सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | बाइबल कसरी जोगियो?

बाइबल कुहिनबाट जोगियो

बाइबल कुहिनबाट जोगियो

खतरा: बाइबल लेखकहरू र प्रतिलिपिकहरूले मुख्यतया पपाइरस र चर्मपत्रमा लेखे। * (२ तिमोथि ४:१३) बाइबल यस्ता सामग्रीहरूमा लेखिएकोले यसलाई जोगाउन किन गाह्रो हुन सक्थ्यो?

पपाइरस सजिलै च्यातिन्छ, खुइलिन्छ र मक्किन्छ। मिश्रका पुरातात्त्विक कुराहरूको अध्ययन गर्ने रिचार्ड पार्किन्सन र स्टिफन क्वर्की यसो भन्छन्‌, “समयको दौडान पपाइरसको पत्र कुहिन सक्छ अनि यसको त्यान्द्रो र धूलो मात्र बाँकी रहन्छ। यसको मुठालाई सञ्चय गरेर राखिँदा पनि यसमा ढुसी पर्न सक्छ वा ओसिएर कुहिन सक्छ अनि मुसा वा किराले पनि खान सक्छ। जमिनमुनि राखिएको छ भने विशेषगरि धमिराले खाइदिन सक्छ।” उत्खनन गरेर भेटिएका केही पपाइरस असाध्यै उज्यालो वा ओसिलो ठाउँमा राखिएकोले ती छिट्टै बिग्रिए।

चर्मपत्र पपाइरसभन्दा टिकाउ हुन्छ तर यसलाई जतन गरेर चलाइएन भने यो पनि बिग्रिन्छ। साथै यसलाई अत्यधिक चिसो वा तातो ठाउँमा, ओसिलो ठाउँमा वा घाममा राखिँदा पनि बिग्रिन्छ। * चर्मपत्र किराहरूले पनि खान्छ। त्यसैले थुप्रै पुराना लेखोट नाश भइसकेका छन्‌। यदि बाइबल पनि यसरी नै कुहिएको भए यसमा भएको सन्देश हराएर जाने थियो।

बाइबल कसरी जोगियो? यहुदीहरूको नियमले गर्दा सबै राजाले “व्यवस्थाको पुस्तकमा लेखिएका कुरा” अर्थात्‌ बाइबलको सुरुको पाँच वटा किताब ‘सार्नुपर्थ्यो र आफ्नो लागि एउटा पुस्तक बनाउनुपर्थ्यो।’ (व्यवस्था १७:१८) साथै पेसेवर प्रतिलिपिकहरूले थुप्रै पाण्डुलिपि तयार पारिसकेका थिए, जसले गर्दा इस्वी संवत्‌ प्रथम शताब्दीसम्ममा इस्राएलका सबै सभाघरमा र टाढा पर्ने म्यासिडोनियामा समेत धर्मशास्त्रका मुठाहरू पाइन्थ्यो। (लुका ४:१६, १७; प्रेषित १७:११) केही असाध्यै पुराना पाण्डुलिपि हाम्रो समयसम्म कसरी जोगिए?

मृतसागरमा फेला परेका पाण्डुलिपिहरू सयौँ वर्षसम्म सुरक्षित रहे किनभने ती पाण्डुलिपिहरू सुक्खा हावापानी भएको ठाउँका गुफाहरूमा माटोका घ्याम्पाहरूमा राखिएका थिए

नयाँ नियमको बाइबलविद्‌ फिलिप डब्ल्यु. कम्फर्ट भन्छन्‌, “धर्मशास्त्रका मुठाहरू जोगाउन ती मुठाहरूलाई घ्याम्पो वा गाग्रीमा राख्ने यहुदीहरूको चलन थियो।” प्राप्त प्रमाणअनुसार ख्रिष्टियनहरूले पनि त्यसै गरेका थिए। त्यसैले बाइबलका केही पाण्डुलिपि माटोका घ्याम्पाहरूमा, अँध्यारो कोठाहरूमा, गुफाहरूमा अनि एकदमै सुक्खा ठाउँहरूमा भेटिएका छन्‌।

निष्कर्ष: बाइबलका पाण्डुलिपिहरूका हजारौँ टुक्रा अहिले पनि पाइन्छ। कुनै-कुनै त २ हजार वर्षभन्दा पुराना छन्‌। बाइबलका पाण्डुलिपिहरूजत्तिको पुराना अरू कुनै लेखोट अहिलेसम्म जोगिएका छैनन्‌ र अरू कुनै लेखोटको यत्ति धेरै पाण्डुलिपि फेला परेको छैन।

^ पपाइरस भनेको पानीमा पाइने पपाइरस भन्‍ने बोटबाट बनाइएको लेखन सामग्री हो। चर्मपत्र जनावरको छालाबाट बनाइन्छ।

^ उदाहरणको लागि, संयुक्‍त राज्य अमेरिकाको स्वतन्त्रताको घोषणापत्रको दस्ताबेज चर्मपत्रमा लेखिएको थियो। यो दस्ताबेज लेखिएको २५० वर्ष पनि भएको छैन तर अहिले यो खुइलिएर पढ्‌नै नसकिने भइसकेको छ।