सीधै सामग्रीमा जाने

के दियाबल साँच्चै छ?

के दियाबल साँच्चै छ?

बाइबलको जवाफ

 हो, दियाबल साँच्चै छ। दियाबल नै त्यो स्वर्गदूत थियो, जो पछि दुष्ट भयो र परमेश्‍वरको विद्रोह गऱ्‍यो। त्यो नै “यस संसारको शासक” हो। (युहन्‍ना १४:३०; एफिसी ६:११, १२) बाइबलमा उल्लिखित निम्न नामहरू र जानकारीबाट दियाबल कस्तो किसिमको व्यक्‍ति हो भन्‍ने कुरा हामी थाह पाउन सक्छौँ:

कुनै खराब भावना मात्र होइन

 कोही-कोही सैतान अर्थात्‌ दियाबल हामीभित्र हुने कुनै खराब भावना हो भनेर सोच्ने गर्छन्‌। तर बाइबलमा परमेश्‍वर र सैतानबीच कुराकानी भएको विवरण पाइन्छ। परमेश्‍वर त्रुटिरहित हुनुहुन्छ। त्यसैले उक्‍त विवरणमा उहाँ आफैले आफूभित्रको कुनै खराब भावनासित कुराकानी गरिरहनुभएको हुनै सक्दैन। (व्यवस्था ३२:४; अय्युब २:१-६) त्यसैगरि सैतानले पापरहित येसुलाई प्रलोभनमा पार्न खोज्यो। (मत्ति ४:८-१०; १ युहन्‍ना ३:५) तसर्थ, दियाबल साँच्चै छ र यो कुनै काल्पनिक व्यक्‍ति होइन भन्‍ने कुरा बाइबलबाट स्पष्ट बुझ्न सकिन्छ।

 धेरै मानिसले दियाबल साँच्चै छ भन्‍ने कुरामा विश्‍वास नगरेको देख्दा के हामीले अचम्म मान्‍नुपर्छ? पर्दैन। किनभने सैतानले आफ्नो इच्छा पूरा गर्न छली कामहरू गर्छ भन्‍ने कुरा बाइबलले बताएको छ। (२ थिस्सलोनिकी २:९, १०) आफ्नो अस्तित्व छ भन्‍ने कुरा मानिसहरूले थाह पाउन नसकून्‌ भनेर तिनीहरूको समझशक्‍तिलाई अन्धो तुल्याउन त्यो सफल भएको छ।—२ कोरिन्थी ४:४.

दियाबलबारे अन्य गलत धारणाहरू

मिथ्या: दियाबलको अर्को नाम लुसिफर हो।

 तथ्य: केही बाइबलमा “लुसिफर” भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “चम्किलो तारा” हो। (यसैया १४:१२) यसैयाको विवरणलाई ध्यान दिने हो भने उक्‍त शब्दले बेबिलोनको राजकुल वा वंशलाई सङ्‌केत गर्छ, जुन वंशलाई परमेश्‍वरले अहङ्‌कारी भएको कारण पतन गराउनुभएको थियो। (यसैया १४:४, १३-२०) बेबिलोनी राजाको पतनपछि तिनको लागि व्यङ्‌ग्यात्मक ढङ्‌गमा “चम्किलो तारा” भन्‍ने अभिव्यक्‍ति प्रयोग गरिएको थियो।

मिथ्या: सैतानले परमेश्‍वरको तर्फबाट “अभियोजक”-को रूपमा काम गर्दै छ।

 तथ्य: दियाबल परमेश्‍वरको शत्रु हो, सेवक होइन। सैतान अर्थात्‌ दियाबलले परमेश्‍वरको सेवा गर्ने व्यक्‍तिहरूको विरोध गर्छ र तिनीहरूमाथि झूटो आरोप लगाउँछ।—१ पत्रुस ५:८; प्रकाश १२:१०.