सीधै सामग्रीमा जाने

वृद्ध आमाबुबाको हेरविचार गर्नेबारे बाइबल के भन्छ?

वृद्ध आमाबुबाको हेरविचार गर्नेबारे बाइबल के भन्छ?

बाइबलको जवाफ

 आफ्ना वृद्ध आमाबुबाको हेरविचार गर्नुपर्ने जिम्मेवारी वयस्क छोराछोरीको काँधमा हुन्छ। वयस्क छोराछोरीलाई बाइबल यस्तो सल्लाह दिन्छ: “तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकून्‌, र आफ्ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्‌, किनकि यो परमेश्‍वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।” (१ तिमोथि ५:४, नयाँ संशोधित संस्करण) वयस्क छोराछोरीले वृद्ध भइसकेका आफ्ना आमाबुबाको राम्ररी हेरविचार गर्दा तिनीहरूले आमाबुबाको आदर गर भन्‍ने बाइबलको अर्को आज्ञा पनि पालन गरिरहेका हुन्छन्‌।—एफिसी ६:२, ३.

 बाइबलले वृद्ध आमाबुबाको हेरविचार गर्नेबारे स्पष्ट निर्देशनहरू नदिए तापनि यसमा वृद्ध आमाबुबाको हेरविचार गरेका वफादार पुरुष तथा स्त्रीहरूको उदाहरण भने पाइन्छ। साथै आफ्ना आमाबुबाको हेरविचार गरिरहेकाहरूका लागि बाइबलमा व्यावहारिक सल्लाह-सुझाव पनि पाइन्छ।

 पुरातन समयका केही परिवारका सदस्यहरूले आफ्ना वृद्ध आमाबुबाको कसरी हेरविचार गरे?

 तिनीहरूले परिस्थितिअनुसार विभिन्‍न तरिकामा आफ्ना आमाबुबाको हेरविचार गरे।

  •   युसुफ आफ्नो वृद्ध बुबा याकुबबाट धेरै टाढा बस्थे। परिस्थितिले दिएपछि युसुफले याकुबलाई आफ्नो नजिकै बस्न बोलाए। तिनले आफ्नो बुबाको लागि गाँस-बासको प्रबन्ध मिलाइदिए र सुरक्षित महसुस गराए।—उत्पत्ति ४५:९-११; ४७:११, १२.

  •   रुथ आफ्नी सासुको देशमा बसाइँ सरिन्‌ र तिनको हेरविचार गर्न कडा मेहनत गरिन्‌।—रुथ १:१६; २:२, १७, १८, २३.

  •   येसुले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि एक जना चेलालाई आफ्नी आमा मरियमको हेरविचार गर्ने जिम्मा दिनुभयो, जो सायद विधवा थिइन्‌।—युहन्‍ना १९:२६, २७ a

 आफ्ना आमाबुबाको हेरविचार गरिरहेकाहरूले बाइबलबाट कस्ता व्यावहारिक सल्लाह-सुझाव पाउन सक्छन्‌?

 वृद्ध आमाबुबाको हेरविचार गरिरहेकाहरूलाई कहिलेकाहीँ शारीरिक र भावनात्मक रूपमा असाध्यै गाह्रो हुन सक्छ। बाइबलमा तिनीहरूलाई मदत गर्ने केही सिद्धान्त पाइन्छ।

  •   आमाबुबाको आदर गर्नुहोस्‌।

     बाइबल के भन्छ: “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।”—प्रस्थान २०:१२.

     यो सिद्धान्त कसरी लागू गर्न सकिन्छ? उहाँहरूलाई आफूले सकेजति गर्न दिएर आदर गरेको देखाउनुहोस्‌। उहाँहरू आफ्नो हेरविचार कसरी गरिएको चाहनुहुन्छ, सम्भव भएसम्म त्यसको निर्णय उहाँहरूलाई नै गर्न दिनुहोस्‌। साथै उहाँहरूलाई मदत गर्न आफूले सक्नेजति गरेर पनि उहाँहरूको आदर गरेको देखाउनुहोस्‌।

  •   परिस्थिति बुझ्नुहोस्‌ र क्षमाशील हुनुहोस्‌।

     बाइबल के भन्छ: “अन्तर्दृष्टि भएको मानिसले रिसलाई काबूमा राख्छ अनि दोषको वास्ता नगरेर उसले आफ्नो इज्जत बढाउँछ।”—हितोपदेश १९:११.

     यो सिद्धान्त कसरी लागू गर्न सकिन्छ? वृद्ध आमाबुबाले तपाईँको चित्त दुख्ने केही कुरा भन्दा वा तपाईँले गरिरहनुभएको प्रयासको कदर नगरेको जस्तो देखिँदा आफैलाई सोध्नुहोस्‌, ‘म पनि उहाँहरूको जस्तै परिस्थितिमा भएको भए मलाई कस्तो लाग्ने थियो?’ उहाँहरूको परिस्थिति बुझ्नुहोस्‌ र क्षमाशील हुनुहोस्‌। यस्तो गर्नुभयो भने अवस्था झनै बिग्रन पाउनेछैन।

  •   अरूसित सरसल्लाह माग्नुहोस्‌।

     बाइबल के भन्छ: “सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ तर धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।”—हितोपदेश १५:२२.

     यो सिद्धान्त कसरी लागू गर्न सकिन्छ? आफ्ना आमाबुबाको स्वास्थ्य समस्याबारे खोजबिन गर्नुहोस्‌। तपाईँ बस्ने ठाउँमा सरकारले वृद्धहरूलाई केही सेवासुविधा दिएको छ कि, पत्ता लगाउनुहोस्‌। वृद्ध आमाबुबाको हेरविचार गरेकाहरूसित कुराकानी गर्नुहोस्‌। तपाईँको दाइभाइ वा दिदीबहिनी छन्‌ भने तपाईँका आमाबुबालाई के-कस्ता कुराहरूको आवश्‍यकता छ अनि उहाँहरूको हेरविचार गर्न प्रत्येकले के गर्न सक्छन्‌ भनेर सँगै बसेर छलफल गर्नुहोस्‌।

    वृद्ध आमाबुबालाई कसरी हेरविचार गर्ने भनेर परिवारको सबै सँगै बसेर छलफल गर्नुहोस्‌

  •   आफ्नो सीमितता बुझ्नुहोस्‌।

     बाइबल के भन्छ: “जो मर्यादामा रहन्छ, ऊ बुद्धिमान्‌ हुन्छ।”—हितोपदेश ११:२.

     यो सिद्धान्त कसरी लागू गर्न सकिन्छ? तपाईँ कतिसम्म गर्न सक्नुहुन्छ, त्यो थाह पाउनुहोस्‌। किनकि हामी सबैको समय र शक्‍ति सीमित छ। यी सीमितताहरूले तपाईँ आफ्ना आमाबुबाको लागि कतिसम्म गर्न सक्नुहुन्छ, त्यसलाई असर गर्छ। वृद्ध आमाबुबाको हेरविचार गर्न तपाईँलाई असाध्यै गाह्रो भयो भने परिवारका अरू सदस्यहरूसित वा पेसेवर व्यक्‍तिहरूसित मदत माग्नुहोस्‌।

  •   आफ्नो ख्याल राख्नुहोस्‌।

     बाइबल के भन्छ: “कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई . . . खुवाउँछ अनि स्याहार्छ।”—एफिसी ५:२९.

     यो सिद्धान्त कसरी लागू गर्न सकिन्छ? हुनत तपाईँको काँधमा आमाबुबाको हेरविचार गर्ने जिम्मेवारी छ। तर तपाईँले आफ्नो र विवाहित हुनुहुन्छ भने आफ्नै परिवारको पनि ख्याल राख्नुपर्छ। आफ्नो खानपानमा ध्यान पुऱ्‍याउनुहोस्‌। तपाईँलाई पर्याप्त मात्रामा आराम र निद्रा पनि चाहिन्छ। (उपदेशक ४:६) अनि सम्भव छ भने बेलाबेलामा आफ्नो लागि पनि समय निकाल्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ आफ्ना आमाबुबाको हेरविचार गर्न भावनात्मक, मानसिक र शारीरिक रूपमा अझ सक्षम हुनुहुनेछ।

 वृद्ध आमाबुबाको हेरविचार गर्ने सन्दर्भमा के बाइबलले तोकेरै निर्देशन दिएको छ?

 वयस्क छोराछोरीले आमाबुबाको हेरविचार कसरी गर्नुपर्छ भन्‍ने सन्दर्भमा बाइबलले तोकेरै निर्देशन दिएको छैन। प्रायजसो छोराछोरीले आफ्ना वृद्ध आमाबुबालाई आफूसँगै राखेर हेरविचार गर्ने निर्णय गर्छन्‌। तर कहिलेकाहीँ कुनै कुनै परिवारमा यस्तो अवस्था पनि आइपर्न सक्छ कि तिनीहरूले आफ्ना आमाबुबालाई उहाँहरूले राम्ररी हेरविचार पाउने ठाउँमा लगेर राख्नुपर्ने हुन्छ। परिवारका सबै जना बसेर के गर्दा राम्रो हुन्छ भनेर सल्लाह गर्नुपर्ने हुन सक्छ।—गलाती ६:४, ५.

a यस विवरणबारे बाइबलसम्बन्धी एउटा किताब यसो भन्छ: “[मरियमको श्रीमान्‌] युसुफको मृत्यु भएको लामो समय भइसकेको हुनुपर्छ र मरियमलाई तिनको छोरा येसुले हेरविचार गरिरहनुभएको थियो। तर येसुको पनि मृत्यु हुन लागेकोले अब मरियमको हेरविचार कसले गर्ने थियो? . . . यतिबेला ख्रिष्टले छोराछोरीलाई आफ्ना वृद्ध आमाबुबाको हेरविचार गर्न सिकाउँदै हुनुहुन्थ्यो।”—द एनआइभी म्याथ्यु हेन्री कमेन्टरी इन वन भोलुम, पृष्ठ ४२८-४२९.