सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घरेलु हिंसाको सिकार भएकाहरूलाई मदत

घरेलु हिंसाको सिकार भएकाहरूलाई मदत

 विश्‍व स्वास्थ्य सङ्‌गठनले बताएअनुसार “संसारभर महिलाहरू घरेलु हिंसाको सिकार भइरहेका छन्‌ र यो समस्या कुनै महामारी भन्दा कम छैन। त्यसैले यसलाई निर्मूल पार्न तुरुन्तै केही गर्नु जरुरी छ।” उक्‍त सङ्‌गठनको तथ्याङ्‌कअनुसार संसारभर झन्डै ३० प्रतिशत ‘महिलाहरू आफ्नो जोडीबाट शारीरिक वा यौन हिंसाको सिकार भइरहेका छन्‌।’ संयुक्‍त राष्ट्र सङ्‌घको एउटा रिपोर्टअनुसार एक वर्षको अवधिमा संसारभर हरेक दिन आफ्नो जोडी वा परिवारको अरू सदस्यको हातबाट १३७ जना महिलाले ज्यान गुमाए। a

 यी तथ्याङ्‌कबाट महिलामाथि हुने घरेलु हिंसाले कत्ति विकराल रूप लिइरहेको छ भनेर स्पष्ट हुन्छ। तर ती महिलाहरूले भावनात्मक अनि शारीरिक तवरमा कत्ति पीडा झेलिरहेका छन्‌ भनेर चाहिँ यी तथ्याङ्‌कले व्यक्‍त गर्न सक्दैन।

 के तपाईँ घरेलु हिंसाको सिकार हुनुपरेको छ? वा घरेलु हिंसाको सिकार भएका कसैलाई चिन्‍नुहुन्छ? त्यसो हो भने बाइबलले तपाईँलाई कसरी मदत गर्न सक्छ, निम्न बुँदा विचार गर्नुहोस्‌।

  घरेलु हिंसाको सिकार हुनु तपाईँको दोष होइन

  तपाईँ मदत पाउन सक्नुहुन्छ

  तपाईँ एक्लो हुनुहुन्‍न

  घरेलु हिंसा चाँडै अन्त हुनेछ

  घरेलु हिंसाको सिकार भएकाहरूलाई कसरी मदत गर्न सकिन्छ?

 घरेलु हिंसाको सिकार हुनु तपाईँको दोष होइन

 बाइबल यसो भन्छ: “हामी सबैले परमेश्‍वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।”​—रोमी १४:⁠१२.

 याद गर्नुहोस्‌: जसले तपाईँमाथि हिंसा गर्छ, ऊ नै दोषी हुन्छ।

 तपाईँकै कारणले गर्दा आफूले यातना दिएको हो भनी तपाईँको जोडी बताउँछन्‌ भने वास्तवमा तिनी गलत छन्‌। पत्नीले प्रेम पाउनुपर्छ, उनलाई यातना दिनु हुँदैन।​—कलस्सी ३:१९.

 तिनले तपाईँमाथि हिंसा गर्नुको पछाडि विभिन्‍न कारण हुन सक्छन्‌। जस्तै, तिनलाई कुनै मानसिक रोग लागेको हुन सक्छ, हिंसात्मक वातावरणमा हुर्केकोले त्यस्तो बानी परेको हुन सक्छ वा तिनी रक्सीले मात्तिएका हुन सक्छन्‌। कारण जेसुकै होस्‌, आफूले गरेको नराम्रो व्यवहारको लागि तिनी परमेश्‍वरसामु जबाफदेही हुनुपर्छ। साथै, आफूलाई परिवर्तन गर्न तिनी आफैले कदम चाल्नुपर्छ।

 तपाईँ मदत पाउन सक्नुहुन्छ

 बाइबल यसो भन्छ: “धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।”​—हितोपदेश १५:२२.

 याद गर्नुहोस्‌: यदि तपाईँ असुरक्षित महसुस गर्नुहुन्छ वा तपाईँलाई के गर्ने थाह छैन भने अरूले मदत गर्न सक्छन्‌।

 तपाईँलाई किन अरूको मदत चाहिन सक्छ? यदि तपाईँ घरेलु हिंसाको सिकार हुनुभएको छ भने तपाईँको दिमागमा थुप्रै कुरा खेलिरहेका हुन सक्छन्‌। निम्न कुराहरूबारे सोच्दा तपाईँलाई के गर्ने, के नगर्ने भनेर निर्णय गर्न गाह्रो भइरहेको हुन सक्छ:

  •   आफ्नो सुरक्षा

  •   छोराछोरीको भविष्य

  •   आर्थिक अवस्था

  •   जोडीप्रतिको प्रेम

  •   तपाईँको जोडीले आफ्नो आनीबानी सुधारेमा तिनीसित सम्बन्ध कायम राखिरहने चाहना

 यस्ता विषयमा निर्णय गर्न गाह्रो हुनु र अत्तालिनु स्वाभाविक हो। त्यसैले तपाईँलाई अरूको मदत चाहिन सक्छ। तर कोसँग मदत माग्ने?

 भरोसायोग्य साथी वा परिवारको सदस्यले तपाईँलाई व्यावहारिक र भावनात्मक रूपमा मदत दिन सक्छन्‌। आफूलाई माया गर्ने व्यक्‍तिसित मन खोलेर कुराकानी गर्दा मात्र पनि निकै हल्का महसुस गर्न सक्नुहुन्छ।

 घरेलु हिंसाको सिकार भएकाहरूको लागि उपलब्ध आकस्मिक टेलिफोन सम्पर्क ठेगानाहरूमा फोन गर्दा तुरुन्तै मदत पाउन सकिन्छ। उनीहरूले तपाईँ आफ्नो सुरक्षाको लागि के-के गर्न सक्नुहुन्छ भनेर सिकाइदिनेछन्‌। साथै तपाईँको जोडीले आफ्नो समस्या स्विकारे र परिवर्तन गर्न चाहे भने तिनलाई पनि मदत दिनेछन्‌।

 आकस्मिक सेवाका लागि उपलब्ध अन्य स्रोतबाट तपाईँ मदत लिन सक्नुहुन्छ। जस्तै, तपाईँ खतरामा पर्नेबित्तिकै डाक्टर, नर्स वा अरू तालिमप्राप्त व्यक्‍तिले मदत गर्न सक्छन्‌।

 तपाईँ एक्लो हुनुहुन्‍न

 बाइबल यसो भन्छ: “यहोवा b टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।”​—भजन ३४:१८.

 याद गर्नुहोस्‌: परमेश्‍वरले तपाईँलाई मदत गर्ने वाचा गर्नुभएको छ।

 यहोवा परमेश्‍वर तपाईँको ख्याल राख्नुहुन्छ। (१ पत्रुस ५:७) उहाँ तपाईँको भावना र तपाईँको मनभित्रको पीडा बुझ्न सक्नुहुन्छ। उहाँ तपाईँलाई आफ्नो वचन बाइबल प्रयोग गरेर सान्त्वना दिनुहुन्छ र तपाईँले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ। प्रार्थनामा यहोवासित मदत माग्नुहोस्‌। उहाँले तपाईँलाई अहिलेको अवस्था सामना गर्न आवश्‍यक बुद्धि र बल दिनुहुनेछ।​—⁠यसैया ४१:१०.

 घरेलु हिंसा चाँडै अन्त हुनेछ

 बाइबल यसो भन्छ: “तिनीहरू प्रत्येक आ-आफ्नो अङ्‌गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्‌ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।”​—मिका ४:४.

 याद गर्नुहोस्‌: बाइबलमा चाँडै कसैको घरमा हिंसा नहुने समय आउँदै छ भनेर प्रतिज्ञा गरिएको छ।

 यहोवा परमेश्‍वरले मात्र हाम्रा सबै समस्या हटाउन सक्नुहुन्छ, त्यो पनि सधैँभरिका लागि। बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:४) त्यतिबेला हाम्रो मन नमीठा यादहरूले पिरोलिनेछैन बरु हामी नयाँ अनि मीठा-मीठा सम्झना सँगाल्नेछौँ। (यसैया ६५:१७) हो, बाइबलमा तपाईँको लागि यस्तै सुन्दर र शान्तिमय भविष्यको प्रतिज्ञा गरिएको छ।

a यस लेखमा घरेलु हिंसाबाट पीडित महिलाहरूबारे चर्चा गरिने भए पनि ती बुँदा पीडित पुरुषहरूको सन्दर्भमा पनि लागू हुन्छ।

b बाइबलमा ईश्‍वरको नाम यहोवा हो भनी बताइएको छ।