सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरूको परिचालक निकाय भनेको के हो?

यहोवाका साक्षीहरूको परिचालक निकाय भनेको के हो?

 परिचालक निकाय भनेको परिपक्व ख्रिष्टियनहरूको एउटा सानो समूह हो, जसले विश्‍वभरिका यहोवाका साक्षीहरूलाई निर्देशन दिन्छ। यस निकायले यी दुई वटा काम गर्छ:

  •   यस निकायले यहोवाका साक्षीहरूको प्रकाशन, सभा तथा स्कुलहरूमार्फत दिइने बाइबलआधारित निर्देशन तयारी गर्ने कामको निरीक्षण गर्छ।—लुका १२:४२.

  •   प्रचारकार्यको नेतृत्व लिएर अनि प्राप्त भएका अनुदानहरू के-कसरी प्रयोग गर्ने भन्‍ने कुराको निरीक्षण गरेर यस निकायले यहोवाका साक्षीहरूको विश्‍वव्यापी कामको रेखदेख गर्छ।

 प्रथम शताब्दीमा “यरुसलेममा भएका प्रेषित र एल्डरहरू”-ले सम्पूर्ण मण्डलीको लागि महत्त्वपूर्ण निर्णय गर्थे र आज परिचालक निकायले त्यही नमुना पछ्याउँछ। (प्रेषित १५:२) प्रथम शताब्दीका ती वफादार पुरुषहरू नेता नभएजस्तै परिचालक निकायका सदस्यहरू पनि हाम्रो सङ्‌गठनको नेता होइनन्‌। यहोवा परमेश्‍वरले येसु ख्रिष्टलाई मण्डलीको शिरको रूपमा नियुक्‍त गर्नुभएको छ भन्‍ने कुरा स्विकार्दै तिनीहरू डोऱ्‍याइको लागि बाइबलमा भर पर्छन्‌।—१ कोरिन्थी ११:३; एफिसी ५:२३.

परिचालक निकायका सदस्यहरू को-को हुन्‌?

 परिचालक निकायका सदस्यहरू यी हुन्‌: केनेथ कुक जुनियर, गेज फ्लिगल, गेरिट लोश, जेफ्रि ज्याक्सन, जेफ्रि विन्डर, डेभिड स्प्लेन, मार्क स्यान्डर्सन, स्टिफन लेट्‌स्यामुएल हर्ड। यी भाइहरू अमेरिकाको न्यु योर्कस्थित वारविकमा भएको हाम्रो मुख्यालयमा सेवा गर्छन्‌।

परिचालक निकायको संरचना कस्तो छ?

 परिचालक निकायले हाम्रो कामको विभिन्‍न पक्षको निरीक्षण गर्न छ वटा समिति गठन गरेको छ; प्रत्येक सदस्यले यीमध्ये एक वा सोभन्दा धेरै समितिमा सेवा गर्छन्‌।

  •   प्रकाशन समिति: बाइबलआधारित प्रकाशनको उत्पादन र ढुवानीसित सम्बन्धित कामको सुपरिवेक्षण गर्छ अनि सभाभवन, अनुवाद कार्यालय र शाखा कार्यालयको निर्माणसम्बन्धी गतिविधिको निरीक्षण गर्छ।

  •   लेखन समिति: छापिएका प्रकाशनहरू र हाम्रो वेबसाइटमार्फत आध्यात्मिक भोजन दिने कामको निरीक्षण गर्छ र अनुवादसम्बन्धी कामको रेखदेख गर्छ।

  •   शिक्षण समिति: सभा, स्कुल तथा अडियो-भिडियो सामग्रीद्वारा आध्यात्मिक भोजन दिने कामको सुपरिवेक्षण गर्छ।

  •   संयोजन समिति: कानुनी मामिलाहरूको सुपरिवेक्षण गर्छ र यहोवाका साक्षीहरूले प्रकोप तथा आपत्‌कालीन परिस्थिति सामना गर्नुपर्दा र आफ्नो धार्मिक विश्‍वासको कारण सतावट भोग्नुपर्दा आवश्‍यक मदत दिन्छ।

  •   सदस्य समिति: बेथेल सेवकहरू नियुक्‍त गर्ने र उनीहरूको आवश्‍यकता हेरविचार गर्ने कामको निरीक्षण गर्छ।

  •   सेवा समिति: ‘राज्यको सुसमाचार’ प्रचार गर्ने कामको निरीक्षण गर्छ।—मत्ति २४:१४.

 परिचालक निकायले यी समितिहरूमार्फत काम गर्नुका साथै यसका सदस्यहरू सङ्‌गठनको आवश्‍यकताबारे छलफल गर्न प्रत्येक हप्ता भेला हुन्छन्‌। यसरी भेला हुँदा परिचालक निकायका सदस्यहरू धर्मशास्त्रले के भन्छ भनेर छलफल गर्छन्‌ र परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चलेर सर्वसम्मतिमा पुग्ने प्रयास गर्छन्‌।—प्रेषित १५:२५.

परिचालक निकायका सहयोगीहरू को हुन्‌?

 परिचालक निकायका सहयोगीहरू यस निकायका समितिहरूलाई मदत गर्ने भरोसायोग्य ख्रिष्टियनहरू हुन्‌। (१ कोरिन्थी ४:२) यी सहयोगीहरू आफूलाई खटाइएको समितिमा काम गर्न सक्षम र अनुभवी हुन्छन्‌ अनि प्रत्येक हप्ता हुने समितिको सभामा उपस्थित हुन्छन्‌। हुन त सहयोगीहरूले निर्णय गर्ने काममा भाग लिँदैनन्‌ तर उपयोगी सुझाव र आवश्‍यक जानकारी दिन्छन्‌, समितिले गरेको निर्णय लागू गर्छन्‌ र ती निर्णयको नतिजा कस्तो भयो भनेर नियमित रूपम जाँच्छन्‌। साथै परिचालक निकायले यी सहयोगीहरूलाई विश्‍वभरिका हाम्रा दाजुभाइ दिदीबहिनीकहाँ भ्रमण गर्न पठाउँछ र वार्षिक सभा वा गिलियडको दीक्षान्त समारोहजस्ता अवसरहरूमा भाषण दिने जिम्मा पनि सुम्पिन्छ।

सहयोगीहरूको सूची

समिति

नाम

प्रकाशन

  • एलेक्स राइनमुलर

  • गायस ग्लोकिन्टन

  • डोनाल्ड गोर्डन

  • डेभिड सिनक्ल्येर

  • रोबर्ट बट्‌लर

  • रोबर्ट लुसिओनी

  • हेरोल्ड कोर्कन

लेखन

  • इसाक मरेइ

  • केनेथ गडबर्न

  • क्लिभ मार्टिन

  • जिन स्मली

  • जेम्स मान्ट्‌स

  • निकोलस अलाडिस

  • पियर क्रिस्टेन्सन

  • रोबर्ट सिरान्को

  • लेनर्ड मायर्स

  • हर्मानस भान सेल्म

शिक्षण

  • केनेथ फ्लोडिन

  • डेभिड सेफर

  • मार्क न्युमेर

  • रोनाल्ड कर्जन

  • विलियम मालनफन्ट

संयोजन

  • जोन एकरन

  • ट्रोए स्निडर

  • पल गिलिस

सदस्य

  • जेरल्ड ग्रिजल

  • ड्यानियल मोल्चन

  • प्याट्रिक लफ्राङ्‌का

  • राल्फ वाल्स

सेवा

  • एन्थोनि ग्रिफिन

  • क्रिस्टोफर मेभर

  • ग्यारि ब्रो

  • जोअल डेलिङ्‌गर

  • जोनाथन स्मिथ

  • बाल्तासार पर्ला जुनियर

  • लियन विभर जुनियर

  • विलियम टर्नर जुनियर

  • सेथ हायात