सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | यूसुफ

“सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र?”

“सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र?”

यूसुफ अँध्यारो ठाउँमा यताउति हिंड्‌दै थिए। उखुम गर्मीमा काम गरेकोले तिनी पसिनाले निथ्रुकै भिजेका थिए। टन्टलापुर घामले इजिप्टको त्यो झ्यालखानालाई भट्टीको आगोलेझैं तताइरहेको थियो। यूसुफको संसारै झ्यालखाना थियो। तिनलाई यस ठाउँको कुनाकाप्चा अनि चर्केका भित्ताहरू कहाँ के छन्‌ सबै थाह थियो। हुन त तिनले त्यहाँ आदर कमाएका थिए। तर जतिसुकै आदर कमाएको भए तापनि तिनी कैदीको रूपमा जीवन बिताइरहेका थिए।

तिनले हेब्रोनको डाँडामा रहेको आफ्नो घरलाई कैयौं पटक सम्झेको हुनुपर्छ, जहाँ तिनी भेडाबाख्रा चराउँथे! यूसुफ सत्र वर्षको छँदा बुबा याकूबले तिनलाई एउटा यात्रामा पठाएका थिए। तर त्यो छोटो यात्राले तिनलाई घरबाट सयौं किलोमिटर टाढा पुऱ्‍यायो। तिनले पहिला अनुभव गरेको स्वतन्त्रता अब तिनका लागि आकाशको फल आँखा तरी मर भने जस्तै भयो। यूसुफका डाही दाजुहरू तिनलाई यत्ति घृणा गर्थे कि तिनीहरूले यूसुफलाई मार्न समेत चाहेका थिए। तर ती दाजुहरूले तिनलाई दासको रूपमा बेचिदिए। त्यसपछि यूसुफलाई इजिप्टमा लगियो। त्यहाँ सबैभन्दा पहिला तिनले इजिप्टका अफिसर पोतीफरको घरमा काम गरे। यूसुफ आफ्ना मालिकको भरोसा जित्न सफल भएका थिए। तर पोतीफरकी पत्नीले तिनीमाथि बलात्कारको झूटो आरोप लगाएपछि तिनी झ्यालखानामा परे। aउत्पत्ति, अध्याय ३७, ३९.

यूसुफले दसौं वर्ष दासत्व र झ्यालखानमै बिताए। यूसुफ अठ्ठाइस वर्ष पुगिसक्दा पनि आफूले आशा गरे जस्तो तिनको जीवन भएन। के तिनी कुनै दिन झ्यालखानाबाट मुक्‍त हुने थिए? वा आफ्नो वृद्ध बुबा र प्यारो भाइ बिन्यामीनलाई देख्न पाउने थिए? त्यस्तो खाडलमा कत्ति समय फसिरहनु पर्ने थियो?

तपाईंले पनि यूसुफले जस्तै महसुस गर्नुभएको छ? जवान छँदा तपाईंले राम्रो भविष्यको आशा राख्नुभएको थियो होला तर आशा गरेजस्तो जीवन नभएको हुन सक्छ। पीडादायी परिस्थितिको कहिल्यै अन्त नहुने वा समस्या पार लगाउन नसक्ने जस्तो तपाईंलाई लाग्न सक्छ। छुटकाराको आशा समेत नदेखिन सक्छ। यूसुफको विश्‍वासबाट हामी के सिक्न सक्छौं, विचार गरौं।

“परमप्रभु यूसुफका साथ हुनुहुन्थ्यो”

यूसुफलाई तिनका परमेश्‍वर यहोवाले बिर्सनुभएको छैन भन्‍ने कुरा थाह थियो। यही ज्ञानले गर्दा तिनले सहने बल पाए। विदेशीभूमिको झ्यालखानामा पर्दा समेत यूसुफले आफूलाई यहोवा परमेश्‍वरबाट आशिष्‌ पाउन योग्य बनाए। हामी यस्तो लेखिएको पाउँछौं: “परमप्रभु यूसुफका साथ हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठाउनुभयो। औ झ्यालखानाका हाकिमको निगाह-पात्र बनाउनुभयो।” (उत्पत्ति ३९:२१-२३) यूसुफले कडा मेहनत गरिरहेकोले नै आफ्ना परमेश्‍वरबाट आशिष्‌ पाउन योग्य भइरहे। यहोवा परमेश्‍वर सधैं आफ्नो साथमा हुनुहुन्छ भनेर थाह पाउँदा तिनले निकै सान्त्वना पाएको हुनुपर्छ!

यहोवा परमेश्‍वरले यूसुफलाई झ्यालखानामा कहिलेसम्म रहनदिनुहुने थियो? यूसुफलाई यसबारे केही थाह थिएन। तर यस विषयमा पक्कै तिनले परमेश्‍वरलाई प्रार्थना गरेको हुनुपर्छ। हामीले पनि कहिलेकाहीं अनुभव गरेझैं यूसुफले गरेको प्रार्थनाको जवाफ नचिताएको बेला दिइयो। एकदिनको कुरा हो, झ्यालखानामा दुई जना नयाँ कैदीहरू आइपुग्दा निकै खैलाबैला मच्चियो। तिनीहरू फिरऊन राजाका अफिसरहरू थिए। एक जना राजाका मुख्य पकाउने थिए भने अर्को चाहिं मुख्य पियाउने थिए।—उत्पत्ति ४०:१-३.

झ्यालखानाको गार्डका कप्तानले ती दुई विशिष्ट व्यक्‍तिहरूलाई पनि यूसुफकै जिम्मामा राखिदिए। b एक रात ती दुवै कैदीले रनभुल्लमा पार्ने सपना देखे। बिहान यूसुफले तिनीहरूको अनुहार देखेपछि केही न केही समस्या छ भनेर बुझे। त्यसैले तिनले यसरी सोधे: “आज किन तपाईंहरूको मुख मलिन छ?” (उत्पत्ति ४०:३-७) यूसुफको दयालु स्वभावले गर्दा तिनीहरूले आ-आफ्ना समस्या यूसुफलाई बताउन उचित ठानेको हुनुपर्छ। यो कुराकानीले गर्दा यूसुफको जीवनले नयाँ मोड लिने थियो भनेर तिनलाई थाह थिएन। यूसुफले ती कैदीहरूमा चासो नदेखाएको भए पक्कै त्यस्तो कुराकानी सुरु हुँदैन थियो। यूसुफले उठाएको कदमलाई विचार गर्दा हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौं: ‘के मैले मानिसहरूमा चासो देखाएर परमेश्‍वरप्रतिको विश्‍वास झल्काइरहेको छु?’

यूसुफ अरू कैदीहरूसित दयालु व्यवहार गर्थे अनि तिनीहरूलाई आदर देखाउँथे

दुवै जनाले देखेका अचम्मका सपनाले गर्दा निकै चिन्तित भएको अनि त्यसको अर्थ खुलाउने कोही नहुँदा व्याकुल भएको कुरा तिनीहरूले यूसुफलाई बताए। इजिप्टका मानिसहरू सपनाका कुराहरूमा निकै विश्‍वास गर्थे र सपनाको अर्थ खुलाउने व्यक्‍तिहरूमा असाध्यै भर पर्थे। ती दुई कैदीले देखेको सपना यूसुफका परमेश्‍वर यहोवाबाट आएको हो भनेर तिनीहरूले बुझेका थिएनन्‌। तर यूसुफले भने बुझिहाले। अनि तिनले यसरी भरोसा दिलाए: “सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र? मलाई सपना बताउनुहोस्‌।” (उत्पत्ति ४०:८) यूसुफका यी शब्दहरू इमानदार बाइबलका विद्यार्थीहरूलाई अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ। आज पनि परमेश्‍वरको वचन बुझ्नको लागि धार्मिक व्यक्‍तिहरूले आ-आफ्नो अहङ्‌कारी मानव विचार त्यागेर नम्रताका साथ परमेश्‍वरमा भर परेको भए कत्ति राम्रो हुने थियो!—१ थिस्सलोनिकी २:१३; याकूब ४:६.

मुख्य पियाउनेले आफ्नो सपना पहिले बताए। तिनले देखेको सपना तीनवटा हाँगा भएको दाखको बोटको विषयमा थियो। ती हाँगामा दाखका झुप्पाहरू लटरम्म पाकेका थिए। तिनले दाखलाई निचोरेर फिरऊनको कचौरामा हाले। यहोवा परमेश्‍वरले गर्दा यूसुफलाई यस सपनाको अर्थ तुरुन्तै थाह भयो। तिनले मुख्य पियाउनेलाई तीन हाँगाको अर्थ तीन दिन हो भनेर बताए। अनि तीन दिनमै फिरऊनले मुख्य पियाउनेलाई पहिलेकै ओहदा दिनुहुनेछ भनी बताए। मुख्य पियाउनेको अनुहार उज्यालो भयो अनि यूसुफले तिनलाई यस्तो आग्रह गरे: “कृपागरी फिरऊनसँग मेरो विषयमा कुरा उठाएर मलाई यस घरबाट निकालिदिनुहोला।” यूसुफले आफू वास्तवमा घरबाट अपहरण गरिएको र कुनै गलत काम नगरे तापनि झ्यालखानामा बस्नुपरेको कुरा बताए।—उत्पत्ति ४०:९-१५.

मुख्य पियाउनेको सपनाको अर्थ राम्रो भएको देखेर मुख्य पकाउनेले पनि आफ्नो सपनाको अर्थ खोलिदिन आग्रह गरे। सपनामा तिनले तीनवटा रोटीका टोकरी देखे अनि आफ्नो टाउकोमा राखिएका ती टोकरीबाट चराहरूले खाइरहेका थिए। यो सपनाको अर्थ खोल्न पनि यूसुफलाई परमेश्‍वरले मदत गर्नुभयो। तर यस सपनाको अर्थ भने मुख्य पकाउनेको लागि राम्रो समाचार थिएन। यूसुफले यसरी अर्थ खोले: “यसको अर्थ यही हो—तीनवटा टोकरीहरू चाहिं तीन दिन हो। तीन दिनभित्रै फिरऊनले तपाईंको शिर उडाइदिनुहुनेछ, र तपाईंलाई रूखमा झुण्डाइदिनुहुनेछ। औ चराहरूले तपाईंको मासु ठुँगी ठुँगी खानेछन्‌।” (उत्पत्ति ४०:१६-१९) परमेश्‍वरका सबै वफादार सेवकहरूले जस्तै यूसुफले पनि परमेश्‍वरबाट आएको राम्रो सन्देशका साथै दण्डको सन्देश साहसी भई सुनाए।—यशैया ६१:२

सपनाको अर्थ खुलाएको ठीक तीन दिनपछि यूसुफले भनेका कुराहरू सही ठहरियो। त्यस दिन फिरऊनको जन्मदिन थियो। बाइबलकालीन समयमा यस्तो प्रचलन सामान्य भए तापनि परमेश्‍वरका सेवकहरूले भने त्यसमा भाग लिंदैनथे। फिरऊनले आफ्नो जन्मोत्सवमा दुवै कैदीलाई फैसला सुनाए। मुख्य पकाउनेलाई यूसुफले बताएझैं मृत्युदण्ड दिइयो र मुख्य पियाउनेलाई चाहिं तिनको ओहदामा पुनः स्थापित गरियो। तर दुःखको कुरा त्यस वैगुणी व्यक्‍तिले यूसुफबारे राजालाई बताउन बिर्से।—उत्पत्ति ४०:२०-२३.

“यस्तो ज्ञान त ममा छैन!”

दुई वर्ष बितिसके। (उत्पत्ति ४१:१) यूसुफ कत्ति निराश भए होलान्‌! मुख्य पियाउने र पकाउनेले देखेका अचम्मका सपनाको अर्थ यहोवा परमेश्‍वरले खुलाइदिनुभएपछि तिनको झ्यालखानाबाट छुटकारा पाउने आशा प्रबल भएको हुनुपर्छ। हरेक दिन बिहान छुटकारा पाउने आशा राख्दै तिनी उठेको हामी कल्पना गर्न सक्छौं। तर तिनको दिनचर्यामा कुनै परिवर्तन आएन। ती दुई वर्ष सहन यूसुफलाई सबैभन्दा गाह्रो भएको हुनुपर्छ। तर तिनले परमेश्‍वर यहोवाप्रति आफ्नो भरोसा कहिल्यै गुमाएनन्‌। निराशामा डुबिरहनु भन्दा सहनशील भइरहन तिनी दृढ थिए। यस्ता विभिन्‍न परीक्षाहरू सहेर तिनी विश्‍वासमा अझ बलियो भए।—याकूब १:४.

अहिलेको गाह्रो समयमा पनि सहनशील गुण विकास गर्न नपर्ने को छ र? जीवनमा आइरहने समस्याहरूको सामना गर्न हामीलाई दृढ सङ्‌कल्प, धैर्य र भित्री शान्तिको खाँचो पर्छ र यस्तो मदत परमेश्‍वरले मात्र दिन सक्नुहुन्छ। उहाँले हामीलाई निराशाको सामना गर्न र आशालाई पक्रिराख्न यूसुफलाई जस्तै मदत गर्न सक्नुहुन्छ।—रोमी १२:१२; १५:१३.

मुख्य पियाउनेले त यूसुफलाई बिर्से तर यहोवा परमेश्‍वरले कहिल्यै बिर्सनु भएन। उहाँले एक रात फिरऊन राजालाई केही सपनाहरू देखाउनुभयो। पहिलो सपनामा राजाले सातवटा खूब सप्रेका मोटा-मोटा गाईहरू नील नदीबाट निस्केर आएको अनि तिनीहरूका पछि-पछि सातवटा अरू हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला गाईहरू निस्केको देखे। ती दुब्ला गाईहरूले मोटा गाईहरूलाई खाए। अनि दोस्रो सपनामा चाहिं तिनले सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखे। त्यसपछि सातवटा सेप्रा र पूर्वीय बतासले ओइलाएका सातवटा अन्‍नका बालाहरूले ती भरिला बालाहरूलाई निलेको देखे। बिहान फिरऊन त्यस सपनाले गर्दा निकै व्याकुल भए र त्यहाँका सबै जादुगर र विद्वान्‌हरूलाई बोलाए। तर तिनीहरूले सपनाको अर्थ खोल्न सकेनन्‌। (उत्पत्ति ४१:१-८) तिनीहरूले राजालाई पत्याउनै नसक्ने कुरा बताए वा एकआपसमा बाझिने कुरा, हामीलाई थाह छैन। जे होस राजालाई सपनाको अर्थ कसैले बताउन सकेन। त्यसैले पनि तिनी आफ्नो सपनाको अर्थ बुझ्न झन्‌ आतुर थिए।

बल्ल! मुख्य पियाउनेले यूसुफलाई सम्झे। तिनले पछुतो माने र दुई वर्षअघि झ्यालखानामा आफ्नो र मुख्य पकाउनेको सपनाको ठीक अर्थ खुलाइदिने असाधारण खुबी भएका जवानबारे राजालाई बताए। तुरुन्तै फिरऊनले यूसुफलाई झ्यालखानाबाट ल्याउने आदेश दिए।—उत्पत्ति ४१:९-१३.

फिरऊनका सन्देशबाहकहरूले यूसुफलाई राजाकहाँ आउने आदेश दिंदा तिनलाई कस्तो महसुस भयो होला, कल्पना गर्नुहोस्‌ त! तिनले तुरुन्तै आफ्नो लुगा फेरे अनि दाह्री र कपाल खौरे। इजिप्टको चलन अनुसार तिनले पूरै कपाल खौरेको हुनुपर्छ। पक्कै पनि आफ्नो काममा आशिष्‌ दिनुहोस्‌ भनी तिनले यहोवालाई व्यग्र प्रार्थना गरेको हुनुपर्छ। चाँडै तिनी महँगा-महँगा कुराले सजिएको शाही दरबारमा राजासामु उभिए। हामी यस्तो लेखिएको पाउँछौं: “फिरऊनले यूसुफलाई भने, ‘मैले एउटा सपना देखें। तर यहाँ कसैले त्यसको अर्थ बताउन सकेन। मैले तेरो विषयमा सुनें, कि सपना सुनेपछि तैंले अर्थ खोल्न सक्छस्‌ अरे।’” यूसुफले फिरऊनलाई भने, “यस्तो ज्ञान त ममा छैन। तर परमेश्‍वरले फिरऊनलाई यथार्थ उत्तर दिनुहुन्छ।”—उत्पत्ति ४१:१४-१६.

यूसुफले नम्र भई यसो भने: “यस्तो ज्ञान त ममा छैन!”

यहोवा परमेश्‍वर नम्र र वफादार व्यक्‍तिहरूलाई माया गर्नुहुन्छ। त्यसैले उहाँले विद्वान्‌ र पुजारीले बुझ्न नसकेको कुरा यूसुफलाई प्रकट गरिदिनुभयो। फिरऊनले देखेका दुइटै सपनाको अर्थ एउटै हो भनेर यूसुफले बताए। यहोवा परमेश्‍वरले आफ्नो सन्देश दोहोऱ्‍याउनु भएको मतलब उहाँले यी कुरा पूरा गर्ने “निर्णय गरिसक्नुभएको” छ भन्‍ने थियो। मोटा गाईहरू र भरिला अन्‍नका बालाहरूले इजिप्टमा सात वर्षको सहकाललाई बुझाउँछ भने दुब्ला गाई र सुकेका अन्‍नका बालाले सात वर्षको अनिकाललाई बुझाउँछ। यो अनिकाल सात वर्षको सहकालपछि आउने थियो र यसले देशलाई सखाप पार्ने थियो।—उत्पत्ति ४१:२५-३२.

यूसुफले सपनाको सही अर्थ बताएको हो भनी फिरऊनले बुझे। तर अब के गर्न सकिन्थ्यो त? देशमा सात वर्षसम्म प्रशस्त उब्जनी हुँदा अन्‍न भण्डार गर्ने अनि सात वर्षको अनिकालमा त्यो वितरण गर्ने सुझाव यूसुफले दिए। तर त्यस कामको लागि भने फिरऊनलाई “चतुर र विद्वान्‌” मानिसको आवश्‍यकता पऱ्‍यो। (उत्पत्ति ४१:३३-३६) यूसुफको अनुभव र क्षमताले गर्दा तिनी त्यस कामको लागि उपयुक्‍त व्यक्‍ति थिए तर तिनले आफूलाई सिफारिस गरेनन्‌। नम्र भएकोले त्यस्तो अहङ्‌कारी स्वभाव देखाउनु तिनका लागि कल्पना बाहिरको कुरा थियो। साथै परमेश्‍वरमाथिको तिनको विश्‍वासले गर्दा आफूलाई सिफारिस गर्नु आवश्‍यक पनि थिएन। यहोवा परमेश्‍वरमाथि हामी साँचो विश्‍वास राख्छौं भने हामी महत्त्वाकाङ्‌क्षी हुनु वा आफूलाई उच्च पार्नु आवश्‍यक छैन। मामिला जस्तोसुकै किन नहोस्‌ ती सबै हामीले यहोवाको हातमा छोडिदिनुपर्छ। यसो गऱ्‍यौं भने हामी शान्तिमा रहन सक्छौं।

‘यिनीजस्तै अन्य कुन मानिस हामी पाउन सक्छौं?’

यूसुफले बताएको योजना बुद्धिमानी कुरा हो भनेर फिरऊन लगायत सबै नोकरहरूले स्वीकारे। साथै यूसुफको बुद्धिमानी सल्लाहको पछाडि तिनका परमेश्‍वरको हात छ भनी फिरऊनले बुझे। त्यसैले आफ्ना नोकरहरूलाई तिनले यसो भने: “यिनीजस्ता परमेश्‍वरका आत्मा भएका अन्य कुन मानिस हामी पाउन सक्छौं?” अनि यूसुफलाई तिनले यसो भने: “परमेश्‍वरले तिमीलाई यी सबै कुरा देखाइदिनुभएको छ, औ तिमीजस्ता चतुर र विद्वान्‌ मानिस अरू छैन। यसकारण मेरो घरको अख्तियार चलाउने तिमी नै भयौ, औ तिम्रै आज्ञाअनुसार मेरा समस्त प्रजा चल्नेछ। केवल सिंहासनको कारणले मात्र म तिमीभन्दा माथि हुनेछु।”—उत्पत्ति ४१:३८-४१.

फिरऊन आफ्नो वचनको पक्का थिए। तिनले यूसुफलाई मलमलको लुगा, आफ्नो सुनको सिक्री र छाप-औंठी लगाइदिए। साथै रथमा सवार भएर देशभरि यात्रा गर्दै आफ्नो योजना अनुसार काम गर्ने अधिकार यूसुफलाई दिइयो। (उत्पत्ति ४१:४२-४४) एकैदिनमा यूसुफ झ्यालखानाबाट दरबारमा पुगे। तिनी सबेरै अवहेलित कैदीको रूपमा उठेका थिए भने त्यही रात फिरऊनमुनि दोस्रो शासकको रूपमा निदाए। यहोवा परमेश्‍वरमा राखेको विश्‍वासको इनाम स्पष्ट देखियो! आफ्नो सेवकले वर्षौंसम्म भोगेका सबै अन्यायहरू यहोवा परमेश्‍वरले देख्नुभयो। उहाँले ठीक समयमा र ठीक तरिकामा सबै समस्याको समाधान गरिदिनुभयो। तर यहोवा परमेश्‍वरको उद्देश्‍य यूसुफलाई गरिएको दुर्व्यवहार सच्याउनु मात्र थिएन। बरु भविष्यमा इस्राएल राष्ट्रलाई जोगाउनु पनि थियो। यस विषयमा हामी प्रहरीधरहरा-का आगामी अङ्‌कहरूमा पढ्‌नेछौं।

यदि तपाईं कहिल्यै अन्त नहुने जस्तो अन्याय सहँदै हुनुहुन्छ भने हरेस नखानुहोस्‌। यूसुफबारे सोच्नुहोस्‌। तिनी सधैं दयालु, नम्र र सहनशील भइरहे अनि तिनको विश्‍वास कहिल्यै डगमगाएन। त्यसैकारणले अन्तमा तिनी यहोवा परमेश्‍वरबाट आशिष्‌ पाउन योग्य भए।

a प्रहरीधरहरा-को अङ्‌क अगस्त १नोभेम्बर १, २०१४ को “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌” भन्‍ने लेखहरू हेर्नुहोस्‌।

b पुरातन इजिप्टका मानिसहरू ९० प्रकारका भन्दा धेरै रोटी र केकहरू बनाउँथे। त्यसैले फिरऊन राजाका मुख्य पकाउने चाहिं विशेष व्यक्‍ति थिए। साथै मुख्य पियाउनेले भने राजाको मद्य उच्च गुणस्तरीय र कुनै विष मिसाइएको छैन भनी पक्का गराउन अरू नोकरचाकरहरूलाई खटाउँथे। त्यतिबेला राजालाई मार्न षड्यन्त्र रच्ने र हत्या गर्ने जस्ता कुराहरू सामान्य थियो। त्यसैले मुख्य पियाउने व्यक्‍ति राजाको भरोसायोग्य सल्लाहकार हुनुपर्थ्यो।