सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

किशोरावस्थाका छोराछोरीको लागि कसरी नियम बनाउने?

किशोरावस्थाका छोराछोरीको लागि कसरी नियम बनाउने?

चुनौती

तपाईंको किशोरावस्थाका छोरा वा छोरीले तपाईंलाई भन्छ, ‘तपाईं त कस्तो कडा।’ तर तपाईं मनमनै भन्‍नुहुन्छ, ‘मैले कडा गरिनँ भने त तिमी बिग्रिहाल्छौ नि!’

तपाईंले आफ्ना किशोरावस्थाका छोराछोरीका लागि व्यावहारिक नियमहरू बनाउनु उचित हो। तर त्योभन्दा पहिला तपाईंले यो कुरा पनि बुझ्नुपर्छ: तिनीहरू नियम सुनेर किन त्यतिविघ्न चिढ्‌चिढिन्छन्‌।

चुनौतीका कारण

मिथ्या: किशोरकिशोरीहरू सबैले नियमको विरोध गर्छन्‌; किशोरावस्थामा यस्तो त भइहाल्छ नि।

तथ्य: आमाबाबुले तोकेका नियमहरू व्यावहारिक छन्‌ र यसबारे छोराछोरीसित कुरा गरेका छन्‌ भने तिनीहरूले विरोध गर्ने सम्भावना कम हुन्छ।

छोराछोरीले विद्रोह गर्नुको कारण थुप्रै हुन सक्छ। तर नियम व्यावहारिक भएन र उमेर सुहाउँदो पनि भएन भने आमाबाबुले अनजानमै छोराछोरीलाई विद्रोही बनाइरहेका हुन्छन्‌। तल दिइएका कुरा विचार गर्नुहोस्‌:

  • अरट्ठो। आमाबाबुले नियम बनाइसकेपछि त्यसबारे छोराछोरीलाई बोल्ने मौका नदिंदा छोराछोरीको लागि नियम सुरक्षा दिने पेटी जस्तो नभई मेचमा चलहल गर्न नमिल्ने गरी बाँधेर राखेको डोरीजस्तै हुन्छ। यसको परिणामस्वरूप आमाबाबुले ‘नगर,’ वा ‘गर्नु हुँदैन’ भनेका कुराहरू नै उसले लुकीछिपी गर्न सक्छ।

  • उमेर नसुहाउँदो। साना केटाकेटीले कुनै नियम तोक्नुको कारण सोध्दा तिनीहरूलाई “मैले भनेकोले नि” मात्र भन्दा पनि चित्त बुझाउँछन्‌। तर किशोरावस्थाका छोराछोरीलाई यति भनेर पुग्दैन। तिनीहरू कारण बुझ्न चाहन्छन्‌। आखिर तपाईंका किशोरावस्थाका छोराछोरीहरू चाँडै आफ्नो खुट्टामा आफै उभिनुपर्छ र तिनीहरूले गहन निर्णयहरू गर्नुपर्छ। तपाईंको निगरानीमा हुँदा नै तिनले राम्ररी तर्क गरेर असल निर्णय गर्न सिक्नु उत्तम कुरा हो नि, होइन र?

तर तपाईंले तोकेको नियम सुनेर छोराछोरी खालि चिढिन्छन्‌ भने तपाईं के गर्न सक्नुहुन्छ?

तपाईं के गर्न सक्नुहुन्छ?

तपाईंको किशोरावस्थाका छोराछोरीलाई नियम तोक्नुपर्छ र वास्तवमै भन्‍ने हो भने तिनीहरू त्यस्ता नियमको चाह पनि गर्छन्‌ भनेर बुझ्नुहोस्‌। त्यसैले नियम तोक्नुहोस्‌ र छोराछोरीले बुझे नबुझेको पक्का गर्नुहोस्‌। प्रेम र विश्‍वस्तताका साथ हुर्काउनुहोस्‌ (अङ्‌ग्रेजी) नामक किताबमा यसो भनिएको छ, “किशोरावस्थाका छोराछोरीलाई स्पष्ट नियम दिंदा र आमाबाबुले केही हदसम्म आफ्नो निगरानी गर्नेछन्‌ भनेर बुझ्दा तिनीहरू नराम्रो बानीबेहोरामा फस्ने सम्भावना कम हुन्छ।” त्यसको विपरीत आमाबाबुले कुनै रोकटोकविना धेरै स्वतन्त्रता दिएको छोराछोरीलाई ‘ममी-ड्याडीलाई मेरो वास्तै छैन’ भन्‍ने लाग्न सक्छ। यसले गर्दा छोराछोरी विद्रोही बन्‍न पुग्छन्‌।—बाइबल सिद्धान्त: हितोपदेश २९:१५.

त्यसोभए तपाईं कसरी सन्तुलित हुन सक्नुहुन्छ? कुनै नियम बनाउँदा त्यसबारे छोराछोरीको राय बुझ्नुहोस्‌। मानिलिनुहोस्‌, तपाईंको छोरा वा छोरीले ‘घर फर्कने समयमा अलि छाँटकाँट गरिदिनुस्‌ न’ भन्दै तपाईंकहाँ आउँछ। त्यतिबेला तिनले त्यस्तो आग्रह गर्नुपछाडिको कारण सुनिदिनुहोस्‌। तपाईंको किशोर छोराछोरीलाई तपाईंको निर्णय पूरै चित्त नबुझेको हुन सक्छ। तर तपाईंले कुरा सुनिदिनुभएको छ भनेर तिनले महसुस गरेको छ भने त्यसको आदर गर्ने र त्यसअनुरूप हिंड्‌ने सम्भावना धेरै हुन्छ।—बाइबल सिद्धान्त: याकूब १:१९.

तर निर्णय गर्नुअघि यो कुरा मनमा राख्नुहोस्‌: किशोरावस्थाका छोराछोरीले चाहिने भन्दा बढी स्वतन्त्रताको माग गर्ने गर्छन्‌ भने आमाबाबुले चाहिं स्वतन्त्रता दिने कुरामा कन्जुस्याइँ गर्छन्‌। त्यसैले छोराछोरीको आग्रहलाई गम्भीर भई विचार गर्नुहोस्‌। के तिनले जिम्मेवार भएर देखाएका छन्‌? अझै स्वतन्त्रता दिन सकिन्छ कि? उपयुक्‍त हुँदा छाँटकाँट गर्न राजी हुनुहोस्‌।—बाइबल सिद्धान्त: उत्पत्ति १९:१७-२२.

हो, तपाईंले छोराछोरीको कुरा सुन्‍नुपर्छ। तर तपाईंले आफूलाई लागेका कुरा पनि तिनीहरूलाई बताउनुपर्छ। यसो गर्दा तपाईंले तिनीहरूलाई आफ्नो चाहनाको मात्र होइन तर अरूको भावनाको पनि ख्याल राख्न सिकाइरहनुभएको हुनेछ।—बाइबल सिद्धान्त: १ कोरिन्थी १०:२४.

अन्ततः निर्णय गर्नुहोस्‌ र त्यस्तो निर्णय गर्नुको कारण बताउनुहोस्‌। तपाईंको निर्णयमा पूरै सहमत नभए तापनि आफ्नो कुरा सुन्‍ने आमाबाबु पाएकोमा तिनीहरू खुसी हुन्छन्‌। नबिर्सनुहोस्‌, तपाईंले किशोरावस्थाका छोराछोरीलाई वयस्क भइसकेपछि कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाउँदै हुनुहुन्छ। व्यावहारिक नियमहरू बनाउँदा र त्यसबारे छोराछोरीसित छलफल गर्दा तपाईंले तिनीहरूलाई जिम्मेवार वयस्क बन्‍न मदत गरिरहनुभएको हुनेछ।—बाइबल सिद्धान्त: हितोपदेश २२:६. (g13-E 03)