सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ४

पैसाको सदुपयोग कसरी गर्ने?

पैसाको सदुपयोग कसरी गर्ने?

“धेरै सोचेर गरेको योजना सफल हुन्छ।”—हितोपदेश १५:२२

परिवारको आवश्‍यकता पूरा गर्न हामी सबैलाई पैसा चाहिन्छ। (हितोपदेश ३०:८) त्यसैले बाइबलले “रुपियाँपैसा एउटा आश्रय हो” भन्छ। (उपदेशक ७:१२, NRV) तर पैसा तपाईंहरूको वैवाहिक जीवनमा समस्याको पोको बन्‍न सक्छ। त्यसैले पैसाको विषयमा छलफल गर्न अप्ठ्यारो नमान्‍नुहोस्‌। (एफिसी ४:३२) तपाईंहरूले एकअर्कालाई भरोसा गर्नुभयो र मदत गर्नुभयो भने पैसा के-कस्तो कुरामा खर्च गर्ने भनेर निर्णय गर्न सजिलो हुनेछ।

१ राम्ररी योजना बनाउनुहोस्‌

बाइबल के भन्छ? “तिमीहरूमध्ये को यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि, त्यो बनाइसिद्धयाउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन?” (लूका १४:२८) के-कस्तो कुरामा पैसा खर्च गर्ने भनेर निर्णय गर्न दुवैले मिलेर योजना बनाउनुपर्छ। (आमोस ३:३) के-के किन्‍नुपर्छ अनि कतिसम्म खर्च गर्न सकिन्छ, हिसाब गर्नुहोस्‌। (हितोपदेश ३१:१६) पैसा छ भन्दैमा खर्च गर्नै पर्छ भन्‍ने छैन। उधारो लिने बानी नगर्नुहोस्‌। आफूसित भएको पैसा मात्र चलाउनुहोस्‌।—हितोपदेश २१:५; २२:७.

यसो गरेर हेर्नुहोस्‌:

  • महिनाको अन्तमा केही पैसा बच्यो भने त्यो पैसा के गर्ने भनेर दुवै मिलेर छलफल गर्नुहोस्‌।

  • आम्दानीभन्दा खर्च बढी भइरहेको छ भने खर्च कसरी कम गर्न सकिन्छ, योजना बनाउनुहोस्‌। जस्तै, बाहिर खानुभन्दा घरमै खाए कसो होला?

२ घाँटी हेरेर हाड निल्नुहोस्‌

बाइबल के भन्छ? ‘यहोवाको नजरमा मात्र होइन तर मानिसहरूको नजरमा पनि सबै कुरा इमानदारीसाथ गर।’ (२ कोरिन्थी ८:२१) तपाईं कति कमाउनुहुन्छ र कति खर्च गर्नुहुन्छ, त्यो कुरा जीवनसाथीलाई बताउनुहोस्‌; कुरा लुकाउने नगर्नुहोस्‌।

धेरै पैसा खर्च हुने विषयमा सधैं जीवनसाथीसित सरसल्लाह गर्नुहोस्‌। (हितोपदेश १३:१०) यसो गर्दा पैसाको कारण परिवारमा किचलो हुनेछैन। आफ्नो कमाइ आफ्नै लागि मात्र हो भनेर नसोच्नुहोस्‌, पूरै परिवारको लागि हो भनेर सोच्नुहोस्‌।—१ तिमोथी ५:८.

यसो गरेर हेर्नुहोस्‌:

  • एकअर्कालाई नसोधीकन कतिसम्म पैसा खर्च गर्न सकिन्छ, दुवै मिलेर पक्का गर्नुहोस्‌।

  • समस्यालाई चर्किन नदिन सरसल्लाह गरिहाल्नुहोस्‌।