सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिवारका लागि | युवाहरू

रिस कसरी नियन्त्रण गर्ने?

रिस कसरी नियन्त्रण गर्ने?

चुनौती

“दिदीसित रिसाएर म चिच्याएँ अनि ढोका बेस्सरी बन्द गर्दा पछाडिको चुकुल उडेर भित्तामा धसियो। भित्तामा परेको प्वालले मेरो व्यवहार कत्ति नराम्रो थियो भनेर झल्झल्ती सम्झाउँछ।”—निर्मला *

“बुबादेखि झनक्क रिस उठ्यो। ‘तपाईं त कस्तो खराब बुबा!’ भनेर ढोका ढ्याम्म लगाई दिएँ। तर ढोका बन्द गर्नुअघि उहाँको अनुहार अँध्यारो भएको देखें। त्यस्तो नभनेको भए पनि हुन्थ्यो जस्तो लाग्यो।”—ललिता

तपाईंले पनि निर्मला र ललिताले जस्तै महसुस गर्नुभएको छ कि? त्यसो हो भने, यस लेखले तपाईंलाई आफ्नो रिस नियन्त्रण गर्न मदत गर्नेछ।

तपाईंले के बुझ्नुपर्छ?

रिसले जङ्गिदा आफ्नै इज्जत घट्छ। एक्काइस वर्षीया श्रेया यसो भन्छिन्‌: “म जस्तो छु त्यस्तै सबैले स्वीकार्नुपर्छ भन्ने मेरो सोचाइ थियो। मानिसले आफ्नो रिसलाई नियन्त्रण गर्न नसक्दा तिनीहरू मूर्ख देखिन्छन्‌ भनेर मैले याद गरें। त्यसैगरि म पनि रिसले चूर हुँदा अरूको अगाडि मूर्ख देखिंदोरहेछु भनेर बुझें।”

बाइबलमा यस्तो लेखिएको छ: “अधीर-झोंकीले मूर्ख काम गर्छ।”—हितोपदेश १४:१७.

ज्वालामुखी विस्फोटन हुँदा मानिसहरू भागेझैं झनक्क रिसाउनेहरूबाट पनि मानिसहरू भाग्छन्‌।

रिसाउने बानीले गर्दा तपाईंबाट मानिसहरू टाढा हुन्छन्‌। अठार वर्षे डानियल यसो भन्छन्‌: “रिसले पड्किनु भयो भने तपाईंले मानिसबाट पाइरहनुभएको मानमर्यादा गुमाउनुहुनेछ।” अठार वर्षीया एलिना पनि यस कुरामा सहमत जनाउँदै भन्छिन्‌: “रिस पोखाउने बानी मानिसहरूलाई मनपर्दैन। यस्तो बानी भएको व्यक्तिसित मानिसहरू डराउँछन्‌।”

बाइबलमा यस्तो लेखिएको छ: “रिस गर्ने मानिसलाई कहिल्यै मित्र नबना, न त क्रोधी-स्वभावको मानिससित सङ्गत गर्।”—हितोपदेश २२:२४.

आफ्नो बानी सुधार्न सक्नुहुन्छ। पन्ध्र वर्षीया सरिता यसो भन्छिन्‌: “कुनै-कुनै परिस्थितिले गर्दा तपाईंलाई रिस उठ्न सक्छ त्यो तपाईं परिवर्तन गर्न सक्नुहुन्न। तर रिस पोखाउने वा नपोखाउने त्यो चाहिं तपाईंको हातमा । रिसले पड्किनै पर्छ भन्ने छैन।”

बाइबलमा यस्तो लेखिएको छ : “झगडालु हुनुभन्दा रिसमा धीमा हुनु असल हो, सहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु असल हो।”—हितोपदेश १६:३२.

तपाईं के गर्न सक्नुहुन्छ?

लक्ष्य बनाउनुहोस्। “म यस्तै छु।” भन्नुको साटो तोकेको समयावधि भित्र आफूलाई सुधार्ने कोसिस गर्नुहोस्। उदाहरणको लागि तपाईं ६ महिनाको समयावधि तोक्न सक्नुहुन्छ। त्यस समयभित्र आफूले गरेको उन्नतिको रेकर्ड राख्नुहोस्। हरेक पटक रिस नियन्त्रण गर्न नसक्दा यी तीन वटा कुरा लेख्नुहोस्: (१) समस्या के थियो, (२) तपाईंको प्रतिक्रिया कस्तो थियो (३) कस्तो प्रतिक्रिया देखाउँदा अझ बेस हुन्थ्यो र किन। अर्को पटक तपाईंलाई रिस उठेमा राम्रो प्रतिक्रिया देखाउने लक्ष्य बनाउनुहोस्। सुझाव: आफू सफल भएको कुरा याद गर्नुहोस्। रिस नियन्त्रण गर्न सफल हुँदा राम्रो महसुस गर्नुभएको कुरा लेख्नुहोस्।—बाइबल सिद्धान्त: कलस्सी ३:८.

केही भनिहाल्नुअघि सोच्नुहोस्। कसैले तपाईंलाई रिस उठायो भने दिमागमा आएको पहिलो कुरा नभन्नुहोस्। एकछिन सोच्नुहोस्। आवश्यक परेमा लामो सास तान्नुहोस्। पन्ध्र वर्षे असीम यसरी बताउँछन्‌: “लामो सास लिंदा सोच्ने समय पाउँछु। किनभने सोचविचारै नगरी केही भन्दा पछि पछुताउनु पर्ने हुन्छ।”—बाइबल सिद्धान्त: हितोपदेश २१:२३.

खुला विचारधाराको हुनुहोस्। तपाईंलाई रिस उठेको कुरामा मात्र ध्यान दिनुको सट्टा मामिलाको विभिन्न पक्ष केलाएर हेर्नुभयो भने रिस पोखाउनबाट जोगिन सक्नुहुन्छ। जेसिका नाम गरेकी युवती यसो भन्छिन्‌: “मानिसहरूले छुच्चो व्यवहार गर्नुको पछाडि केही कारण हुन सक्छ। कसैले मलाई नराम्रो व्यवहार गऱ्यो भने किन त्यस्तो व्यवहार गरेको होला भनेर कारण बुझ्ने कोसिस गर्छु।”—बाइबल सिद्धान्त: हितोपदेश १९:११.

आवश्यक परेमा त्यस ठाउँबाट गइहाल्नुहोस्। बाइबलमा यस्तो लेखिएको छ: “वाद-विवाद चर्किनुभन्दा अघि नै त्यसलाई बन्द गर।” अर्थात्‌ त्यस ठाउँबाट निस्केर गइहाल्नुपर्छ। (हितोपदेश १७:१४, NRV) त्यसैले परिस्थिति बिग्रनुअघि नै त्यो ठाउँ छोडेर जानु बेस हुन्छ। त्यसपछि समस्यालाई सम्झदैं अझै रिसाइरहनुको सट्टा अन्य कामकुरामा व्यस्त हुनुहोस्। सुस्मा नाम गरेकी एक युवती यसो भन्छिन्‌: “शारीरिक व्यायामले टेन्सन कम गराउँछ साथै यसले झनक्क रिसाउनदेखि मलाई जोगाएको छ।”

दोषको वास्ता नगर्नुहोस्। बाइबलमा यसो लेखिएको छ: “रिस त गर तर पाप चाहिं नगर। . . . आफ्ना मनमा गुन र चुपचाप रहो।” (भजन ४:४) याद गर्नुहोस्, रिस उठ्नु नै त गलत होइन। तर त्यसपछि तपाईंले कस्तो प्रतिक्रिया देखाउनुहुन्छ, त्यो कुरा चाहिं महत्त्वपूर्ण छ। राजन नाम गरेका जवान मानिस यसो भन्छन्‌: “अरूको कारणले तपाईं चिढिनु हुन्छ भने तिनीहरूले तपाईंलाई नियन्त्रण गरिरहेका हुन्छन्‌। त्यसैले परिपक्व हुनुहोस् र झिनामसिना कुरालाई वास्ता नगर्नुहोस्।” यसो गर्नुभयो भने तपाईंले रिसलाई नियन्त्रण गरिरहनुभएको हुनेछ, रिसले तपाईंलाई होइन।(g15-E 01)

^ अनु. 4 यस लेखमा केही नाम परिवर्तन गरिएका छन्‌।