सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रक्‍तअल्पता—यसका कारण, लक्षण र उपचार

रक्‍तअल्पता—यसका कारण, लक्षण र उपचार

 बेथ यसो भन्छिन्‌: “किशोरावस्थामा हुँदा मलाई रक्‍तअल्पता भएको थियो। म कमजोर थिएँ, छिट्टै थकित हुन्थेँ, मेरा हड्डीहरू दुख्थे अनि कुनै काम ध्यान दिएर गर्न सक्दिनथेँ। डाक्टरले मलाई आइरन चक्की खान भन्‍नुभयो। मैले त्यसै गरेँ साथै खानपानमा पनि होस पुऱ्‍याएँ। त्यसपछि मेरो स्वास्थ्यमा सुधार आउन थाल्यो।”

 बेथको स्वास्थ्य समस्या कुनै नौलो कुरा होइन। विश्‍व स्वास्थ्य सङ्‌गठनले बताएअनुसार २ अरब मानिसहरू अर्थात्‌ विश्‍वकै ३० प्रतिशत मानिसहरूमा रक्‍तअल्पता देखिएको छ। अनि विकासोन्मुख राष्ट्रहरूमा चाहिँ लगभग ५० प्रतिशत गर्भवती महिलाहरूमा अनि लगभग ४० प्रतिशत तीन देखि पाँच वर्षका बालबालिकामा रक्‍तअल्पता देखिएको छ।

 रक्‍तअल्पताले घातक परिणाम पनि निम्त्याउन सक्छ। गम्भीर अवस्थाको रक्‍तअल्पताले गर्दा मुटु सम्बन्धी रोगहरू लाग्न सक्छ अनि मुटुले काम गर्न पनि छोड्‌न सक्छ। विश्‍व स्वास्थ्य सङ्‌गठनअनुसार केही देशमा रक्‍तअल्पताले गर्दा “२० प्रतिशत गर्भवती महिलाको ज्यान जाने गरेको छ।” आइरनको कमीले गर्दा हुने रक्‍तअल्पता भएका आमाबाट बच्चाहरू समय नपुगी जन्मन सक्छन्‌ अनि उनीहरूको तौल पनि कम हुन सक्छ। रक्‍तअल्पता हुने बालबालिकाको विकास बिस्तारै हुन्छ अनि उनीहरूको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ। तैपनि आइरनको कमीले गर्दा हुने रक्‍तअल्पता रोकथाम गर्न अनि उपचार गर्न सकिन्छ। a

रक्‍तअल्पता भनेको के हो?

 रक्‍तअल्पता एउटा स्वास्थ्य समस्या हो। सरल शब्दमा भन्‍ने हो भने रक्‍तअल्पता भएकाहरूमा रातो रक्‍तकोषको कमी हुने गर्छ। यसका थुप्रै कारणहरू छन्‌। वास्तवमा वैज्ञानिकहरूले ४०० भन्दा धेरै प्रकारका रक्‍तअल्पता पत्ता लगाएका छन्‌! यो छिट्टै निको हुन पनि सक्छ वा दीर्घकालीन पनि हुन सक्छ। अनि यो साधारण प्रकारको अथवा गम्भीर प्रकारको पनि हुन सक्छ।

रक्‍तअल्पता के कारणले गर्दा हुन्छ?

 रक्‍तअल्पता हुनुका तीन वटा मुख्य कारणहरू छन्‌। ती हुन्‌:

  •   रगत खेर गएर रातो रक्‍तकोषको कमी हुदाँ

  •   शरीरले आवश्‍यक मात्रामा रातो रक्‍तकोष उत्पादन गर्न नसक्दा

  •   शरीरले रातो रक्‍तकोष नष्ट गर्दा

 अरू प्रकारका रक्‍तअल्पताको तुलनामा आइरनको कमीले गर्दा हुने रक्‍तअल्पता प्रायजसोलाई हुने गर्छ। शरीरमा आइरनको कमी हुँदा यसले आवश्‍यक मात्रामा रातो रक्‍तकोषमा हुने हेमोग्लोबिन उत्पादन गर्न सक्दैन, जसले शरीरमा अक्सिजन ओसार्न मदत गर्छ।

आइरनको कमीले गर्दा हुने रक्‍तअल्पताका लक्षणहरू के-के हुन्‌?

 सुरुमा रक्‍तअल्पताका लक्षण साधारण हुने भएकोले यादै नहुन सक्छ। यसका लक्षणहरू भिन्‍नाभिन्‍नै छन्‌। ती हुन्‌:

  •   अत्यधिक थकान हुने

  •   हातखुट्टा चिसो हुने

  •   कमजोरी हुने

  •   छालाको रङ हलुका पहेँलो हुने

  •   टाउको दुख्ने अनि रिँगटा लाग्ने

  •   छाती दुख्ने, मुटुको धड्‌कन बढ्‌ने अनि श्‍वासप्रश्‍वास छिटो-छिटो हुने

  •   नङ सजिलै भाँचिने

  •   भोक नलाग्ने, खासगरि शिशु तथा बालबालिकाहरूमा

  •   बरफ, स्टार्च भएका खानेकुरा अनि माटो समेत खान मन लाग्ने

यो क-कसलाई हुन सक्छ?

 महिलाहरूलाई आइरनको कमीले गर्दा हुने रक्‍तअल्पता हुने सम्भावना धेरै छ किनभने महिनावारीको बेला रगत बग्ने भएकोले उनीहरूमा आइरनको कमी हुन सक्छ। गर्भवती महिलाहरूको खानपानमा एक प्रकारको भिटामिन बी अर्थात्‌ फोलिक एसिडको कमी छ भने उनीहरूलाई पनि यो रक्‍तअल्पता हुन सक्छ।

 शिशुहरू जो समय नपुग्दै जन्मिएका हुन्छन्‌ अथवा जसको जन्मँदा तौल कम हुन्छ अनि जसले आमाको दूध वा पाउडर दूधबाट आवश्‍यक आइरन पाएका हुँदैनन्‌।

 बालबालिका जसले पर्याप्त मात्रामा पोषणयुक्‍त खानेकुरा खाँदैनन्‌।

 शाकाहारीहरू जसको खानेकुरामा आइरनको कमी हुन्छ।

 दीर्घकालीन रोग लागेकाहरू जस्तै, रगतसम्बन्धी रोग, क्यान्सर, मृगौला फेल भएको, अल्सर वा अरू रोग लागेकाहरू।

रक्‍तअल्पता हुँदा के गर्ने?

 सबै प्रकारका रक्‍तअल्पता रोकथाम गर्न वा निको पार्न सकिँदैन। तर आइरन वा भिटामिनको कमीले गर्दा हुने रक्‍तअल्पता भने निम्न पौष्टिक तत्त्वहरू भएको राम्रो खानपानद्वारा रोकथाम गर्न वा निको पार्न सकिन्छ:

 आइरन। यो मासु, गेडागुडी, दाल अनि हरियो सागपातमा पाउन सकिन्छ। b फलामको भाडामा खाना पकाउनु पनि राम्रो हो किनभने अध्ययनहरूले देखाएअनुसार यसो गर्दा खानामा आइरनको मात्रा बढाउन सकिन्छ।

 फोलेट। यो फलफूल, हरियो सागपात, हरियो मटर, राजमा, चिज, अण्डा, माछा अनि बदाममा पाउन सकिन्छ। साथै यो भिटामिनयुक्‍त अन्‍नबाट बनेका खानेकुराहरूमा पनि पाउन सकिन्छ। जस्तै: रोटी, सिरियल, पास्ता अनि भात। फोलेटको कृत्रिम रूप फोलिक एसिड हो।

 भिटामिन बी-१२। यो मासु, दूधबाट बनेका खानेकुरा अनि पौष्टिक तत्त्वहरू थपिएका भटमासबाट बनेका खानेकुरामा पाउन सकिन्छ।

 भिटामिन सी। यो अमिलो फलफूल, जुस, मरिच, ब्रोकाउली, गोलभेडा, खरबुजा अनि स्ट्रबेरीमा पाउन सकिन्छ। भिटामिन सीले शरीरलाई आइरन सोस्न मदत गर्छ।

 सबै ठाउँमा एउटै किसिमको खानेकुरा पाइन्छ भन्‍ने छैन। त्यसैले तपाईँको ठाउँमा पौष्टिक तत्त्वहरू भएका के-कस्ता खानेकुराहरू पाउन सक्नुहुन्छ, पत्ता लगाउनुहोस्‌। तपाईँ महिला हुनुहुन्छ अनि विशेषगरि गर्भवती हुनुहुन्छ अथवा बच्चा पाउने विचार गर्दै हुनुहुन्छ भने यसो गर्नु झनै जरुरी छ। आफ्नो स्वास्थ्यको ख्याल राख्दा तपाईँले आफ्नो बच्चालाई रक्‍तअल्पताबाट जोगाइरहनुभएको हुनेछ। c

a यस लेखमा भएको खानपान अनि यससित सम्बन्धित विषयबारे जानकारी मायो क्लिनिक अनि द गेल इन्साइक्लोपिडिया अफ नर्सिङ एण्ड एलाइड हेल्थ-बाट लिइएको हो। आफूमा रक्‍तअल्पताका लक्षणहरू देख्नुभयो भने डाक्टरसित परामर्श लिनुहोस्‌।

b डाक्टरसित सल्लाह नगरी आइरन चक्की खाने वा बच्चालाई खुवाउने नगर्नुहोस्‌। आइरनको मात्रा धेरै भयो भने यसले कलेजो बिगार्न सक्छ अनि अरू समस्या पनि निम्त्याउन सक्छ।

c चिकित्सकहरू कहिलेकाहीँ रक्‍तअल्पताको उपचारमा रगतको प्रयोग गर्छन्‌। तर यहोवाका साक्षीहरू यो उपचारविधि स्विकार्दैनन्‌।—प्रेषित १५:२८, २९.