सीधै सामग्रीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

आमाबुबाको भूमिका

आमाबुबाको भूमिका

 तपाईँले के बुझ्नुपर्छ?

 कुनै-कुनै समाजमा आमाबुबा र छोराछोरीबीचको सम्बन्ध एकदमै बलियो हुन्छ। त्यस्तो समाजमा हुर्केका केटाकेटीहरू केही सल्लाह-सुझाव वा डोऱ्‍याइ चाहियो भने आमाबुबामा भर पर्ने गर्छन्‌। तर अरू कतिपय समाजमा भने केटाकेटीहरू आफ्ना साथीभाइसित सल्लाह-सुझाव माग्ने गर्छन्‌।

 साथीभाइको कुरा सुन्‍ने बानी भएको केटाकेटीले आमाबुबाको कुरालाई हल्कासित लिने गर्छन्‌। वास्तवमा भन्‍ने हो भने त्यस्ता केटीकेटीहरू वयस्क भइसक्दासम्ममा त तिनीहरू आफ्नो हातबाट छुटिसकेको आमाबुबाले महसुस गर्छन्‌। अनि यो कुनै अचम्मलाग्दो कुरा पनि होइन। केटाकेटीहरूले साथीभाइहरूसित अचाक्ली समय बिताउँदा मानौँ एक अर्थमा तिनीहरूले एकअर्कालाई हुर्काइरहेका हुन्छन्‌, आमाबुबाले होइन।

 छोराछोरीहरू आमाबुबाबाट टाढिएर साथीहरूसित नजिक हुनुको कारण के हो? निम्न बुँदाहरू विचार गर्नुहोस्‌:

  •   स्कुल। छोराछोरीहरूले अरू केटाकेटीहरूसँग धेरै समय बिताउँदा तिनीहरू एकअर्कासित घनिष्ठ हुन्छन्‌। यसले गर्दा तिनीहरूलाई ‘आमाबुबाले के सोच्नुहुन्छ’ भन्‍ने भन्दा पनि ‘साथीहरूले के सोच्छन्‌’ भन्‍ने कुराले धेरै फरक पार्छ। यस्तो सोचाइले किशोरावस्थामा पुगेका केटाकेटीलाई झन्‌ धेरै असर गरेको हुन्छ।

    छोराछोरीहरूले आफ्नो स्कुलको ‘साथीहरूले के सोच्छन्‌’ भन्‍नुभन्दा ‘आमाबुबाले के सोच्नुहुन्छ’ भनेर विचार गर्नुपर्छ

  •   कम समय बिताउनु। धेरैजसो परिवारमा बच्चाहरू स्कुलबाट घर फर्कने बेलासम्म पनि आमाबुबाहरू काममै हुन्छन्‌। यसले गर्दा रित्तो घरलाई साथी बनाउन बच्चाहरू बाध्य छन्‌।

  •   बेग्लै संसार। केटाकेटीहरू किशोरावस्थामा पुग्दासम्ममा त तिनीहरूको छुट्टै संसार बनिसकेको हुन्छ। कस्तो लुगा लगाउने, कसरी बोल्ने अनि के गर्ने भन्‍ने विषयमा तिनीहरूको छुट्टै नीतिनियम हुन्छ। ‘आमाबुबाले के सोच्नुहुन्छ’ भन्‍ने भन्दा पनि ‘साथीहरूले के सोच्छन्‌’ भन्‍ने कुराले तिनीहरूलाई धेरै फरक पार्छ।

  •   व्यापारजगत्‌। अहिले व्यापारीहरूले धेरैजसो सामान वा मनोरञ्जनका साधनहरू किशोरकिशोरीहरूलाई लक्षित गरेर बनाउँछन्‌। यसले गर्दा ‘जेनेरेसन ग्याप’ अर्थात्‌ दुई पुस्ताबीचको दूरी अझ बढेको छ। डा. रबर्ट एप्सटिन यस्तो लेख्छन्‌: “किशोरकिशोरीहरू यो संसारबाट गायब हुने हो भने लाखौँ-करोडौँ कमाइरहेका कम्पनीहरू रातारात टाट पल्टनेछन्‌।” a

 तपाईँ के गर्न सक्नुहुन्छ?

  •   छोराछोरीसित घनिष्ठ सम्बन्ध कायम राख्नुहोस्‌।

     बाइबल भन्छ: “आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। अनि आफ्ना छोराछोरीको हृदयमा पनि यी आज्ञाहरू राखिदिनू। घरमा बस्दा, बाटोमा हिँड्‌दा, सुत्दा र उठ्‌दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।”—व्यवस्था ६:६, ७.

     साथीभाइले सुख-दुःखमा साथ दिन सक्छन्‌ तर तिनीहरूले आमाबुबाको ठाउँ नै लिनु चाहिँ हुँदैन। खुसीको कुरा के हो भने विज्ञहरूअनुसार अधिकांश केटाकेटी अनि किशोरकिशोरीहरू आफ्ना आमाबुबाको आदर गर्छन्‌ र उनीहरूलाई खुसी बनाउन चाहन्छन्‌। यदि तपाईँ आफ्नो बच्चासित घनिष्ठ हुनुहुन्छ भने उसले आफ्नो साथीको भन्दा तपाईँको कुरा सुन्‍ने सम्भावना धेरै हुन्छ।

     “बच्चासित सकेसम्म धेरै समय बिताउनुपर्छ। दैनिक कामकुरा सँगै मिलेर गर्नुहोस्‌। जस्तै: खाना पकाउने, सफा गर्ने, होमवर्क गर्ने आदि। अनि सँगै रमाइलो पनि गर्नुहोस्‌। गेम खेल्ने, फिल्म हेर्ने वा टिभी कार्यक्रम हेर्ने आदि। केटाकेटीलाई थोरै तर ‘गुणस्तरीय समय’ दिनुपर्छ भन्‍ने होइन। बरु जति सक्दो धेरै समय दिनु नै बेस हो।”—लोरेन

  •   आफ्नै उमेरको बाहेक अरूसित पनि साथी बनाउन मदत गर्नुहोस्‌।

     बाइबल भन्छ: “बालकको हृदयमा मूर्खताले जरा गाडेको हुन्छ।”—हितोपदेश २२:१५.

     छोराछोरीको थुप्रै साथीहरू छन्‌ भनेर कोही-कोही आमाबुबाहरू मक्ख पर्छन्‌। तर होसियार हुनुहोस्‌, परिपक्व हुन तिनीहरूले आफ्नै उमेरको साथीहरू मात्र बनाएर पुग्दैन। अनि मायालु तथा अनुभवी आमाबुबाले तिनीहरूलाई जुन किसिमको डोऱ्‍याइ वा सल्लाह-सुझाव दिन सक्छन्‌ त्यो तिनीहरूकै उमेरको साथीभाइले दिन सक्दैनन्‌।

     “हाम्रो बच्चाको साथीहरूसित केही मात्रामा ज्ञान त होला तर उनीहरूले जीवनमा अझ थुप्रै कुरा भोग्न बाँकी छ। उनीहरूसित आफूजस्तै अर्को जवान व्यक्‍तिलाई सही निर्णय गर्न मदत गर्ने सीप, अनुभव अनि बुद्धि हुँदैन। आफ्नो आमाबुबामा भर पर्ने जवानहरू सही मानेमा उमेर सँगसँगै परिपक्व हुँदै जान्छन्‌।”—नादिया

  •   बुद्धिमानी सल्लाह-सुझाव दिनुहोस्‌।

     बाइबल भन्छ: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ।”—हितोपदेश १३:२०.

     हुर्कँदै जाने क्रममा तपाईँको छोराछोरीले तपाईँसित धेरै समय बिताउन पाएको छ भने उसले धेरै लाभ उठाउन सक्छ। उसको लागि असल उदाहरण बन्‍ने प्रयास गर्नुहोस्‌।

     “बच्चाहरूको लागि सबैभन्दा राम्रो ‘रोल मोडल’ भनेकै आमाबुबा हो। सानैदेखि तिनीहरूलाई आमाबुबाको आदर अनि सम्मान गर्न सिकाएको छ भने ठूलो भएपछि तिनीहरू आमाबुबाजस्तै बन्‍न चाहन्छन्‌।”—क्याथरिन

aTeen 2.0—Saving Our Children and Families From the Torment of Adolescence” नामको किताबमा आधारित।