सीधै सामग्रीमा जाने

तिनीहरूको पोसाकमा बैजनी त्रिकोण थियो

तिनीहरूको पोसाकमा बैजनी त्रिकोण थियो

 माउड फ्रान्समा बस्छिन्‌ र तिनी अपाङ्‌ग बच्चाहरूको स्कुलमा काम गर्छिन्‌। हालै एउटा कक्षाका विद्यार्थीहरूले नाजी नरसंहार र नाजी यातना शिविरबारे पढ्‌दै थिए। शिविरका कैदीहरूको पोसाकमा फरक-फरक रङ्‌ग र आकारको कपडाको टुक्रा सिलाइएको हुन्थ्यो र त्यसले कैदमा राखिनुको कारणलाई सङ्‌केत गर्थ्यो।

 शिक्षकले केही कैदीले लगाउने बैजनी त्रिकोणबारे कुरा गर्दै यसो भने: “मेरो विचारमा तिनीहरू समलिङ्‌गी भएकोले त्यो चिन्ह लगाएको हुनुपर्छ।” कक्षा सकिएपछि माउडले ती शिक्षकसँग कुरा गरिन्‌ र नाजीहरूले यहोवाका साक्षीहरूलाई सङ्‌केत गर्न बैजनी त्रिकोण प्रयोग गर्थे भनेर बताइन्‌। * माउडले यस विषयबारे थप जानकारी दिन सक्छु कि भनेर ती शिक्षकलाई सोधिन्‌। ती शिक्षक राजी भए अनि त्यो जानकारी विद्यार्थीहरूलाई बताइदिन आग्रह गरे।

 यसै विषयबारे अर्को कक्षामा पनि छलफल भइरहेको थियो। त्यस कक्षाका शिक्षकले भने कैदीहरूको पोसाकमा टाँसिएको विभिन्‍न चिन्ह भएको चार्ट प्रयोग गर्दै थिइन्‌। चार्टमा बैजनी त्रिकोणले यहोवाका साक्षीहरूलाई जनाउँछ भनेर सही जानकारी दिइएको थियो। कक्षा सकिएपछि माउडले ती शिक्षकलाई पनि त्यसबारे थप जानकारी दिन सक्छु कि भनेर सोधिन्‌। ती शिक्षक सहमत भइन्‌ र माउडलाई नै विद्यार्थीहरूलाई ती जानकारीहरू दिन भनिन्‌।

माउड आफूले प्रयोग गरेका प्रकाशनहरू देखाउँदै

 माउडले सुरुको कक्षाको लागि १५ मिनेटको प्रस्तुति तयार पारेकी थिइन्‌ तर कक्षामा जाँदा शिक्षकले “एक घण्टा नै लिनुभए हुन्छ” भनेर बताए। माउडले सुरुमा यहोवाका साक्षीहरूलाई नाजीहरूले दिएको यातनाबारे डकुमेन्ट्री भिडियो देखाइन्‌। भिडियोमा नाजीहरूले ८०० जना साक्षी केटाकेटीलाई आमाबुबाबाट अलग गरेको कुरा आउँदा माउडले भिडियो पज गरिन्‌ र तीमध्ये तीन जनाको अनुभव पढेर सुनाइन्‌। पूरै भिडियो देखाइसकेपछि माउडले अस्ट्रियाका १९ वर्षीय गेर्हाड स्ताइनाकरको चिठी पढेर सुनाइन्‌। तिनले त्यो चिठी १९४० मा आफूलाई मृत्युदण्ड दिइनुभन्दा केही घण्टाअघि आमाबुबालाई लेखेका थिए। *

 माउडले दोस्रो कक्षामा पनि त्यही विषयवस्तु प्रस्तुत गरिन्‌। माउडले साहस देखाएकीले नतिजा निकै राम्रो भएको छ। अहिले ती दुवै शिक्षक नाजी यातना शिविरमा सास्ती भोगेकाहरूबारे पढाउँदा यहोवाका साक्षीहरूबारे पनि बताउने गर्छन्‌।

^ जर्मनीका यहोवाका साक्षीहरू बिबलफोर्सर (बाइबल विद्यार्थीहरू) भन्‍ने नामले पनि चिनिन्थे। दोस्रो विश्‍वयुद्धको दौडान तिनीहरूले नाजी सरकारलाई समर्थन नगरेकोले झ्यालखानामा हालिएको थियो।

^ जर्मन सेनामा भर्ती हुन इन्कार गरेकोले गेर्हाड स्ताइनाकरलाई मृत्युदण्डको सजाय दिइएको थियो। त्यस चिठीमा तिनले यस्तो लेखेका थिए: “म सानै छु। प्रभुको समर्थन पाएँ भने मात्र यो कठिन घडी सहन बल पाउनेछु। अनि म यही कुराको लागि बिन्ती गर्छु।” भोलिपल्ट बिहान तिनलाई मृत्युदण्ड दिइयो। तिनको चिहानमा यस्तो लेखिएको थियो: “तिनले परमेश्‍वरको निम्ति आफ्नो ज्यान दिए।”