सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“म अहिले हिंसाको दास होइनँ”

“म अहिले हिंसाको दास होइनँ”
  • जन्म मिति: १९५६

  • जन्म स्थान: क्यानाडा

  • पृष्ठभूमि: आशाविहीन, यौन अनैतिकतामा फसेको र हिंस्रक

मेरो विगत:

 मेरो जन्म क्यानाडाको अल्बर्टा राज्यको कालगेरी सहरमा भयो। म सानै छँदा मेरो बुबाआमाको सम्बन्धविच्छेद भयो अनि म र आमा बाजेबज्यैको घरमा गएर बस्न थाल्यौँ। बाजेबज्यैले हामीलाई धेरै माया गर्नुहुन्थ्यो। मेरो बाल्यावस्था रमाइलो थियो। त्यतिबेलाका रमाइला क्षणहरू मेरो मनमा अझै ताजा छ।

 म सात वर्षको छँदा मेरो जीवनमा ठूलो परिवर्तन आयो। आमाले बुबासित फेरि विवाह गर्नुभयो अनि हामी अमेरिकाको मिसोरी राज्यको सेन्ट लुइसमा बसाइँ सऱ्‍यौँ। मेरो बुबा हिंस्रक स्वभावको हुनुहुन्छ भनेर मैले चाँडै थाह पाएँ। स्कुलको पहिलो दिनमै केही केटाहरूले मलाई पिटे तर मैले तिनीहरूलाई हात हालिनँ। मैले प्रतिकार नगरेको कुरा थाह पाएपछि बुबा रिसले आगो हुनुभयो अनि मलाई ती केटाहरूले भन्दा बेसरी पिट्‌नुभयो। त्यस दिनदेखि मैले पनि बुबाको सिको गर्दै अरू केटाकेटीलाई कुटपिट गर्न थालेँ।

 मेरो बुबाको झडङ्‌ङ रिसाउने बानीले गर्दा आमा पनि दिक्क भइसक्नुभएको थियो। उहाँहरू ठूलठूलो स्वरमा कराउँदै झगडा गर्नुहुन्थ्यो। एघार वर्षको उमेरदेखि नै मैले रक्सी पिउन थालेँ अनि लागूपदार्थ सेवन पनि गर्न थालेँ। म झन्‌झनै झगडालु स्वभावको भएँ। त्यसैले अरू केटाहरूसित मेरो झगडा परिरहन्थ्यो। स्कुलको पढाइ सिद्धिने बेलासम्म त म निकै हिंस्रक भइसकेको थिएँ।

 अठार वर्षको भएपछि म अमेरिकी सेनामा (युएस मरिन कोर्प्स) भर्ती भएँ। त्यहाँ पाएको तालिमले गर्दा म झनै खुँखार भएँ। तर पाँच वर्षपछि मैले सैन्य सेवा छोडेँ अनि संघीय जाँच आयोगमा (एफबिआई) जागिर पाउँछु कि भन्‍ने आसमा मनोविज्ञान विषय लिएर पढ्‌न थालेँ। म अमेरिकाको एउटा विश्‍वविद्यालयमा भर्ना भएँ अनि क्यानाडा फर्केपछि पनि पढाइलाई निरन्तरता दिएँ।

 विश्‍वविद्यालयमा छँदा मानिसजाति र समाजको हालत देखेर मेरो मनै मऱ्‍यो। मानिसहरू आफ्नै बारेमा मात्र सोचिरहेका थिए। मलाई संसारमा भएको सबै कुरा खोक्रो लाग्न थाल्यो अनि मानिसजातिको समस्याको कुनै समाधान छैन जस्तो देखिन्थ्यो। मानिसजातिले कुनै दिन यो संसारको अवस्था सुधार्लान्‌ भनेर मैले आस गर्नै छोडिदिएँ।

 मेरो जीवनको कुनै उद्देश्‍य नभएकोले म रक्सी र लागूपदार्थको दलदलमा फस्दै गएँ अनि पैसाको लागि म जे गर्न पनि तयार थिएँ। मेरो पूरै ध्यान पार्टी र केटीमै हुन्थ्यो। सैन्य तालिमले गर्दा मेरो हिम्मत यत्ति बढेको थियो कि मलाई कसैसित पनि लड्‌न डर लाग्दैनथ्यो। म सही र गलतको स्तर आफै तोक्ने गर्थेँ अनि अरूमाथि अन्याय गर्ने कसैलाई पनि बाँकी राख्दिनथेँ। तर वास्तवमा म आफै भने हिंसाको दास बन्दै थिएँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

 एक दिन म साथीसँगै मेरो घरको भुईँतल्लामा लागूपदार्थ सेवन गर्दै थिएँ र हामी अवैध रूपमा गाँजा ओसारपसार गर्ने योजना बनाउँदै थियौँ। त्यत्तिकैमा तिनले म परमेश्‍वरमा विश्‍वास गर्छु कि गर्दिनँ भनेर सोधे। मैले जवाफ दिएँ, “यदि संसारमा भइरहेको दुःखकष्टको लागि परमेश्‍वर जिम्मेवार हुनुहुन्छ भने मलाई उहाँको विषयमा केही जान्‍नु छैन।” अर्को दिन मेरो नयाँ कामको पहिलो दिन थियो। त्यहाँ मेरो एक जना सहकर्मी यहोवाको साक्षी थिए। तिनले मलाई सोधे, “तपाईँलाई कस्तो लाग्छ, के संसारमा भइरहेको दुःखकष्टको लागि परमेश्‍वर जिम्मेवार हुनुहुन्छ?” हिजो भर्खरै मैले यस विषयमा कुरा गरेको थिएँ र आज यो प्रश्‍न सुन्दा म छक्क परेँ। यसले मेरो मनमा जिज्ञासा जगायो। त्यसपछिको छ महिनासम्म हामीले थुप्रै छलफल गऱ्‍यौँ। म तिनलाई जीवनबारे विभिन्‍न प्रश्‍नहरू सोध्ने गर्थेँ र तिनले बाइबलबाटै मेरा प्रश्‍नहरूको जवाफ दिन्थे।

 त्यतिबेला म आफ्नो मङ्‌गेतरसँगै बस्दै थिएँ। तिनलाई मैले सिकिरहेको कुरामा कुनै चासो थिएन। मैले एउटा आइतबार हामीसँगै बाइबल अध्ययन गर्न यहोवाका साक्षीहरूलाई बोलाएको छु भनेर तिनलाई बताएँ। अर्को दिन म कामबाट फर्कँदा तिनी सबै सामान लिएर घर छोडेर हिँडिसकेकी रहेछिन्‌। म बाहिर गएर रोएँ। मदतको लागि परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले त्यतिबेला पहिलो चोटि परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा प्रयोग गरेको थिएँ।—भजन ८३:१८.

 त्यसको दुई दिनपछि मैले एक साक्षी दम्पतीसित बाइबल अध्ययन सुरु गरेँ। उहाँहरू जानुभएपछि मैले पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ किताब त्यही रात पढेर सिध्याएँ। a यहोवा र उहाँको छोरा येसु ख्रिष्टबारे सिकेको कुराले मेरो मन छोयो। यहोवा हामीलाई करुणा देखाउनुहुन्छ र हामी दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुहुन्छ भन्‍ने कुरा मैले बुझेँ। (यसैया ६३:९) परमेश्‍वरले मलाई देखाउनुभएको प्रेम र मेरो लागि आफ्नो छोरा बलिदानको रूपमा दिनुभएको कुराले मेरो मन साह्रै छोयो। (१ युहन्‍ना ४:१०) यहोवा मसित धीरजी हुनुहुन्छ “किनकि उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ” भनेर मैले थाह पाएँ। (२ पत्रुस ३:९) यहोवा मलाई उहाँतर्फ खिच्दै हुनुहुन्छ भनेर मैले महसुस गरेँ।—युहन्‍ना ६:४४.

 म त्यही हप्तादेखि मण्डलीका सभाहरूमा उपस्थित हुन थालेँ। लामो कपाल अनि कानमा मुन्द्रा लगाएकोले म डरलाग्दो देखिन्थेँ। तर साक्षीहरूले मलाई लामो समयपछि भेटेको आफन्तलाई जस्तै व्यवहार गरे। तिनीहरूलाई साँचो ख्रिष्टियनहरू भन्‍न सुहाउँथ्यो। मलाई बाजेबज्यैको घरमा फर्केको जस्तै महसुस भयो तर यहाँको वातावरण अझै न्यानो थियो।

 बाइबलबाट सिकिरहेका कुराहरूले गर्दा मैले जीवनमा छाँटकाँट गर्न थालेँ। मैले आफ्नो लामो कपाल काटेँ, अनैतिक जीवनशैली त्यागेँ अनि लागूपदार्थ र अत्यधिक रक्सी सेवन गर्न छोडेँ। (१ कोरिन्थी ६:९, १०; ११:१४) म यहोवालाई खुसी बनाउन चाहन्थेँ। त्यसैले मैले गरिरहेको कुनै काम उहाँको नजरमा स्वीकार्य छैन भनेर थाह पाएपछि मैले बहाना बनाएर त्यसबाट पन्छिन खोजिनँ। बरु मेरो अन्तस्करणले मलाई घोच्थ्यो। म आफैलाई यसो भन्थेँ, “अबदेखि म यस्तो गर्दिनँ।” अनि कुनै हिचकिचाहटविना म आफ्नो सोचाइ अनि व्यवहार परिवर्तन गर्न प्रयास गर्थेँ। यहोवाको इच्छाअनुसार चल्दै जाँदा मेरो जीवनमा थुप्रै राम्रा परिवर्तनहरू भए। पहिलोचोटि बाइबल अध्ययन गरेको छ महिनापछि जुलाई २९, १९८९ मा मैले एक जना यहोवाको साक्षीको रूपमा बप्तिस्मा गरेँ।

मैले कसरी लाभ उठाएको छु?

 बाइबलले मलाई आफ्नो व्यक्‍तित्व परिवर्तन गर्न मदत गरेको छ। पहिला म अरूमाथि अन्याय गर्ने मान्छेसित झगडा गर्थेँ। तर अहिले म “सबै मानिससँग शान्तिपूर्वक बस्न” सक्दो कोसिस गर्छु। (रोमी १२:१८) म आफैले यस्तो परिवर्तन गर्न सकेको होइन बरु यहोवाको वचन र पवित्र शक्‍तिको मदत गर्दा यो सम्भव भएको हो। यसको लागि म यहोवालाई धेरै धन्यवाद दिन्छु।—गलाती ५:२२, २३; हिब्रू ४:१२.

 लागूपदार्थ, हिंसा र अनैतिक चाहनाहरूको दास बन्‍नुको सट्टा अहिले म यहोवा परमेश्‍वरलाई खुसी बनाउन र उहाँलाई उत्तम कुरा दिन सक्दो प्रयास गर्छु। यसमा अरूलाई उहाँबारे सिकाउनु समावेश छ। बप्तिस्मा गरेको केही वर्षपछि म प्रचारकहरूको आवश्‍यकता धेरै भएको देशमा बसाइँ सरेँ। वर्षौँको दौडान मैले थुप्रै मानिसलाई बाइबलको कुरा सिक्न मदत गर्न पाएको छु र तिनीहरूले आफ्नो जीवन परिवर्तन गरेको देख्दा आनन्द महसुस गरेको छु। मेरी आमा पनि यहोवाको साक्षी बन्‍नुभएकोले मेरो आनन्द झन्‌ बढेको छ। उहाँलाई साक्षी बन्‍न मेरो मनोवृत्ति र व्यवहारमा आएको परिवर्तनले केही हदसम्म प्रेरणा दियो।

 सन्‌ १९९९ मा मैले एल साल्भाडोरमा हाम्रो सङ्‌गठनले प्रबन्ध गरेको एउटा प्रशिक्षण कार्यक्रमबाट तालिम पाएँ। त्यसलाई अहिले राज्य प्रचारकहरूका लागि स्कुल भनिन्छ। यस स्कुलले मलाई क्षेत्र सेवामा नेतृत्व लिन अनि मण्डलीमा सिकाउन र गोठालोको काम गर्न प्रशिक्षण दिएको छ र सक्षम बनाएको छ। त्यसको एक वर्षपछि मैले मेरी प्यारी पत्नी युहेनियासित विवाह गरेँ। अहिले हामी दुवै जना ग्वाटेमालामा सँगै पूर्ण-समय सेवा गर्दै छौँ।

 अहिले मेरो जीवन आशाविहीन होइन तर निकै आनन्दमय छ। बाइबलका शिक्षाहरू जीवनमा लागू गर्दा म यौन अनैतिकता र हिंसाबाट मुक्‍त हुन सकेको छु र मेरो जीवन साँचो प्रेम र शान्तिले भरिएको छ।

a अहिले यहोवाका साक्षीहरू बाइबलले हामीलाई के सिकाउँछ? किताब चलाएर अध्ययन गराउँछन्‌।