सीधै सामग्रीमा जाने

शास्त्रपदको व्याख्या

रोमी १०:१३—“प्रभुको नाउँ पुकार्ने”

रोमी १०:१३—“प्रभुको नाउँ पुकार्ने”

 “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”—रोमी १०:१३, नयाँ संसार अनुवाद।

 “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”—रोमी १०:१३, नयाँ संशोधित संस्करण।

रोमी १०:१३ को अर्थ

 परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। उहाँले सबै राष्ट्र, जाति र सामाजिक पृष्ठभूमिका मानिसलाई उद्धार पाउने र सधैँभरि बाँच्न सकिने जीवन पाउने मौका दिनुभएको छ। तर त्यसको लागि हामीले सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाको नाम पुकार्नुपर्छ। aभजन ८३:१८.

 बाइबलमा प्रयोग गरिएको ‘यहोवा नाम पुकार्नु’ भन्‍ने अभिव्यक्‍तिले उहाँको नाम थाह पाउनु र उपासनामा त्यो नाम प्रयोग गर्नु भन्‍ने अर्थ मात्र त दिँदैन। (भजन ११६:१२-१४) बरु यसमा उहाँमाथि भरोसा गर्नु र उहाँसित मदत माग्नु समावेश छ।—भजन २०:७; ९९:६.

 परमेश्‍वरको नाम येसु ख्रिष्टको लागि महत्त्वपूर्ण थियो। उहाँले चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुँदा सुरुमै यसो भन्‍नुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।” (मत्ति ६:९) हामीले सधैँभरि बाँच्ने जीवन पाउनको लागि परमेश्‍वरलाई चिन्‍नुपर्छ, उहाँको आज्ञा पालन गर्नुपर्छ र उहाँलाई प्रेम गर्नुपर्छ भनेर पनि येसुले बताउनुभयो।—युहन्‍ना १७:३, ६, २६.

 नयाँ संशोधित संस्करण-को रोमी १०:१३ मा प्रयोग गरिएको “प्रभु” भन्‍ने शब्दले यहोवालाई सङ्‌केत गर्छ भनेर हामी किन भन्‍न सक्छौँ? किनकि त्यो पद योएल २:३२ बाट उद्धरण गरिएको हो। पुरातन हिब्रू पाण्डुलिपिमा हेर्ने हो भने त्यस ठाउँमा “प्रभु” भन्‍ने उपाधि नभई परमेश्‍वरको नाम नै प्रयोग गरिएको छ। b

रोमी १०:१३ को प्रसङ्‌ग

 रोमी अध्याय १० अनुसार कुनै व्यक्‍तिले यहोवाको अनुमोदन पाउँछ कि पाउँदैन भन्‍ने कुरा तिनी येसुमा विश्‍वास गर्छन्‌ कि गर्दैनन्‌ भन्‍ने कुरामा निर्भर हुन्छ भनी बाइबल सिकाउँछ। (रोमी १०:९) पुरानो नियम भनिने बाइबलको भागका अरू पदले यो कुरालाई समर्थन गर्छ। कुनै व्यक्‍तिले सुसमाचार “जनसमक्ष घोषणा गरेर” आफ्नो विश्‍वास प्रकट गर्न सक्छन्‌, जसमा मानिसहरूलाई उद्धारको सन्देश बताउनु पनि समावेश छ। नतिजास्वरूप मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मौका पाउँछन्‌ र यसले गर्दा तिनीहरूको लागि पनि सधैँभरि बाँच्ने जीवनको ढोका खुल्नेछ।—रोमी १०:१०, १४, १५, १७.

रोमी अध्याय १० पढ्‌नुहोस्‌ अनि त्यहाँ भएका फुटनोटहरू र मार्जिनल रेफरेन्सका शास्त्रपदहरू पनि पढ्‌नुहोस्‌।

a पुरातन बाइबल पाण्डुलिपिहरूमा परमेश्‍वरको नाम ७ हजार पटक प्रयोग गरिएको छ। यो नाम चार वटा हिब्रू व्यञ्जनमा लेखिन्छ, जसलाई टेट्राग्रामटन भनिन्छ। साधारणतया नेपाली भाषामा यस नामलाई “यहोवा” भनी अनुवाद गरिन्छ। तर कतिपय बाइबलविद्‌ले यसलाई “यहवे” भनेर अनुवाद गर्न रुचाउँछन्‌।

b ख्रिष्टियन बाइबल लेखकहरूले “पुरानो नियम”-बाट उद्धरण गरेका ठाउँहरूमा परमेश्‍वरको नाम प्रयोग गरेको जस्तो देखिन्छ। दी एङ्‌कर बाइबल डिक्सनरी-मा यस्तो लेखिएको छ: “नयाँ नियमका किताबहरू लेखिँदा जहाँ-जहाँ पुरानो नियमबाट उद्धरण गरियो, ती भागहरूमध्ये केही ठाउँमा वा सबै ठाउँमा टेट्राग्रामटन अर्थात्‌ परमेश्‍वरको नाम याहवे थियो भनेर केही प्रमाणहरूले देखाउँछ।” (खण्ड ६, पृष्ठ ३९२) थप जानकारीको लागि नयाँ संसार अनुवाद बाइबलको “ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्‍वरको नाम” अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।