सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिवारको लागि | वैवाहिक जीवन

छोराछोरीहरू छुट्टै बस्न थालेपछि

छोराछोरीहरू छुट्टै बस्न थालेपछि

चुनौती

छोराछोरीहरू हुर्केर छुट्टै बस्न थालेपछि प्रायः आमाबुबालाई यस्तो परिवर्तनको सामना गर्न गाह्रो हुन्छ। तिनीहरूलाई छोराछोरी कोही नहुँदा घर शून्य लाग्छ र तिनीहरू आफ्नो वैवाहिक जीवन निरस भएको महसुस गर्छन्‌। परिवारसम्बन्धी एक सल्लाहकार एम्. ग्यारी न्युम्यानले आफ्नो किताबमा * यस्तो लेखे, “छोराछोरीहरू छुट्टै बस्न थालेपछि [आमाबुबाहरूलाई] एक अर्कासँग कुरा गर्ने विषय नै नभएको जस्तो लाग्न सक्छ। यस्ता दम्पतीहरूलाई वैवाहिक सम्बन्ध फेरि कसरी बलियो बनाउने भन्नेबारे सल्लाह दिने गर्छु।”

के तपाईंको वैवाहिक जीवन पनि यस्तै छ? छ भने तपाईं आफ्नो वैवाहिक सम्बन्धलाई फेरि बलियो बनाउन सक्नुहुन्छ। सुरुमा, तपाईंको वैवाहिक सम्बन्ध कमजोर हुनुको केही कारण विचार गर्नुहोस्।

चुनौतीका कारण

आफ्नो पति वा पत्नीलाई भन्दा छोराछोरीलाई नै बढी चासो दिएकोले। थुप्रै आमाबुबाले राम्रै मनसायले आफ्नो वैवाहिक सम्बन्धलाई भन्दा छोराछोरीको आवश्यकतालाई बढी महत्त्व दिन्छन्‌। तिनीहरू आमाबुबाको भूमिका पूरा गर्न यति व्यस्त हुन्छन्‌ कि पति-पत्नीको रूपमा तिनीहरूको सम्बन्ध नै चिसिसकेको हुन्छ। छोराछोरीहरू हुर्केर छुट्टै बस्न थालेपछि तिनीहरू अझ बढी त्यस्तो महसुस गर्छन्‌। उनसाठी वर्षीया एक महिला यसो भन्छिन्‌, “छोराछोरीहरू घरमा छँदा हामी केही समय भए पनि सँगै बिताउँज्थ्यौं।” छोराछोरीहरू छुट्टै बस्न थालेपछि भने तिनी र तिनको पति आ-आफ्नै कुरामा व्यस्त भए। एक चोटि त तिनले आफ्नो पतिलाई यस्तो समेत भनिन्‌, “हामी एक-अर्काको मामिलामा हात हाल्ने नगरौं।”

केही दम्पतीहरू यस्तो परिवर्तनको लागि तयार भएका हुँदैनन्‌। एउटा किताब * यसो भन्छ, “थुप्रै दम्पतीलाई आफ्नो विवाह भर्खरै भएको जस्तो लाग्न सक्छ।” पति-पत्नीले एक-अर्काको व्यक्तित्व निकै फरक भएको याद गर्छन्‌। त्यसैले तिनीहरू आ-आफ्नै संसारमा मस्त हुन्छन्‌। तिनीहरूको सम्बन्ध पति-पत्नीको जस्तो नभई एउटै घरमा बस्ने साथीहरूको जस्तो मात्र हुन्छ।

खुसीको कुरा, तपाईं यी चुनौतीहरूको सफलतापूर्वक सामना गर्न सक्नुहुन्छ र जीवनको यो नयाँ मोडमा आनन्दित हुन सक्नुहुन्छ। त्यसो गर्न बाइबलले तपाईंलाई मदत गर्न सक्छ। तर कसरी? अब हामी विचार गरौं।

तपाईं के गर्न सक्नुहुन्छ?

परिवर्तनलाई स्विकार्नुहोस्। हुर्किसकेका छोराछोरीको सन्दर्भमा बाइबल यसो भन्छ, “मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ।” (उत्पत्ति २:२४) भविष्यमा छोराछोरीको छुट्टै परिवार हुनेछ भन्ने कुरा मनमा राख्दै तपाईंले उनीहरूलाई तयार गराउनुभयो। उनीहरूलाई योग्य र परिपक्व व्यक्ति बन्न चाहिने सीपहरू सिकाउनुभयो। यो कुरा विचार गर्नुभयो भने छोराछोरीले आफ्नै घरजम गरेको हेर्न पाउँदा तपाईं गर्व महसुस गर्न सक्नुहुन्छ।—बाइबलको सिद्धान्त: मर्कूस १०:७.

यो कुरा साँचो हो, तपाईं सधैं आफ्ना छोराछोरीको अभिभावक हुनुहुन्छ। तर हुर्किसकेका छोराछोरीलाई घरीघरी ‘यसो गर, उसो गर’ भनिरहनु आवश्यक छैन बरु उनीहरूलाई चाहिएको बेला सल्लाह-सुझाव दिन भने सक्नुहुन्छ। यसो गर्दा तपाईं आफ्नो पति वा पत्नीलाई अझ बढी ध्यान दिन सक्नुका साथै छोराछोरीसँग पनि नजिक भइरहन सक्नुहुन्छ। *बाइबलको सिद्धान्त: मत्ती १९:६.

आफ्नो मनको कुरा बताउनुहोस्। तपाईं कस्तो महसुस गर्दै हुनुहुन्छ भनेर आफ्नो पति वा पत्नीलाई खुलेर बताउनुहोस्। साथै तिनको कुरा सुन्न पनि तयार हुनुहोस्। धीरजी र समझदार हुनुहोस्। आफ्नो पति वा पत्नीसितको सम्बन्ध फेरि बलियो बनाउन समय लाग्छ तर निरन्तर प्रयास गरिरहनुभयो भने तपाईं पक्कै सफल हुन सक्नुहुन्छ।—बाइबलको सिद्धान्त: १ कोरिन्थी १३:४.

सँगसँगै काम गर्ने मौका खोज्नुहोस्। तपाईंहरू सँगै मिलेर कस्ता काम गर्न वा लक्ष्य हासिल गर्न चाहनुहुन्छ कुरा गर्नुहोस्। तपाईंले छोराछोरी हुर्काउने क्रममा थुप्रै व्यावहारिक ज्ञान र अनुभव हासिल गर्नुभएको छ। यस्तो ज्ञान र अनुभव अरूलाई मदत गर्न प्रयोग गरे कसो होला?—बाइबलको सिद्धान्त: अय्यूब १२:१२.

विवाह गर्दा बाँधेको वाचा नबिर्सनुहोस्। के-कस्ता गुणले तपाईंहरूलाई एक-अर्काप्रति आकर्षित गरेको थियो, त्यसबारे सोच्नुहोस्। बितेका वर्षहरूमा तपाईंले आफ्नो पति वा पत्नीसँग बिताउनुभएका सुन्दर क्षणहरू याद गर्नुहोस् र सँगै कस्ता बाधाविघ्न पार गर्नुभयो सम्झनुहोस्। यसो गर्नुभयो भने छोराछोरी छुट्टै बस्न थालेपछि पनि तपाईंहरू आनन्दित भई जीवन बिताउन सक्नुहुनेछ। हो, पति-पत्नीसँगै मिलेर प्रयास गर्नुभयो भने तपाईंको वैवाहिक सम्बन्ध बलियो हुनेछ र तपाईंहरूको प्रेम सेलाउन पाउनेछैन।

^ अनु. 4 Emotional Infidelity

^ अनु. 8 Empty Nesting

^ अनु. 12 तपाईं छोराछोरीलाई हुर्काउँदै हुनुहुन्छ भने पनि पति र पत्नी “एउटै शरीर” हुन्‌ भन्ने कुरा नबिर्सनुहोस्। (मर्कूस १०:८) आमाबुबाको सम्बन्ध बलियो छ भने मात्र छोराछोरीले आफू सुरक्षित भएको महसुस गर्न सक्छन्‌।