक १:४; यशैया ४५:१८.

  2. २. अन्धाधुन्ध आउने

    परमेश्‍वरले अन्त हुने समय तोकिसक्नुभएको छ भनेर बाइबलमा बताइएको छ। हामी यस्तो लेखिएको पाउँछौं: “त्यस दिन वा समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र। सधैं सचेत रहो अनि जागा बस, किनकि परमेश्‍वरले तोक्नुभएको समय कुन हो, तिमीहरू जान्दैनौ।” (मर्कूस १३:३२, ३३) हो, बुबा अर्थात्‌ परमेश्‍वरले अन्तको ‘समय तोकिसक्नुभएको’ छ भनेर यस पदले स्पष्ट पार्छ।

  3. ३. मानिसले ल्याउने वा अन्तरिक्षबाट केही खसेर हुने

    अन्त कसरी हुन्छ त? प्रकाश १९:११ मा यस्तो लेखिएको छ: “त्यसपछि, मैले स्वर्ग उघ्रेको देखें अनि हेर, एउटा सेतो घोडा पनि देखें। त्यसमा सवार हुनेको नाम विश्‍वासी अनि सत्य रहेछ र तिनले परमेश्‍वरको स्तरबमोजिम न्याय गर्नुका साथै युद्ध गर्दा रहेछन्‌।” अनि पद १९ मा यस्तो लेखिएको छ: “अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें।” (प्रकाश १९:११-२१) यहाँ लेखिएका कुराहरू प्रतीकात्मक भए तापनि अन्तबारे हामी यो कुरा थाह पाउन सक्छौं: परमेश्‍वरले उहाँका शत्रुहरूलाई नाश गर्न स्वर्गदूतहरूको दल चलाउनुहुनेछ।

अन्तबारे बाइबलमा बताइएको सन्देश दुःखदायी नभई राम्रो समाचार हो

अन्त भनेको यी कुराहरू हुन्‌:

  1. १. असफल मानव सरकारको अन्त

    बाइबलमा यस्तो बताइएको छ: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, न त त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चकनाचुर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदासर्वदै रहिरहनेछ।” (दानियल २:४४) माथि ३ नम्बरको बुँदामा पनि उल्लेख गरिएझैं “घोडामा सवार हुने र तिनका सेनासित लडाइँ गर्न . . . एकसाथ भेला” भएका “पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरू” अर्थात्‌ मानव सरकारहरूको अन्त हुनेछ।—प्रकाश १९:१९.

  2. २. युद्ध, हिंसा र अन्यायको अन्त

    यसबारे बाइबलमा यस्तो लेखिएको छ: “पृथ्वीको अन्तसम्मै [परमेश्‍वरले] युद्धहरू रोक्नुहुन्छ।” (भजन ४६:९) “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌ र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌ र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।” (हितोपदेश २:२१, २२) “हेर, म सबै थोक नयाँ बनाउँदैछु।”—प्रकाश २१:४, ५.

  3. ३. परमेश्‍वरलाई अस्वीकार्य धर्महरूको अन्त

    बाइबलमा यस्तो उल्लेख गरिएको छ: “अगमवक्‍ताहरू झूटा अगमवाणी कहन्छन्‌। औ पूजाहारीहरू आफ्नै आदेशमा शासन गर्छन्‌। . . . तर अन्त्यको समयमा तिमीहरू के गर्नेछौ?” (यर्मिया ५:३१) “त्यस दिन धेरैले मलाई यसो भन्‍नेछन्‌: ‘हे प्रभु, हे प्रभु, के हामीले तपाईंको नाममा भविष्यवाणी गरेनौं र? तपाईंको नाममा दुष्ट स्वर्गदूतहरूलाई धपाएनौं र? अनि के हामीले तपाईंको नाममा थुप्रै शक्‍तिशाली काम गरेनौं र?’ अनि त्यतिबेला म तिनीहरूलाई प्रस्टै यसो भन्‍नेछु: ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन! हे कुकर्मीहरू हो, मबाट पर हटिहाल।’”—मत्ती ७:२१-२३.

  4. ४. संसारको अवस्थालाई बिगार्ने मानिसहरूको अन्त

    येशूले यसो भन्‍नुभयो: “अब यस आधारमा न्याय हुन्छ, संसारमा ज्योति आएको छ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए, किनकि तिनीहरूका कामहरू दुष्ट थिए।” (यूहन्‍ना ३:१९) विश्‍वासी पुरुष नूहको समयमा भएको संसारको विनाशबारे पनि बाइबलमा लेखिएको छ। “त्यसबेलाको संसार जलप्रलय हुँदा डुबेर नाश भयो। त्यही वचनद्वारा अहिलेको आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ अनि भक्‍तिहीन मानिसहरूको न्याय र विनाश हुने दिनसम्मका लागि छुट्ट्याएर राखिएको छ।”—२ पत्रुस ३:५-७.

आउँदै गरेको “न्याय र विनाश हुने दिन”-लाई नूहको समयमा भएको “संसार”-को विनाशसित तुलना गरिएको छ। त्यतिखेर कस्तो संसारको विनाश भयो? हो, पृथ्वी त विनाश भएन। बरु परमेश्‍वरका शत्रुहरू अर्थात्‌ “भक्‍तिहीन मानिसहरूको” अन्त भयो। त्यसैगरि अब आउने “न्याय”-को दिनमा पनि परमेश्‍वरका शत्रुहरूको विनाश हुनेछ। परमेश्‍वरले नूह र तिनका परिवारको सुरक्षा गर्नुभएजस्तै यस संसारको विनाशबाट उहाँले आफ्ना घनिष्ठ साथीहरूलाई पनि जोगाउनुहुनेछ।—मत्ती २४:३७-४२.

परमेश्‍वरले सबै दुष्टताको अन्त गर्नुभएपछि यस पृथ्वीको अवस्था कस्तो होला, कल्पना गर्नुहोस्‌ त। अन्तबारे बाइबलमा बताइएको सन्देश दुःखदायी नभई राम्रो समाचार हो। तर तपाईंको मनमा यस्ता प्रश्‍नहरू उठ्‌छन्‌ होला: ‘अन्त ठ्याक्कै कहिले आउँछ भनेर बाइबलमा बताइएको छ कि? के यो दिन नजिकै छ? म त्यस दिनबाट कसरी जोगिन सक्छु?’