सीधै सामग्रीमा जाने

परिवारका लागि

बच्चाहरूलाई असफलतासँग जुझ्न कसरी मदत गर्ने?

बच्चाहरूलाई असफलतासँग जुझ्न कसरी मदत गर्ने?

 जीवनको कुनै न कुनै मोडमा आएर तपाईँको बच्चाले असफलताको स्वाद चाख्नुपर्ने हुन्छ। त्यतिबेला तिनलाई निराशाको घेराबाट मुक्‍त हुन कसरी मदत गर्न सक्नुहुन्छ?

 तपाईँले के बुझ्नुपर्छ?

 असफलता पनि जीवनको एउटा पाटो हो। बाइबल भन्छ: “हामी सबै जना धेरै चोटि चुक्छौँ।” (याकुब ३:२) बच्चाहरू पनि चुक्छन्‌। तर यसको एउटा फाइदा छ: असफलताले बच्चाहरूलाई गाह्रो अवस्थासित डट्‌न सिकाउँछ। बच्चाहरूमा जन्मजातै यो क्षमता हुँदैन; तिनीहरूले यो गुण विकास गर्नुपर्छ। लोरा नाम गरेकी आमा भन्छिन्‌: “बच्चाहरू असफल हुँदा त्यसलाई देखेनदेखेझैँ गर्न नहुने रहेछ। असफलताबाट नै तिनीहरूले पाठ सिक्ने रहेछन्‌। आफूले सोचेजस्तो नहुँदा के गर्नुपर्ने रहेछ भनेर तिनीहरूले बुझ्दा रहेछन्‌।”

 थुप्रै बच्चाहरूलाई असफलतासित कसरी जुझ्ने भनेर थाहै हुँदैन। आमाबुबाले सधैँ ढाकछोप गर्ने गरेकाले कुनै-कुनै बच्चाले असफलतासित जुझ्नै सिक्दैनन्‌। जस्तै, बच्चाले कम अङ्‌क ल्याउँदा आमाबुबाले शिक्षकलाई दोष लगाउने; साथीसँग झगडा हुँदा साथीलाई दोष लगाउने गरिदिँदा बच्चाले आफ्नो त केही गल्ती रहेनछ भनेर सोच्न सक्छन्‌।

 बच्चाहरूले गल्ती गर्दा सधैँ आमाबुबा ढाल बनिदियो भने बच्चाले कसरी आफ्नो गल्ती महसुस गर्न र उन्‍नति गर्न सक्छ र?

 तपाईँ के गर्न सक्नुहुन्छ?

  •   आफूले गरेको कामको नतिजा भोग्नुपर्छ भनेर बच्चाहरूलाई सिकाउनुहोस्‌।

     बाइबल भन्छ: “मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.

     हामीले गर्ने हरेक कामको नतिजा हुन्छ। कुनै कुरा बिगाऱ्‍यौँ भने क्षतिपूर्ति तिर्नुपर्छ। गल्ती गऱ्‍यौँ भने सजाय भोग्नुपर्छ। जे गर्छौँ त्यसको परिणाम अवश्‍य भोग्नुपर्छ भनेर बच्चाहरूले बुझ्नुपर्छ अनि त्यसमा आफ्नो पनि हात छ भनेर तिनीहरूले थाह पाउनुपर्छ। त्यसैले बच्चाहरूले गल्ती गर्दा अरूलाई दोष थोपर्ने वा बहाना बनाउने नगर्नुहोस्‌। बरु उमेर सुहाउँदो तरिकामा कामको परिणाम भोग्न दिनुहोस्‌। यसो गर्नुभयो भने नराम्रो कामको नतिजा सधैँ नराम्रै हुन्छ भनेर बच्चाहरूले स्पष्ट रूपमा बुझ्ने मौका पाउनेछन्‌।

  •   बच्चाहरूलाई समस्याको समाधान खोज्न मदत गर्नुहोस्‌।

     बाइबलको सिद्धान्त: “धर्मी मानिस सात पल्ट लड्‌यो भने पनि फेरि उठ्‌नेछ।”—हितोपदेश २४:१६.

     असफलता पीडादायी हुन्छ तर यो नै संसारको अन्त्य होइन। यस्तो बेलामा बच्चाहरूलाई अन्यायमा परेँ भन्‍ने महसुस नगराऔँ, बरु समस्याको समाधान खोज्न साथ देऔँ। जस्तै, छोरा जाँचमा फेल भयो भने अझै मेहनत गरेर अर्को पाली राम्रो अङ्‌क ल्याउन सकिन्छ भनेर बुझाउनुहोस्‌। (हितोपदेश २०:४) छोरीको साथीसँग ठाकठुक परेको छ भने आफ्नो गल्ती नै नभए तापनि अग्रसर भएर माफी माग्दा झगडा कसरी सुल्झिन्छ भनेर बुझाउनुहोस्‌।—रोमी १२:१८; २ तिमोथि २:२४.

  •   बच्चालाई नम्र हुन सिकाउनुहोस्‌।

     बाइबलको सिद्धान्त: “म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता नठान।”—रोमी १२:३.

     तपाईँको बच्चा फलानो-फलानो क्षेत्रमा सबैभन्दा राम्रो छ भन्‍नु न त सत्य हो, न त त्यसो भन्‍नु मदतकारी नै हुन्छ। स्कुलमा एकदमै राम्रोसँग पढ्‌ने बच्चाले पनि सधैँ राम्रो अङ्‌क ल्याउन सक्दैन। कुनै खेलमा खप्पिस बच्चाले समेत सधैँ जित्न सक्दैन। आफ्नो कमीकमजोरी स्वीकार्ने नम्र मनोभावको बच्चाले असफलताको सामना गर्ने र हिम्मत नहार्ने बल पाउँछन्‌।

     दुःखले हामीलाई खार्छ अनि सहनशील बनाउँछ भनी बाइबल बताउँछ। (याकुब १:२-४) त्यसैले असफल हुँदा दुःख लाग्नु स्वाभाविक हो तैपनि यस्तो अवस्थामा बच्चालाई सही दृष्टिकोण राख्न मदत गर्न सक्नुहुन्छ।

     अरू सीपहरू सिकाउँदा जस्तै असफलताको सामना गरिरहेका बच्चाहरूलाई पहिलाकै अवस्थामा फर्काउन पनि समय र प्रयास चाहिन्छ। तर सानैमा असफलताको सामना गर्न सही तरिकाले सिकायौँ भने पछि सजिलो हुन्छ। छोराछोरी हुर्काउने सन्दर्भमा लेखिएको एउटा किताब यसो भन्छ: “आफूलाई सम्हाल्न सक्ने बच्चाहरूले तनावमा हुँदा गलत निर्णय गर्ने मौका कम हुन्छ। नयाँ-नौलो वा नसोचेको परिस्थितिको सामना गर्नुपर्दा तिनीहरूले सही कदम चाल्न सक्छन्‌।” सानैदेखि गाह्रो अवस्थाको सामना गर्न सिक्ने बच्चाहरूलाई ठूलो भएपछि धेरै सजिलो हुन्छ।

 सुझाव: आफैले राम्रो उदाहरण बसाल्नुहोस्‌। याद गर्नुहोस्‌, तपाईँले गाह्रो अवस्थामा कस्तो प्रतिक्रिया देखाउनुहुन्छ, छोराछोरीले पनि त्यस्तै प्रतिक्रिया देखाउनेछन्‌।