सीधै सामग्रीमा जाने

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—बुल्गेरिया

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—बुल्गेरिया

 बुल्गेरियाका यहोवाका साक्षीहरू मानिसहरूलाई परमेश्‍वर र उहाँको वचन बाइबलबारे सत्य कुरा सिकाउन जोडतोडले लागिरहेका छन्‌। सन्‌ २००० देखि बुल्गेरियाका साक्षीहरूलाई यस काममा सघाउन अरू देशबाट सयौँ साक्षी त्यहाँ सरेका छन्‌। विदेशमा बसाइँ सर्दा कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ? यस्तो प्रयास किन खेर जाँदैन? बुल्गेरियामा बसाइँ सरेका केही भाइबहिनीको अनुभव विचार गरौँ।

लक्ष्य राख्ने

 इङ्‌गल्यान्डका ड्यारेनले यसो भने: “आवश्‍यकता धेरै भएको देशमा सेवा गर्ने हाम्रो पहिल्यैदेखि लक्ष्य थियो। डनसित विवाह भएपछि हामी रूसी भाषाको इलाकामा सघाउन लन्डनमा सऱ्‍यौँ। केही पटक त हामीले विदेशमा बसाइँ सर्न केही खास योजना पनि बनायौँ तर विभिन्‍न कारणले गर्दा हामी जान सकेनौँ। हामीले बसाइँ सर्ने कुरा सोच्नै छोडिसकेका थियौँ तर एक जना साथीले हाम्रो परिस्थिति परिवर्तन भइसकेकोले त्यो लक्ष्य हासिल गर्न सक्छौँ भनेर सम्झाए।” त्यसपछि ड्यारेन र डनले बाइबल शिक्षकहरूको आवश्‍यकता धेरै भएको देश खोज्न थाले अनि त्यस्तै एउटा देश बुल्गेरिया रहेछ भनेर थाह पाएपछि २०११ मा त्यहाँ सरे।

ड्यारेन र डन

 सुरुमा विदेशमा सेवा गर्ने लक्ष्य नभएका भाइबहिनीले अर्को देशमा बसाइँ सरेर आनन्दित भई सेवा गरिरहेका भाइबहिनीको अनुभवबाट प्रोत्साहन पाए। इटालीका लुका र जाडाले पनि त्यस्तै प्रोत्साहन पाए। जाडाले यसो भनिन्‌: “मैले दक्षिण अमेरिका र अफ्रिकामा आनन्दित भई सेवा गरिरहेका केही जोसिला साक्षीलाई भेटेँ। उहाँहरूको आनन्द देखेर अनि अनुभव सुनेर मेरो मनै छोयो। त्यसपछि मैले आफ्ना आध्यात्मिक लक्ष्यहरू छाँटकाँट गरेँ।”

लुका र जाडा

 सन्‌ २०१५ मा टोमास र भेरोनिका आफ्ना दुई छोराछोरी क्लारा र मात्तियासलाई लिएर चेक गणतन्त्रबाट बुल्गेरियामा बसाइँ सरे। यसो गर्न तिनीहरूलाई केले उत्प्रेरित गऱ्‍यो? टोमासले यस्तो जवाफ दिए: “हामीले विदेशमा बसाइँ सरेका भाइबहिनीहरू र हाम्रो आफ्नै आफन्तहरूको उदाहरण विचार गऱ्‍यौँ र तिनीहरूमध्ये कसै-कसैको अनुभवमा गहिरिएर मनन गऱ्‍यौँ। उहाँहरूको आनन्द देखेर हाम्रो मनै छोयो अनि हामीले घरमा यसबारे कुराकानी पनि गऱ्‍यौँ।” अहिले टोमासको परिवार बुल्गेरियाको मोन्टाना सहरमा आनन्दित भई सेवा गर्दै छ।

क्लारा, टोमास, भेरोनिका र मात्तियास

 बुल्गेरियामा सरेकी अर्को साक्षी लिन्डा हुन्‌। तिनले यसो भनिन्‌: “धेरै वर्षअघि म इक्वेडर घुम्न गएकी थिएँ। मैले त्यहाँ बसाइँ सरेर आएका केही भाइबहिनीलाई भेटेँ। उहाँहरूको अनुभव सुन्दा म पनि कुनै दिन आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सर्छु भन्‍ने सोचाइ आयो।” फिनल्याण्डका एक दम्पती पेटेरि र नाड्याले पनि आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्ने भाइबहिनीको उदाहरणहरू मनन गरे। तिनीहरूले यसो भने: “हाम्रा मण्डलीमा मानिसहरूलाई आध्यात्मिक रूपमा मदत गर्न पहिला अर्को देशमा सरेका केही भाइबहिनी हुनुहुन्थ्यो। उहाँहरू यस्तो सेवामा बिताएका वर्षहरूबारे सधैँ उत्साहित भएर कुरा गर्नुहुन्थ्यो। ती वर्षहरू आफ्नो जीवनको सबैभन्दा रमाइला वर्षहरू थिए भनेर उहाँहरू बताउने गर्नुहुन्थ्यो।”

लिन्डा

नाड्या र पेटेरि

अग्रिम तयारी

 विदेशमा सेवा गर्न चाहनेहरूले राम्रो योजना बनाउनु आवश्‍यक छ। (लुका १४:२८-३०) बेल्जियमकी नेलाले यसो भनिन्‌: “विदेशमा सेवा गर्नेबारे मैले अझ गम्भीरतापूर्वक सोच्न थालेपछि यसबारे प्रार्थना गरेँ र हाम्रा प्रकाशनहरूमा यही विषयसित सम्बन्धित लेखहरू खोजेँ। मैले ती लेखहरू राम्रोसित अध्ययन गरेँ र बसाइँ सर्न के-कस्तो तयारी गर्नुपर्छ भनेर पत्ता लगाउने कोसिस गरेँ।”

नेला (दायाँ)

 पोल्याण्डका क्रिस्टियन र इर्मिनाले बुल्गेरियामा सेवा गरेको नौ वर्षभन्दा धेरै भइसक्यो। बसाइँ सर्नुअघि पोल्याण्डकै बुल्गेरियन भाषा समूहमा उपस्थित हुँदा धेरै मदतकारी भएको तिनीहरूले महसुस गरे। त्यस समूहका भाइबहिनीले तिनीहरूलाई प्रोत्साहन दिए र भाषा सिक्न पनि मदत गरे। क्रिस्टियन र इर्मिनाले यसो भने: “यहोवाको सेवा गर्न तयार हुँदा उहाँले हाम्रा आवश्‍यकताहरू सधैँ पूरा गरिदिनुहुन्छ भनेर हामीले अनुभव गऱ्‍यौँ र यो साँच्चै आशिष्‌को कुरा हो। ‘म हाजिर छु! मलाई पठाउनुहोस्‌!’ भन्‍ने मनोवृत्ति राख्यौँ भने असम्भव जस्तो लागेको काम पनि गर्न सक्नेछौँ।”—यसैया ६:८.

क्रिस्टियन र इर्मिना

 स्वीट्‌जरल्याण्डका एक दम्पती रेटा र कर्निलियाले विदेशमा बसाइँ सर्नको लागि तयारी गर्न र पैसा जम्मा गर्न सरल जीवन बिताउने निर्णय गरे। तिनीहरूले यसो भने: “बुल्गेरियामा सर्नुभन्दा एक वर्षअघि त्यो देश कस्तो रहेछ भनेर हेर्न हामी एक हप्ताको लागि त्यहाँ गयौँ अनि एक जना अनुभवी मिसनरी दम्पतीसित पनि कुराकानी गऱ्‍यौँ। उहाँहरूले हामीलाई व्यावहारिक सुझावहरू पनि दिनुभयो।” रेटा र कर्निलियाले ती सुझावहरू लागू गरे। तिनीहरूले बुल्गेरियामा सेवा गरेको अहिले २० वर्षभन्दा धेरै भइसक्यो।

छोराहरू लुका र यानिकसँग कर्निलिया र रेटा

चुनौतीहरूको सामना गर्दै

 विदेशी भूमिमा बसाइँ सर्नेहरू त्यहाँको रहनसहनमा घुलमिल हुनुपर्ने हुन्छ र अरू थुप्रै नयाँ परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। (प्रेषित १६:९, १०; १ कोरिन्थी ९:१९-२३) थुप्रैको लागि एउटा ठूलो चुनौती भनेको नयाँ भाषा सिक्नु हो। अगाडि उल्लेख गरिएका लुकाले भने: “सभामा आफ्नै शब्दमा टिप्पणीहरू दिन हामीलाई रमाइलो लाग्थ्यो। तर म र मेरी श्रीमतीलाई बुल्गेरियन भाषामा एउटा सजिलो टिप्पणी बनाउन पनि साह्रै गाह्रो हुन्थ्यो। हामी फेरि एकचोटि बच्चाजस्तै हुनुपरेको थियो। भन्‍ने नै हो भने यहाँका केटाकेटीले हामीले भन्दा राम्रो टिप्पणी दिन्थे।”

 जर्मनीका रेभिलले यसो भने: “नयाँ भाषा सिक्नु साह्रै थकाइलाग्दो कुरा हो। तर म आफैलाई यसरी सम्झाउने गर्थेँ, ‘गल्ती हुँदा ज्यादै चिन्ता नगर, बरु हाँस्न सिक।’ म चुनौतीहरूलाई समस्याको रूपमा होइन, यहोवालाई चढाउने पवित्र सेवाको भागको रूपमा हेर्छु।”

रेभिल र लिली

 अगाडि उल्लेख गरिएकी लिन्डाले यसो भनिन्‌: “मलाई नयाँ भाषा सिक्न गाह्रो लाग्छ अनि बुल्गेरियन भाषा सिक्न त्यत्ति सजिलो छैन। कति पटक त मैले हार मानिसकेकी थिएँ। अरूलाई आफ्नो कुरा बताउन नसक्दा र उनीहरूले भनेको कुरा नबुझ्दा साह्रै एक्लो महसुस हुँदो रहेछ। मैले आध्यात्मिक रूपमा बलियो भइरहन सबै प्रकाशन स्विडिस भाषामा पढ्‌ने गर्थेँ। तर मेरो प्यारो भाइबहिनीको मदत पाएर म यो भाषाको पर्खाल भत्काउन सफल भएँ।”

 अर्को चुनौती भनेको कसै-कसैलाई घरको यादले सताउन सक्छ। तिनीहरूले आफ्ना आफन्त र साथीभाइलाई छोडेर आएका हुन्छन्‌। आफ्नो श्रीमान्‌ यानिससँगै बुल्गेरियामा सरेकी इभाले यसो भनिन्‌: “सुरु-सुरुमा मलाई एक्लो महसुस हुन्थ्यो। त्यसैले हामी बेलाबेलामा परिवार र साथीहरूसित कुरा गर्थ्यौँ अनि हामीले यहाँ नयाँ साथीहरू पनि बनायौँ।”

यानिस र इभा

 बसाइँ सर्दाका अरू चुनौती पनि छन्‌। स्वीट्‌जरल्याण्डबाट बसाइँ सरेका रोबर्ट र लियानाले यसो भने: “नयाँ भाषा सिक्नु र नयाँ रहनसहनमा घुलमिल हुनु हाम्रो लागि ठूलो चुनौती थियो। यहाँ यत्ति जाडो होला भनेर हामीले सोचेकै थिएनौँ।” तर यस दम्पतीले सकारात्मक मनोवृत्ति कायम राखेकोले र हँसीमजाक गर्ने गरेकोले विगत १४ वर्षदेखि बुल्गेरियामा वफादार भई सेवा गर्न सकेका छन्‌।

रोबर्ट र लियाना

आशिष्‌हरू

 लिली अरूलाई पनि आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सर्न प्रोत्साहन दिन्छिन्‌। तिनले भनिन्‌: “म आफ्नै देशमा बसेर यहोवाको सेवा गरिरहेकी भए सायद यत्ति राम्ररी उहाँको मदत अनुभव गर्न पाउने थिइनँ। म अहिले अरूलाई मदत गर्ने काममा व्यस्त छु र म आफैले पनि आध्यात्मिक रूपमा उन्‍नति गर्न सकेकी छु। म आनन्दित र सन्तुष्ट पनि छु।” तिनका श्रीमान्‌ रेभिल पनि तिनको कुरामा सहमत छन्‌। उनले यसो भने: “योजस्तो उत्तम जीवन अरू छैन। मैले विभिन्‍न देशका जोसिला भाइबहिनीलाई चिन्‍न पाएको छु। उहाँहरू बाइबलको सत्य सिकाउने सन्दर्भमा निकै अनुभवी हुनुहुन्छ। मैले उहाँहरूबाट धेरै कुरा सिकेको छु।”

 थुप्रैले इच्छुक मनोवृत्ति देखाएकोले र बसाइँ सर्न तयार भएकोले ‘राज्यको सुसमाचार सारा पृथ्वीभरि’ फैलाउन सम्भव भएको छ। (मत्ति २४:१४) आत्मत्यागी मनोभाव देखाउँदै बुल्गेरियामा सरेका भाइबहिनीले यहोवाले तिनीहरूको सबै इच्छा पूरा गर्नुभएको र तिनीहरूको सबै योजना सफल बनाइदिनुभएको अनुभव गर्न सकेका छन्‌।—भजन २०:१-४.