सीधै सामग्रीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | मरियम

“यहोवाको स्तुतिगान गाऔँ”!

“यहोवाको स्तुतिगान गाऔँ”!

 विशाल नाइल नदी मन्द गतिमा बगिरहेको छ। एउटी सानी केटी त्यस नदीको किनारामा नर्कटहरूबीच लुकेर बसिरहेकी छिन्‌। उभिँदा-उभिँदा तिनको जीउ नै कक्रक्क परिसकेको छ र तिनको वरिपरि किराहरू पनि भुनभुनाइरहेका छन्‌। तर तिनलाई त्यसको वास्तै छैन। तिनको ध्यान परको एउटा टोकरीतर्फ छ। त्यस टोकरीभित्र तिनको भाइ छ। त्यो टोकरीनजिकै गएर भाइलाई हेर्न नपाउँदा तिनको मन कत्ति रोइरहेको होला! आफ्नो आमाबुबाले गरेको यो निर्णय सही हो भनेर तिनलाई राम्रोसँग थाह छ। तिनको भाइलाई जोगाउने एउटा मात्र तरिका यही नै हो।

 ती सानी केटीले असाधारण साहस देखाइरहेकी थिइन्‌ र तिनले अझै पनि आफ्नो जीवनमा यो गुण देखाउनुपर्ने अवस्थाहरू आउनेछ। तिनी सानै भए पनि तिनले आफूमा विश्‍वास भन्‍ने गुण विकास गरिरहेकी थिइन्‌। तिनको विश्‍वास बलियो छ भन्‍ने कुरा तिनको जीवनमा घटेका घटनाहरूले देखाउने थियो। तिनी वृद्धावस्थामा पुगिसक्दा इस्राएलीहरूको इतिहासको एउटा रोमाञ्चकारी मोडमा विश्‍वासले नै तिनलाई डोऱ्‍याउने थियो। पछि तिनले एउटा गम्भीर गल्ती गर्दा पनि विश्‍वासले नै तिनलाई मदत गर्ने थियो। त्यसोभए ती सानी केटी को थिइन्‌? अनि तिनको विश्‍वासबाट हामी के सिक्न सक्छौँ?

दासी मरियम

 बाइबलको विवरणमा ती सानी केटीको नाम खुलाइएको छैन तर तिनी मरियम थिइन्‌ भन्‍ने कुराचाहिँ हामीलाई थाह छ। मरियम मिश्रमा दासको रूपमा जीवन बिताइरहेका अम्राम र योकेबेदको जेठी सन्तान थिइन्‌। (गन्ती २६:५९) हुनत त्यतिबेला मरियम कति वर्षकी थिइन्‌ भनेर तोकेरै बताइएको छैन तर तिनी १० वर्षभन्दा कम उमेरको हुनुपर्छ। नदीमा छोडिएको तिनको कान्छो भाइको नाम पछि मोसा राखियो। तिनको अर्को भाइ पनि थियो, जसको नाम हारुन थियो। त्यतिबेला तिनीचाहिँ त्यस्तै तीन वर्षको हुनुपर्छ।

 मरियम इस्राएलीहरूको इतिहासको असाध्यै कठिन घडीमा बाँचिरहेकी थिइन्‌। मिश्रीहरूले तिनका मानिसहरू अर्थात्‌ हिब्रूहरूदेखि आफूलाई खतरा छ भन्‍ने सोचेर तिनीहरूलाई आफ्नो दास बनाए र थिचोमिचो गर्न थाले। मिश्रमा इस्राएलीहरूको सङ्‌ख्या झन्‌झनै बढ्‌दै गएपछि ती मिश्रीहरू डराए र झनै क्रूर चाल चले। मिश्रका राजा फारोले हिब्रूहरूको छोरा जन्मिए भने तिनीहरूलाई मार्नू भनी हुकुम दिए। तर हिब्रू सुँडेनीहरू सिफ्राह र पुआले फारोले त्यस्तो हुकुम दिएको भए तापनि हिब्रू बच्चाहरूलाई जोगाए। तिनीहरूको यस्तो विश्‍वासबारे मरियमले पनि सुनेकी हुनुपर्छ।—प्रस्थान १:८-२२.

 मरियमले आफ्नै आमाबुबाको विश्‍वास पनि देखेकी थिइन्‌। छोरा जन्मेपछि अम्राम र योकेबेदले उसलाई तीन महिनासम्म लुकाएर राखे। राजाको हुकुमदेखि डराएर तिनीहरूले आफ्नो छोरालाई मर्न दिएनन्‌। (हिब्रू ११:२३) तर उसलाई सधैँभरि लुकाएर राख्न सम्भव थिएन। त्यसैले तिनीहरूले एउटा असाध्यै गाह्रो निर्णय गर्नुपर्ने भयो। उसलाई राम्रोसित देखभाल गर्ने व्यक्‍तिले भेट्टाओस्‌ भन्‍ने आशा गर्दै योकेबेदले आफ्नो छोरालाई एउटा सुरक्षित ठाउँमा लगेर छोड्‌नुपर्ने भयो। यसको लागि तिनले एउटा मालिङ्‌गोको टोकरी बनाइन्‌ र त्यसलाई पानी नछिर्नेगरि बिटुमिनले लिपिन्‌। त्यतिबेला तिनले आफ्नो छोराको सुरक्षाको लागि यहोवालाई कत्ति व्यग्र प्रार्थना गरिन्‌ होला! त्यसपछि तिनले छोरालाई टोकरीमा सुताएर नाइल नदीको किनारामा छोडिदिइन्‌। अनि मरियमलाई ‘तिमीचाहिँ यहीँ बसेर हेर’ भनिन्‌।—प्रस्थान २:१-४.

रक्षक मरियम

 त्यसैले मरियम त्यहीँ बसिरहिन्‌। एकछिनपछि तिनले केही स्त्रीहरू नदीतर्फ आइरहेको देखिन्‌। तिनीहरू साधारण मिश्रीहरू थिएनन्‌। फारोकी छोरी आफ्ना सुसारेहरूसँगै नाइल नदीमा नुहाउन आइरहेकी थिइन्‌। उनलाई देखेर मरियम कत्ति डराइन्‌ होला, कल्पना गर्नुहोस्‌ त! किनकि आफ्नो बुबाको हुकुमविपरीत गएर उनले एक जना हिब्रू बच्चालाई जोगाउने आशा गर्न सकिँदैन थियो। त्यतिबेला मरियमले यहोवालाई कत्ति व्यग्र प्रार्थना गरिन्‌ होला!

 सबैभन्दा पहिला फारोकी छोरीले नै झाडीहरूबीच लुकाएर राखिएको त्यो टोकरी देखिन्‌। उनले आफ्नो सुसारेलाई त्यो टोकरी आफूकहाँ ल्याउन भनिन्‌। त्यसपछि के भयो? बाइबल विवरण यसो भन्छ: “टोकरी खोलेर हेर्दा त्यसमा बच्चा पो रहेछ! बच्चा रोइरहेको थियो।” कुनै हिब्रू आमाले आफ्नो बच्चालाई जोगाउन यसो गरेको हुनुपर्छ भनेर तिनले अनुमान लगाइहालिन्‌। तर त्यो सानो बच्चालाई देखेपछि राजकुमारीको मन पग्लियो। (प्रस्थान २:५, ६) चनाखो हुँदै टाढाबाट हेरिरहेकी मरियमले राजकुमारीको अनुहारको हाउभाउबाटै तिनको मनमा दया जागेको कुरा प्रस्ट देखिन्‌। त्यसैले यहोवामाथि विश्‍वास राख्दै कदम चाल्ने समय यही नै हो भन्‍ने सोचेर तिनी राजकुमारी भएको ठाउँमा गइन्‌।

 ती सानी हिब्रू केटी राजकुमारीसामु जाँदा नतिजा कस्तो हुन्छ भनेर हामीलाई थाह छैन। तैपनि मरियमले राजकुमारीकहाँ गएर सीधै यस्तो प्रश्‍न सोधिन्‌: “यो सानो बाबुलाई दूध खुवाउन हिब्रू धाईआमा बोलाएर ल्याऊँ?” यो प्रश्‍न सोध्नु एकदमै उपयुक्‍त थियो। किनकि फारोकी छोरीलाई आफू त्यो बच्चाको देखभाल गर्न सक्ने अवस्थामा छैन भनेर थाह थियो। त्यो बच्चा सानै भएकोले उसकै मानिसहरूलाई हुर्काउन दिनु बेस हो जस्तो उनलाई लागेको हुनुपर्छ। अनि पछि आफ्नो घरमा ल्याएर उसलाई धर्मपुत्र बनाउने अनि शिक्षादीक्षा दिने विचार उनले गरेकी हुनुपर्छ। त्यसैले उनले मरियमलाई “हुन्छ, ल्याऊ!” भनिन्‌। (प्रस्थान २:७, ८) त्यो सुनेर मरियम मनमनै कत्ति खुसी भइन्‌ होला!

मरियमले साहसी हुँदै आफ्नो भाइमाथि नजर राखिरहिन्‌

 त्यसपछि मरियम दौडेर घर गइन्‌ र आमालाई यो कुरा सुनाउन पाउँदा तिनी कत्ति उत्साहित भइन्‌ होला! योकेबेदले यो सबै यहोवा परमेश्‍वरले नै गर्नुभएको हो भन्‍ने कुरा बुझिन्‌। त्यसैले उनी मरियमसँगै फारोकी छोरीकहाँ गइन्‌। राजकुमारीले योकेबेदलाई यसो भनिन्‌: “यो बच्चा लिएर जाऊ अनि उसलाई दूध खुवाऊ। म तिमीलाई ज्याला दिनेछु।” (प्रस्थान २:९) त्यतिबेला योकेबेदलाई आफ्नो खुसी लुकाउन कत्ति गाह्रो भयो होला!

 त्यस दिन मरियमले आफ्नो परमेश्‍वर यहोवाबारे धेरै कुरा सिकिन्‌। यहोवा आफ्ना सेवकहरूको ख्याल राख्नुहुन्छ र तिनीहरूको प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरा तिनले बुझिन्‌। साथै साहस र विश्‍वास भन्‍ने गुण वयस्क वा पुरुषहरूले मात्र देखाउन सक्ने गुण होइन भन्‍ने कुरा पनि तिनले थाह पाइन्‌। यहोवा आफ्ना सबै वफादार सेवकको प्रार्थना सुन्‍नुहुन्छ। (भजन ६५:२) जवान होऔँ वा वृद्ध, पुरुष होऔँ वा स्त्री, यस कठिन घडीमा हामी सबैले यो कुरा मनमा राख्नुपर्छ।

धीरजी मरियम

 योकेबेदले आफ्नो छोराको राम्रोसँग लालनपालन गरिन्‌। मरियमले आफ्नो भाइलाई कत्ति माया गर्थिन्‌ होला, सोच्नुहोस्‌ त! तिनले सायद भाइलाई बोल्न सिकाइन्‌ र भाइले पहिलो चोटि यहोवाको नाम भन्दा तिनी कत्ति खुसी भइन्‌ होला! तर अब उसलाई फारोकी छोरीकहाँ लैजाने समय पनि आयो। (प्रस्थान २:१०) मोसालाई पठाउनुपर्दा पूरै परिवारलाई कत्ति गाह्रो भयो होला! आफ्नो भाइ ठूलो भएपछि कस्तो मान्छे बन्ला भनेर जान्‍न मरियम उत्सुक थिइन्‌ होला। मोसा राजपरिवारमा हुर्कँदै जाँदा के उसले यहोवाप्रतिको प्रेम कायम राख्ने थियो?

 समय बित्दै जाँदा यस प्रश्‍नको जवाफ प्रस्ट भयो। मोसाले राजदरबारको सुखभोग गर्नुभन्दा यहोवाको सेवा गर्न रोजे भनेर थाह पाउँदा मरियमलाई कत्ति गर्व महसुस भयो होला! चालीस वर्षको भएपछि मोसा आफ्ना मानिसहरूको पक्षमा खडा भए। एकचोटि तिनले हिब्रू दासलाई कुटिरहेको एक मिश्रीलाई मारे। तिनको ज्यानकै खतरा भएपछि तिनी मिश्रबाट भागे।—प्रस्थान २:११-१५; प्रेषित ७:२३-२९; हिब्रू ११:२४-२६.

 त्यसपछिको ४० वर्ष मरियमले आफ्नो भाइलाई भेट्‌न पाइनन्‌। त्यतिबेला मोसा मिद्यानमा भेडाबाख्रा चराउने काम गर्थे। (प्रस्थान ३:१; प्रेषित ७:२९, ३०) समय बित्दै गयो र मरियम पनि वृद्ध भइन्‌। तर तिनका मानिसहरूको दुःख भने झन्‌झनै बढिरहेको थियो।

भविष्यवक्‍ता मरियम

 परमेश्‍वरले आफ्ना मानिसहरूलाई मिश्रबाट छुटाउन मोसालाई त्यहाँ पठाउनुहुँदा मरियम सायद ८० वर्ष नाघिसकेकी थिइन्‌। त्यतिबेला हारुनले चाहिँ मोसाको प्रवक्‍ताको रूपमा काम गरे। मोसा र हारुन पटक-पटक फारोको महलमा गएर परमेश्‍वरका मानिसहरूलाई मिश्रबाट जान दिन आग्रह गरे तर फारोले तिनीहरूलाई जान दिएनन्‌। त्यसैले परमेश्‍वरले ती मिश्रीहरूलाई चेतावनी दिन एकपछि अर्को विपत्ति ल्याउनुभयो। तर हरेक पटक फारोले परमेश्‍वरका मानिसहरूलाई मिश्रबाट जान दिएनन्‌। त्यतिबेला मरियमले आफ्ना भाइहरूलाई पक्कै पनि निकै साथ र हौसला दिएकी हुनुपर्छ। परमेश्‍वरले मिश्रमाथि ल्याउनुभएको अन्तिम विपत्तिमा मिश्रका सबै पहिलो सन्तानको मृत्यु भएपछि मात्र फारोले परमेश्‍वरका मानिसहरूलाई जान दिए। इस्राएलीहरू मोसाको नेतृत्वमा मिश्रबाट निस्कँदा मरियमले पक्कै पनि दिनरात नभनी तिनीहरूलाई सघाएकी हुनुपर्छ!—प्रस्थान ४:१४-१६, २७-३१; ७:१–१२:५१.

 इस्राएलीहरूको अगाडि विशाल लाल समुद्र थियो र पछाडिबाट चाहिँ मिश्री सेनाले खेदिरहेका थिए। त्यतिबेला मरियमले आफ्नो भाइ मोसाले समुद्रको किनारामा उभिएर आफ्नो छडी समुद्रतर्फ तेर्साएको देखिन्‌। त्यसपछि समुद्र दुई भाग भयो! मोसाले मानिसहरूलाई सुक्खा जमिनबाट समुद्र पार गराएको देख्दा यहोवामाथिको मरियमको विश्‍वास कत्ति बलियो भयो होला! आफूले सेवा गर्ने परमेश्‍वरको लागि कुनै कुरा असम्भव छैन, उहाँ आफ्ना सबै प्रतिज्ञा पूरा गर्न सक्नुहुन्छ भनेर तिनलाई थाह थियो।—प्रस्थान १४:१-३१.

 इस्राएलीहरूले सुरक्षितसाथ समुद्र पार गरेपछि पानी उर्लेर आयो अनि फारो र तिनको सबै फौज पानीमा डुबे। यो देखेपछि मरियमले संसारको जतिसुकै शक्‍तिशाली फौज पनि यहोवाको तुलनामा आउन सक्दैन भनेर बुझिन्‌। त्यसपछि मानिसहरूले रमाउँदै यहोवाको प्रशंसाको गीत गाउन थाले। मरियमले पनि अरू स्त्रीहरूको नेतृत्व गर्दै यस्तो गीत गाइन्‌: “यहोवाको स्तुतिगान गाऔँ किनभने उहाँ विजयी हुनुभएको छ। घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।”—प्रस्थान १५:२०, २१; भजन १३६:१५.

लाल समुद्र पार गरेपछि मरियम अरू स्त्रीहरूको नेतृत्व गर्दै विजयगीत गाउन थाल्छिन्‌

 मरियमको लागि यो विशेष क्षण थियो र तिनले यो जीवनभर बिर्सिनन्‌। बाइबलको यस विवरणदेखि मरियमलाई भविष्यवक्‍ता भनिएको छ। कुनै स्त्रीलाई भविष्यवक्‍ता भनिएको यो नै पहिलो पटक हो। यस्तो विशेष सुअवसर पाएका थोरै स्त्रीमध्ये मरियम एक हुन्‌।—न्यायकर्ता ४:४; २ राजा २२:१४; यसैया ८:३; लुका २:३६.

 यहोवा सधैँ हामीमाथि नजर राख्नुहुन्छ अनि उहाँ हाम्रो नम्रता, धीरज र उहाँको प्रशंसा गर्ने हाम्रो चाहनाको लागि इनाम दिन उत्सुक हुनुहुन्छ भनी बाइबल बताउँछ। जवान होऔँ वा वृद्ध, पुरुष होऔँ वा स्त्री, हामी सबैले यहोवामाथिको विश्‍वास कामद्वारा देखाउन सक्छौँ। यस्तो विश्‍वास देख्दा यहोवा खुसी हुनुहुन्छ; उहाँ यस्तो विश्‍वास देखाउनेहरूलाई कहिल्यै बिर्सनुहुन्‍न र उहाँ तिनीहरूलाई इनाम दिनुहुन्छ। (हिब्रू ६:१०; ११:६) मरियमको विश्‍वासको अनुकरण गर्नुपर्ने कत्ति राम्रो कारण!

घमन्डी मरियम

 सुअवसर वा ओहदा पाएको व्यक्‍तिले यहोवाको आशिष्‌ पाउँछन्‌ तर होसियार भएन भने यो नै पासो बन्‍न सक्छ। इस्राएलीहरू मिश्रको दासत्वबाट मुक्‍त हुँदा मरियम सायद इस्राएल राष्ट्रको सबैभन्दा चिरपरिचित स्त्री थिइन्‌। के तिनी घमन्डी र महत्त्वाकाङ्‌क्षी हुने थिइन्‌? (हितोपदेश १६:१८) दुःखको कुरा, तिनी केही समय घमन्डी र महत्त्वाकाङ्‌क्षी भइन्‌।

 इस्राएलीहरू मिश्रबाट निस्केको केही महिनापछि टाढा देशबाट एक जना मानिस मोसालाई भेट्‌न आए। उनी मोसाका ससुरा यिथ्रो थिए। उनले मोसाकी पत्नी सिप्पोरा र तिनका दुई छोरालाई पनि सँगै ल्याएका थिए। मोसा ४० वर्ष मिद्यानमा छँदा सिप्पोरासित विवाह गरेका थिए। सिप्पोरा सायद आफ्नो परिवारलाई भेट्‌न मिद्यान गएकी थिइन्‌ र अहिले उनका बुबाले आफूसँगै उनलाई इस्राएलीहरूको छाउनीमा ल्याएका छन्‌। (प्रस्थान १८:१-५) ती हिब्रूहरू यहोवाले तिनीहरूलाई मिश्रबाट छुटाउन रोज्नुभएको पुरुषकी पत्नीलाई हेर्न कत्ति उत्सुक भए होलान्‌!

 सिप्पोरा आउँदा के मरियम खुसी भइन्‌! सायद सुरुमा त खुसी भइन्‌। तर पछि तिनी घमन्डी हुन थालिन्‌ जस्तो देखिन्छ। सिप्पोराले अब आफ्नो ठाउँ लिने हुन्‌ कि भन्‍ने सोचेर मरियम डराएकी हुनुपर्छ। जेहोस्‌, मरियम र हारुनले सिप्पोराको कुरा काट्‌न थाले अनि तिनीहरूको यस्तो नकारात्मक कुराकानीले उग्र रूप लिन थाल्यो। सुरुमा त तिनीहरूले सिप्पोरा इस्राएली नभई कुसी * हुन्‌ भनेर गनगन गरिरहेका थिए। तर पछि तिनीहरूले मोसाकै विरुद्धमा गनगन गर्न थाले। मरियम र हारुनले यसो भने: “यहोवा परमेश्‍वरले मोसामार्फत मात्र बोल्नुभएको छ र? के उहाँले हामीमार्फत पनि बोल्नुभएको छैन र?”—गन्ती १२:१, २.

कुष्ठरोगी मरियम

 मरियम र हारुनको कुराबाट तिनीहरूमा असाध्यै खतरनाक मनोवृत्ति विकास भइरहेको थियो भनेर प्रस्ट हुन्छ। यहोवाले मोसालाई जुन तरिकामा चलाइरहनुभएको थियो, त्यसप्रति तिनीहरू सन्तुष्ट थिएनन्‌। तिनीहरू अझ धेरै अख्तियार पाउन र प्रभावशाली बन्‍न चाहन्थे। के मोसाले साँच्चै आफ्नो अख्तियारको दुरुपयोग गरिरहेका थिए वा अरूभन्दा अझ शक्‍तिशाली बन्‍न खोजिरहेका थिए? हुनत तिनमा पनि केही कमीकमजोरी थिए तर तिनी घमन्डी वा महत्त्वाकाङ्‌क्षी भने पक्कै थिएनन्‌। बाइबल भन्छ: “मोसा पृथ्वीभरिमा सबैभन्दा नम्र मानिस थिए।” वास्तवमा मरियम र हारुनले मोसाबारे भनेको कुरा बिलकुलै गलत थियो र यसो गरेर तिनीहरूले आफैलाई खतरामा पारिरहेका थिए। विवरणमा बताइएझैँ “यो कुरा यहोवा परमेश्‍वरले सुनिरहनुभएको थियो।”—गन्ती १२:२, ३.

 यहोवाले तुरुन्तै तिनीहरू तीनै जनालाई भेट हुने पालमा बोलाउनुभयो। त्यहाँ यहोवा बादलको खामोको रूपमा तल ओर्लनुभयो र प्रवेशद्वारमा उभिनुभयो। त्यसपछि उहाँले मोसासित आफ्नो विशेष सम्बन्ध छ र तिनलाई धेरै भरोसा गर्छु भनेर मरियम र हारुनलाई सम्झाउनुभयो। अनि उहाँले तिनीहरूलाई यसरी हप्काउँदै सोध्नुभयो: “तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्‍यौ?” यो सुनेर मरियम र हारुन असाध्यै डराए। मोसाको अनादर गरेर वास्तवमा तिनीहरूले यहोवाकै अनादर गरिरहेका थिए।—गन्ती १२:४-८.

 यस घटनामा उक्साउने मुख्य व्यक्‍ति मरियम नै थिइन्‌ जस्तो देखिन्छ। तिनले नै आफ्नो भाइलाई तिनीहरूको बुहारीको विरुद्धमा उठ्‌न उक्साएकी थिइन्‌। त्यसैले मरियमले सजाय पाउनुको कारण हामी बुझ्न सक्छौँ। यहोवाले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो। यस रोगले गर्दा तिनी “हिउँजस्तै सेती भइन्‌।” यो देख्नेबित्तिकै हारुनले आफूलाई नम्र तुल्याए अनि क्षमाको लागि यहोवासित बिन्ती गरिदिन आग्रह गर्दै मोसालाई यसो भने: “हामीले एकदमै मूर्ख काम गऱ्‍यौँ।” अनि मोसाले यहोवालाई यसरी पुकारे: “हे परमेश्‍वर, बिन्ती छ, दिदीलाई निको पारिदिनुहोस्‌! कृपया निको पारिदिनुहोस्‌!” (गन्ती १२:९-१३) आफ्नी दिदीमा कमीकमजोरी भए पनि ती दाजुभाइ तिनलाई धेरै माया गर्थे भनेर यसबाट प्रस्ट हुन्छ।

मरियम निको भइन्‌!

 यहोवाले मरियमलाई कृपा देखाउनुभयो र तिनले पश्‍चात्ताप गरेकीले तिनलाई निको पार्नुभयो। तर उहाँले मरियमलाई सात दिन इस्राएलीहरूको छाउनीबाहिर एक्लै राख्ने आदेश दिनुभयो। यतिबेला मरियमलाई आफ्नो अपमान भएको जस्तो लाग्न सक्थ्यो किनकि तिनले अनुशासन पाएको सबै इस्राएलीले देख्ने थिए। तर तिनको विश्‍वासले तिनलाई जोगायो। आफ्नो बुबा यहोवा न्यायी हुनुहुन्छ र तिनीप्रतिको मायाले गर्दा नै यस्तो अनुशासन दिनुभएको हो भन्‍ने कुरा तिनले पक्कै बुझेकी थिइन्‌। त्यसैले तिनले यहोवाले भन्‍नुभएअनुसारै गरिन्‌। तिनी सात दिन छाउनीबाहिर बसुन्जेल इस्राएलीहरूले यात्रा अघि बढाएनन्‌। त्यसपछि तिनले फेरि आफ्नो विश्‍वास कामद्वारा देखाइन्‌; तिनी नम्र भएर ‘छाउनीमा फर्किन्‌।’—गन्ती १२:१४, १५.

 यहोवा जसलाई माया गर्नुहुन्छ, उसैलाई अनुशासन दिनुहुन्छ। (हिब्रू १२:५, ६) यहोवा मरियमलाई माया गर्नुहुन्थ्यो। त्यसैले तिनको घमन्डको लागि तिनलाई अनुशासन दिनुभयो। त्यसरी अनुशासन पाउँदा मरियमलाई पक्कै पनि नमीठो त लाग्यो तर त्यसले तिनको जीवन बचायो। विश्‍वास देखाउँदै अनुशासन स्विकारेकीले तिनले फेरि यहोवाको अनुमोदन पाउन सकिन्‌। तिनी इस्राएलीहरूको निर्जनभूमिको यात्राको अन्तसम्मै जीवितै थिइन्‌। जिन निर्जनभूमिको कादेसमा तिनको मृत्यु भयो। त्यतिबेला तिनी लगभग १३० वर्षकी थिइन्‌। * (गन्ती २०:१) त्यसको सयौँ वर्षपछिसम्म यहोवाले मरियमको वफादार सेवा बिर्सनुभएको थिएन। भविष्यवक्‍ता मिकामार्फत यहोवाले आफ्ना मानिसहरूलाई यसो भन्‍नुभयो: “दासत्वको घरबाट मैले तिमीहरूको उद्धार गरेँ; मोसा, हारुन र मरियमलाई मैले तिमीहरूको अघिअघि पठाएँ।”—मिका ६:४.

यहोवाले मरियमलाई अनुशासन दिनुहुँदा तिनको विश्‍वासले तिनलाई नम्र भइरहन मदत गऱ्‍यो

 हामीले मरियमबाट धेरै कुरा सिक्यौँ। सानो छँदा तिनले गरेको जस्तै हामीले पनि निस्सहायहरूलाई सहारा दिनुपर्छ र जे सही हो, त्यसको पक्षमा बोल्नुपर्छ। (याकुब १:२७) तिनले जस्तै हामीले पनि खुसी हुँदै अरूलाई यहोवाको सन्देश सुनाउनुपर्छ। (रोमी १०:१५) तिनले जस्तै हामीले पनि डाह र तितोपनाजस्ता दुर्गुणहरू त्याग्नुपर्छ। (हितोपदेश १४:३०) अनि तिनले जस्तै हामीले पनि नम्र भई यहोवाबाट पाएको सुधार स्विकार्नुपर्छ। (हिब्रू १२:५) यसो गर्दा हामीले साँचो अर्थमा मरियमको विश्‍वास अनुकरण गरिरहेका हुन्छौँ।

^ अनु. 21 सिप्पोराको सन्दर्भमा “कुसी” शब्दले तिनी इथियोपियाको नभई अरू मिद्यानीहरूजस्तै अरबियाकी थिइन्‌ भनेर बुझाउँछ।

^ अनु. 26 एक वर्षको अवधिमा यी तीन दिदीभाइको मृत्यु भयो। तिनीहरू जन्मेको क्रमअनुसारै तिनीहरूको मृत्यु भयो जस्तो देखिन्छ—सुरुमा मरियम, त्यसपछि हारुन अनि अन्तमा मोसा।