सीधै सामग्रीमा जाने

नुह र जलप्रलयको कथा—के यो मिथ्या मात्र हो?

नुह र जलप्रलयको कथा—के यो मिथ्या मात्र हो?

बाइबलको जवाफ

 जलप्रलय वास्तविक घटना थियो। परमेश्‍वरले दुष्ट मानिसहरू नाश गर्न जलप्रलय ल्याउनुभयो तर असल मानिसहरू र जनावरहरूलाई बचाउन उहाँले नुहलाई जहाज बनाउन लगाउनुभयो। (उत्पत्ति ६:११-२०) हामी जलप्रलय साँच्चै भएको थियो भनेर विश्‍वास गर्न सक्छौँ किनभने यो घटना बाइबलमा उल्लेख गरिएको छ, जुन “परमेश्‍वरको प्रेरणाद्वारा” लेखिएको हो।—२ तिमोथि ३:१६.

 सत्य या दन्त्यकथा?

 नुह र जलप्रलयको घटना कुनै दन्त्यकथा वा मिथ्या होइन बरु वास्तविक घटना हो भनेर बाइबल बताउँछ।

  •   नुह वास्तविक व्यक्‍ति थिए भनेर बाइबलका लेखकहरू विश्‍वास गर्थे। उदाहरणको लागि, बाइबलका लेखक अनि दक्ष इतिहासकार एज्रा र लूकाले इस्राएलीहरूको वंशावलीमा नुहको नाम पनि उल्लेख गरे। (१ इतिहास १:४; लुका ३:३६) नुह र जलप्रलयबारे येसुले बताउनुभएको विवरण मत्ति र लूकाले लेखेका सुसमाचारका किताबहरूमा पाइन्छ।—मत्ति २४:३७-३९; लुका १७:२६, २७.

     भविष्यवक्‍ता इजकिएल अनि प्रेषित पावलले नुहलाई विश्‍वासी र धर्मी व्यक्‍तिको उदाहरणको रूपमा पेस गरे। (इजकिएल १४:१४, २०; हिब्रू ११:७) यदि नुह काल्पनिक व्यक्‍ति थिए भने बाइबल लेखकहरूले तिनलाई उदाहरणीय व्यक्‍तिको रूपमा चलाउनुको के कुनै अर्थ हुन्थ्यो र? त्यसैले स्पष्ट छ, नुह र अरू विश्‍वासी पुरुष तथा स्त्रीहरूको विश्‍वास अनुकरणीय छ किनभने तिनीहरू वास्तविक व्यक्‍ति थिए।—हिब्रू १२:१; याकुब ५:१७.

  •   बाइबलले जलप्रलयबारे विस्तृत जानकारी दिएको छ। जलप्रलयबारे बाइबलको विवरण कुनै काल्पनिक कथा जस्तो गरी “एकादेशमा” भनेर सुरु गरिएको छैन। बरु बाइबलमा जलप्रलयको घटनासित सम्बन्धित वर्ष, महिना र दिन पनि उल्लेख गरिएको छ। (उत्पत्ति ७:११; ८:४, १३, १४) साथै बाइबलमा नुहले बनाएको जहाजको नाप पनि दिइएको छ। बाइबलमा दिइएका यी जानकारीहरूले जलप्रलय कुनै दन्त्यकथा नभई वास्तविक घटना थियो भनी देखाउँछ।

 जलप्रलय किन भएको थियो?

 बाइबलअनुसार जलप्रलय अघि “मानिसहरू असाध्यै दुष्ट” थिए। (उत्पत्ति ६:५) अनि “पृथ्वी साँचो परमेश्‍वरको नजरमा भ्रष्ट भएको थियो” भनेर पनि बाइबलले बताउँछ किनभने पृथ्वी हिंसा र अनैतिकताले भरिएको थियो।—उत्पत्ति ६:११; यहुदा ६, ७.

 मानिसका छोरीहरूसित यौन सम्बन्ध राख्न स्वर्ग छोडेर आएका दुष्ट स्वर्गदूतहरूले गर्दा यी समस्याहरू भएको थियो भनी बाइबल बताउँछ। तिनीहरूबाट जन्मिएको सन्तानलाई बाइबलमा नपिल भनिएको छ। तिनीहरूले त्यतिबेलाका मानिसहरूलाई असाध्यै दुःख दिए। (उत्पत्ति ६:१, २, ४) त्यसैले परमेश्‍वरले पृथ्वीबाट दुष्टता हटाउने निर्णय गर्नुभयो ताकि असल मानिसबाट नयाँ सुरुवात गर्न सकियोस्‌।—उत्पत्ति ६:६, ७, १७.

 के मानिसहरूलाई जलप्रलय आउँदै छ भनेर थाह थियो?

 थाह थियो। आफूले के गर्न लागिरहेको छु भनेर परमेश्‍वरले नुहलाई बताउनुभयो अनि उहाँले नुहलाई तिनको परिवार र जनावरहरूलाई बचाउन एउटा जहाज बनाउने निर्देशन दिनुभयो। (उत्पत्ति ६:१३, १४; ७:१-४) नुहले मानिसहरूलाई आउँदै गरेको विनाशबारे चेतावनी दिए तर तिनीहरूले नुहको कुरा सुनेनन्‌। (२ पत्रुस २:५) बाइबल भन्छ: “जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नबगाएसम्म तिनीहरूले यादै गरेनन्‌।”—मत्ति २४:३७-३९.

 नुहको जहाज कस्तो देखिन्थ्यो?

 नुहको जहाज १३३ मिटर लामो, २२ मिटर चौडा अनि १३ मिटर अग्लो एउटा ठूलो चारकुने बाकस जस्तो थियो। a त्यो जहाज असल काठले बनाइएको थियो र भित्रबाहिर अलकत्राले लिपेको थियो। तीन तलाको त्यस जहाजमा थुप्रै कोठाहरू थिए। जहाजको एकापट्टि ढोका थियो भने छतनिर झ्यालहरू थियो। जहाजको छतमा पानी नजमोस्‌ भनेर छतको बीच भाग हल्का उठेको पनि हुन सक्छ।—उत्पत्ति ६:१४-१६.

 जहाज बनाउन नुहलाई कति समय लाग्यो?

 नुहलाई जहाज बनाउन कति समय लाग्यो भनेर बाइबलमा बताइएको छैन। तिनलाई जहाज बनाउन दसकौँ लागेको हुन सक्छ। नुहको जेठो छोरा जन्मिँदा तिनको उमेर ५०० वर्षभन्दा बढी थियो र जलप्रलय आउँदा तिनी ६०० वर्षका थिए। bउत्पत्ति ५:३२; ७:६.

 नुहको तीनै जना छोरा हुर्किसकेपछि र तिनीहरूको विवाह भइसकेपछि परमेश्‍वरले तिनलाई जहाज बनाउन भन्‍नुभएको थियो। नुहको तिनै जना छोराहरूले विवाह गर्दा ५०/६० वर्ष बितिसकेको हुनुपर्छ। (उत्पत्ति ६:१४, १८) यी कुराहरू विचार गर्दा जहाज बनाउन ४०/५० वर्ष लाग्यो जस्तो देखिन्छ।

a बाइबलमा जहाजको नाप हातमा दिइएको छ। एक हात बराबर ४४.५ से.मि. हुन्छ।

b नुह र अन्य बाइबलकालीन समयका व्यक्‍तिहरूको आयुबारे थप जानकारी पाउन डिसेम्बर १, २०१० प्रहरीधरहरा-को (अङ्‌ग्रेजी) “के बाइबलकालीन समयका मानिसहरू साँच्चै लामो समय बाँचेका थिए?” भन्‍ने लेख हेर्नुहोस्‌।