सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“अब भने म आफूलाई बेकामको ठान्दिनँ”

“अब भने म आफूलाई बेकामको ठान्दिनँ”
  • जन्म मिति: १९६३

  • जन्म स्थान: मेक्सिको

  • विगतमा: सडक बालक; आफूलाई तुच्छ ठान्‍ने व्यक्‍ति

मेरो विगत

 मेरो जन्म मेक्सिकोको उत्तरी भागमा अवस्थित स्युडड ओब्रेगन भन्‍ने सहरमा भएको थियो। हामी नौ जना छोराछोरीमध्ये म पाँचौँ हुँ। हामी बस्ने ठाउँ सहरभन्दा अलि टाढा थियो र त्यहाँ बुबाको एउटा बारी थियो। त्यो ठाउँ बस्नको लागि रमाइलो थियो अनि हामी खुसीसाथ मिलेर बस्थ्यौँ। दु:खको कुरा, म पाँच वर्षको छँदा आएको आँधीबेहरीले गर्दा हामीले आफ्नो बारी र वस्तुभाउ गुमायौँ। त्यसैले हामी अर्को सहरमा सर्नुपर्‌यो।

 पछि बुबाको कमाइ राम्रो हुँदै जान थाल्यो। तर त्यही समयतिर उहाँले धेरै रक्सी पिउन थाल्नुभयो। त्यसले गर्दा बुबाआमाबीच खटपट हुन थाल्यो र हामीमा पनि नराम्रो असर पर्‌यो। हामीले बुबाको चुरोट चोरेर पिउन थाल्यौँ। म पहिलो चोटि रक्सीले मात्तिँदा छ वर्षको मात्र थिएँ। यो घटना भएको केही समय नबित्दै बुबाआमा छुट्टिनुभयो र म झनै बिग्रन थालेँ।

 आमा अर्कै पुरुषसँग बस्न थाल्नुभयो र हामीलाई पनि सँगै लानुभयो। उहाँले आमालाई पैसा दिनुहुन्‍नथ्यो अनि आमाको कमाइले मात्र हाम्रो घरखर्च टर्दैनथ्यो। त्यसैले हामी भाइबहिनी मिलेर जे-जस्तो काम गर्न सक्थ्यौँ, त्यही गर्न थाल्यौँ। तर त्यसले पनि हातमुख जोर्न धौधौ पर्थ्यो। मैले अरूको जुत्ता पालिस गर्ने अनि रोटी, अखबार, चुइङ्‌गम र अरू विभिन्‍न कुराहरू बेच्ने काम गरेँ। धनीहरूले फोहोर फाल्ने कन्टेनरमा केही खानेकुरा पाइन्छ कि भनेर पनि खोज्थेँ।

 म दस वर्षको छँदा फोहोर फाल्ने ठाउँमा काम गर्ने एक जना मानिसले मलाई ऊसँगै काम गर्न बोलायो। मैले ‘हुन्छ’ भनेँ अनि स्कुल र घर छोडेर त्यहीँ काम गर्न थालेँ। तिनले मलाई दिनको एक डलरभन्दा कम ज्याला दिन्थे अनि फोहोरको डुङ्‌गुरबाटै जम्मा गरेको खानेकुरा दिन्थे। अरूले फालेका सामानहरूबाटै मैले आफ्नो लागि एउटा छाप्रो बनाएको थिएँ। त्यहाँ काम गर्ने मानिसहरू फोहोर बोली बोल्थे अनि अवैध यौनसम्बन्ध राख्थे। तिनीहरूमध्ये धेरै जना लागूपदार्थको दुर्व्यसनी र जँड्याहा थिए। त्यो मेरो जीवनको सबैभन्दा दयनीय अवस्था थियो र म हरेक रात डराएर रुन्थेँ। म गरिब भएकोले र त्यति धेरै नपढेकोले गर्दा आफूलाई बेकामको ठान्थेँ। म त्यो ठाउँमा लगभग तीन वर्ष बसेँ। त्यसपछि म मेक्सिकोको अर्को प्रान्तमा सरेँ। त्यहाँ मैले फूल र कपास टिप्ने, उखु जम्मा गर्ने अनि आलु बटुल्ने जस्ता काम गर्न थालेँ।

फोहोर फाल्ने यस्तै ठाउँमा म तीन वर्षसम्म बसेँ

 चार वर्षपछि म फेरि स्युडड ओब्रेगनमा फर्केँ। मेरी एक जना फुपूले मलाई उहाँको घरमा बस्न दिनुभयो। उहाँ टुनामुना गर्नुहुन्थ्यो। त्यहाँ बस्दा मैले डरलाग्दा सपनाहरू देख्न थालेँ र म यत्ति निराश भएँ कि मैले आत्महत्या गर्ने विचारसमेत गरेँ। एक रात मैले परमेश्‍वरलाई यसरी प्रार्थना गरेँ: “हे ईश्‍वर, यदि तपाईँ साँच्चै हुनुहुन्छ भने म तपाईँलाई चिन्‍न चाहन्छु अनि जिन्दगीभर तपाईँको सेवा गर्नेछु। यदि साँचो धर्म छ भने म त्यो थाह पाउन चाहन्छु।”

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

 म पहिलादेखि नै परमेश्‍वरबारे सिक्न चाहन्थेँ। म बच्चै छँदा पनि विभिन्‍न चर्चहरूमा गएको थिएँ तर मलाई कुनै पनि चित्त बुझेन। तिनीहरू कुनैले पनि मलाई बाइबलको कुरा सिकाएन र परमेश्‍वरलाई चिन्‍ने मेरो इच्छा पूरा गर्न सकेन। कुनै-कुनै चर्चले पैसालाई बढ्‌तै महत्त्व दिन्थे भने कुनै-कुनै चर्चका मानिसहरू अवैध यौनसम्बन्ध राख्थे।

 म १९ वर्षको हुँदा मेरो एक जना भिनाजुले मूर्तिको प्रयोगबारे बाइबल के भन्छ भनेर यहोवाका साक्षीहरूले सिकाएको कुरा मलाई बताउनुभयो। उहाँले मलाई प्रस्थान २०:४, ५ पढेर सुनाउनुभयो। त्यहाँ मूर्ति बनाउनु हुँदैन भनिएको छ। पद ५ मा यस्तो लेखिएको छ: “तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू किनकि म यहोवा तिमीहरूका परमेश्‍वर मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ।” त्यसपछि भिनाजुले मलाई सोध्नुभयो, “यदि परमेश्‍वरले चमत्कारहरू गर्न मूर्तिहरू प्रयोग गर्नुहुन्छ वा उहाँको उपासनामा हामीले मूर्तिहरू प्रयोग गरेको चाहनुहुन्छ भने किन मूर्तिहरू नबनाउनू भन्‍ने आज्ञा दिनुहुन्थ्यो होला र?” यो प्रश्‍न सुनेपछि म झन्‌ सोच्न बाध्य भएँ। त्यसपछि हामीले बाइबलका विभिन्‍न विषयहरूमा छलफल गऱ्‍यौँ। मलाई यस्ता कुराकानी गर्न यति रमाइलो लाग्थ्यो कि समय बितेको पत्तै हुँदैनथ्यो।

 पछि उहाँले मलाई यहोवाका साक्षीहरूको सभामा लैजानुभयो। मैले त्यहाँ देखेको र सुनेको कुराले धेरै मन छोयो। त्यहाँका जवान व्यक्‍तिहरूले कार्यक्रममा भाग लिएको र मञ्चबाट सर्र बोलेको देखेँ। यो देख्दा ‘ओहो! यहाँ मानिसहरूले कस्तो राम्रो शिक्षा पाउँदा रहेछन्‌!’ जस्तो लाग्यो। मेरो लामो कपाल अनि लथालिङ्‌ग हालत देखे तापनि साक्षीहरूले मलाई न्यानो स्वागत गर्नुभयो। एउटा परिवारले सभापछि खाना खानसमेत बोलाउनुभयो!

 साक्षीहरूसँग बाइबल अध्ययन गर्दा यहोवा परमेश्‍वर हाम्रो आर्थिक, सामाजिक, जातीय वा शैक्षिक पृष्ठभूमि जस्तोसुकै भए तापनि हामी सबैलाई माया गर्ने बुबा हुनुहुन्छ भनेर सिकेँ। उहाँ कसैको पक्षपात गर्नुहुन्‍न। (प्रेषित १०:३४, ३५) मेरो आध्यात्मिक आवश्‍यकता बल्ल पूरा भयो। मेरो निराशा बिस्तारै हट्‌न थाल्यो र म खुसी हुन थालेँ।

मैले कसरी लाभ उठाएको छु?

 मेरो जीवनमा आमूल परिवर्तन हुन थाल्यो। मैले चुरोट खान, रक्सी धेरै पिउन अनि फोहोर बोली बोल्न छोडेँ। सानो छँदादेखि मेरो मनमा खेलिरहेका तीता भावनाहरू हराउन थाले र डरलाग्दा सपनाहरू पनि देख्न छोडेँ। सानो छँदा भोग्नुपरेका कठिनाइहरूले अनि त्यत्ति धेरै नपढेकोले गर्दा म आफूलाई तुच्छ ठान्थेँ। तर अब भने यस्ता नकारात्मक सोचाइले मलाई पिरोल्दैन।

 यहोवालाई प्रेम गर्ने र मलाई धेरै सहयोग गर्ने मायालु श्रीमती पाएको छु। अहिले म यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्दै छु। म मण्डलीहरूमा भ्रमण गर्दै मेरो आध्यात्मिक परिवारका भाइबहिनीलाई प्रोत्साहन दिने र सिकाउने काम गर्छु। मेरो भावनात्मक चोट निको पार्न बाइबलले दिएको मदत र यहोवा परमेश्‍वरले दिनुहुने उत्तम शिक्षाको लागि म कृतज्ञ छु। अब भने म आफूलाई बेकामको ठान्दिनँ।

मैले मदत पाएझैँ म र मेरी श्रीमती पनि अरूलाई मदत गर्न पाउँदा रमाउँछौ