सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“आफूले चाहेको सबै कुरा मसित छ जस्तो लाग्थ्यो”

“आफूले चाहेको सबै कुरा मसित छ जस्तो लाग्थ्यो”
  • जन्म मिति: १९६२

  • जन्मस्थान: क्यानाडा

  • विगतमा: अनैतिक जीवनशैली बिताउने व्यक्‍ति

मेरो विगत

 म क्यानाडाको क्युबेक राज्यको सबैभन्दा ठूलो सहर मन्ट्रिअलमा जन्मेँ। हाम्रो आमाबुबा मायालु हुनुहुन्थ्यो। मेरो एक जना दिदी र दुई भाइ छन्‌। हामी रोजमन्ट भन्‍ने सुन्दर इलाकामा हुर्कियौँ। हाम्रो बाल्यकाल सुखद अनि रमाइलो थियो।

 सानो छँदा मलाई बाइबलको कुरामा चासो लाग्थ्यो। मैले १२ वर्षको उमेरमा बाइबलको नयाँ करारमा येसुको जीवनबारे पढेको अझै याद छ। मलाई त्यो विवरण एकदम मन पर्थ्यो। येसुले अरूप्रति देखाउनुभएको प्रेम र कृपाले मेरो मन छोयो। त्यसैले म पनि उहाँजस्तै बन्‍न चाहन्थेँ। तर दुःखको कुरा, हुर्कँदै जाँदा मेरो त्यस्तो इच्छा हराउन थाल्यो अनि म खराब सङ्‌गतमा फस्दै गएँ।

 मेरो बुबा स्याक्सोफोन बजाउनुहुन्थ्यो। उहाँले मलाई आफ्नो स्याक्सोफोन दिनुभयो। त्यति मात्र होइन, सङ्‌गीतप्रतिको उहाँको प्रेमले गर्दा म पनि सङ्‌गीतविना बाँच्नै नसक्ने भएँ। मलाई सङ्‌गीत असाध्यै मन पर्ने भएकोले मैले छिट्टै गितार बजाउन सिकेँ। समयको दौडान म र केही साथी मिलेर एउटा रक-ब्यान्ड बनायौँ। हामीले केही साङ्‌गीतिक कार्यक्रममा आफ्नो गीत पनि प्रस्तुत गऱ्‍यौँ। सङ्‌गीत क्षेत्रका केही प्रख्यात निर्माताहरूले मलाई याद गरे र मेरो सङ्‌गीतलाई प्रायोजन गर्ने प्रस्ताव ल्याए। मैले एउटा ठूलो म्युजिक कम्पनीसित सम्झौता गरेँ। मेरो सङ्‌गीत धेरैले रुचाए अनि क्युबेकका रेडियोहरूमा प्रायजसो ती बजिरहन्थे।

 आफूले चाहेको सबै कुरा मसित छ जस्तो लाग्थ्यो। जवान थिएँ, प्रख्यात थिएँ अनि आफूलाई मन पर्ने काम गरेर निकै पैसा पनि कमाइरहेको थिएँ। दिउँसो म व्यायामशालामा जान्थेँ, अन्तरवार्ताहरू दिन्थेँ, मेरो हस्ताक्षर लिन आउने भीडलाई अटोग्राफ दिन्थेँ अनि टिभी कार्यक्रममा भाग लिन्थेँ। रातीचाहिँ म साङ्‌गीतिक प्रस्तुतिहरू दिन्थेँ अनि पार्टीहरूमा जान्थेँ। मान्छेहरूको भीड देखेर नआत्तिन मैले रक्सी पिउन थालेँ तर पछि म लागूपदार्थको दुर्व्यसनमा फसेँ। म आफूखुसी चल्थेँ अनि अनैतिक जीवन बिताउँथेँ।

 म बाहिरबाट हेर्दा खुसी देखिएकोले केही मानिसहरू मेरो जीवनशैलीको डाह गर्थे। तर भित्रभित्रै म खोक्रो महसुस गर्थेँ, खासगरि एक्लो हुँदा त्यस्तो भावनाले धेरै पिरोल्थ्यो। म निराश हुन्थेँ अनि चिन्तामा डुब्थेँ। मेरो करिअर सफलताको शिखरमा पुगिरहेको बेला एड्‌स रोगले गर्दा मेरा दुई जना निर्माताको मृत्यु भयो। म त झसङ्‌ग भएँ! हुनत मलाई सङ्‌गीत निकै मन पर्थ्यो तर सङ्‌गीत क्षेत्रको जीवनशैली देखेर मलाई घिन लाग्न थालिसकेको थियो।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

 हो, मैले सफलता हासिल गरेको थिएँ तर संसारको अवस्था ठीक छैन भन्‍ने मलाई लागिरहन्थ्यो। संसारमा किन यति धेरै अन्याय भएको होला? परमेश्‍वरले किन केही कदम नचाल्नुभएको होला जस्तो मलाई लाग्थ्यो। साँच्चै भन्‍नुपर्दा मैले धेरै चोटि जवाफको लागि परमेश्‍वरलाई प्रार्थना पनि गरेँ। साङ्‌गीतिक यात्राको दौडान बीचको फुर्सदमा मैले फेरि बाइबल पढ्‌न सुरु गरेँ। हुनत आफूले पढेको प्रायजसो कुरा बुझिनँ तर यस संसारको अन्त पक्कै नजिक हुनुपर्छ भन्‍ने निष्कर्षमा चाहिँ पुग्न सकेँ।

 बाइबल पढ्‌दै जाँदा मैले येसुले एक पटक निर्जनभूमिमा ४० दिन उपवास बस्नुभएको थियो भनेर थाह पाएँ। (मत्ति ४:१, २) मैले पनि त्यस्तै गरेँ भने परमेश्‍वर मेरो सामु प्रकट हुनुहुनेछ जस्तो लाग्यो। त्यसैले कहिलेदेखि उपवास बस्ने भनेर दिन पनि तोकेँ। उपवास बस्नुभन्दा दुई हप्ताअगाडिको कुरा हो, दुई जना यहोवाका साक्षीले मेरो घरको ढोका ढकढक्याए र मैले उनीहरूलाई घरभित्र बोलाएँ। मैले उनीहरूलाई नै पर्खेर बसिरहेको जस्तो भयो। मैले ज्याक नाम गरेका साक्षीलाई सीधै आँखामा हेरेर यस्तो प्रश्‍न सोधेँ, “हामी अन्तको दिनमा बाँचिरहेका छौँ भनेर कसरी थाह पाउन सक्छौँ?” त्यसको जवाफ दिन तिनले २ तिमोथी ३:१-५ पढे। ती दुई जना साक्षीलाई मैले अरू थुप्रै प्रश्‍न सोधेँ। तिनीहरूले तार्किक अनि चित्तबुझ्दो जवाफ दिए र सबै जवाफ धर्मशास्त्रमै आधारित थिए। त्यसले गर्दा म प्रभावित भएँ। तिनीहरूसित केही पटक भेटिसकेपछि मैले उपवास बस्नु आवश्‍यक छैन भनेर बुझेँ।

 मैले साक्षीहरूसित नियमित रूपमा बाइबल अध्ययन गर्न थालेँ। पछि मैले आफ्नो लामो कपाल काटेँ अनि स्थानीय सभाभवनमा सबै सभामा उपस्थित हुन थालेँ। सभाभवनमा भाइबहिनीले न्यानो स्वागत गरेको देख्दा आफूले सत्य पाएको कुरामा म अझै विश्‍वस्त भएँ।

 बाइबल अध्ययन गर्दा सिकेको कुरा लागू गर्न मैले जीवनमा ठूलठूला परिवर्तन गर्नुपर्थ्यो। मैले लागूपदार्थ सेवन गर्न छोड्‌नुपर्थ्यो अनि अनैतिक जीवनशैली त्याग्नुपर्थ्यो। मैले आफ्नै कुरामा मात्र ध्यान दिने मनोवृत्ति हटाउनुपर्थ्यो अनि अरूप्रति पनि चासो देखाउनुपर्थ्यो। म एक्लो बुबा थिएँ, त्यसैले मैले आफ्नो छोरा र छोरीको भावनात्मक अनि आध्यात्मिक आवश्‍यकता पूरा गर्न सिक्नुपर्थ्यो। त्यसैले मैले साङ्‌गीतिक करिअर छोडेँ अनि एउटा फ्याक्ट्रीमा थोरै तलब आउने काम गर्न थालेँ।

 यी परिवर्तनहरू गर्न सजिलो थिएन। लागूपदार्थ सेवन गर्न छोड्‌दा मलाई बेला-बेलामा निकै तलतल लाग्थ्यो अनि केही पटक त चुकेँ पनि। (रोमी ७:१९, २१-२४) खासगरि अनैतिक जीवनशैली त्याग्न निकै गाह्रो भयो। मेरो नयाँ काम असाध्यै थकाइलाग्दो र तलब पनि कम थियो। पहिला सङ्‌गीत क्षेत्रमा हुँदा म दुई घण्टामा जति पैसा कमाउँथेँ, त्यति पैसा कमाउन अहिले मलाई तीन महिना लाग्थ्यो।

 गाह्रो भए पनि यस्ता छाँटकाँट गरिरहन मलाई प्रार्थनाले निकै मदत गऱ्‍यो। नियमित रूपमा बाइबल पढ्‌दा पनि धेरै मदत पाएँ। केही बाइबल पदहरूबाट मैले धेरै प्रोत्साहन पाएँ। एउटा पद २ कोरिन्थी ७:१ हो, जहाँ ख्रिष्टियनहरूलाई ‘तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पार्न’ आग्रह गरिएको छ। म आफ्नो खराब बानीहरू त्याग्न सक्छु भन्‍ने कुरामा विश्‍वस्त हुन मदत गरेको अर्को पदचाहिँ फिलिप्पी ४:१३ हो, जहाँ यस्तो लेखिएको छ, “किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” यहोवा परमेश्‍वरले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो र बाइबलको सत्य बुझ्न अनि लागू गर्न मदत दिनुभयो। यसले गर्दा म आफ्नो जीवन उहाँमा समर्पण गर्न उत्प्रेरित भएँ। (१ पत्रुस ४:१, २) मैले १९९७ मा यहोवाको साक्षीको रूपमा बप्तिस्मा गरेँ।

मैले कस्तो लाभ उठाएको छु?

 पहिलेकै जीवनशैली बिताइरहेको भए म अहिले मरिसकेको हुन्थेँ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तर अहिले मैले साँच्चै आनन्दित जीवन बिताइरहेको छु। मेरी प्यारी पत्नी एल्भी मेरो लागि यहोवाले दिनुभएको आशिष्‌ हुन्‌। हामी दुवै जना पूर्ण समय प्रचारकको रूपमा अरूलाई बाइबलको कुरा सिकाउँदै छौँ। यसले मलाई अपार आनन्द र सन्तुष्टि दिन्छ। यहोवाले मलाई आफूतर्फ खिच्नुभएकोमा म उहाँप्रति साँच्चै धन्यवादी छु।—युहन्‍ना ६:४४.