सीधै सामग्रीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरी र सामाजिक सञ्जाल—भाग २: सुरक्षित भई सामाजिक सञ्जाल चलाउन सिकाउनुहोस्‌

छोराछोरी र सामाजिक सञ्जाल—भाग २: सुरक्षित भई सामाजिक सञ्जाल चलाउन सिकाउनुहोस्‌

 खतरा आइपर्ने भएकोले कतिपय आमाबुबाले छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन बन्देज लगाएका छन्‌। तर तपाईँ किशोरावस्थाका छोराछोरीलाई सामाजिक सञ्जाल चलाउने अनुमति दिनुहुन्छ भने तिनीहरूलाई त्यसको नकारात्मक असरबाट जोगिन र बुद्धिमानीपूर्वक प्रयोग गर्न कसरी मदत दिन सक्नुहुन्छ?

यस लेखमा यी विषयहरूबारे चर्चा गरिनेछ:

 किशोरकिशोरीका लागि के महत्त्वपूर्ण छ?

 तपाईँले के बुझ्नुपर्छ? सामाजिक सञ्जालमा लग्गू हुने खतरा भएकोले किशोरावस्थाका छोराछोरीलाई कति समय त्यो चलाउने भनेर तोक्न तपाईँको मदत चाहिन सक्छ।

 बाइबलको सिद्धान्त: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”—फिलिप्पी १:१०.

 यसबारे सोच्नुहोस्‌: के सामाजिक सञ्जालको प्रयोगले गर्दा किशोरकिशोरीलाई पर्याप्त मात्रामा सुत्‌न, गृहकार्य गर्न वा परिवारसित समय बिताउन गाह्रो भइरहेको छ? अनुसन्धानले देखाएअनुसार तिनीहरू प्रत्येक रात कम्तीमा नौ घण्टा सुत्नुपर्छ तर सामाजिक सञ्जालमा घण्टौँ समय बिताउनेहरू भने सात घण्टाभन्दा पनि कम सुत्‌ने गर्छन्‌।

 तपाईँ के गर्न सक्नुहुन्छ? कुन कुरालाई प्राथमिकता दिने भनेर किशोरकिशोरीसँग कुरा गर्नुहोस्‌ अनि सामाजिक सञ्जाल चलाउन समय तोक्नुको महत्त्वबारे बुझाउनुहोस्‌। केही नियमहरू बनाउनुहोस्‌। जस्तै: राती सुत्ने बेला इलेक्ट्रोनिक डिभाइसहरू नचलाउने। तपाईँको लक्ष्य भनेको तिनीहरूलाई आत्मसंयम विकास गर्न मदत दिने हुनुपर्छ। यस गुणले तिनीहरूलाई पछि वयस्क हुँदा पनि मदत गर्नेछ।—१ कोरिन्थी ९:२५.

 यसले किशोरकिशोरीको भावनात्मक स्वास्थ्यमा कस्तो असर पार्छ?

 तपाईँले के बुझ्नुपर्छ? सामाजिक सञ्जालमा आफ्ना साथीहरूले रमाइलो गरेको अनि एडिट गरिएका फोटोहरू पोस्ट गरेको देख्दा किशोरकिशोरीहरू एकाकीपन, अचाक्ली चिन्ता र निराशाको सिकार हुन सक्छन्‌।

 बाइबलको सिद्धान्त: “हरकिसिमका ... ईर्ष्या ... त्याग।”—१ पत्रुस २:१.

 यसबारे सोच्नुहोस्‌: के सामाजिक सञ्जालको प्रयोगले गर्दा किशोरकिशोरीले आफ्नो शारीरिक बनोट र रूपरङ्‌गप्रति नकारात्मक सोचाइ राखिरहेका छन्‌? के तिनीहरू अरूको जीवन रमाइलो र उत्साहजनक अनि आफ्नो चाहिँ निरस र दिक्कलाग्दो भएको महसुस गर्छन्‌?

 तपाईँ के गर्न सक्नुहुन्छ? आफूलाई अरूसित तुलना गर्नु किन हानिकारक हुन्छ भनेर किशोरकिशोरीलाई बुझाउनुहोस्‌। याद गर्नुपर्ने अर्को कुरा, शारीरिक बनोट, रूपरङ्‌ग र अरूसितको सम्बन्ध जस्ता विषयमा केटाहरूको तुलनामा केटीहरू संवेदनशील हुन्छन्‌। तपाईँ तिनीहरूलाई समयसमयमा सामाजिक सञ्जाल चलाउन बन्द गर्नेबारे पनि सुझाव दिन सक्नुहुन्छ। जेकब नामको किशोर यसो भन्छन्‌: “मैले सामाजिक सञ्जालका एपहरू केही समयका लागि हटाइदिएँ। त्यसले गर्दा मैले अझ महत्त्वपूर्ण कुराहरूलाई समय दिन अनि आफू र अरूप्रति सही दृष्टिकोण राख्न सकेँ।”

 किशोरकिशोरीले अनलाइनमा कस्तो व्यवहार गर्नुपर्छ?

 तपाईँले के बुझ्नुपर्छ? सामाजिक सञ्जाल चलाउनु भनेको ठूलो भीडमा हुनु जस्तै हो। गलतफहमी र झैझगडा त भई नै हाल्छ।

 बाइबलको सिद्धान्त: “हरकिसिमको कटुता, रिस, क्रोध, चिच्याउने बानी र दुर्वचन ... त्याग। बरु एकअर्काप्रति दयालु होओ।”—एफिसी ४:३१, ३२.

 यसबारे सोच्नुहोस्‌: के सामाजिक सञ्जालले किशोरकिशोरीमा अरूको कुरा काट्‌ने, झगडा गर्ने वा दुर्वचन बोल्ने जस्ता नराम्रा बानी विकास गराएको छ?

 तपाईँ के गर्न सक्नुहुन्छ? किशोरकिशोरीलाई सामाजिक सञ्जालमा राम्रो व्यवहार देखाउन मदत गर्नुहोस्‌। डिजिटल किड्‌स नामको किताब यसो भन्छ: “आमाबुबाले छोराछोरीलाई नराम्रो व्यवहार देखाउनु गलत हो भनेर स्पष्टसित सिकाउनुपर्छ, चाहे त्यस्तो व्यवहार प्रत्यक्ष गरिएको होस्‌ वा अनलाइनमा।”

 यो कुरा मनमा राख्नुहोस्‌: सामाजिक सञ्जाल चलाउनै पर्छ अनि सबै आमाबुबाले किशोरावस्थाका छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनै पर्छ भन्‍ने छैन। यदि तपाईँ आफ्ना छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन अनुमति दिनुहुन्छ भने तिनीहरू कति समय चलाउने भनेर सीमा तोक्न, असल साथीहरू बनाउन अनि अनुचित सामग्रीदेखि टाढा रहन सक्छन्‌ कि सक्दैनन्‌ भनेर पक्का गर्नुहोस्‌।