सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

अन्तमा बुबासित पुनर्मिलन भयो

अन्तमा बुबासित पुनर्मिलन भयो
  • जन्म मिति: १९५४

  • जन्म स्थान: फिलिपिन्स

  • विगतमा: हिंस्रक स्वभावका बुबाबाट टाढिएका व्यक्‍ति

मेरो विगत

 फिलिपिन्सको पाग्सान्जान सहरनजिकै भएका प्रख्यात झरनाहरू हेर्न थुप्रै पर्यटकहरू आउँछन्‌। त्यही सहरमा मेरो बुबा नार्डो लेरन हुर्कनुभयो र उहाँको परिवार असाध्यै गरिब थियो। सरकार, प्रहरीहरू अनि काम गर्ने ठाउँमा भ्रष्टाचार मात्रै देखेकोले उहाँ दिक्क मान्‍नुहुन्थ्यो अनि रिसाउनुहुन्थ्यो।

 हामी आठ जना छोराछोरीलाई हुर्काउन आमाबुबाले धेरै मेहनत गर्नुभयो। उहाँहरूले पहाडी भेगमा अन्‍नबाली लगाउनुभएको थियो। त्यसको हेरचाह गर्न उहाँहरू अक्सर लामो समय त्यतै बस्नुहुन्थ्यो। त्यसैले मेरो दाइ रोडेलियो र मैले आफ्नो ख्याल आफै राख्नुपर्थ्यो। हामी अक्सर भोकै रहन्थ्यौँ। हामीले सानो छँदा त्यति खेल्न पाएनौँ। सात वर्षको उमेरदेखि नै हामी सबैले खेतबारीमा काम गर्न थाल्यौँ। पहाडको भिरालो बाटोमा हामीले नरिवलको गह्रौँ भारी बोक्नुपर्थ्यो। बोक्न असाध्यै गाह्रो भयो भने हामीले भारीलाई घिसारेर भए पनि लैजानुपर्थ्यो।

 बुबाले हामीलाई निकै पिट्‌नुहुन्थ्यो, त्यो त हामी सहन्थ्यौँ। तर आमालाई पनि पिट्‌नुहुँदा भने सहन निकै गाह्रो हुन्थ्यो। हामी उहाँलाई रोक्न खोज्थ्यौँ तर उहाँको अगाडि हाम्रो केही लाग्दैनथ्यो। रोडेलियो दाइ र मैले ठूलो भएपछि बुबाको हत्या गर्ने गोप्य योजनासमेत बनायौँ। हामीलाई माया गर्ने एक जना बुबा भइदिए कस्तो राम्रो हुन्थ्यो भनेर म सोच्ने गर्थेँ।

 बुबाको हिंस्रक स्वभावदेखि दिक्क लागेर अनि रिस उठेर मैले १४ वर्षको उमेरमा घर छोडेँ। म केही समय सडकमै सुतेँ र गाँजा तान्‍न थालेँ। पछि, मैले झरनाहरू हेर्न आएका पर्यटकहरूलाई त्यहाँसम्म लैजान डुङ्‌गा चलाउने काम गर्न थालेँ।

 केही वर्षपछि मैले मनिला सहरको एउटा विश्‍वविद्यालयमा अध्ययन गर्न थालेँ। तर सप्ताहन्तमा म काम गर्न पाग्सान्जान सहरमै फर्कन्थेँ। त्यसैले पढाइको लागि मसित समय नै हुँदैनथ्यो। मलाई आफ्नो जीवनको कुनै उद्देश्‍य छैन जस्तो लाग्थ्यो अनि अब त गाँजाले पनि मेरो मनको बेचैनीलाई शान्त पार्न छोडिसकेको थियो। त्यसपछि मैले मेथाफेटामाइन, कोकेन र हेरोइनजस्ता लागूपदार्थ सेवन गर्न थालेँ। लागूपदार्थ सेवन गर्न थालेपछि म यौन दुर्व्यसनमा पनि फस्दै गएँ। म चारैतिर गरिबी, अन्याय र दुःखकष्ट मात्रै देख्थेँ। त्यसको दोषी सरकार हो जस्तो लागेकोले म सरकारलाई घृणा गर्थेँ। म ईश्‍वरलाई “हाम्रो जीवन किन यस्तो कष्टकर भएको” भनेर सोध्ने गर्थेँ। मैले विभिन्‍न धर्ममा त्यसको जवाफ खोजेँ तर कहीँ भेट्टाउन सकिनँ। आफ्नो निराशा कम गर्न मैले झन्‌ धेरै लागूपदार्थ सेवन गर्न थालेँ।

 सन्‌ १९७२ मा विद्यार्थीहरूले सरकारविरुद्ध जुलुसहरू निकाल्न थाले। म पनि त्यस्ता जुलुसहरूमा जान थालेँ। जुलुस कार्यक्रमहरू झन्‌-झन्‌ हिंस्रक हुँदै गए। थुप्रैलाई गिरफ्तार गरियो अनि केही महिनापछि देशमा सैनिक शासन लागू भयो।

 विद्रोहमा भाग लिएकोले आफू पनि गिरफ्तारमा पर्ने हो कि भनेर म डराएँ। त्यसैले फेरि सडकमै बस्न थालेँ। लागूपदार्थको लागि पैसा जुटाउन म चोरी गर्थेँ अनि पछि मैले धनीहरू र विदेशीहरूसित अवैध यौनसम्बन्ध पनि राख्न थालेँ। आफू मरे पनि बाँचे पनि मलाई कुनै वास्ता थिएन।

 उता मेरी आमा र साहिँलो भाइले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाल्नुभएको रहेछ। त्यो कुरा थाह पाएर बुबा रिसले चुर हुनुभयो। त्यसैले उहाँले आमा र भाइको बाइबलआधारित प्रकाशनहरू जलाइदिनुभयो। तैपनि भाइ र आमाले बाइबलको कुरा सिक्दै जानुभयो र पछि यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्नुभयो।

 एकदिनको कुरा हो, एक जना साक्षीले बुबालाई बाइबलले भविष्यबारे बताएको कुरा सुनाउनुभएछ। उहाँले पृथ्वीभरि कतै पनि अन्याय हुनेछैन भनेर बताउनुभएछ। (भजन ७२:१२-१४) यस कुराले बुबाको मन छोयो। त्यसैले उहाँ आफैले नै बाइबलको कुरा जाँचेर हेर्ने विचार गर्नुभयो। बुबाले बाइबल अध्ययन गर्दै जाँदा परमेश्‍वरले असल सरकारबारे गर्नुभएको भविष्यवाणी मात्र होइन, परमेश्‍वरले पति र बुबाहरूलाई दिनुभएको आज्ञाबारे पनि थाह पाउनुभयो। (एफिसी ५:२८; ६:४) त्यसको केही समयपछि बुबा अनि मेरा सबै दाजुभाइ अनि बहिनीहरूले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्नुभयो। म घरबाट टाढा थिएँ, त्यसैले मलाई यसबारे केही थाह थिएन।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

 सन्‌ १९७८ मा म अस्ट्रेलियामा बसाइँ सरेँ। यस्तो शान्तिमय अनि सम्पन्‍न देशमा पनि मैले मनोशान्ति पाउन सकिनँ। मैले रक्सी पिउन र लागूपदार्थ सेवन गर्न छोडिनँ। त्यस वर्षको अन्ततिर यहोवाका साक्षीहरूसित मेरो भेट भयो। पृथ्वीमा शान्ति छाउनेछ भनेर उहाँहरूले बाइबलबाट देखाउनुभएको कुरा मलाई राम्रो लाग्यो तर म उहाँहरूसित नजिक भइहाल्न भने चाहिनँ।

 त्यसको केही समयपछि म केही हप्ताको लागि फिलिपिन्स फर्केँ। असल व्यक्‍ति हुन बुबाले निकै मेहनत गर्नुभएको छ भनेर दाइ र भाइबहिनीहरूले मलाई बताए। तर बुबासित मेरो साह्रै चित्त दुखेकोले उहाँसित भेट्‌नै चाहिनँ।

 हामीले जीवनमा किन यतिबिघ्न दुःखकष्ट र अन्याय भोग्नुपर्छ भनेर मेरी कान्छी बहिनीले मलाई बाइबलबाट देखाइन्‌। आफ्नी सानी बहिनीले मेरो मनमा उठेका प्रश्‍नहरूको जवाफ दिएको देख्दा म छक्क परेँ। अस्ट्रेलिया फर्कने बेलामा बुबाले मलाई पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ a भन्‍ने किताब दिनुभयो र यसो भन्‍नुभयो: “अब यताउता भौँतारिन छोड। यस किताबमा तिमीले आफ्ना प्रश्‍नहरूको जवाफ पाउनेछौ।” उहाँले मलाई अस्ट्रेलियामा यहोवाका साक्षीहरूसित भेट्‌न सल्लाह दिनुभयो।

 मैले बुबाको सल्लाह मानेँ अनि ब्रिज्बेनमा मेरो घरनजिकै यहोवाका साक्षीहरूको राज्यभवनमा गएँ। मैले नियमित रूपमा बाइबल अध्ययन गर्ने प्रस्ताव स्विकारेँ। बाइबलको दानिएल अध्याय ७ अनि यसैया अध्याय ९ मा गरिएका भविष्यवाणीहरूबाट मैले भविष्यमा परमेश्‍वरले ल्याउनुहुने भ्रष्टाचारमुक्‍त सरकारले हामीमाथि शासन गर्नेछ अनि हामी सुन्दर बगैँचाजस्तो पृथ्वीमा बस्नेछौँ भनेर सिकेँ। मलाई परमेश्‍वरले स्विकार्नुहोस्‌ भन्‍ने म चाहन्थेँ तर त्यसको लागि मैले आफ्ना भावनालाई काबूमा राख्नुपर्छ, रक्सी पिउन अनि लागूपदार्थ सेवन गर्न छोड्‌नुपर्छ र मेरो छाडा जीवनशैली त्याग्नुपर्छ भनेर बुझेँ। मैले आफूसित बस्दै आएकी केटीलाई छोडेँ अनि कुलतहरू पनि त्यागेँ। यहोवामाथिको मेरो भरोसा बढ्‌दै गएपछि मैले जीवनमा अरू परिवर्तन गर्न उहाँसित प्रार्थनामा मदत माग्न थालेँ।

 आफूले सिकिरहेको कुराले साँच्चै मान्छेको जीवन परिवर्तन गर्न सक्छ भनेर मैले बिस्तारै महसुस गर्न थालेँ। मेहनत गऱ्‍यौँ भने हामीले “नयाँ व्यक्‍तित्व” धारण गर्न सक्छौँ भनेर बाइबलमा बताइएको छ। (कलस्सी ३:९, १०) यसरी आफ्नो व्यक्‍तित्व परिवर्तन गर्न प्रयास गर्दै जाँदा मैले बुबाले आफ्नो व्यक्‍तित्व परिवर्तन गर्नुभएको कुरा साँचो हुन सक्छ भनेर महसुस गरेँ। उहाँसित रिसाउनु वा वैरभाव राख्नुको साटो मैले उहाँसित शान्तिमय सम्बन्ध विकास गर्ने निर्णय गरेँ। अन्तमा मैले बुबालाई माफी दिएँ अनि बाल्यकालदेखि मनमा पाल्दै आएको घृणालाई उखेलेर फ्याँकिदिएँ।

मैले कसरी लाभ उठाएको छु?

 जवान छँदा अरूको लहैलहैमा लागेकोले म हानिकारक कुलतमा फस्दै गएँ। नराम्रो सङ्‌गतले राम्रो आनीबानी बिगार्छ भनेर बाइबलमा स्पष्ट चेतावनी दिइएको छ। (१ कोरिन्थी १५:३३) मेरो जीवनमा यो कुरा साँचो साबित भयो। तर मैले यहोवाका साक्षीहरूमाझ भरोसायोग्य साथीहरू पाउन सकेँ। उहाँहरूले मलाई असल व्यक्‍ति बन्‍न मदत गर्नुभएको छ। साथै तिनै साथीहरूमाझ मैले प्यारी पत्नी लोरेटा पनि पाएको छु। हामी पति-पत्नी मिलेर अरूलाई बाइबलको कुरा सिक्न मदत गर्छौँ।

पत्नी र साथीहरूसित खाना खाँदै

 बाइबलले गर्दा मेरो बुबामा यस्तो परिवर्तन आयो, जुन मैले कल्पनासमेत गरेको थिइनँ। उहाँ मायालु पति अनि शान्तिप्रेमी ख्रिष्टियन हुनुभएको थियो। सन्‌ १९८७ मा मैले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गरेपछि बुबासित मेरो भेट भयो। त्यतिबेला बुबाले जीवनमा पहिलो पटक मलाई अङ्‌गालो हाल्नुभयो!

 बुबाले ३५ वर्षभन्दा लामो समयसम्म आमासित मिलेर अरूलाई बाइबलले दिने आशा सुनाउनुभयो। उहाँ लगनशील अनि मायालु व्यक्‍ति बन्‍नुभयो र अरूलाई मदत गर्ने व्यक्‍ति भनेर चिनिनुभयो। ती वर्षहरूमा मैले उहाँलाई आदर र प्रेम गर्न सिक्दै गएँ। उहाँको छोरा हुन पाएकोमा मैले गर्व महसुस गरेँ! उहाँ २०१६ मा बित्नुभयो। बुबालाई सम्झँदा म राम्रा कुराहरू मात्र सम्झन्छु। बाइबलको शिक्षा लागू गर्दा हामी दुवैले जीवनमा आमूल परिवर्तन गर्न सक्यौँ। पहिला मेरो मनमा उहाँप्रति घृणा थियो तर अहिले त्यस्तो कुनै नराम्रो भावना छैन। साथै स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवालाई चिन्‍न पाएकोमा पनि म असाध्यै कृतज्ञ छु, जसले परिवारमा हुने हर प्रकारका समस्याहरू हटाउने प्रतिज्ञा गर्नुभएको छ।

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिँदैन।