सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

यहोवा दयालु र क्षमा गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर मैले सिकें

यहोवा दयालु र क्षमा गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर मैले सिकें
  • जन्म मिति: १९५४

  • जन्म स्थान: क्यानाडा

  • पृष्ठभूमि: ठग, जुवाडे

मेरो विगत:

म क्यानाडाको मोन्ट्रियाल सहरको एक गरिब बस्तीमा हुर्कें। छ महिनाको छँदा बुबाको मृत्यु भएकोले आमा एक्लैले पूरै घर-व्यवहार सम्हाल्नु परेको थियो। हाम्रो परिवारमा भएको ८ जना बच्चाहरू मध्ये म चाहिं कान्छो थिएँ।

हुर्कंदै जाँदा मेरो दिनचर्या लागू पदार्थ, जूवातास र हिंसात्मक कार्यका साथै अपराधीहरूको सङ्‌गतमा बित्दै गयो। दस वर्षको छँदा त वेश्‍यावृत्ति गर्ने र कर्जा असुल्ने साहूहरूका लागि काम गर्न थालिसकेको थिएँ। म धेरै झूट बोल्थें; मानिसहरूलाई छक्याउँथें; मलाई निकै मज्जा लाग्थ्यो। यसो गर्ने मेरो बानी नै बसिसकेको थियो।

चौध वर्षको उमेरमा मानिसहरूलाई ठग्न म खप्पिस भइसकेको थिएँ। जस्तै: सुनको जलप भएका घडी, बाला र औंठीहरू ठूलो मात्रामा किनेर त्यसमा १४ क्यारेटको छाप लगाइदिन्थें। अनि त्यसलाई बाटोमा र सपिङ मलको पार्किङ्‌ गर्ने ठाउँमा लगेर बेच्थें। यसप्रकार सजिलै पैसा कमाउन सकिंदो रहेछ भनेर थाह पाउँदा म झन्‌-झनै यस्तो काम गर्न लग्गू भएँ। एकपटक त मैले एकै दिनमा १०,००० डलर कमाएँ।

पन्ध्र वर्षको उमेरमा सुधार केन्द्रका मानिसहरूले मलाई त्यहाँबाट निकालिदिए। बस्ने ठाउँ कतै नभएकोले बाटोमा, पार्कमा वा साथीहरूको घरमा रात बिताउने गर्थें।

मेरो क्रियाकलापले गर्दा प्रहरीले अक्सर मलाई सोधपुछ गरिरहन्थे। तर चोरीको सामान नबेचेकोले म कहिल्यै जेल जानु परेन। जालसाजी गरेको र गैरकानुनी ढङ्‌गमा सामानहरू बेचेकोले थुप्रै पटक मैले भारी जरिबाना तिर्नुपऱ्‍यो। म कसैसित डराउँदिन थिएँ। त्यसैले कर्जा असुल्ने साहुका लागि पैसा उठाउने काम पनि गरें। त्यो काम जोखिमपूर्ण भएकोले कहिलेकाहीं पेस्तोलसमेत बोक्नुपर्थ्यो। बेलाबेलामा अपराधी गिरोहसँग पनि काम गरें।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

सत्र वर्षको छँदा पहिलो पटक मैले बाइबलका कुराहरू सुनें। त्यतिखेर म एक जना केटीसँग बस्थें। तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गरिन्‌। तर मलाई बाइबलमा तोकिएको नैतिक स्तर पटक्कै मन परेन। त्यसैले तिनलाई छाडेर अर्कै केटीसँग बस्न थालें।

दोस्रो केटीले पनि यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गर्दा मेरो जीवनले नयाँ मोड लियो। तिनले आफ्नो जीवनमा निकै ठूलो परिवर्तन गरिन्‌। तिनी अझ नम्र र धीरजी भएको देखेर म प्रभावित भएँ। यहोवाका साक्षीहरूको सभामा उपस्थित हुने निम्तो पाउँदा म त्यहाँ गएँ। सभामा मलाई भद्र र मायालु मानिसहरूले स्वागत गरे। त्यहाँको वातावरण मेरो संसारभन्दा धेरै फरक थियो। परिवारमा पनि त्यस्तो माया मैले कहिल्यै अनुभव गरेको थिइनँ। बाल्यकालभरि नै मैले माया ममताको कमी महसुस गरेको थिएँ। जीवनभर खोजिरहेको माया यहोवाका साक्षीहरूमाझ पाएँ। त्यसैले तिनीहरूले बाइबल अध्ययनको प्रस्ताव राख्दा मैले खुसीसाथ स्वीकारें।

बाइबल अध्ययन गरेकोले नै म जीवित छु। किनभने त्यतिखेर जुवामा हारेकोले ५०,००० डलरभन्दा धेरै ऋण मैले तिर्नुपर्ने थियो। त्यो रकम तिर्न दुई जना साथीसित डकैतीको योजना बनाउँदै थिएँ। तर बाइबलबाट सिकेको ज्ञानले गर्दा त्यसो गर्न मैले इन्कार गरें। त्यो निर्णय गरेकोमा म धेरै खुसी छु। किनभने ती साथीहरूले योजना अनुसारै डकैती गर्दा एक जना पक्रियो भने अर्को चाहिं मारियो।

बाइबल अध्ययन गर्दै जाँदा मैले सुधार्नुपर्ने कुराहरू धेरै रहेछन्‌ भनेर बुझें। उदाहरणको लागि, १ कोरिन्थी ६:१० मा यस्तो लेखिएको छ: “चोरहरू, लोभीहरू, पियक्कडहरू, निन्दकहरू, लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” मेरो जीवनशैली वास्तवमा खराबीले भरिएको रहेछ भनेर यस पदले मलाई सम्झायो। मेरा आँखा रसाए। जीवन पूरै परिवर्तन गर्नुपर्छ भनेर मैले बुझें। (रोमी १२:२) म झगडालु र झोकी स्वभावको थिएँ; मेरो पूरै जीवन झूटमा अडेको थियो।

तर यहोवा दयालु र क्षमा गर्नुहुने परमेश्‍वर हुनुहुन्छ भनेर बाइबलबाट सिकें। (यशैया १:१८) मेरो पुरानो जीवनशैलीलाई परिवर्तन गर्न मदत दिनुहोस्‌ भनेर यहोवा परमेश्‍वरलाई खुरन्धार अन्तरबिन्ती चढाएँ। उहाँकै मदतले आफ्नो जीवनलाई सही बाटोमा डोऱ्‍याउन सकें। म जुन केटीसित बस्थें तिनीसित कानुनी तवरमा विवाह गरेर बाइबलको सिद्धान्त अनुसार जीवन बिताउन महत्त्वपूर्ण कदम चालें।

बाइबलको सिद्धान्त आफ्नो जीवनमा लागू गरेकोले म आज जीवित छु।

चौबीस वर्ष पुग्दा मेरा तीन जना छोराछोरी भइसकेका थिए। अब मैले पहिले जस्तो नभई राम्रो काम खोज्नु परेको थियो। तर मसँग खासै कामको अनुभव वा शैक्षिक योग्यता थिएन। मैले फेरि यहोवा परमेश्‍वरलाई प्रार्थनामा निकै पुकारें; कामको खोजीमा पनि लागिरहें। अन्तरवार्ता दिंदा आफ्नो जीवन सुधार्न चाहन्छु र इमानदार भएर कमाउन चाहन्छु भनेर बताउँथे। म बाइबल पढ्‌दै छु अनि एक असल नागरिक बन्‍न चाहन्छु भनेर पनि भन्‍ने गर्थें। धेरै जसो हाकिमहरूले मलाई काम दिन चाहेनन्‌। एउटा अर्को अन्तरवार्तामा पनि आफ्नो विगतका कुराहरू नलुकाइ बताउँदा ती हाकिमले यसो भने: “किन हो मलाई थाह छैन तर तपाईंलाई काममा राख्नुपर्छ जस्तो लागिरहेको छ।” यो मेरो प्रार्थनाको जवाफ थियो। केही समयपछि म र मेरी पत्नीले बप्तिस्मा गऱ्‍यौं र हामी पनि यहोवाका साक्षीहरू भयौं।

मैले कसरी लाभ उठाएको छु?

बाइबलको सिद्धान्त आफ्नो जीवनमा लागू गरेकोले अनि ख्रीष्टियनको रूपमा जीवन बिताएकोले नै म आज जीवित छु। अहिले हामी सुखी पारिवारिक जीवन बिताइरहेका छौं। यहोवा परमेश्‍वरले क्षमा दिनुभयो भनेर बुझेकोले मेरो अन्तस्करण सफा भएको छ।

बितेको १४ वर्षदेखि बाइबलको कुरा अरूलाई सिकाउन म पूर्ण-समय सेवामा लागिरहेको छु। अहिले मेरी पत्नीले पनि मसँगै पूर्ण-समय सेवा गर्दै छिन्‌। तीस वर्षको दौडान मैले आफ्ना २२ जना सहकर्मीलाई यहोवा परमेश्‍वरको उपासना गर्न मदत दिन पाएकोमा औधी खुसी छु। अझै पनि म सपिङ मलहरू जाने गर्छु। तर मानिसहरूलाई ठग्न नभई बाइबलको महत्त्वपूर्ण सन्देश दिन जान्छु। कस्तो सन्देश? भविष्यमा कसैले कसैलाई नठग्ने नयाँ संसारमा बाँच्ने आशाको सन्देश।—भजन ३७:१०, ११.