सीधै सामग्रीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरी र सामाजिक सञ्जाल—भाग १: के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?

छोराछोरी र सामाजिक सञ्जाल—भाग १: के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?

 एउटा सर्वेक्षणअनुसार ९७ प्रतिशत किशोरकिशोरीले सामाजिक सञ्जाल चलाउँछन्‌। के तपाईँका छोराछोरी सामाजिक सञ्जाल चलाउन चाहन्छन्‌? त्यसो हो भने तपाईँले यी कुराहरू विचार गर्नुपर्छ:

यस लेखमा यी विषयहरूबारे चर्चा गरिनेछ:

 यसले छोराछोरीको कति समय खान्छ?

 हेल्पगाइड नाम गरेको एउटा वेबसाइट भन्छ: “सामाजिक सञ्जाल बनाइनुको उद्देश्‍य नै मानिसहरूलाई त्यसमा लग्गू बनाउनु हो। त्यसैले हामीलाई नयाँ-नयाँ पोस्टहरू हेरिहाल्न सकसकी लाग्न सक्छ।”

 “सामाजिक सञ्जालमा पोस्टहरू हेर्दै जाँदा घण्टौँ बितेको पत्तै हुँदैन। एक चोटि चलाउन थालेपछि त्यो छोडेर अरू काम गर्न फिटिक्कै मन लाग्दैन।”—२० वर्षीया लिन

 आफैलाई सोध्नुहोस्‌: के मेरा छोराछोरीले आत्मसंयम देखाउँदै तोकिएको समय मात्र सामाजिक सञ्जाल चलाउनेछन्‌? के तिनीहरू आफ्नो लागि सीमा तोक्न र त्यसैअनुसार गर्न सक्ने भइसकेका छन्‌?

 बाइबलको सिद्धान्त: “कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू ... बुद्धिमान्‌ मानिस जस्तोगरि हिँड, समयको पूर्ण सदुपयोग गर।”—एफिसी ५:१५, १६.

छोराछोरीलाई सम्झाइबुझाइ नगरी सामाजिक सञ्जाल चलाउन दिनु भनेको तालिम नदिई घोडा चढ्‌न दिनुजस्तै हो

 के यसले छोराछोरीलाई असल साथी बनाउन मदत गर्छ?

 “सामाजिक सञ्जाल” भनेको आफ्ना साथीभाइ वा चिनेजानेका मानिसहरूसित सम्पर्कमा रहने माध्यम हो। तर वास्तवमा यसमा बनाइने साथीहरू साँचो साथी हुन्छन्‌ भन्‍ने छैन।

 “मैले के याद गरेकी छु भने प्रायजसो युवाहरूले धेरै लाइक वा फलोवर हुँदा मानिसहरूले तिनीहरूलाई धेरै मन पराउँछन्‌ भन्ठान्छन्‌। तर वास्तवमा तिनीहरूले ती मानिसहरूलाई चिनेका पनि हुँदैनन्‌।”—१७ वर्षीया प्याट्रिसिया

 आफैलाई सोध्नुहोस्‌: के मेरा छोराछोरीले धेरै लाइक वा फलोवर हुनु महत्त्वपूर्ण होइन भनेर बुझेका छन्‌? के तिनीहरू प्रत्यक्ष भेटिने मानिसहरूलाई पनि साथी बनाउन सक्छन्‌?

 बाइबलको सिद्धान्त: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.

 यसले छोराछोरीलाई भावनात्मक तवरमा कस्तो असर पार्छ?

 अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार ज्यादै सामाजिक सञ्जाल चलाउने मानिसहरूलाई एकाकीपन, अत्यधिक चिन्ता र निराशाले समेत सताउन सक्छ।

 “साथीहरूले रमाइलो गरेका फोटोहरू पोस्ट गर्छन्‌। आफू भने त्यहाँ हुन नपाउँदा मेरो मन साह्रै खिन्‍न हुन्छ।”—१९ वर्षीया सेरेना

 आफैलाई सोध्नुहोस्‌: के मेरा छोराछोरी अरूको पोस्टहरू हेरेर प्रतिस्पर्धी हुन, आफूबारे बढ्‌तै सोच्न र नकारात्मक असरमा पर्नदेखि जोगिन सक्छन्‌?

 बाइबलको सिद्धान्त: “हामी फोस्रो घमन्ड नगरौँ, प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ अनि एकअर्काको ईर्ष्या नगरौँ।”—गलाती ५:२६.

 छोराछोरीले सामाजिक सञ्जालको प्रयोग कसरी गर्नेछन्‌?

 छोराछोरीले सामाजिक सञ्जाल चलाउँदा अनलाइनमार्फत दादागिरीको (साइबरबुलिङ्‌) सिकार हुन सक्छन्‌। साथै तिनीहरू अश्‍लील सन्देश, फोटो वा भिडियो हेर्ने र सेयर गर्ने (सेक्सटिङ्‌) खतरामा पर्न सक्छन्‌।

 “सामाजिक सञ्जालमा पोस्ट गरिएका कुराहरू ठीकै देखिएला तर यसले नकारात्मक रूप लिन केही बेर लाग्दैन। यसमा थुप्रै छाडा शब्दहरू र अश्‍लील गीतसङ्‌गीत हुन्छन्‌।”—२३ वर्षीया लिन्डा

 आफैलाई सोध्नुहोस्‌: के मेरा छोराछोरीले बुद्धिमानीपूर्वक सामाजिक सञ्जालको प्रयोग गर्नेछन्‌? के मेरा छोराछोरीले अश्‍लील सामग्री देखा परेमा तुरुन्तै तिरस्कार गर्न सक्नेछन्‌?

 बाइबलको सिद्धान्त: “तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्‌; लाजमर्दो आचरण, मूर्खताले भरिएको कुराकानी, अश्‍लील ठट्टा पनि तिमीहरूमाझ नहोस्‌।”—एफिसी ५:३, ४.

 के छोराछोरीले सामाजिक सञ्जाल चलाउनै पर्छ भन्‍ने छ?

 सामाजिक सञ्जाल जीवनको लागि नभई नहुने कुरा होइन अनि खुसी हुनको लागि चाहिन्छ नै भन्‍ने पनि छैन। धेरै युवा सामाजिक सञ्जाल नचलाए पनि खुसी नै छन्‌। पहिले सामाजिक सञ्जाल चलाए पनि तिनीहरूमध्ये कतिपयले अहिले नचलाउने निर्णय गरेका छन्‌।

 “सामाजिक सञ्जालले दिदीमा पारेको असर देखेर मैले त्यो चलाउन छोडिदिएँ। अहिले म झनै खुसी हुन र अरू रमाइला कुराहरूको अनुभव गर्न पाएको छु।”—१७ वर्षीय नेथन

 निष्कर्ष: छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनुअघि तिनीहरू सीमामा रहन, असल साथी बनाउन र अश्‍लील सामग्री हेर्नदेखि जोगिन सक्छन्‌ कि सक्दैनन्‌, पक्का गर्नुहोस्‌।

 बाइबलको सिद्धान्त: “चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”—हितोपदेश १४:१५.