सीधै सामग्रीमा जाने

शास्त्रपदको व्याख्या

भजन ४६:१०​—“शान्त होओ, र म परमेश्‍वर हुँ भनी जान”

भजन ४६:१०​—“शान्त होओ, र म परमेश्‍वर हुँ भनी जान”

 “हार स्विकार अनि म नै परमेश्‍वर हुँ भनी थाह पाओ। जातिजातिहरूका बीचमा म उच्च पारिनेछु; पृथ्वीमा म उच्च पारिनेछु।”​—भजन ४६:१०, नयाँ संसार अनुवाद।

 “शान्त होओ, र म परमेश्‍वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।”​—भजन ४६:१०, नयाँ संशोधित संस्करण।

भजन ४६:१० को अर्थ

 परमेश्‍वर सबै मानिसलाई उहाँको उपासना गर्न र पृथ्वीमा शासन गर्ने उहाँको अधिकार स्विकार्न आग्रह गर्नुहुन्छ। उहाँको शक्‍ति र अख्तियारलाई कसैले नकार्न सक्दैन। यो सत्य सधैँभरि बाँच्न चाहने सबैले स्विकार्नुपर्छ।​—प्रकाश ४:११.

 “हार स्विकार अनि म नै परमेश्‍वर हुँ भनी थाह पाओ।” केही बाइबलमा यस अभिव्यक्‍तिको सुरुको भागलाई “शान्त होओ” भनेर अनुवाद गरिएको छ। त्यसैले थुप्रै मानिसले यसलाई गलत तरिकामा बुझेका छन्‌। तिनीहरूको विचारमा यो चर्चमा आदरपूर्ण तरिकामा बस्न वा शान्त रहन दिइएको आज्ञा हो। तर “हार स्विकार अनि म नै परमेश्‍वर हुँ भनी थाह पाओ” भनेर अनुवाद गरिएको हिब्रू अभिव्यक्‍ति स्वयम्‌ यहोवा a परमेश्‍वरको आग्रह हो। उहाँ सबै राष्ट्रका मानिसहरूलाई उहाँको विरोध गर्न छोड्‌न र उहाँ मात्र उपासना पाउन योग्य हुनुहुन्छ भनेर स्विकार्न आग्रह गर्दै हुनुहुन्छ।

 यस्तै किसिमको आग्रह भजन २ मा पनि पाइन्छ। त्यहाँ परमेश्‍वरले उहाँको विरोध गर्नेहरूको विरुद्धमा कदम चाल्ने प्रतिज्ञा गर्नुभएको छ। अर्कोतर्फ परमेश्‍वरको अख्तियार स्विकार्नेहरू भने डोऱ्‍याइ, शक्‍ति र बुद्धिको लागि उहाँमा भर पर्छन्‌। तिनीहरू “उहाँमा शरण लिने” भएकोले कठिन समयमा समेत आनन्दित र सुरक्षित महसुस गर्छन्‌।​—भजन २:९-१२.

 “जातिजातिहरूका बीचमा म उच्च पारिनेछु; पृथ्वीमा म उच्च पारिनेछु।” विगतमा यहोवाले आफ्ना मानिसहरूलाई सुरक्षा दिन अथाह शक्‍ति प्रकट गर्नुहुँदा उहाँको महिमा भएको थियो। (प्रस्थान १५:१-३) निकट भविष्यमा पृथ्वीका सबैले उहाँको अख्तियार स्विकार्दा र उपासना गर्दा उहाँको महिमा व्यापक रूपमा हुनेछ।​—भजन ८६:९, १०; यसैया २:११.

भजन ४६:१० को प्रसङ्‌ग

 एउटा स्रोतसामग्रीमा भजन ४६ लाई “परमेश्‍वरले आफ्ना मानिसहरूको रक्षा गर्न शक्‍ति प्रकट गर्नुभएकोमा उहाँको प्रशंसामा रचिएको भजन” भनिएको छ। उहाँका सेवकहरूले भजन ४६ गाउँदा तिनीहरूलाई सुरक्षा र मदत दिने उहाँको क्षमतामा भरोसा गरेको कुरा व्यक्‍त गर्थे। (भजन ४६:१, २) यस भजनमा चलाइएका शब्दहरूले यहोवा सधैँ तिनीहरूको साथमा हुनुहुन्छ भनेर सम्झना गराउँथ्यो।​—भजन ४६:७, ११.

 भजनरचयिताले तिनीहरूलाई यहोवाका अचम्मका कामहरूमा मनन गरेर रक्षा गर्ने उहाँको शक्‍तिमा आफ्नो भरोसा अझ बलियो बनाउन प्रोत्साहन दिए। (भजन ४६:८) ती भजनरचयिताले विशेषगरि युद्ध नामेट गर्ने यहोवाको शक्‍तिमा जोड दिइरहेका थिए। (भजन ४६:९) बाइबलकालीन समयमा उहाँले आफ्ना जनहरूलाई शत्रु राष्ट्रहरूबाट रक्षा गर्नुभएर एक अर्थमा युद्ध नामेट पार्नुभयो। तर भविष्यमा उहाँले सारा संसारबाट युद्ध नामेट पार्नुहुनेछ भनेर बाइबलले प्रतिज्ञा गर्छ।​—यसैया २:४.

 के आज पनि यहोवाले आफ्ना उपासकहरूलाई मदत गर्नुहुन्छ? पक्कै गर्नुहुन्छ। प्रेषित पावलले ख्रिष्टियनहरूलाई मदतको लागि उहाँमा भर पर्न प्रोत्साहन दिए। (हिब्रू १३:६) भजन ४६ ले रक्षा गर्ने यहोवाको शक्‍तिमा हाम्रो भरोसा बढाउँछ। यसले यहोवालाई आफ्नो “शरणस्थान र बल” बनाउन हामीलाई मदत दिन्छ।​—भजन ४६:१.

 भजनसङ्‌ग्रहको किताबको विषयवस्तुबारे बुझ्न यो छोटो भिडियो हेर्नुहोस्‌।

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।