सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी नयाँ मण्डलीमा कसरी घुलमिल हुन सक्छौँ?

हामी नयाँ मण्डलीमा कसरी घुलमिल हुन सक्छौँ?

के तपाईँ कहिल्यै नयाँ मण्डलीमा सर्नुभएको छ? छ भने तपाईँ झाँ-सार्लसँग सहमत हुनुहुन्छ होला। तिनी यसो भन्छन्‌: “नयाँ मण्डलीमा सरेपछि परिवारका सबैलाई त्यहाँका भाइबहिनीसित घुलमिल हुन अनि यहोवासितको सम्बन्धलाई बलियो बनाइराख्न गाह्रो हुन्छ।” साथै नयाँ काम, बस्ने ठाउँ अनि स्कूल खोज्न पनि सजिलो हुँदैन। त्यसैगरि फरक हावापानी, रहनसहन अनि साक्षी दिनुपर्ने नयाँ इलाकाले गर्दा पनि चुनौतीपूर्ण हुन सक्छ।

निकोला र सेलिनको उदाहरण विचार गरौँ। तिनीहरूलाई फ्रान्स शाखाले नयाँ मण्डलीमा सर्ने असाइनमेन्ट दियो। त्यहाँ तिनीहरूलाई गाह्रो लागेको कुरा अर्कै थियो। तिनीहरू यसो भन्छन्‌: “सुरुमा त हामीलाई रमाइलै लाग्यो तर पछि पुराना साथीहरू झलझली याद आउन थाल्यो। हामी नयाँ मण्डलीका भाइबहिनीसित घनिष्ठ भइसकेका थिएनौँ।” नयाँ मण्डलीमा सर्नु साँच्चै चुनौतीपूर्ण हुन्छ। तर तपाईँ नयाँ मण्डलीमा कसरी रमाउन सक्नुहुन्छ? अरूले कसरी मदत गर्न सक्छन्‌? तपाईँ अरूलाई कसरी प्रोत्साहन दिन र अरूबाट प्रोत्साहन पाउन सक्नुहुन्छ?

नयाँ मण्डलीमा घुलमिल हुन मदत गर्ने चार वटा सिद्धान्त

यहोवामा भर पर्नुहोस्‌

१. यहोवामा भर पर्नुहोस्‌। (भज. ३७:५) जापानकी काजुमीले २० वर्षदेखि सेवा गरिरहेको मण्डली छोड्‌नुपऱ्‍यो। किनभने तिनको श्रीमान्‌को सरुवा भएको थियो। तिनले कसरी आफ्नो ‘मार्ग यहोवालाई सुम्पिइन्‌?’ तिनी भन्छिन्‌: “मैले आफ्नो चिन्ता-फिक्री अनि मनको बह यहोवालाई पोखेँ। मैले एक्लो महसुस गरिरहेको कुरा पनि उहाँलाई बताएँ। हरेक चोटि मैले उहाँलाई आफ्नो मनको बह पोख्दा उहाँले मलाई बलियो बनाउनुभयो।”

तपाईँ कसरी यहोवामाथिको भरोसालाई बलियो बनाउन सक्नुहुन्छ? बिरुवा हुर्कनलाई पानी र पोषण चाहिएजस्तै हाम्रो विश्‍वासलाई बलियो बनाउन पनि पोषण चाहिन्छ। माथि उल्लेख गरिएका निकोलाले यहोवाको इच्छाअनुसार गर्न त्यागहरू गरेका अब्राहाम, येसु र पावलको उदाहरणमा मनन गरे। त्यसरी मनन गर्दा तिनी यहोवाले मदत गर्नुहुन्छ भन्‍ने कुरामा अझै विश्‍वस्त हुन सके। नियमित रूपमा बाइबलको अध्ययन गर्दा त्यसले तपाईँलाई जीवनमा आइपर्ने परिवर्तनहरूको सामना गर्न मदत गर्छ। साथै नयाँ मण्डलीका भाइबहिनीलाई प्रोत्साहन दिन सकिने कुराहरू पनि भेट्टाउनुहुनेछ।

तुलना नगर्नुहोस्‌

२. तुलना नगर्नुहोस्‌। (उप. ७:१०) जुवेल भाइ बेनिनबाट अमेरिकामा बसाइँ सरे। अमेरिकाको रहनसहन निकै फरक थियो। तिनी यसो भन्छन्‌: “नयाँ व्यक्‍ति भेटेपिच्छे आफ्नो कथा सुनाउनुपर्दा मलाई निकै झ्याउ लाग्यो। त्यसैले म नयाँ मण्डलीका भाइबहिनीदेखि टाढिन थालेँ।” तर भाइबहिनीलाई राम्ररी चिनेपछि तिनको सोचाइ परिवर्तन भयो। तिनी भन्छन्‌: “मानिसहरू संसारको जुनसुकै कुनामा बसे पनि तिनीहरूले महसुस गर्ने कुरा अनि तिनीहरूले एकअर्काबाट चाहने कुरा एउटै हुँदो रहेछ। तिनीहरूको बोली-व्यवहार फरक होला तर हामीले तिनीहरू जस्तो छन्‌, त्यस्तै रूपमा स्विकार्न सिक्नुपर्छ।” त्यसैले नयाँ मण्डलीलाई पुरानो मण्डलीसित तुलना नगर्नुहोस्‌। एक अग्रगामी बहिनी आन-लिसले यसो भनिन्‌: “बसाइँ सरेपछि मैले नयाँ ठाउँ पनि पुरानो ठाउँजस्तै भएको आशा गरिनँ। बरु म नयाँ कुराहरू सिक्न चाहन्थेँ।”

एल्डरहरूले पनि नयाँ मण्डलीलाई पुरानो मण्डलीसित तुलना गर्नु हुँदैन। नयाँ मण्डलीले कामकुरा गर्ने तरिका फरक होला। तर त्यो गलत नै हुन्छ भन्‍ने छैन। स्थानीय परिस्थिति राम्रोसँग बुझेपछि मात्रै सुझाव दिनु बेस हुन्छ। (उप. ३:१, ७ख) भाइबहिनीमाथि आफ्नो व्यक्‍तिगत विचारधारा नलाद्‌नुहोस्‌। बरु असल उदाहरण बसाल्नुहोस्‌। तिनीहरूले तपाईँको असल उदाहरण देखेर धेरै कुरा सिक्नेछन्‌।—२ कोरि. १:२४.

पूरापूर भाग लिनुहोस्‌

३. पूरापूर भाग लिनुहोस्‌। (फिलि. १:२७) बसाइँ सर्न सजिलो छैन। त्यसको लागि धेरै समय र शक्‍ति खर्च गर्नुपर्ने हुन्छ। तर सुरुदेखि नै सम्भव भएसम्म मण्डलीका सभाहरूमा प्रत्यक्ष रूपमा उपस्थित हुनु महत्त्वपूर्ण छ। यदि नयाँ मण्डलीका भाइबहिनीले तपाईँलाई कहिल्यै देख्दैनन्‌ वा फाट्टफुट्ट मात्रै देख्छन्‌ भने के तिनीहरूले तपाईँलाई मदत गर्न सक्लान्‌ र? आफ्नी दुई जना छोरीसँगै दक्षिण अफ्रिकाको ठूलो सहरमा बसाइँ सरेकी लुसिन्दा यसो भन्छिन्‌: “मैले मण्डलीमा, साक्षीकार्यमा अनि सभामा पूरापूर भाग लिन राम्रो सल्लाह पाएकी थिएँ। हामीले क्षेत्र सेवा सभा सञ्चालनको लागि आफ्नो घर प्रयोग गर्न दियौँ।”

नयाँ मण्डलीका भाइबहिनीसित आध्यात्मिक गतिविधिमा “एकजुट भई” लाग्दा तपाईँले आफ्नो अनि अरूको “विश्‍वास” बलियो बनाउन सक्नुहुनेछ। अगाडि उल्लेख गरिएकी आन-लिस बहिनीलाई एल्डरहरूले सबैसित साक्षीकार्यमा भाग लिन प्रोत्साहन दिएका थिए। नतिजा कस्तो भयो? तिनी भन्छिन्‌: “नयाँ मण्डलीका भाइबहिनीसित घुलमिल हुन त्यसो गर्नै पर्ने रहेछ भनेर मैले महसुस गरेँ।” साथै सभाभवनको सरसफाइ अनि स्याहारसम्भार गर्नेजस्ता गतिविधिमा भाग लिँदा तपाईँले नयाँ मण्डलीलाई आफ्नो मण्डली ठानेको देखिनेछ। तपाईँ मण्डलीका गतिविधिमा जत्ति धेरै भाग लिनुहुन्छ, भाइबहिनीलाई तपाईँसित घुलमिल हुन त्यत्ति नै सजिलो हुनेछ र नयाँ मण्डली तपाईँलाई आफ्नो परिवारजस्तै लाग्नेछ।

नयाँ साथीहरू बनाउनुहोस्‌

४. नयाँ साथीहरू बनाउनुहोस्‌। (२ कोरि. ६:११-१३) साथी बनाउने सबैभन्दा राम्रो तरिका तिनीहरूलाई चासो देखाउनु हो। त्यसैले सभाअघि र पछि तिनीहरूसित कुराकानी गर्न अनि तिनीहरूलाई चिन्‍न समय निकाल्नुहोस्‌। तिनीहरूको नाम सम्झने कोसिस गर्नुहोस्‌। तपाईँले तिनीहरूको नाम सम्झनुभयो, मित्रैलो हुनुभयो र कुराकानी गर्न सजिलो व्यक्‍ति बन्‍नुभयो भने तिनीहरूलाई पनि तपाईँसित कुराकानी गर्न सजिलो लाग्नेछ। यसो गर्दा तपाईँहरू राम्रो साथी बन्‍नुहुनेछ।

अरूले आफूलाई मन पराओस्‌ भनेर देखावटी व्यवहार नगर्नुहोस्‌। देखावटी व्यवहार गर्नुभएन भने भाइबहिनीले तपाईँलाई राम्ररी चिन्‍ने मौका पाउनेछन्‌। यस सन्दर्भमा लुसिन्दाले राम्रो उदाहरण बसालिन्‌। तिनी यसो भन्छिन्‌: “भाइबहिनीलाई आफ्नो घरमा बोलाउन अग्रसर भएकोले हामीले थुप्रै राम्रा साथीहरू बनाउन सक्यौँ।”

“एकअर्कालाई स्वागत गर्नुहोस्‌”

कसै-कसैलाई कोही पनि नचिनेको सभाभवनमा जान डर लाग्न सक्छ। त्यसोभए नयाँ व्यक्‍तिहरूलाई सजिलो महसुस गराउन तपाईँ के गर्न सक्नुहुन्छ? प्रेषित पावलले यस्तो प्रोत्साहन दिए: “जसरी ख्रिष्टले हामीलाई स्वागत गर्नुभयो, त्यसरी नै एकअर्कालाई स्वागत गर।” (रोमी १५:७, फुटनोट) ख्रिष्टको अनुकरण गर्दै एल्डरहरूले नयाँ व्यक्‍तिहरूलाई स्वागत गरिएको महसुस गराउन सक्छन्‌। (“ नयाँ मण्डलीमा सर्दा ध्यान दिनुपर्ने कुराहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।) तर यो काम एल्डरहरूको मात्र होइन। केटाकेटीलगायत मण्डलीका सबै जना नयाँ साथीहरू बनाउन अग्रसर हुनुपर्छ।

एकअर्कालाई स्वागत गर्नु भनेको अतिथि-सत्कार गर्नु मात्र होइन, व्यावहारिक मदत दिनु पनि हो। जस्तै: एक जना बहिनीले अर्की नयाँ बहिनीलाई आफ्नो सहरको विभिन्‍न ठाउँ घुमाइदिइन्‌ र सार्वजनिक यातायातबारे बुझाइदिइन्‌। यस्तो मदतले ती नयाँ बहिनीको मन छोयो र तिनलाई नयाँ ठाउँमा घुलमिल हुन सजिलो भयो।

थुप्रै कुरा सिक्ने मौका

चराको बचेरा पहिलो चोटि उड्‌न निकै डराउँछ। तर एक चोटि उडिसकेपछि भने त्यो मजाले उड्‌न सक्छ। त्यसैगरि नयाँ मण्डलीमा तपाईँलाई अरूसित घुलमिल हुन डर लाग्न सक्छ। तर त्यो डरलाई जितेपछि चरा आफ्नो पखेटा फिँजाएर उडेजस्तै तपाईँ यहोवाको सेवामा रमाउन सक्नुहुनेछ। निकोला र सेलिन यसो भन्छन्‌: “नयाँ ठाउँमा सर्दा थुप्रै कुरा सिक्न सकिन्छ। नयाँ मानिसहरूसित भेटघाट गर्दा अनि फरक वातावरणमा घुलमिल हुँदा हामी नयाँ गुणहरू विकास गर्न सक्छौँ।” यस लेखको सुरुमै उल्लेख गरिएका झाँ-सार्लले नयाँ ठाउँमा सरेपछि आफ्नो परिवारलाई भएको फाइदाबारे यसो भने: “नयाँ मण्डलीमा सरेपछि हाम्रा छोराछोरी परिपक्व भए अनि यहोवासित अझ नजिक भए। त्यहाँ सरेको केही महिनामै हाम्री छोरीले मध्यहप्ताको सभामा असाइनमेन्टहरू दिन थालिन्‌ र छोरा पनि बप्तिस्मा नभएको प्रकाशक भए।”

मानौँ, तपाईँ आवश्‍यकता धेरै भएको ठाउँमा सर्न चाहनुहुन्छ। तर परिस्थितिले गर्दा सर्न सक्नुहुन्‍न भने नि? यस लेखमा दिइएका सुझावहरू आफ्नै मण्डलीमा लागू गर्नुभए कसो होला? यहोवामा पूरा भरोसा राख्दै मण्डलीका गतिविधिहरूमा पूरापूर भाग लिनुहोस्‌। मण्डलीका भाइबहिनीसित साक्षीकार्यमा भाग लिने योजना बनाउनुहोस्‌। नयाँ-नयाँ साथीहरू बनाउनुहोस्‌ र पुराना साथीहरूसितको सम्बन्धलाई अझै बलियो बनाउने कोसिस गर्नुहोस्‌। नयाँ अथवा खाँचोमा परेकाहरूलाई कसरी व्यावहारिक मदत दिन सकिन्छ, सोच्नुहोस्‌। साँचो ख्रिष्टियनहरूको चिनारी प्रेम हो। (युह. १३:३५) त्यसैले प्रेमले उत्प्रेरित भएर अरूलाई मदत गर्दा तपाईँ यहोवासित अझै नजिक हुनुहुनेछ। साथै “यस्तै बलिदानहरूसित परमेश्‍वर असाध्यै खुसी हुनुहुन्छ” भन्‍ने कुरामा ढुक्क हुन सक्नुहुन्छ।—हिब्रू १३:१६.

नयाँ ठाउँमा सर्नु सजिलो छैन तर थुप्रै भाइबहिनी नयाँ मण्डलीमा घुलमिल भएर आनन्दित हुन सकेका छन्‌; तपाईँ पनि सक्नुहुन्छ! आन-लिस यसो भन्छिन्‌: “नयाँ मण्डलीमा सरेपछि ठूलो मनको भएर मैले थुप्रैलाई साथी बनाउन सकेकी छु।” काजुमी यसो भन्छिन्‌: “मैले पहिला कहिल्यै अनुभव नगरेको तरिकामा यहोवाको मदत पाएको अनुभव गर्न सकेकी छु।” जुवेल यसो भन्छन्‌: “नयाँ मण्डलीमा नयाँ साथीहरू बनाएपछि तिनीहरू मलाई आफ्नै परिवारजस्तै लाग्यो। अब त नयाँ मण्डली छोडेर जाने कुरा सोच्न पनि सक्दिनँ।”