सीधै सामग्रीमा जाने

तिनले जेलमा परेकाहरूबाट सिके

तिनले जेलमा परेकाहरूबाट सिके

 एक जना व्यक्‍ति सन्‌ २०११ मा एरिट्रियाबाट शरणार्थीको रूपमा नर्वे आए। यहोवाका साक्षीहरूसित भेट भएपछि तिनले आफ्नो गृहनगरमा साक्षीहरूलाई भेटेको कुरा बताए। त्यहाँ आर्मीको रूपमा काम गर्दा तिनले विश्‍वासको खातिर जेलमा परेकाहरूलाई भेटेका रहेछन्‌। जति नै कठोर व्यवहार भोग्नु परे तापनि ती साक्षीहरूले आर्मीमा भर्ती हुन नमानेको तिनले देखेका रहेछन्‌।

 ती व्यक्‍तिको जीवनमा पनि अचानक असोचनीय कुरा भयो अनि तिनी पनि जेल परे। तिनले जेलमा पाउलोस्‌ इयास्सु, इसाक मोगोस्‌ र नेगेदे टेक्लेमारियामलाई भेटे। उनीहरू विश्‍वासको खातिर सन्‌ १९९४ देखि जेलमा परेका थिए।

 जेलमा छँदा ती व्यक्‍तिले यहोवाका साक्षीहरू अरूलाई जे सिकाउँछन्‌, त्यो आफ्नो जीवनमा पनि लागू गर्दा रहेछन्‌ भनेर देखे। उनीहरू इमानदार भएको अनि अरू कैदीहरूसँग बाँडचुँड गरेर खाना खाएको तिनले देखे। साथै साक्षी कैदीहरूले सँगै मिलेर दिनहुँ बाइबल पढेको अनि अरूलाई पनि सँगै पढ्‌न बोलाएको तिनले याद गरेका रहेछन्‌। ती साक्षीहरूले अबउप्रान्त यहोवाको सेवा गर्दिनँ भनेर सही गरेको खण्डमा जेलमुक्‍त हुने मौका पाएका थिए। तर उनीहरूले त्यसो गर्न मानेनन्‌।

 यो अनुभवले ती व्यक्‍तिको मन साह्रै छोएको रहेछ। अनि नर्वे सर्ने बित्तिकै तिनले यहोवाका साक्षीहरूमा यस्तो बलियो विश्‍वास हुनुको कारण के रहेछ भनेर बुझ्न खोजेका रहेछन्‌। त्यसैले साक्षीहरूसित सम्पर्क हुनेबित्तिकै तिनले बाइबल अध्ययन सुरु गरे अनि सभा जान थाले।

 सन्‌ २०१८, सेप्टेम्बरमा तिनले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गरे। अहिले तिनी एरिट्रिया र सुडानका मानिसहरूलाई सम्पर्क गर्ने हरप्रयास गर्छन्‌ अनि बाइबल अध्ययन गर्न र विश्‍वास बलियो बनाउन प्रोत्साहन दिन्छन्‌।