सीधै सामग्रीमा जाने

शास्त्रपदको व्याख्या

हिब्रू ४:१२—“परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्छ”

हिब्रू ४:१२—“परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्छ”

 “किनकि परमेश्‍वरको वचन जीवित र प्रबल अनि कुनै दुईधारे तरबारभन्दा धारिलो छ। यसले भित्रसम्मै छेडेर मानिसको बाहिरी रूप र भित्री रूपलाई अलग पार्छ, जोर्नी र त्यसको गुदीलाई छुट्ट्याउँछ अनि हृदयको विचार र आशय जाँच्न सक्छ।”—हिब्रू ४:१२, नयाँ संसार अनुवाद।

 “किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुइधारे तरवारभन्दा बढी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाडको गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।”—हिब्रू ४:१२, नयाँ संशोधित संस्करण।

हिब्रू ४:१२ को अर्थ

 परमेश्‍वरले मानिसजातिको लागि दिनुभएको सन्देश उहाँको वचन बाइबलमा पाइन्छ। बाइबलमा शक्‍ति भएकोले यसले मानिसको सोचाइ र मनोवृत्ति प्रकट गर्छ। यसमा भएको कुरा पढेर मानिसहरूले आफ्नो जीवनमा परिवर्तन गर्न र असल व्यक्‍ति बन्‍न सकेका छन्‌।

 “परमेश्‍वरको वचन जीवित . . . छ।” “परमेश्‍वरको वचन” भन्‍ने अभिव्यक्‍तिले बाइबलमा पाइने परमेश्‍वरको प्रतिज्ञा वा उद्देश्‍यलाई बुझाउँछ। a उहाँ आज्ञाकारी मानिसहरूले यसै पृथ्वीमा सधैँभरि जीवनको आनन्द उठाएको अनि तिनीहरूमाझ शान्ति र एकता छाएको चाहनुहुन्छ। यो उहाँको उद्देश्‍यको एउटा महत्त्वपूर्ण पक्ष हो।—उत्पत्ति १:२८; भजन ३७:२९; प्रकाश २१:३, ४.

 परमेश्‍वरको वचन अर्थात्‌ उहाँको उद्देश्‍य “जीवित” छ भनेर किन भन्‍न सकिन्छ? एउटा कारण, परमेश्‍वरको वचनले यसलाई स्विकार्ने मानिसहरूको मन छुन्छ। यसले तिनीहरूलाई आशा दिन्छ र जीवनको उद्देश्‍य बुझ्न मदत गर्छ। (व्यवस्था ३०:१४; ३२:४७) अर्को कारण, जीवित परमेश्‍वर यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्न अहिलेसम्म काम गर्दै हुनुहुन्छ। (युहन्‍ना ५:१७) यहोवा आफ्नो प्रतिज्ञा बिर्सिहाल्ने वा त्यो पूरा गर्न नसक्ने मानिसजस्तो हुनुहुन्‍न। बरु उहाँ आफ्नो प्रतिज्ञा सम्झनुहुन्छ र उहाँसित आफ्नो सबै प्रतिज्ञा पूरा गर्ने क्षमता छ। (गन्ती २३:१९) उहाँको वचन “पूरा नभई [उहाँकहाँ] त्यसै फर्कँदैन।”—यसैया ५५:१०, ११.

 “परमेश्‍वरको वचन . . . प्रबल . . . छ।” “प्रबल” भन्‍ने शब्दलाई “शक्‍तिशाली,” “क्रियाशील” वा “प्रभावशाली” भनेर पनि अनुवाद गर्न सकिन्छ। त्यसैले यहोवा b परमेश्‍वरले बोल्नुभएको जुनसुकै कुरा अर्थात्‌ उहाँका प्रतिज्ञाहरू शतप्रतिशत पूरा हुनेछन्‌। (भजन १३५:६; यसैया ४६:१०) वास्तवमा उहाँले आफ्नो प्रतिज्ञा कसरी पूरा गर्नुहुनेछ, त्यसबारे हामी कल्पना समेत गर्न सक्दैनौँ।—एफिसी ३:२०. c

 परमेश्‍वरको वचन “प्रबल” भएकोले यसको कदर गर्ने मानिसहरूको व्यक्‍तित्व र जीवनमा यसले राम्रो प्रभाव पार्छ। तिनीहरूले यहोवाको शिक्षालाई आफ्नो जीवनको अभिन्‍न भाग बनाउँछन्‌। त्यसैले तिनीहरू उहाँलाई मन पर्ने सोचाइ, जीवनशैली र लक्ष्य राख्न उत्प्रेरित हुन्छन्‌। (रोमी १२:२; एफिसी ४:२४) यसरी परमेश्‍वरको वचन स्विकार्ने मानिसहरूमा यसले ‘काम पनि गरिरहेको हुन्छ।’—१ थिस्सलोनिकी २:१३.

 “परमेश्‍वरको वचन . . . दुईधारे तरबारभन्दा धारिलो छ।” परमेश्‍वरको वचनलाई दुईधारे तरबारसित तुलना गरिएको भए तापनि यो मानिसले बनाएको कुनै पनि तरबारभन्दा धारिलो छ। किन? किनभने यसको सन्देशले मानिसको मन छुन्छ र तिनीहरू आफ्नो जीवनमा परिवर्तन गर्न उत्प्रेरित हुन्छन्‌। तर संसारमा पाइने कुनै पनि शिक्षाले मानिसमा यस्तो प्रभाव पार्न सक्दैन। यसबारे बुझ्न हिब्रू ४:१२ को बाँकी भागले मदत गर्छ।

 “यसले भित्रसम्मै छेडेर मानिसको बाहिरी रूप र भित्री रूपलाई अलग पार्छ, जोर्नी र त्यसको गुदीलाई छुट्ट्याउँछ।” “परमेश्‍वरको वचन”-ले “गुदीलाई” अर्थात्‌ लाक्षणिक अर्थमा मानिसको भित्री भावना र सोचाइलाई प्रभाव पार्छ। कसरी? परमेश्‍वरको शिक्षाले साधारणतया मानिसले देख्न नसक्ने हाम्रो भित्री व्यक्‍तित्वलाई परिवर्तन गरेर असल व्यक्‍ति बन्‍न उत्प्रेरित गर्छ। यस्तो परिवर्तन देखेर यहोवालाई खुसी लाग्छ र हामी आफै पनि आनन्दित हुन सक्छौँ।

 “यसले हृदयको विचार र आशय जाँच्न सक्छ।” परमेश्‍वरको वचनले मानिसको सोचाइ मात्र नभई तिनको मनसाय वा मनोवृत्ति पनि जाँच्न सक्छ। तिनले परमेश्‍वरको वचनमा पाइने सल्लाहप्रति देखाउने प्रतिक्रियाले तिनको व्यवहार वा आचरण कस्तो छ भन्‍ने कुरा प्रकट गर्छ। उदाहरणको लागि, कुनै मानिसले परमेश्‍वरको वचनमा पाइने सल्लाह लागू गरेर आफ्नो जीवनमा परिवर्तन गर्छन्‌ भने तिनी नम्र र इमानदार छन्‌ अनि आफ्नो सृष्टिकर्तालाई खुसी बनाउन चाहन्छन्‌ भन्‍ने कुरा देखाइरहेका हुन्छन्‌। अर्कोतर्फ कुनै मानिसले परमेश्‍वरको वचनमा खोट खोज्छन्‌ भने तिनले घमन्ड र स्वार्थजस्ता दुर्गुणहरू देखाइरहेका हुन्छन्‌। वास्तवमा तिनले परमेश्‍वरलाई मन नपर्ने काम गर्न बहाना बनाइरहेका हुन सक्छन्‌।—यर्मिया १७:९; रोमी १:२४-२७.

 एउटा स्रोत-सामग्रीअनुसार परमेश्‍वरको वचनले “हाम्रो भित्री भावनालाई छुन्छ र हाम्रो सोचाइलाई प्रभाव पार्छ।” परमेश्‍वरले हामी वास्तवमा कस्तो मानिस हौँ भन्‍ने कुरा राम्ररी देख्न सक्नुहुन्छ र उहाँको वचनले हाम्रो हरेक सोचाइ र भावना प्रकट गर्न सक्छ। हिब्रू ४:१३ मा यस्तो लेखिएको छ: “जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्‌ग छन्‌।”

हिब्रू ४:१२ को प्रसङ्‌ग

 हिब्रूको किताब प्रेषित पावलले इस्वी संवत्‌ ६१ तिर लेखेका थिए। तिनले यो पत्र परमेश्‍वरको प्रेरणा पाएर यरुसलेम र यहुदियाका यहुदी ख्रिष्टियनहरूलाई लेखेका थिए।

 पावलले हिब्रू अध्याय ३ र मा ख्रिष्टियनहरूले पुरातन समयका इस्राएलीहरूबाट चेतावनीमूलक पाठ सिक्न सक्छन्‌ भन्‍ने कुरा बताए। (हिब्रू ३:८-१२; ४:११) यहोवाले इस्राएलीहरूलाई दासत्वबाट छुटकारा दिनुभएर “सुरक्षित” ठाउँमा लैजाने प्रतिज्ञा गर्नुभएको थियो। (व्यवस्था १२:९, १०) तर ती इस्राएलीहरूले मिश्रबाट निस्केपछि बारम्बार यहोवाको आज्ञा तोडेर उहाँको प्रतिज्ञामाथिको विश्‍वास कमजोर भएको देखाए। त्यसैले “तिनीहरू [परमेश्‍वरको] विश्राममा प्रवेश” गर्न सकेनन्‌। भन्‍नुको मतलब, उहाँसितको शान्तिमय सम्बन्ध कायम राख्न सकेनन्‌। नतिजास्वरूप तिनीहरूले निर्जनभूमिमा ज्यान गुमाउनुपऱ्‍यो। पछि तिनीहरूका सन्तानहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरे अनि त्यहाँ बसोबास गर्न थाले। तर दुःखको कुरा, तिनीहरूले पनि आफ्नो पुर्खाले जस्तै यहोवाको आज्ञा तोडे। तिनीहरू अनाज्ञाकारी भएकोले दुःखदायी नतिजा भोग्नुपऱ्‍यो।—नहेम्याह ९:२९, ३०; भजन ९५:९-११; लुका १३:३४, ३५.

 ख्रिष्टियनहरूले ती विश्‍वासघाती इस्राएलीहरूबाट पाठ सिक्नुपर्छ भनेर पावलले बताए। हामी तिनीहरूजस्तो अनाज्ञाकारी हुनु हुँदैन। बरु यहोवाको वचनमा लेखिएका कुराहरू पालन गरेर अनि उहाँका प्रतिज्ञाहरूमा विश्‍वास गरेर उहाँसित शान्तिमय सम्बन्ध कायम राख्न सक्छौँ।—हिब्रू ४:१-३, ११.

 हिब्रूको किताबको विषयवस्तुबारे बुझ्न यो छोटो भिडियो हेर्नुहोस्‌।

a हिब्रू ४:१२ मा चलाइएको “परमेश्‍वरको वचन” भन्‍ने अभिव्यक्‍तिले बाइबललाई मात्र सङ्‌केत गर्दैन। तर बाइबलमा परमेश्‍वरका प्रतिज्ञाहरू छन्‌। त्यसैले हिब्रू ४:१२ मा परमेश्‍वरको वचनबारे लेखिएका कुराहरू बाइबलमा पनि लागू गर्न सकिन्छ।

b परमेश्‍वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।