सीधै सामग्रीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

तपाईँ कसरी असल बुबा बन्‍न सक्नुहुन्छ?

तपाईँ कसरी असल बुबा बन्‍न सक्नुहुन्छ?

 बुबाको भूमिका के हो?

  •   बच्चा जन्मिनुअघि। तपाईँ पछि कस्तो बुबा बन्‍नुहुनेछ भन्‍ने कुरा अहिले तपाईँ कस्तो पति हुनुहुन्छ भन्‍ने कुराले फरक पार्छ। परिवारसम्बन्धी एउटा किताब a यसो भन्छ:

     “गर्भवती पत्नीलाई सरसामान किन्‍न मदत गर्ने, डाक्टरकहाँ सँगै जाने र अल्ट्रासाउन्ड गर्दा गर्भमा रहेको बच्चालाई हेर्ने र बच्चाको मुटुको धड्‌कन सुन्‍ने पतिले बच्चा जन्मिएपछि पनि हेरविचार गर्ने काममा पत्नीलाई सघाउने सम्भावना धेरै हुन्छ।”

     “श्रीमती गर्भवती हुँदा म उसको साथमा छु भनेर महसुस गराउन चाहन्थेँ, त्यसैले मैले उसलाई सक्दो मदत गरेँ। हामीले सँगै मिलेर बच्चाको कोठा पनि तयार पाऱ्‍यौँ। बच्चा जन्मिनुअघि हामीले तयारी गर्न सँगै बिताएको समय साँच्चै विशेष थियो।”—जेम्स।

     बाइबल सिद्धान्त: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४.

  •   बच्चा जन्मेपछि। बच्चासित खेलेर र उसलाई बोकेर ऊसँग न्यानो सम्बन्ध गाँस्नुहोस्‌। बच्चाको देखभाल गर्ने काममा सघाउनुहोस्‌। बुबाको रूपमा तपाईँले निर्वाह गर्ने भूमिकाले बच्चा कसरी हुर्कन्छ भन्‍ने कुरामा ठूलो प्रभाव पार्छ। तपाईँले बच्चासित न्यानो सम्बन्ध गाँस्न गर्ने प्रयासबाट तपाईँ उसलाई कत्ति अनमोल ठान्‍नुहुन्छ भन्‍ने कुरा देखिन्छ।

     “बच्चासित बच्चा नै भएर खेल्नुहोस्‌। ज्यादै गम्भीर नहुनुहोस्‌, हँस्सी मजाक गर्नुहोस्‌। माया-प्रेम भनेको के हो भनेर बच्चाले सबैभन्दा पहिला तपाईँ आमाबुबाबाटै सिक्छ भन्‍ने कुरा सम्झनुहोस्‌।”—रिचर्ड।

     बाइबल सिद्धान्त: “हेर! छोराछोरी यहोवाका वरदान हुन्‌; गर्भको फल उहाँकै इनाम हो।”—भजन १२७:३, फुटनोट।

  •   बच्चा हुर्कँदै जाँदा। अनुसन्धानले देखाएअनुसार आफ्नो बुबासित राम्रो सम्बन्ध भएका छोराछोरीले तुलनात्मक रूपमा स्कुलमा राम्रो गर्छन्‌ र तिनीहरूको भावनात्मक समस्याहरू पनि कम हुन्छन्‌। साथै लागूपदार्थ दुरुपयोग गर्ने वा अन्य आपराधिक गतिविधिमा संलग्न हुने सम्भावना पनि कम हुन्छ। बच्चासित घनिष्ठ हुन प्रशस्त समय दिनुहोस्‌।

     “हामी बुबाछोरा लामो यात्रामा जाँदा र बेलुकी खाना खाँदा धेरै कुरा गर्छौँ। ऊ छुट्टै बस्न थालेपछि उसलाई सबैभन्दा धेरै यही कुराहरूको याद आउनेछ भनेर उसले मलाई भन्यो। हामीबीच भएको कुनै-कुनै महत्त्वपूर्ण कुराकानी मैले सोच्दै नसोचेको समयमा भएको थियो। वास्तवमा मैले ऊसित धेरै समय बिताएकोले नै यस्तो हुन सकेको हो।”—डेनिस।

     बाइबल सिद्धान्त: “कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान्‌ मानिस जस्तोगरि हिँड, समयको पूर्ण सदुपयोग गर।”—एफिसी ५:१५, १६.

 बुबाको भूमिका किन विशेष हुन्छ?

 धेरैजसो मानिसको सोचाइमा बुबाको काम भनेको परिवारको भौतिक आवश्‍यकता पूरा गर्नु र तिनीहरूलाई सुरक्षा दिनु हो अनि आमाको काम छोराछोरीको देखभाल गर्नु र भावनात्मक रूपमा तिनीहरूको ख्याल राख्नु हो। (व्यवस्था १:३१; यसैया ४९:१५) केही परिवारमा भने बुबाले आमाको र आमाले बुबाको भूमिका निर्वाह गर्छन्‌। तर अनुसन्धानकर्ताहरूले बताएअनुसार मीठो परिकार पकाउन फरक-फरक मसला चाहिएजस्तै छोराछोरी राम्ररी हुर्काउन आमा र बुबाको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। b

 यो कुरा बुझाउन परिवारसम्बन्धी सल्लाहकार जुडिथ वालरस्टाइनले आफ्नै अनुभव बताइन्‌। तिनले यसो भनिन्‌: “बाह्र वर्षकी मेरी छोरीलाई गाडीले हान्दा ऊ आफ्नो बुबा एम्बुलेन्समा सँगै आएको चाहन्थी किनभने त्यो अवस्थामा बुबाले सबै कुरा सम्हाल्नुहुन्छ भन्‍ने कुरा ऊ विश्‍वस्त थिई। पछि अस्पतालमा भने म ऊसँगै दिनभरि बसेको चाहन्थी।” c

 “बुबाले आफ्नो परिवारलाई सुरक्षित महसुस गराउन सक्छन्‌, जुन कुरा आमा एक्लैलाई गर्न गाह्रो हुन सक्छ। अर्कोतर्फ, आमाले भने परिवारलाई माया पाएको अनि उनीहरूको कुरा बुझिदिएको महसुस गराउन सक्छिन्‌। त्यसैले श्रीमान्‌-श्रीमती दुवैले टिमको रूपमा काम गर्नुपर्छ।”—ड्यानयल।

 बाइबल सिद्धान्त: “हे मेरो छोरा, आफ्नो बुबाको अर्ती सुन र आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर।”—हितोपदेश १:८.

 बुबा र छोरीको सम्बन्ध

 तपाईँ बुबाहरूले छोरीलाई आफ्नो बोली र व्यवहारबाट अरू पुरुषले तिनीसित कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाइरहनुभएको हुन्छ। तिनले निम्न दुई तरिकामा यो कुरा सिकिरहेकी हुन्छिन्‌:

  •   तपाईँ श्रीमतीसित कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने हेरेर। तपाईँ श्रीमतीलाई माया र आदर गर्नुहुन्छ भने तपाईँकी छोरीले पछि आफ्नो जीवनसाथी रोज्दा उनमा पनि त्यस्तै गुणहरू छ कि छैन भनेर हेर्नेछिन्‌।—१ पत्रुस ३:७.

  •   तपाईँ तिनीसित कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने हेरेर। तपाईँले छोरीको आदर गर्दा तिनको आत्मसम्मान पनि बढ्‌छ। साथै अरू पुरुषले पनि तिनको त्यसरी नै आदर गर्नुपर्छ भनेर तिनले सिकिरहेकी हुन्छिन्‌।

     अर्कोतर्फ, बुबाले जतिखेर पनि छोरीको आलोचना गर्छन्‌ भने तिनलाई आफू कुनै कामको छैन जस्तो लाग्न सक्छ। यसले गर्दा तिनले बुबाबाट नपाएको आदर अरू पुरुषहरूबाट पाउन खोज्छिन्‌ तर ती पुरुषहरू खराब नियतका हुन सक्छन्‌।

     “छोरीले बुबाको माया र साथ पाएको छ भने ऊ असल पतिमा हुनुपर्ने गुणहरू नभएको केटाको मायाजालमा तुरुन्तै फस्ने सम्भावना कम हुन्छ।”—वेन।

a Do Fathers Matter?

b थुप्रै आमाले पतिको मदतविना छोराछोरीलाई राम्ररी हुर्काएका छन्‌।

c The Unexpected Legacy of Divorce भन्‍ने किताबबाट।