सीधै सामग्रीमा जाने

“आँखाको साटो आँखा” भन्‍नुको अर्थ के हो?

“आँखाको साटो आँखा” भन्‍नुको अर्थ के हो?

बाइबलको जवाफ

 “आँखाको साटो आँखा” भन्‍ने नियम मोसामार्फत पुरातन इस्राएलीहरूलाई दिइएको परमेश्‍वरको व्यवस्थाको एउटा भाग थियो। यही नियम येसुले डाँडाको उपदेश दिनुहुँदा उद्धरण गर्नुभयो। (मत्ति ५:३८; प्रस्थान २१:​२४, २५; व्यवस्था १९:२१) यस नियमअनुसार अपराधीहरूलाई तिनीहरूले गरेको अपराधअनुसार सजाय दिइन्थ्यो। a

 यो नियम जानाजानी कसैलाई चोट पुऱ्‍याउने मामिलामा लागू हुन्थ्यो। मोसाको व्यवस्थामा जानाजानी अरूलाई चोट पुऱ्‍याउनेहरूलाई यस्तो सजाय तोकिएको थियो: “यदि उसले हड्डी भाँचिदिएको थियो भने उसको पनि हड्डी भाँचियोस्‌। त्यसैगरि आँखाको साटो आँखा, दाँतको साटो दाँत अर्थात्‌ उसले जे गरेको थियो, उसलाई पनि त्यसै गरियोस्‌।”​—⁠लेवी २४:⁠२०.

 “आँखाको साटो आँखा” भन्‍ने नियम दिनुको उद्देश्‍य के थियो?

 “आँखाको साटो आँखा” भन्‍ने नियमले कसैलाई व्यक्‍तिगत बदला लिने अधिकार दिँदैन थियो। बरु यस नियमले अपराधीहरूलाई उचित सजाय दिन न्यायकर्ताहरूलाई मदत गर्थ्यो। यस्तो सजाय न त कडा न त हल्का नै हुन्थ्यो।

 यो नियमले अरूलाई जानाजानी चोट पुऱ्‍याउनेहरूलाई वा त्यस्तो षड्यन्त्र रच्नेहरूलाई चेतावनी पनि दिन्थ्यो। व्यवस्थामा यस्तो लेखिएको थियो, “जब अरू मानिसहरूले [परमेश्‍वरको न्याय कार्यान्वयन भएको देख्नेहरूले] यो घटनाबारे सुन्‍नेछन्‌, तब तिनीहरू डराउनेछन्‌ र तिमीहरूबीच कसैले यस्तो खराब काम दोहोऱ्‍याउनेछैन।”​—⁠व्यवस्था १९:⁠२०.

 “आँखाको साटो आँखा” भन्‍ने नियम के ख्रिष्टियनहरूलाई पनि लागू हुन्छ?

 हुँदैन। ख्रिष्टियनहरू यो नियमको अधीनमा छैनन्‌। यो नियम मोसाको व्यवस्थाको भाग थियो, जुन व्यवस्थालाई येसुको बलिदानले खारेज गरिदियो।​—⁠रोमी १०:⁠४.

 तैपनि यो नियमले परमेश्‍वरको सोचाइ बुझ्न मदत गर्छ। उदाहरणको लागि, यसले न्यायप्रति परमेश्‍वरको दृष्टिकोण झल्काउँछ। (भजन ८९:१४) यो नियममा परमेश्‍वरको न्यायको स्तर पनि झल्किन्छ। उहाँको स्तरअनुसार अपराधीलाई “ठीक मात्रामा” अनुशासन दिनुपर्छ।​—⁠यर्मिया ३०:⁠११.

 “आँखाको साटो आँखा” भन्‍ने नियमको विषयमा गलत धारणा

 गलत धारणा: “आँखाको साटो आँखा” भन्‍ने नियम एकदमै कठोर छ

 तथ्य: यस नियमले न्यायको नाममा क्रूर सजाय दिने अधिकार दिँदैन। बरु यस नियमलाई राम्ररी लागू गर्दा न्यायकर्ताहरूले परिस्थिति र अपराधीले जानाजानी अपराध गरेको हो कि होइन भनेर राम्ररी विचार गरेपछि सजाय दिन सक्थे। (प्रस्थान २१:​२८-३०; गन्ती ३५:​२२-२५) तसर्थ “आँखाको साटो आँखा” भन्‍ने नियमले क्रूर सजाय दिनदेखि न्यायकर्ताहरूलाई रोक्थ्यो।

 गलत धारणा: “आँखाको साटो आँखा” भन्‍ने नियमले व्यक्‍तिगत बदला लिइरहने अधिकार दिन्थ्यो।

 तथ्य: मोसाको व्यवस्थामै यस्तो लेखिएको थियो: “तिमीहरूले आफ्ना मानिसहरूसित बदला नलिनू वा तिनीहरूविरुद्ध मनमा रिस नपाल्नू।” (लेवी १९:१८) व्यक्‍तिगत बदलालाई बढावा दिनुको साटो यस नियमले परमेश्‍वरमा र उहाँले गल्तीहरूलाई सच्याउन दिनुभएको न्यायिक प्रणालीमा भरोसा गर्न मानिसहरूलाई प्रोत्साहन दिन्थ्यो।​—⁠व्यवस्था ३२:⁠३५.

a यो न्यायिक सिद्धान्तलाई ल्याटिन भाषामा लेक्स ट्यालिओनिस पनि भनिन्छ। साथै यो नियम प्राचीन सभ्यताहरूको न्यायिक प्रणालीमा पनि समावेश गरिएको थियो।