सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“म सडकछाप गुन्डा थिएँ”

“म सडकछाप गुन्डा थिएँ”
  • जन्म मिति: १९५५

  • देश: स्पेन

  • विगतमा: लागू औषध र रक्सीको दुर्व्यसनी, हिंस्रक गुन्डा

मेरो विगत

 कसै-कसैले धेरै दुःख भोगिसकेपछि मात्र आफ्नो तीतो अनुभवबाट पाठ सिक्छन्‌। म पनि त्यस्तै थिएँ। म स्पेनको दोस्रो ठूलो सहर बार्सिलोनामा जन्मिएँ र त्यहीँ हुर्किएँ। हामी सोमोरोस्ट्रो भन्‍ने ठाउँमा बस्थ्यौँ र हामी बस्ने इलाका समुद्री किनाराको छेवैमा थियो। सोमोरोस्ट्रो अपराध र लागू औषध व्यापारको लागि कुख्यात थियो।

 हामी नौ जना छोराछोरी थियौँ र मचाहिँ सबैभन्दा जेठो थिएँ। हामी असाध्यै गरिब भएकोले बुबाले मलाई हाम्रै इलाकाको टेनिस क्लबमा बल बोईको काम गर्न पठाउनुभयो। त्यतिबेला म दस वर्षको थिएँ र दिनमा दस घण्टा काम गर्थेँ। त्यसकारण म अरू केटाकेटीजस्तो स्कुल जान पाइनँ। चौध वर्षको छँदा मैले एउटा फलाम पसलमा मेसिन चलाउने काम गर्न थालेँ।

सन्‌ १९७५ मा म उत्तर अफ्रिकास्थित स्पेनी वैदेशिक सेनामा भर्ती भएँ, त्यस सेनाको पोसाकमा

 सन्‌ १९७५ मा मलाई सैन्य सेवाको लागि बोलाइयो किनभने त्यतिबेला स्पेनमा त्यो अनिवार्य थियो। म आफ्नो जीवनमा केही रोमाञ्चक कुरा गर्न चाहन्थेँ। त्यसैले मेलिलाको स्पेनी वैदेशिक सेनामा जान तयार भएँ, जुन उत्तर अफ्रिकाको स्पेनी इलाकामा अवस्थित थियो। त्यहीँ छँदा म लागू औषध र रक्सीको दुर्व्यसनको दलदलमा फसेँ।

 सैन्य सेवा छोडेपछि म बार्सिलोना फर्केँ र आफ्नै एउटा ग्याङ बनाएँ। हामी जे भेट्यो, त्यही चोर्थ्यौँ। अनि चोरेको सामान बेचेर लागू औषध किन्थ्यौँ। मैले एल एस डी र एम्फेटामाइन सेवन गर्न थालेँ। मेरो जीवन यौन, रक्सी र जुवातासमा चुर्लुम्मै डुबेको थियो। यस्तो खत्तम जीवनशैलीमा डुब्दै गएपछि म झन्‌-झन्‌ हिंस्रक हुन थालेँ। म सधैँ एउटा चक्कु, बन्चरो वा खुँडा लिएर हिँड्‌थेँ। अनि चाहियो भने यीमध्ये कुनै पनि हतियार चलाउन फिटिक्कै डर मान्दिनथेँ।

 एकचोटि, हामीले एउटा गाडी चोऱ्‍यौँ र पुलिसले हामीलाई खेद्‌न थाल्यो। त्यो दृश्‍य चलचित्रको जस्तै थियो। चोरेको गाडीमै हामी ३० किलोमिटरजति परसम्म भाग्यौँ तर पुलिसले हामीमाथि गोली चलाउन थाले। अनि एक ठाउँमा पुगेपछि हाम्रो गाडी ठोक्कियो र हामी त्यहाँबाट भाग्यौँ। बुबाले यो कुरा थाह पाउनुभएपछि मलाई घरबाट निकालिदिनुभयो।

 त्यसपछिको पाँच वर्ष सडकमै बित्यो। म ढोकाको पेटी, ट्रक, पार्कको बेन्च र मसानघाटमा सुत्थेँ। मैले केही समय ओडारजस्तो ठाउँमा पनि बिताएँ। मेरो जीवनको कुनै उद्देश्‍य थिएन। अनि म बाँचे पनि मरे पनि कुनै फरक पर्दैन जस्तो लाग्थ्यो। मैले लागू औषधको नशामा आफ्नो नाडी र हात काटेको मलाई याद छ। त्यसको खत अहिलेसम्म पनि छ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

 म २८ वर्षको हुँदा आमा मलाई खोज्दै आउनुभयो र मलाई घर फर्कन भन्‍नुभयो। मैले उहाँको कुरा मानेँ अनि अब म सुध्रिन्छु भनेर उहाँलाई वचन दिएँ। तर त्यो वचन पूरा गर्न निकै समय लाग्यो।

 एकदिनको कुरा हो, दुई जना यहोवाका साक्षी हाम्रो घरमा आउनुभयो। म उहाँहरूको कुरा सुनिरहेको थिएँ तर बुबाले ‘ढोका थुनिहाल्‌’ भनेर भित्रबाट बेसरी कराउनुभयो। मलाई अरूले ‘यसो गर्‌, उसो गर्‌’ भनेको पटक्कै मन पर्दैनथ्यो। त्यसैले उहाँको कुरा मानिनँ। ती साक्षीहरूले मलाई तीन वटा स-साना किताब दिनुभयो र मैले खुसीसित स्विकारेँ। मैले उहाँहरूको सभा हुने ठाउँबारे सोधेँ अनि त्यसको केही दिनपछि म राज्यभवन गएँ।

 त्यहाँ पुग्दा मैले सबै जना कस्तो चिटिक्क भएर आउँदा रहेछन्‌ भनेर देखिहालेँ। मेरो चाहिँ लामो कपाल, फोहोरी दाह्री अनि लुगा पनि लथालिङ्‌ग थियो। आफू त त्यो ठाउँमा पटक्कै नसुहाएको जस्तो लाग्यो। त्यसैले म बाहिर बसिरहेँ। तर त्यहाँ एक जना मानिसलाई देख्दा म तीन छक परेँ। तिनी पहिला हाम्रै ग्याङका सदस्य क्वान थिए। तिनले सुट लगाएका थिए र चिटिक्क देखिन्थे। तिनी एक वर्षअघि यहोवाको साक्षी भएका रहेछन्‌ भनेर मैले पछि थाह पाएँ। तिनलाई त्यहाँ देखेपछि भने भित्र गएर सभामा बस्ने आँट आयो। हो, त्यही बेलादेखि मैले जीवनमा छाँटकाँट गर्न थालेँ।

 मैले बाइबल अध्ययन गर्ने प्रस्ताव स्विकारेँ। परमेश्‍वरको अनुमोदन पाउन आफ्नो रिसाहा स्वभाव र अनैतिक जीवनशैली परिवर्तन गर्नुपर्छ भनेर मैले अध्ययन थालेको केही समय नबित्दै बुझिहालेँ। यस्तो परिवर्तन गर्न सजिलो चाहिँ पक्कै भएन। यहोवा परमेश्‍वरलाई खुसी बनाउन मैले ‘आफ्नो सोचाइ नयाँ बनाएर पूरै परिवर्तन गर्नुपर्छ’ भनेर सिकेँ। (रोमी १२:२) परमेश्‍वरले देखाउनुभएको कृपाले मेरो मन साह्रै छोयो। मैले जति नै गल्तीहरू गरेको भए तापनि उहाँले मलाई नयाँ सुरुवात गर्ने मौका दिनुभएको महसुस गरेँ। यहोवा परमेश्‍वरबारे सिकेको कुरा मेरो मनमा ठप्प बस्यो। मेरो फिक्री गर्नुहुने सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरा मैले स्पष्टसित बुझेँ।—१ पत्रुस ५:६, ७.

 यसपछि म आफ्नो जीवनमा परिवर्तनहरू गर्न उत्प्रेरित भएँ। उदाहरणको लागि, चुरोट खानेबारे बाइबल अध्ययनको बेला छलफल हुँदा मैले मनमनै यसो भनेँ, ‘म हर तवरले सफा र शुद्ध भएको यहोवा परमेश्‍वर चाहनुहन्छ भने मेरो जीवनमा यो चुरोटको लागि कुनै ठाउँ छैन!’ (२ कोरिन्थी ७:१) त्यसपछि चुरोटहरू फोहोर फ्याँक्ने ढ्‌वाङमा फ्याँकिदिएँ!

 मैले लागू औषध सेवन गर्ने र बेच्ने काम पनि छोड्‌नुपर्थ्यो। यसो गर्न भने अलि समय लाग्यो र थप प्रयास गर्नु पऱ्‍यो। यो लक्ष्य हासिल गर्न आफ्ना पुराना साथीहरूसितको सङ्‌गत छोड्‌नुपर्छ भनेर मलाई थाह थियो। तिनीहरूसितको सङ्‌गतले मलाई आध्यात्मिक तवरमा प्रगति गर्न बाधा पुऱ्‍याइरहेको थियो। तर समय बित्दै जाँदा मैले परमेश्‍वरमा भर पर्न र मण्डलीका नयाँ साथीहरूको मदत लिन थालेँ। उहाँहरूले देखाउनुभएको जस्तो प्रेम र चासो मैले पहिला कहिल्यै अनुभव गरेको थिइनँ। महिनाहरू बित्दै जाँदा मैले लागू औषधलाई चटक्कै छोड्‌न अनि “नयाँ व्यक्‍तित्व धारण” गर्न सकेँ, जसले गर्दा मैले परमेश्‍वरको अनुमोदन पाउन सक्नेथिएँ। (एफिसी ४:२४) अगस्त १९८५ मा मैले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गरेँ।

मैले कसरी लाभ उठाएको छु?

 बाइबलले मेरो जीवनमा नयाँ मोड ल्यायो। मैले आफ्नो खत्तम जीवनशैली त्याग्न सकेँ, जसले मेरो शरीरलाई बिगार्नुको साथै मेरो आत्मसम्मान पनि खोसिरहेको थियो। साँच्चै भनौँ भने, मेरा ३० जनाभन्दा धेरै साथीहरू एड्‌स वा लागू औषधको कारणले बिरामी भएर मरे। मैले भने बाइबलका सिद्धान्तहरू लागू गरेँ र त्यस्तो पीडादायी परिणाम भोग्नदेखि जोगिएँ। यसको लागि म साह्रै कृतज्ञ छु!

 जवान छँदा म हिंस्रक स्वभावको थिएँ अनि चक्कु र बन्चरो बोकेर हिँड्‌थे तर ती अहिले विगतको कुरा भइसकेका छन्‌। कुनै दिन म बाइबल बोकेर हिँडौँला र यो प्रयोग गरेर मानिसहरूलाई मदत गरौँला भनेर मैले कहिल्यै कल्पनासमेत गरेको थिइनँ। अहिले मेरी श्रीमती र म यहोवाका साक्षीहरूको पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्दै छौँ।

 हुनत मेरो आमाबुबा यहोवाको साक्षी बन्‍नुभएन तर बाइबल अध्ययन गरेपछि मेरो जीवनमा आएका परिवर्तनहरू देखेर उहाँहरू खुसी हुनुभयो। मेरो बुबाले आफ्ना सबै सहकर्मीहरूको अगाडि साक्षीहरूको पक्षमा समेत बोलिदिनुभयो। मैले भर्खरै सिकेका कुराहरूले गर्दा नै म सुध्रिएको हुँ भन्‍ने कुरा उहाँले राम्ररी बुझ्नुभएको थियो। मैले अलि चाँडै बाइबल अध्ययन गर्न थाल्नुपर्ने थियो भनेर आमा अक्सर भन्‍नुहुन्थ्यो। उहाँको कुरा एकदम सही हो!

 मैले जीवनमा भोगेका तीता अनुभवहरूबाट के सिकेँ भने लागू औषध र अरू कुलतमा लागेर सन्तुष्टि खोज्नु बेकार रहेछ। परमेश्‍वरको वचनका शिक्षा अरूलाई बताउँदा मैले अहिले साँचो सन्तुष्टि पाएको छु। किनकि यही शिक्षाले गर्दा मैले नयाँ जीवन पाएँ!