सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ०१

बाइबलले तपाईँको जीवनलाई कसरी अझ राम्रो बनाउन सक्छ?

बाइबलले तपाईँको जीवनलाई कसरी अझ राम्रो बनाउन सक्छ?

हामीमध्ये धेरैको मनमा जीवन, दुःखकष्ट, मृत्यु र भविष्यबारे प्रश्‍न उठ्‌छ। हामीलाई दैनिक जीवनको लागि व्यावहारिक सल्लाह पनि चाहिन्छ। जस्तै: जीविका चलाउन अनि सुखी पारिवारिक जीवन बिताउन। थुप्रै मानिसको विचारमा बाइबलले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिनुका साथै दैनिक जीवनमा चाहिने व्यावहारिक सल्लाह पनि दिन्छ। तपाईँको विचारमा के बाइबलबाट सबैले लाभ उठाउन सक्लान्‌?

१. बाइबलले कस्ता प्रश्‍नहरूको जवाफ दिन्छ?

बाइबलले यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिन्छ: हामी कहाँबाट आयौँ? हाम्रो जीवनको उद्देश्‍य के हो? हामी किन दुःख भोग्छौँ? मानिस मरेपछि के हुन्छ? सबै जना शान्ति चाहन्छन्‌ भने मानिसहरू किन युद्ध गर्छन्‌? भविष्यमा पृथ्वीलाई के हुनेछ? बाइबलले हामीलाई यस्ता प्रश्‍नहरूको जवाफ खोज्न प्रोत्साहन दिन्छ अनि लाखौँले बाइबलमा यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ भेट्टाएका छन्‌।

२. बाइबलले हामीलाई कसरी हरेक दिन आनन्दित हुँदै जीवन बिताउन मदत गर्न सक्छ?

बाइबलले दिने सल्लाह हाम्रो लागि उपयोगी छ। उदाहरणको लागि, यसले परिवार कसरी सुखी हुन सक्छ भनेर सिकाउँछ। यसले तनाव हुँदा के गर्ने अनि काममा कसरी रमाउने भनेर पनि सिकाउँछ। यी तथा अन्य विषयमा बाइबलले कस्तो सल्लाह दिन्छ भनेर तपाईँले यो किताब छलफल गर्दै जाँदा बुझ्नुहुनेछ। यसरी छलफल गर्दा “धर्मशास्त्रमा [अर्थात्‌ बाइबलमा] भएका सबै कुरा . . . उपयोगी” छन्‌ जस्तो तपाईँलाई पनि लाग्न सक्छ।​—२ तिमोथि ३:१६.

यो प्रकाशन बाइबलको सट्टामा तयार पारिएको होइन। बरु यसले तपाईँलाई आफैले बाइबल केलाउन प्रोत्साहन दिन्छ। त्यसैले हामी तपाईँलाई हरेक पाठमा भएका बाइबल पदहरू पढ्‌न र त्यसलाई आफूले सिकिरहेको कुरासित तुलना गरेर हेर्न आग्रह गर्छौँ।

अझ खोतल्नुहोस्‌

बाइबलले कसरी धेरै मानिसलाई मदत गरेको छ, बाइबल पढाइलाई रमाइलो बनाउन तपाईँ के गर्न सक्नुहुन्छ अनि बाइबलको कुरा बुझ्न अरू कसैको मदत लिनु किन बेस हो, विचार गर्नुहोस्‌।

३. बाइबलले हामीलाई भरपर्दो डोऱ्‍याइ दिन्छ

बाइबल एउटा चहकिलो टर्चलाइटजस्तै हो। हामी बाइबल प्रयोग गरेर सही निर्णयहरू गर्न सक्छौँ र भविष्यमा के हुनेछ भनेर थाह पाउन सक्छौँ।

भजन ११९:१०५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यो भजन रच्ने व्यक्‍तिलाई बाइबल कस्तो लाग्थ्यो?

  • तपाईँलाई बाइबल कस्तो किताब हो जस्तो लाग्छ?

४. बाइबलले हाम्रा प्रश्‍नहरूको जवाफ दिन्छ

एउटी स्त्रीको मनमा वर्षौँदेखि विभिन्‍न प्रश्‍न खेलिरहेको थियो। तिनले ती प्रश्‍नहरूको जवाफ बाइबलमा पाइन्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यस भिडियोमा देखाइएकी स्त्रीको मनमा कस्ता प्रश्‍नहरू उठे?

  • बाइबल अध्ययन गर्दै जाँदा तिनले कस्तो महसुस गरिन्‌?

बाइबलले हामीलाई प्रश्‍नहरू सोध्न प्रोत्साहन दिन्छ। मत्ति ७:७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • बाइबलले तपाईँको मनमा खेलिरहेका कस्ता प्रश्‍नहरूको जवाफ दिन सक्छ?

५. तपाईँ बाइबल पढाइलाई रमाइलो बनाउन सक्नुहुन्छ

धेरै मानिसलाई बाइबल पढ्‌न रमाइलो लाग्छ र तिनीहरूले त्यसबाट लाभ उठाइरहेका छन्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यस भिडियोमा देखाइएका जवानहरूलाई पढ्‌न कस्तो लाग्थ्यो?

  • तिनीहरूलाई बाइबल पढ्‌न चाहिँ किन मन पर्छ?

बाइबलले यसको शिक्षाले हामीलाई सान्त्वना र आशा दिन सक्छ भनेर बताउँछ। रोमी १५:४ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • के तपाईँ सान्त्वना र आशा दिने बाइबलको प्रतिज्ञाबारे बुझ्न चाहनुहुन्छ?

६. अरूले हामीलाई बाइबलको कुरा बुझ्न मदत गर्न सक्छन्‌

थुप्रैले आफैले बाइबल पढ्‌नुको साथै अरूसित छलफल गर्दा अझ धेरै बुझ्न सकेका छन्‌। प्रेषित ८:​२६-३१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हामी कसरी बाइबलको कुरा बुझ्न सक्छौँ?​—पद ३० र ३१ हेर्नुहोस्‌।

इथियोपियाली पुरुषलाई धर्मशास्त्रको कुरा बुझ्न मदत चाहिएको थियो। अहिले पनि धेरै मानिसलाई बाइबलको कुरा अरूसित छलफल गर्दा यसलाई अझ राम्ररी बुझ्न सकेको जस्तो लाग्छ

कोही-कोही भन्छन्‌: “बाइबल अध्ययन गर्नु समय खेर फाल्नु हो।”

  • तपाईँलाई कस्तो लाग्छ? किन?

सारांश

बाइबलले दैनिक जीवनको लागि उपयोगी सल्लाह दिन्छ, महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिन्छ अनि सान्त्वना र आशा दिन्छ।

तपाईँले के सिक्नुभयो?

  • हामी बाइबलमा के-कस्ता सल्लाह पाउँछौँ?

  • बाइबलले कस्ता प्रश्‍नहरूको जवाफ दिन्छ?

  • तपाईँ बाइबलबाट के सिक्न चाहनुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

बाइबलको सल्लाह आज हाम्रो लागि किन व्यावहारिक छ, विचार गर्नुहोस्‌।

“बाइबलको शिक्षा—सधैं उपयोग हुने बुद्धि” (प्रहरीधरहरा सङ्‌ख्या १ २०१८)

आत्मविश्‍वासको कमी भएकोले सानैदेखि सङ्‌घर्ष गर्दै आएका एक जना व्यक्‍तिलाई बाइबलले कसरी मदत गऱ्‍यो, हेर्नुहोस्‌।

मेरो नयाँ र सुखी जीवन सुरु भयो (२:५३)

परिवार सुखी बनाउन बाइबलले दिने व्यावहारिक सल्लाह केलाउनुहोस्‌।

“पारिवारिक जीवन सफल बनाउने १२ रहस्य” (ब्यूँझनुहोस्‌! सङ्‌ख्या २ २०१८)

बाइबलले यस संसारको शासकबारे मानिसहरूको धारणा गलत छ भनेर कसरी प्रस्ट पार्छ, बुझ्नुहोस्‌।

बाइबल किन पढ्‌नुपर्छ?—लामो भिडियो (३:१४)