सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरूको खर्च कसरी बेहोरिन्छ?

यहोवाका साक्षीहरूको खर्च कसरी बेहोरिन्छ?

 विशेषगरि यहोवाका साक्षीहरूले दिएको स्वैच्छिक अनुदानद्वारा नै हाम्रो विश्‍वव्यापी प्रचारकार्यको खर्च बेहोरिन्छ। a हाम्रा सभाभवनहरूमा अनुदान बाकसहरू राखिएका हुन्छन्‌। साथै अनुदान दिने अरू तरिकाहरू अनुदान पृष्ठमा उल्लेख गरिएका छन्‌। उक्‍त पृष्ठमा अनुदान दिन चाहने व्यक्‍तिले विश्‍वव्यापी कार्य, स्थानीय मण्डलीको खर्च वा दुवै शीर्षकमा अनुदान दिन सक्नेगरि विकल्पहरू पनि दिइएका छन्‌।

 यहोवाका साक्षीहरूबाट दशांश वा तिनीहरूको आम्दानीको केही प्रतिशत वा निश्‍चित रकम अनुदानको रूपमा दिएको आशा गरिँदैन। (२ कोरिन्थी ९:७) हामी सभाहरूमा चन्दा उठाउने वा सभामा भाग लिएबापत शुल्क उठाउने गर्दैनौँ। साथै हामी बप्तिस्मा, अन्त्येष्टि, विवाह वा अरू धार्मिक गतिविधिहरू गराएबापत सेवा शुल्क पनि उठाउँदैनौँ। खानेकुरा वा सामान बेचेर, मेला महोत्सव, बिंगो गेम, भोज आयोजना गरेर, चिट्ठा खेलाएर वा त्यस्तै किसिमको कुनै गतिविधिद्वारा हामी चन्दा सङ्‌कलन गर्ने गर्दैनौँ। अनि चन्दा दिनको लागि अरूलाई दबाब पनि दिने गर्दैनौँ। अनुदान दिने व्यक्‍ति र तिनले दिएको अनुदानको जानकारी हामी गोप्य राख्छौँ। (मत्ति ६:२-४) हाम्रो कुनै व्यापारिक उद्देश्‍य नभएकोले हाम्रो वेबसाइट र प्रकाशनहरूमा हामी विज्ञापनहरू राख्दैनौँ।

 यहोवाका साक्षीहरूको हरेक मण्डलीमा मासिक लेखा रिपोर्ट प्रस्तुत गरिन्छ र त्यहाँ जो-कोही पनि उपस्थित हुन सक्छन्‌। साथै मण्डलीलाई प्राप्त भएका अनुदानहरूको सदुपयोग भइरहेको छ कि छैन भन्‍ने कुरा पक्का गर्न हरेक मण्डलीमा बेला-बेला लेखा परीक्षण पनि गरिन्छ।—२ कोरिन्थी ८:२०, २१.

अनुदान दिने तरिकाहरू

  •   अनुदान बाकसहरू: तपाईँ सभाभवन, सम्मेलन भवन र हाम्रो सभा हुने ठाउँहरूमा राखिएका अनुदान बाकसमा नगद वा चेक खसाल्न सक्नुहुन्छ।

  •   अनलाइन अनुदान: धेरै देशमा “यहोवाका साक्षीहरूलाई अनुदान दिने” भन्‍ने पृष्ठमा गएर क्रेडिट कार्ड, डेबिट कार्ड, बैङ्‌क ट्रान्सफर र अन्य इलेक्ट्रोनिक माध्यमहरूद्वारा अनुदान दिन सकिन्छ। b केही साक्षीहरू यी तरिकाहरू प्रयोग गरेर हरेक महिना अनुदान दिन ‘केही छुट्ट्याएर राख्ने’ गर्छन्‌।—१ कोरिन्थी १६:२.

  •   परोपकारी योजना: केही किसिमका अनुदानहरूको लागि दाताले अग्रिम योजना बनाउनु र/अथवा कानुनी परामर्शदातासित सल्लाह लिनु आवश्‍यक पर्न सक्छ। त्यस्तो अनुदान दिँदा तपाईँले आफ्नो देशमा कर छुटको सुविधा पनि पाउन सक्नुहुन्छ। धेरैले आफू जीवित छँदै वा आफ्नो शेषपछि लागू हुनेगरि कसरी अनुदान दिन सकिन्छ भन्‍ने जानकारी पाएकोले राम्रो योजना बनाउन सकेका छन्‌। यदि तपाईँ पनि निम्न तरिकाहरूमा कसरी अनुदान दिन सकिन्छ भनेर बुझ्न चाहनुहुन्छ भने कृपया यहोवाका साक्षीहरूको स्थानीय शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्‌:

    •   बैङ्‌क खाता

    •   बिमा तथा पेन्सन/सञ्चय कोष

    •   घरजग्गा

    •   ऋणपत्र तथा बन्ड

    •   इच्छापत्र तथा कोष

 तपाईँको देशमा अनुदान दिने के-कस्ता तरिकाहरू उपलब्ध छन्‌ भन्‍ने कुरा थाह पाउन “यहोवाका साक्षीहरूलाई अनुदान दिने” पृष्ठ हेर्नुहोस्‌।

a केही गैर-साक्षीहरू पनि हाम्रो कामको लागि अनुदान दिन पाउँदा खुसी हुन्छन्‌।

b थप जानकारीको लागि इलेक्ट्रोनिक माध्यमद्वारा अनुदान दिने तरिका भन्‍ने भिडियो हेर्नुहोस्‌।