सीधै सामग्रीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

डे केयरबारे आमाबुबाले के थाह पाउनुपर्छ?

डे केयरबारे आमाबुबाले के थाह पाउनुपर्छ?

 केही जागिरे आमाबुबाले स्कुल जाने उमेर नभइसकेका छोराछोरीलाई डे केयर सेन्टरमा राख्ने निर्णय गर्छन्‌। के तपाईँले आफ्ना छोराछोरीलाई डे केयरमा राख्नु राम्रो हो?

 आफैलाई सोध्नुपर्ने प्रश्‍नहरू

 मैले आफ्नो बच्चालाई डे केयर सेन्टरमा पठाएँ भने के यसले ऊसितको सम्बन्धलाई असर गर्न सक्छ? सक्छ। सुरु-सुरुका वर्षहरूमा बच्चाको मस्तिष्कको विकास छिटो-छिटो हुने भएकोले उसले जोसँग धेरै समय बिताउँछ, ऊसँगै नजिक हुन्छ। त्यसैले यस महत्त्वपूर्ण समयमा ऊसँग सक्दो धेरै समय बिताउनुहोस्‌।—व्यवस्था ६:६, ७.

  •    बच्चालाई डे केयरमा राख्नेबारे सोचिरहेका आमाबुबाले ऊसितको सम्बन्ध कसरी बलियो बनाइराख्ने भनेर विचार गर्नुपर्छ।

 बच्चालाई डे केयरमा राख्दा उसमा अरूको प्रभाव धेरै पर्ने हो कि? पर्न सक्छ। एउटा किताबअनुसार “स्कुल जाने उमेर नभइसकेका केटाकेटीले आफ्ना साथीहरूसँग जति धेरै समय बिताउँछन्‌, तिनीहरूमा ती साथीहरूको प्रभाव त्यति नै धेरै पर्छ।” a

  •    बच्चालाई डे केयरमा राख्नेबारे सोचिरहेका आमाबुबाले उसमा आफ्नो भन्दा अरूको प्रभाव धेरै पर्ने हो कि भनेर विचार गर्नुपर्छ।

 बच्चालाई डे केयरमा राखेँ भने के उसलाई स्कुलको पढाइमा सजिलो हुन्छ? कसैले हुन्छ भन्‍ने गर्छन्‌। अरू कसैले भने बच्चाको बौद्धिक विकासमा यसले त्यत्ति फरक पार्दैन अथवा पटक्कै फरक पार्दैन भन्छन्‌। बाल मनोवैज्ञानिक पेनेलोपी लिच यस्तो लेख्छिन्‌: “स्कुलको शिक्षाले मात्र तपाईँको बच्चाको भविष्य उज्ज्वल बनाउन सक्छ भन्‍ने सोचाइ नराख्नुहोस्‌। अनि बच्चालाई सकेसम्म छिटो स्कुलमा हाल्यो भने राम्रो हुन्छ भन्‍ने सोचाइ पनि नराख्नुहोस्‌। यदि तपाईँ यस्तो सोचाइ राख्नुहुन्छ भने तपाईँले ऊ जन्मेदेखि नै दिइरहनुभएको शिक्षालाई कम महत्त्वपूर्ण ठानिरहनुभएको हुनेछ।”

  •    बच्चालाई डे केयरमा राख्नेबारे सोचिरहेका आमाबुबाले यसो गर्नु बच्चाको लागि फाइदाजनक वा जरुरी छ कि छैन भनेर विचार गर्नुपर्छ।

 बच्चाको हेरविचार गर्न हामी दुईमध्ये एक जना घरमै बस्न सक्छौँ कि? केही आमाबुबा भौतिक रूपमा सम्पन्‍न हुन काममै घोटिने गर्छन्‌। के यसो गर्नु फाइदाजनक छ?

  •    बच्चालाई डे केयरमा राख्नेबारे सोचिरहेका आमाबुबाले तिनीहरूमध्ये एक जना घरमै बस्न खर्च कम गर्न सकिन्छ कि भनेर विचार गर्नुपर्छ।

 बच्चालाई डे केयरमा पठाउने कि नपठाउने भनेर निर्णय गर्नुअघि यसका फाइदा र बेफाइदाबारे राम्ररी विचार गर्नुपर्छ। यसरी विचार गरिसकेपछि बच्चालाई डे केयरमा पठाउनु नै उचित लाग्छ भने तपाईँले थप कस्ता कुराहरू विचार गर्नुपर्छ?

 तपाईँ के गर्न सक्नुहुन्छ?

 बाइबल यसो भन्छ: “चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।” (हितोपदेश १४:१५) यस सिद्धान्तलाई मनमा राख्दै बच्चालाई कस्तो प्रकारको डे केयरमा राख्ने भनेर विचार गर्नुहोस्‌।

 आफ्ना विकल्पहरूबारे जान्‍नुहोस्‌

  •   कोही-कोहीले आफ्नो निजी घरमै शिशु स्याहार केन्द्र सञ्चालन गरेका हुन्छन्‌। यस्तो केन्द्रमा थोरै बच्चा राखिन्छ अनि एक जना वा केही सुसारे हुन्छन्‌। केही आमाबुबा आफ्नो बच्चालाई त्यस्तो केन्द्रमा राख्छन्‌।

  •   अरू आमाबुबाले भने बच्चाको हेरविचार गर्न आफन्त वा सुसारेलाई घरमा बोलाउँछन्‌। अनि कसैले भने घरमै सुसारे राखेका हुन्छन्‌।

 यी सबै विकल्पका आफ्नै फाइदा र बेफाइदा छन्‌। यीमध्ये कुनै विकल्प रोजेका आमाबुबासित कुरा गर्नुभए कसो होला? बाइबल यसो भन्छ: “बुद्धिमान्‌ मानिसले सरसल्लाह गर्छ।”—हितोपदेश १३:१०.

 तपाईँले आफ्नो बच्चालाई डे केयर सेन्टरमा पठाउने निर्णय गर्नुभयो भने ...

 डे केयर सेन्टरबारे जान्‍नुहोस्‌

  •   के यो लाइसेन्सप्राप्त वा कानुनी मापदण्ड पूरा गरेको सेन्टर हो? यसले कस्तो नाम कमाएको छ?

  •   के यो सेन्टर सफा र सुरक्षित छ?

  •   यहाँ बच्चाहरूलाई कस्तो क्रियाकलापमा सहभागी गराइन्छ? b

 सुसारेबारे केही जानकारी लिनुहोस्‌

  •   तिनीहरूले कस्तो तालिम पाएका छन्‌? यस्तो तालिममा प्रारम्भिक बाल शिक्षा, प्राथमिक उपचार र सीपीआरको (मुटुको चाल पुनः सुचारु गराउने प्रक्रिया) तालिम समावेश छ।

  •   के तपाईँ सुसारेको कुनै आपराधिक रेकर्ड छ कि भनेर पत्ता लगाउन सक्नुहुन्छ?

  •   के त्यहाँ सुसारे परिवर्तन भइरहन्छ? भइरहन्छ भने तपाईँको बच्चालाई हरेक चोटि नयाँ सुसारेसित घुलमिल हुन गाह्रो हुन्छ।

  •   एक जना सुसारेले कति जना बच्चाको हेरविचार गर्नुपर्छ? एकै जनाले धेरैको हेरविचार गर्नुपर्छ भने तपाईँको बच्चाले चाहिनेजति स्याहार नपाउन सक्छ। बच्चालाई कत्तिको ध्यान दिनुपर्छ भन्‍ने कुरा उसको उमेर र क्षमतामा भर पर्छ।

  •   के ती सुसारेहरू तपाईँसित खुलस्त कुराकानी गर्न सधैँ तयार हुन्छन्‌?

a Hold On to Your Kids

b जस्तै, के बच्चाहरूलाई धेरैजसो समय टिभीमै भुलाएर राखिन्छ वा मानसिक र शारीरिक विकासमा सहयोग पुऱ्‍याउने क्रियाकलापमा सहभागी गराइन्छ?