सीधै सामग्रीमा जाने

शास्त्रपदको व्याख्या

२ तिमोथि १:७—“परमेश्‍वरले ... डरको आत्मा होइन”

२ तिमोथि १:७—“परमेश्‍वरले ... डरको आत्मा होइन”

 “किनकि परमेश्‍वरले दिनुहुने पवित्र शक्‍तिले हामीमा कायरता होइन तर शक्‍ति, प्रेम अनि सुझबुझ जगाउँछ।”—२ तिमोथि १:७, नयाँ संसार अनुवाद।

 “किनभने परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्‍ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।”—२ तिमोथि १:७, नयाँ संशोधित संस्करण।

२ तिमोथि १:७ को अर्थ

 परमेश्‍वरले मानिसहरूलाई जे सही छ, त्यो साहसी भई गर्न मदत गर्नुहुन्छ। उहाँ कोही पनि “कायरता” अर्थात्‌ अनावश्‍यक डरको वशमा परेर उहाँलाई खुसी पार्ने काम गर्नदेखि पछि हटेको चाहनुहुन्‍न।

 यस पदमा उल्लेख गरिएका तीन वटा असल गुणबारे विचार गरौँ, जसले अनावश्‍यक डर हटाउन मदत गर्छ।

 “शक्‍ति।” ख्रिष्टियनहरूले खतरनाक शत्रुहरू र परिस्थितिहरूको सामना गर्नुपरे तापनि साहसी भई परमेश्‍वरको सेवा गर्न सकेका छन्‌। तिनीहरू डराएर पछि हटेका छैनन्‌। (२ कोरिन्थी ११:२३-२७) यो कसरी सम्भव भएको छ? यसबारे प्रेषित पावलले यसो भने: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” (फिलिप्पी ४:१३) परमेश्‍वरले आफ्ना उपासकहरूलाई कुनै पनि चुनौतीको सामना गर्न “असाधारण शक्‍ति” दिन सक्नुहुन्छ।—२ कोरिन्थी ४:७.

 “प्रेम।” परमेश्‍वरप्रतिको गहिरो प्रेमले ख्रिष्टियनहरूलाई जे सही छ, साहसी भई त्यसको पक्ष लिन मदत गर्छ। त्यसैगरि मानिसहरूप्रतिको प्रेमले ख्रिष्टियनहरूलाई विरोध वा खतरनाक परिस्थिति आइपर्दा समेत आफ्नो भन्दा अरूको आवश्‍यकतालाई पहिलो स्थानमा राख्न उत्प्रेरित गर्छ।—युहन्‍ना १३:३४; १५:१३.

 “सुझबुझ।” बाइबलमा चलाइएको सुझबुझ भन्‍ने शब्दले सामान्यतया बाइबललाई आधार बनाएर सही निर्णय गर्न सक्ने ख्रिष्टियनहरूको क्षमतालाई बुझाउँछ। सुझबुझ भएको मानिसले कठिन परिस्थितिको सामना गर्दा समेत सही र तर्कसङ्‌गत तरिकामा सोच्न सक्छ। उसले अरूको विचारधाराभन्दा परमेश्‍वरसितको सम्बन्ध महत्त्वपूर्ण छ भनेर बुझेकोले परमेश्‍वरको सोचाइसित मेल खाने निर्णय गर्छ।

२ तिमोथि १:७ को प्रसङ्‌ग

 बाइबलको दोस्रो तिमोथिको किताब प्रेषित पावलले आफ्नो प्रिय साथी र सहकर्मी तिमोथिलाई लेखेको पत्र हो। तिनले यस पत्रमा जवान तिमोथिलाई सेवाको काममा मेहनत गरिरहन मनैदेखि प्रोत्साहन दिए। (२ तिमोथि १:१, २) तिमोथि लजालु स्वभावका हुन सक्छन्‌, जसले गर्दा उनी मण्डलीको गतिविधिमा भाग लिन हिचकिचाइरहेका थिए होलान्‌। (१ तिमोथि ४:१२) तर तिमोथिले वरदान अर्थात्‌ मण्डलीमा विशेष जिम्मेवारी पाएको कुरा पावलले उनलाई सम्झाए। तिनले तिमोथिलाई मण्डलीको निरीक्षकको रूपमा आफूले पाएको अख्तियार प्रयोग गर्नदेखि पछि नहट्‌न आग्रह गरे, विशेषगरि सुसमाचार सुनाउँदा र विश्‍वासको खातिर भोग्नुपरेका चुनौतीहरूको सामना गर्दा।—२ तिमोथि १:६-८.

 यस पदको कुरा सुरुमा तिमोथिलाई लेखिएको थियो। तर यसबाट आज यहोवाको सेवा गर्न चाहने सबैले चुनौतीको बाबजुद आफ्नो जिम्मेवारी पूरा गर्न यहोवाले मदत गर्नुहुन्छ भन्‍ने आश्‍वासन पाउँछन्‌।