सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्राकृतिक प्रकोपको सामना कसरी गर्ने?

प्राकृतिक प्रकोपको सामना कसरी गर्ने?

प्राकृतिक प्रकोपको सामना कसरी गर्ने?

प्राकृतिक प्रकोप झन्‌-झन्‌ बढिरहेको र विनाशकारी हुँदै गइरहेको अवस्थामा हामी कसरी त्यसको सामना गर्न सक्छौं? त्यस्तो अवस्थामा चाल्न सकिने केही व्यावहारिक कदमबारे अब हामी विचार गरौं।

विपत्तिबाट जोगिनुहोस्‌। बाइबल यसो भन्छ, “बुद्धिमान्‌ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिं त्यसैतिर जान्छ र दुःख भोग्छ।” (हितोपदेश २२:३, NRV) विपत्तिको सम्बन्धमा यो बुद्धिमानी सल्लाह लागू गर्न सकिन्छ। यदि ज्वालामुखी विस्फोटन हुन लागेको, बाढी आउन लागेको वा आँधीबेहरी आउन लागेको चेतावनी पहिल्यै दिइयो भने त्यस्तो जोखिमपूर्ण इलाका छोडेर सुरक्षित ठाउँमा जानु बुद्धिमानी हो। घर अथवा भौतिक सरसामानभन्दा जीवन कता हो कता अमूल्य छ।

उच्च जोखिमपूर्ण इलाकामा नबसेर अन्त कतै बस्नु कसै-कसैको लागि सम्भव होला। एउटा आधिकारिक स्रोत यसो भन्छ, “कुनै-कुनै इलाकाको भौगोलिक बनोटले गर्दा नै त्यो ठाउँ उच्च जोखिमपूर्ण हुन्छ। पृथ्वीको एकदम थोरै भूभाग मात्र जोखिमपूर्ण छ र भविष्यमा यिनै इलाकाहरूमा ठूलो विपत्ति हुनेछ।” जस्तै:- समुद्री तटवर्ती इलाका वा समुद्री सतहभन्दा तलका इलाका वा पृथ्वीको सतहमुनि रहेका चिराहरू नजिकै पर्ने इलाकाहरू। यदि तपाईं त्यस्ता उच्च जोखिमपूर्ण इलाकामा बस्नुभएन वा त्यहाँबाट सुरक्षित ठाउँमा सर्नुभयो भने विपत्तिबाट हुने क्षतिलाई धेरै हदसम्म कम गर्न सक्नुहुन्छ।

पूर्वयोजना बनाउनुहोस्‌। सबै सावधानी अपनाए तापनि आफूले आसै नगरेको विपत्तिको सिकार हुनुहोला। तर तपाईंले पहिल्यै योजना बनाउनुभएको छ भने विपत्तिबाट जोगिन सजिलो हुनेछ। यो माथि उद्धृत हितोपदेश २२:३ को सल्लाहसित पनि मेल खान्छ। के तपाईंको झटपट झोला तयार छ? भूकम्प प्रविधि राष्ट्रिय समाज-ले (एनसेट) झटपट झोलामा निम्न सरसामान राख्ने सुझाव दिन्छ:- लामो समयसम्म नबिग्रने खानेकुरा, बोतलहरूमा पानी, प्राथमिक उपचार सामग्री, वाटर-प्रूफ ज्याकेट, रेडियो, टर्च र महत्त्वपूर्ण फोन नम्बरहरू। आफू बसेको इलाकामा आउन सक्ने विपत्ति र ती अवस्थामा के गर्न सकिन्छ, त्यसबारे परिवारसित पहिल्यै छलफल गर्नु पनि बुद्धिमानी हो।

भगवान्‌सित घनिष्ठ सम्बन्ध गाँस्नुहोस्‌। यसले हामीलाई जस्तोसुकै परिस्थितिमा मदत गर्न सक्छ। बाइबलमा भगवान्‌लाई “हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना” दिनुहुने “कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर” भनिएको छ। अर्को बाइबल पदमा उहाँलाई “निराश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्‍वर” भनिएको छ।—२ कोरिन्थी १:३, ४; ७:६.

परमेश्‍वरमाथि भरोसा गर्नेहरूले के-कस्ता परिस्थितिहरूको सामना गर्नुपर्नेछ भनेर उहाँलाई राम्ररी थाह छ। परमेश्‍वर प्रेम हुनुहुन्छ र उहाँले विभिन्‍न तरिकामा प्रोत्साहन दिएर हाम्रो हौसला बढाउनुहुन्छ। (१ यूहन्‍ना ४:८) चमत्कार होस्‌ भनेर होइन तर उहाँको प्रबल पवित्र शक्‍तिको लागि प्रार्थना गर्दा हामीले जस्तोसुकै परिस्थितिमा पनि मदत पाउन सक्छौं। कठिनाइ भोगिरहेकाहरूलाई परमेश्‍वरको पवित्र शक्‍तिले सान्त्वना र मनोशान्ति दिने बाइबल पदहरू सम्झन मदत गर्न सक्छ। परमेश्‍वरका वफादार सेवकहरूले प्राचीन इस्राएलका राजा दाऊदले जस्तै महसुस गर्छन्‌, जसले यसो भने: “घोर अन्धकारमा मैले हिंड्‌नुपरे तापनि, म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लौरो, तिनैले मलाई सान्त्वना दिन्छन्‌।”—भजन २३:४.

सँगी ख्रीष्टियनहरू एकअर्कालाई मदत गर्छन्‌। प्रथम शताब्दीका अगाबस नाम गरेका ख्रीष्टियन भविष्यवक्‍ताले “सारा पृथ्वीभरि ठूलो अनिकाल पर्नेछ” भनी बताए। “तिनले भनेजस्तै क्लौडियसको समयमा साँच्चै नै अनिकाल पऱ्‍यो।” यहूदियामा बस्ने थुप्रै ख्रीष्टियन त्यस अनिकालको चपेटामा परे। यी ख्रीष्टियनहरूको यस्तो दुःखदायी अवस्थाबारे थाह पाएपछि अरू ठाउँका चेलाहरूले के गरे? बाइबल विवरण यसो भन्छ: “एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहूदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे।” (प्रेषित ११:२८, २९) यसरी राहत सामग्री पठाएर तिनीहरूले मायालु चासो देखाए।

आज पनि परमेश्‍वरका सेवकहरू विपत्ति आइपर्दा त्यसरी नै एकअर्कालाई मदत गर्छन्‌। यहोवाका साक्षीहरूले आफ्ना सँगी विश्‍वासीहरूलाई मदत गर्ने मानिसहरू भन्‍ने नाम कमाएका छन्‌। उदाहरणका लागि, फेब्रुअरी २७, २०१० मा चिलीमा शक्‍तिशाली भूकम्प जाँदा यहोवाका साक्षीहरूले ती भूकम्प पीडितहरूलाई मदत गर्न तुरुन्तै कदम चाले। सुनामीमा आफ्नो घर गुमाएकी कार्ला भन्छिन्‌: “सुनामी गएको भोलिपल्टै अरू ठाउँबाट भाइबहिनीहरू हामीलाई मदत गर्न आउँदा मैले ठूलो सान्त्वना र प्रोत्साहन पाएँ। यहोवाले ती मदतकारी स्वयंसेवकहरूमार्फत हामीलाई सान्त्वना दिनुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। मैले यहोवाको प्रेम र सुरक्षा महसुस गरें।” उनका हजुरबुबा जो साक्षी होइनन्‌, तिनले पनि ती स्वयंसेवकहरू मदत गर्न आएको देखे। तिनले भने: “म चर्चमा गएको वर्षौं भइसक्यो तर मैले कहिल्यै यस्तो देखेको थिइनँ।” यो देखेपछि तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने इच्छा व्यक्‍त गरे।

परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूमाझ छौं भने यस्तो कठिन परिस्थितिको सामना गर्न निकै मदत मिल्नेछ। तर के प्राकृतिक प्रकोप नै नहुने समय कहिल्यै आउला? बाइबल यसबारे के भन्छ, आउनुहोस्‌ विचार गरौं। (w11-E 12/01)

[पृष्ठ ६-मा भएको चित्र]

के तपाईंको झटपट झोला तयार छ?

[पृष्ठ ७-मा भएको चित्र]

चमत्कार होस्‌ भनेर होइन तर उहाँको प्रबल पवित्र शक्‍तिको लागि प्रार्थना गर्दा हामीले जस्तोसुकै परिस्थितिमा पनि मदत पाउन सक्छौं

[पृष्ठ ७-मा भएको चित्र]

प्राकृतिक प्रकोप गएको बेला सँगी ख्रीष्टियनहरू एकअर्कालाई मदत गर्छन्‌

[पृष्ठ ७-मा भएको चित्र]

“मैले यहोवाको प्रेम र सुरक्षा महसुस गरें”