सीधै सामग्रीमा जाने

के यहोवाका साक्षीहरू बेग्लै धर्म मान्‍ने मानिसहरू सँगसँगै मिलेर उपासना गर्छन्‌?

के यहोवाका साक्षीहरू बेग्लै धर्म मान्‍ने मानिसहरू सँगसँगै मिलेर उपासना गर्छन्‌?

 यहोवाको साक्षीको रूपमा हामी आफ्नो विश्‍वासबारे अरू धर्मका मानिसहरूलाई बताउन पाउँदा खुसी हुन्छौँ। तर उपासना गर्ने सन्दर्भमा भने हामी बेग्लै धर्म मान्‍ने मानिसहरूसँगै मिलेर उपासना गर्दैनौँ। बाइबलले साँचो ख्रिष्टियनहरू “पूर्ण एकतामा” रहन्छन्‌ भनेर बताएको छ अनि त्यो एकता उनीहरूको धार्मिक विश्‍वासमा पनि देखिनुपर्छ। (फिलिप्पी २:२; एफिसी ४:१६; १ कोरिन्थी १:१०) त्यस्तो एकता हुनुको मतलब अरूलाई माया, दया, क्षमा जस्ता असल गुणहरू देखाउनु मात्र होइन बरु हामी बाइबलको सही ज्ञानमा आधारित शिक्षाअनुसार चल्छौँ। यदि हामी बाइबलका शिक्षाअनुसार चल्दैनौँ भने हाम्रो विश्‍वासको कुनै अर्थ हुँदैन।​—रोमी १०:​२, ३.

 बाइबलले बेग्लै धर्मका मानिसहरूसँगै मिलेर उपासना गर्नु भनेको जोडा नमिलेको जुवामा नारिनुजस्तै हो भनेर बताउँछ। जोडा नमिलेको त्यस्तो उपासनाले साँचो ख्रिष्टियनको विश्‍वासलाई खतरामा पार्न सक्छ। (२ कोरिन्थी ६:​१४-१७) येसुले पनि आफ्ना चेलाहरूलाई बेग्लै धर्म मान्‍ने मानिसहरू सँगसँगै मिलेर उपासना गर्ने अनुमति दिनुभएन। (मत्ति १२:३०; युहन्‍ना १४:६) परमेश्‍वरले मोसामार्फत दिनुभएको व्यवस्थामा प्राचीन समयका इस्राएलीहरूलाई छिमेकी देशका मानिसहरू सँगसँगै मिलेर उपासना गर्न रोक लगाइएको थियो। (प्रस्थान ३४:​११-१४) एक पटक बेग्लै धर्म मान्‍ने मानिसहरूले सहयोग गर्ने प्रस्ताव राख्दा वफादार इस्राएलीहरूले उनीहरूको सहयोग स्विकारेनन्‌ किनकि त्यसो गर्नु भनेको धार्मिक गठबन्धन गाँस्नु बराबर हुने थियो।​—एज्रा ४:​१-३.

के यहोवाका साक्षीहरू बेग्लै धर्म मान्‍ने मानिसहरूसित पटक्कै कुराकानी गर्दैनन्‌?

 पक्कै गर्छन्‌। अझ भन्‍ने हो भने २०२२ को दौडान यहोवाका साक्षीहरूले बेग्लै धर्म मान्‍ने मानिसहरूसित कुराकानी गरेर १,५०,१७,९७,७०३ घण्टा बिताए। येसुको एक जना चेला पावलजस्तै हामी पनि “सकेसम्म धेरै” मानिसहरूको सोचविचार अनि विश्‍वासबारे जान्‍न चाहन्छौँ। (१ कोरिन्थी ९:​१९-२२) अनि अरूसित कुराकानी गर्दा बाइबलले सबैलाई “गहिरो आदर” गर्नू भनेर दिएको सल्लाह हामी मनैदेखि लागु गर्ने कोसिस गर्छौं।​—१ पत्रुस ३:१५.