सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउनुहोस्

छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउनुहोस्

चुनौती

तपाईंको ६ वर्षको छोरालाई आत्मसंयमबारे केही थाह छैन। आफूलाई मन पर्ने कुरा देख्यो भने उसलाई तुरुन्तै चाहिन्छ। ऊ रिसायो भने चिच्याउन थाल्छ। तपाईंलाई लाग्ला, ‘के सबै बच्चाहरू यस्तै हुन्छन्‌? यो आफै छुट्ने बानी हो कि आत्मसंयम देखाउन मैले सिकाउनुपर्ने हो?’ *

तपाईंले के बुझ्नुपर्छ?

अहिलेको संसारले आत्मसंयम देखाउन प्रोत्साहन दिंदैन। डा. डेभिड वल्स लेख्छन्‌, “अहिलेको संसारमा वयस्क र बच्चाहरूले आफूलाई जे मनपर्छ, त्यो गर्नुपर्छ भनेर सुन्ने गर्छन्‌।” *

सानैदेखि आत्मसंयम देखाउन सिकाउनु जरुरी छ। अनुसन्धानकर्ताहरूले लामो समय लगाएर एउटा अध्ययन गरे जसमा चार वर्षका बच्चाहरूको समूहलाई एउटा-एउटा मिठाई दिइयो। तिनीहरूले त्यो मिठाई तुरुन्तै पनि खान सक्छन्‌ तर केही समय पर्खेमा इनामस्वरूप अर्को एउटा मिठाई दिइनेछ भनियो। चार वर्षको उमेरमा आत्मसंयम देखाएका केटाकेटीहरूले किशोरावस्थामा पुगिसकेपछि भावनात्मक, सामाजिक र शैक्षिक क्षेत्रमा उनीहरूको समूहमा भएका अन्य केटाकेटीले भन्दा राम्रो गर्दै थिए।

आत्मसंयम देखाउन नसिकाउँदा ठूलो मोल चुकाउनुपर्ने हुन्छ। अनुसन्धानकर्ताहरूका अनुसार केटाकेटीहरूको अनुभवले तिनीहरूको मस्तिष्कमा प्रभाव पार्न सक्छ। यसबारे डा. डान किन्ड्लन लेख्छन्‌, “केटाकेटीलाई तिनीहरूले मागेको सबै कुरा दियौं अनि धैर्य गर्न र प्रलोभनको प्रतिरोध गर्न सिकाएनौं भने तिनीहरू बलियो स्वभावको व्यक्ति बन्न सक्दैनन्‌।” *

तपाईं के गर्न सक्नुहुन्छ?

उदाहरण बसाल्नुहोस्। आत्मसंयम देखाउने सन्दर्भमा तपाईंले कस्तो उदाहरण बसाल्नुभएको छ? ट्राफिक जाम हुँदा, कसैले पालो मिच्दा वा कुराकानी बीचैमा काट्दा तपाईं झडङ्ङ रिसाउनुभएको छोराछोरीले देखेका छन्‌ कि? किन्ड्लन लेख्छन्‌, “छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउने सबैभन्दा राम्रो तरिका तपाईं आफैले त्यसो गर्नु हो।”—बाइबल सिद्धान्त: रोमी १२:९.

नतिजाबारे केटाकेटीलाई बताउनुहोस्। आफ्नो चाहना तुरुन्तै पूरा नगर्दा हुने फाइदा र तुरुन्तै पूरा गर्दा हुने बेफाइदाबारे केटाकेटीको उमेरलाई ध्यान दिंदै बताउनुहोस्। जस्तै: कसैले तपाईंको छोरा वा छोरीलाई नराम्रो व्यवहार गऱ्यो र ऊ रिसायो भने आफैलाई यस्ता प्रश्नहरू सोध्न लगाउनुहोस्, ‘जस्तालाई तस्तै गर्दा अवस्था राम्रो हुन्छ कि झन्‌ बिग्रन्छ? समस्या समाधान गर्ने अर्को राम्रो तरिका छ कि? सायद एकदेखि दस गनेर रिस मर्न दिनु अथवा त्यो ठाउँ छोडेर जानु बेस हो कि?’—बाइबल सिद्धान्त: गलाती ६:७.

केटाकेटीलाई प्रोत्साहन दिनुहोस्। केटाकेटीले आत्मसंयम देखाउँदा उसको प्रशंसा गर्नुहोस्। आफ्ना चाहनाहरू दबाउन सधैं सजिलो हुँदैन तर यसो गर्नु भनेको साहस देखाउनु हो भनेर उसलाई बताउनुहोस्। बाइबल यसो भन्छ, “जुन मानिसले आफ्नो रिस थाम्न सक्दैन, त्यो मानिस शत्रुको आक्रमणको निम्ति पर्खालविनाको सहरजस्तै हो।” (हितोपदेश २५:२८) तर त्यसको विपरीत “आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो।”—हितोपदेश १६:३२, NRV.

अभ्यास गर्नुहोस्। “तिमी भएको भए के गर्थ्यौ?” वा “असल छनौट, खराब छनौट” भन्नेजस्ता खेल खेलाउनुहोस्। खेलमा विभिन्न अवस्था सृजना गर्नुहोस् र त्यस्तो अवस्थामा तपाईंको छोरा वा छोरीले देखाउने प्रतिक्रियालाई “असल” वा “खराब” भनेर इङ्गित गर्नुहोस्। सृजनात्मक हुनुहोस्: खेल रमाइलो र जानकारीमूलक बनाउन गुडिया, चित्र वा यस्तै अरू केही प्रयोग गर्न सक्नुहुन्छ। तपाईंको उद्देश्य छोराछोरीलाई आत्मसंयम गुमाउनुभन्दा देखाउनु राम्रो हो भनेर बुझाउनु हो।—बाइबल सिद्धान्त: हितोपदेश २९:११.

धैर्य गर्नुहोस्। बाइबल भन्छ, “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ।” (हितोपदेश २२:१५) छोराछोरीले रातारात आत्मसंयम देखाउन सिक्लान्‌ भनेर आशा नगर्नुहोस्। केटाकेटीको बारेमा लेखिएको एउटा किताब * यसो भन्छ, “आत्मसंयमजस्तो गुण विकास गर्न धेरै समय लाग्छ। कहिले विफल भइन्छ त कहिले सफल। तर कोसिस गरिरहनु बेस हो। आत्मसंयम देखाउन सक्ने केटाकेटीहरू १२ वर्षमा लागूपदार्थ सेवन गर्ने वा १४ वर्षमा यौनसम्बन्ध राख्ने स्थितिमा पुग्दैनन्‌।” (g15-E 08)

^ अनु. 4 यस लेखमा बच्चालाई छोरा भनेर सम्बोधन गरिएको छ। तर यहाँ छलफल गरिएको सिद्धान्त छोराछोरी दुवैमा लागू हुन्छ।

^ अनु. 6 No: Why Kids—of All Ages—Need to Hear It and Ways Parents Can Say It भन्ने किताबबाट साभार।

^ अनु. 8 Too Much of a Good Thing—Raising Children of Character in an Indulgent Age भन्ने किताबबाट साभार।

^ अनु. 14 Teach Your Children Well

^ अनु. 27 Generation Me