सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मेसोरेटहरूले होसियारीसाथ धर्मशास्त्रको नकल प्रतिहरू बनाए

आवरण लेख | बाइबल कसरी जोगियो?

बाइबलको सन्देश फेरबदल गरिने दुष्प्रयासबाट जोगियो

बाइबलको सन्देश फेरबदल गरिने दुष्प्रयासबाट जोगियो

खतरा: बाइबल कुहिनबाट जोगियो अनि विरोधीहरूले पनि यसलाई नामेट पार्न सकेनन्‌। तर केही प्रतिलिपिक र अनुवादकले बाइबलको सन्देश फेरबदल गर्ने प्रयास गरेका छन्‌। कहिलेकाहीँ तिनीहरूले बाइबललाई आधार बनाएर धार्मिक सिद्धान्तहरू बनाउनुको साटो आफ्ना सिद्धान्तहरूलाई अघि सार्न बाइबलमा फेरबदल गर्ने प्रयास गरेका छन्‌। यी उदाहरणहरू विचार गर्नुहोस्‌:

  • उपासनास्थल: ईसापूर्व चौथो र दोस्रो शताब्दीबीच सामरियाली पेन्टाटुकका * लेखकहरूले प्रस्थान २०:१७ को अन्तमा “तिमीहरूले गिरिज्जिम पर्वतमा वेदी बनाउनू” भन्‍ने वाक्य घुसाए। यसो गरेर सामरियालीहरूले गिरिज्जिम पर्वतमा मन्दिर बनाउनु धर्मशास्त्रसित मेल खान्छ भनेर प्रमाणित गर्न खोजेका थिए।

  • त्रिएकको शिक्षा: बाइबल लेख्न सिद्धिएको ३०० वर्ष नबित्दै त्रिएकमा विश्‍वास गर्ने एक जना लेखकले १ युहन्‍ना ५:७ मा यो वाक्य थपे: “स्वर्गमा पिता, वचन र पवित्र आत्मा छन्‌ र ती तीन एक हुन्‌।” यो वाक्य मौलिक लेखोटमा छैन। बाइबलविद्‌ ब्रुस मेट्‌जगर यसो भन्छन्‌: “छैठौँ शताब्दीपछिका पुराना ल्याटिन तथा [ल्याटिन] भल्गेटका पाण्डुलिपिहरूमा त्यो वाक्य झन्‌ धेरै देखा पर्न थाल्यो।”

  • परमेश्‍वरको नाम: थुप्रै बाइबल अनुवादकले एउटा यहुदी अन्धविश्‍वासलाई आधार बनाएर धर्मशास्त्रबाट परमेश्‍वरको नाम हटाउने निर्णय गरे। तिनीहरूले परमेश्‍वरको नाम हटाएर त्यसको ठाउँमा “ईश्‍वर” वा “प्रभु”-जस्ता पदवीहरू राखे, जबकि बाइबलमा त्यस्ता पदवीहरू सृष्टिकर्तालाई मात्र होइन तर मानिसहरूलाई, झूटो उपासनामा प्रयोग गरिने चिजबिजलाई अनि सैतानलाई समेत प्रयोग गरिएको छ।—युहन्‍ना १०:३४, ३५; १ कोरिन्थी ८:५, ६; २ कोरिन्थी ४:४ *

बाइबल कसरी जोगियो? पहिलो, हुनत केही बाइबल प्रतिलिपिक लापरवाह वा बेइमानसमेत थिए तर थुप्रै भने निपुण र असाध्यै होसियार थिए। इस्वी संवत्‌ छैठौँ र दसौँ शताब्दीको बीचतिर मेसोरेट भनेर चिनिने यहुदी शास्त्रीहरूले हिब्रू धर्मशास्त्रको नकल प्रति बनाए र यसलाई अहिले मेसोरेटिक लेखोट भनिन्छ। कुनै गल्ती नहोस्‌ भनेर तिनीहरूले एक-एक शब्द र अक्षर गन्थे भन्‍ने धारणा व्याप्त छ। तिनीहरूले प्रयोग गरेको मानक लेखोटमा कुनै गल्ती भएको जस्तो लागेमा ती मार्जिनमा लेख्थे। मेसोरेटहरूले बाइबल लेखोटमा कुनै फेरबदल गरेनन्‌। प्राध्यापक मोसा गोसेन-गोट्‌स्टाइनले यस्तो लेखे: “बाइबल लेखोटमा जानाजानी फेरबदल गर्नु भनेको तिनीहरूको लागि जघन्य अपराध गर्नुसरह थियो।”

दोस्रो, अहिले प्रशस्त पाण्डुलिपिहरू उपलब्ध भएकोले पनि बाइबलविद्‌हरूलाई गल्ती भेट्टाउन सजिलो भएको छ। उदाहरणको लागि, धर्मगुरुहरूले तिनीहरूको ल्याटिन बाइबल नै मौलिक बाइबल लेखोटमा आधारित छ भनेर शताब्दियौँसम्म सिकाए। तर यस लेखको सुरुतिर उल्लेख गरिएको १ युहन्‍ना ५:७ को त्यो शङ्‌कास्पद वाक्य तिनीहरूले घुसाएका थिए। त्यो गल्ती प्रख्यात अङ्‌ग्रेजी बाइबल किङ जेम्स भर्सन-मा पनि देखियो! तर अरू पाण्डुलिपिहरू भेटिएपछि के पत्ता लाग्यो? ब्रुस मेट्‌जगरले लेखे: “[पहिलो युहन्‍ना ५:७ मा थपिएको] वाक्य ल्याटिनबाहेक अरू कुनै पुराना पाण्डुलिपिहरूमा (सिरियाक, कप्टिक, आर्मेनियन, इथियोपिक, अरबिक, स्लाभोनिक) पाइँदैन।” यसकारण किङ जेम्स भर्सन-का संशोधित संस्करणहरू र अरू बाइबलबाट त्यो शङ्‌कास्पद वाक्य हटाइएको छ।

चेस्टर बेट्टि P46, इस्वी संवत्‌ २०० तिरको एउटा बाइबल पाण्डुलिपि

के पुराना पाण्डुलिपिहरू हेर्दा बाइबलको मौलिक सन्देशमा कुनै फेरबदल भएको छैन भन्‍न सकिन्छ? इस्वी संवत्‌ १९४७ मा मृतसागरमा पाण्डुलिपिहरू भेटिए। ती भेटिएपछि शास्त्रविद्‌हरूले बल्ल हजार वर्षभन्दा अघि बाइबलका मुठाहरूमा लेखिएका कुराहरू हिब्रू मेसोरेटिक लेखोटसित दाँजेर हेर्न सके। एउटा टोलीले मृतसागरमा भेटिएका पाण्डुलिपिहरूको अध्ययन-अनुसन्धान गरेको थियो। त्यस टोलीको एक जना सदस्यको निष्कर्षअनुसार एउटा मुठा मात्र दाँजेर हेर्दा “हजार वर्षभन्दा लामो समयको दौडान यहुदी प्रतिलिपिकहरूले बाइबलका लेखोटहरूको नकल प्रति बनाउँदा त्यसमा कुनै गल्ती भएको थिएन भन्‍ने अकाट्य प्रमाण पाइन्छ। किनभने तिनीहरूले असाध्यै होसियार र वफादार भएर नकल प्रतिहरू बनाएका थिए।”

आयरल्याण्डको डब्लिनस्थित चेस्टर बेट्टि लाइब्रेरीमा पपाइरसहरूको सँगालो पाइन्छ र त्यसमा ख्रिष्टियन ग्रीक धर्मशास्त्रका प्रायः सबैजसो किताब छन्‌। ती पाण्डुलिपिहरूमा इस्वी संवत्‌ दोस्रो शताब्दीतिरका पुराना पाण्डुलिपिहरू पनि छन्‌, जुन बाइबल लेख्न सिद्धिएको १०० वर्षजति पछिका हुन्‌। दि एङ्‌कर बाइबल डिक्सनरी यसो भन्छ: “उपलब्ध पपाइरसहरूले बाइबलका लेखोटहरूसम्बन्धी प्रशस्त नयाँ जानकारी दिन्छ। तर त्यति मात्र होइन, समयको दौडान बाइबलका नकल प्रतिहरू बनाउने काम असाध्यै वफादारीपूर्वक गरिएको थियो भनेर पनि प्रमाण दिन्छ।”

“पुराना कृतिहरूमध्ये अरू कुनै पनि कृतिको यसको जस्तो हुबहु नकल प्रति बनाइएको छैन”

निष्कर्ष: असाध्यै पुराना तथा प्रशस्त उपलब्ध पाण्डुलिपिहरूले गर्दा बाइबलको लेखोटमा फेरबदल भएको छैन बरु त्यसलाई अझै मौलिक लेखोटसित मिल्दोजुल्दो बनाउन मदत गरेको छ। ख्रिष्टियन ग्रीक धर्मशास्त्रबारे सर फेड्रिक केन्यनले यस्तो लेखे: “अरू कुनै पनि पुरानो लेखोटको यसको जस्तो पुरानो र प्रशस्त प्रमाण छैन। हामीसित भएको लेखोटलाई त्यसको मौलिक लेखोटसित दाँज्दा खासै फेरबदल भएको छैन भन्‍ने कुरामा निष्पक्ष शास्त्रविद्‌हरू सहमत हुनेछन्‌।” हिब्रू धर्मशास्त्रबारे शास्त्रविद्‌ विलियम हेन्रि ग्रिनले यसो भने: “पुराना कृतिहरूमध्ये अरू कुनै पनि कृतिको यसको जस्तो हुबहु नकल प्रति बनाइएको छैन।”

^ यो सामरियालीहरूबाट मान्यताप्राप्त बाइबलको सुरुका पाँच वटा किताबको सँगालो हो।

^ थप जानकारीको लागि www.pr418.com/ne मा उपलब्ध पवित्र बाइबल—नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख क४क५ हेर्नुहोस्‌।