सीधै सामग्रीमा जाने

शास्त्रपदको व्याख्या

गन्ती ६:२४-२६—“परमप्रभुले तिमीहरूलाई आशिष्‌ दिऊन्‌ र तिमीहरूलाई रक्षा गरून्‌”

गन्ती ६:२४-२६—“परमप्रभुले तिमीहरूलाई आशिष्‌ दिऊन्‌ र तिमीहरूलाई रक्षा गरून्‌”

 “यहोवा परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्‌ र तिमीहरूको रक्षा गरून्‌। यहोवा परमेश्‍वरको मुहार तिमीहरूमाथि चम्कोस्‌ र उहाँले तिमीहरूमाथि निगाह देखाऊन्‌। यहोवा परमेश्‍वरले आफ्नो मुहार तिमीहरूतर्फ फर्काऊन्‌ र तिमीहरूलाई शान्ति देऊन्‌।”​—गन्ती ६:२४-२६, नयाँ संसार अनुवाद।

 “परमप्रभुले तिमीहरूलाई आशिष्‌ दिऊन्‌ र तिमीहरूलाई रक्षा गरून्‌। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊन्‌, र तिमीहरूलाई अनुग्रह गरून्‌। परमप्रभुले आफ्नो चेहरा तिमीमाथि प्रकाश गरून्‌, र तिमीहरूलाई शान्ति दिऊन्‌।”​—गन्ती ६:२४-२६, नयाँ संशोधित संस्करण।

गन्ती ६:२४-२६ को अर्थ

 यी शब्दहरूलाई हारुनको आशिष्‌ अर्थात्‌ पुजारीवर्गले दिने आशिष्‌ भनिन्छ किनभने हारुन इस्राएलका प्रथम प्रधानपुजारी थिए। (प्रस्थान २८:१) यस आशिष्‌को स्रोत परमेश्‍वर नै हुनुहुन्छ। (गन्ती ६:२२, २३) उहाँले मोसालाई यसो भन्‍नुभयो: “हारुन र तिनका छोराहरूलाई यसो भन, ‘तिमीहरूले इस्राएलीहरूलाई यस्तो आशिष्‌ दिनू।’” त्यसपछि उहाँले गन्ती ६:२४-२६ मा पाइने शब्दहरू भन्‍नुभयो। वफादार पुजारीहरूले परमेश्‍वरको त्यो आज्ञा पालन गरे। तिनीहरूले यहोवा a नामको पनि महिमा गरे। पद २७ मा यस्तो लेखिएको छ: “अनि पुजारीहरूले मेरो नाम लिएर इस्राएलीहरूलाई आशिष्‌ देऊन्‌ र म ती इस्राएलीहरूलाई आशिष्‌ दिनेछु।”

 “यहोवा परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्‌ र तिमीहरूको रक्षा गरून्‌।” यहोवा आफ्ना उपासकहरूलाई सुरक्षा, डोऱ्‍याइ र सफलता दिनुभएर आशिष्‌ दिनुहुन्छ। (हितोपदेश १०:२२) नेपाली भाषाका केही बाइबलको गन्ती ६:२४-२६ मा परमेश्‍वरले सम्पूर्ण इस्राएल राष्ट्रलाई समूहको रूपमा आशिष्‌ दिन चाहनुहुन्छ भन्‍ने अर्थ लाग्नेगरि बहुवचन रूप चलाइएको छ। तर मौलिक भाषाको बाइबलमा प्रयोग गरिएको अभिव्यक्‍तिले उहाँ इस्राएलीहरूलाई व्यक्‍तिविशेषको रूपमा पनि आशिष्‌ दिनुहुन्छ भन्‍ने अर्थ दिन्छ।

 “यहोवा परमेश्‍वरको मुहार तिमीहरूमाथि चम्कोस्‌ र उहाँले तिमीहरूमाथि निगाह देखाऊन्‌।” परमेश्‍वरलाई कसैमाथि उहाँको ‘मुहार चम्काउन’ बिन्ती गर्नुको अर्थ उक्‍त व्यक्‍तिमाथि निगाह देखाउन र तिनलाई अनुमोदन दिन आग्रह गर्नु हो। b यस वाक्यांशलाई यसरी पनि अनुवाद गर्न सकिन्छ: “परमप्रभु तिमीलाई देखेर मुस्कुराऊन्‌।” (गन्ती ६:२५, न्यु इन्टरनेसनल रिडर्स भर्जन) यहोवा आफ्ना सेवकहरूसित दयालु, करुणामय र कृपालु व्यवहार गर्नुभएर तिनीहरूमाथि निगाह देखाउनुहुन्छ।​—यसैया ३०:१८.

 “यहोवा c परमेश्‍वरले आफ्नो मुहार तिमीहरूतर्फ फर्काऊन्‌ र तिमीहरूलाई शान्ति देऊन्‌।” यहोवा आफ्ना उपासकहरूलाई मायालु चासो र शान्ति दिनुभएर तिनीहरूतर्फ ‘आफ्नो मुहार फर्काउनुहुन्छ।’ एउटा स्रोतसामग्रीअनुसार “शान्ति भनेर अनुवाद गरिएको हिब्रू शब्दले (सालोम) झैझगडा नभएको अवस्थालाई मात्र नभई शारीरिक र आध्यात्मिक रूपमा स्वस्थ र पूर्ण अवस्थालाई पनि बुझाउँछ।”

 यी पदहरूमा उल्लेख गरिएको आशिष्‌ पाउन इस्राएलीहरूले यहोवाको आज्ञा पालन गर्नुपर्थ्यो। (लेवी २६:३-६,) तिनीहरू आज्ञाकारी हुँदा उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। सुलेमान र हिजकियाहजस्ता राजाहरूको शासनकालमा इस्राएलीहरूले यहोवाबाट आशिष्‌ पाए।​—१ राजा ४:२०, २५; २ इतिहास ३१:९, १०.

 आज ख्रिष्टियनहरूले अरूको निम्ति प्रार्थना गरिदिँदा वा अरूलाई प्रोत्साहन दिँदा त्यस्तै अभिव्यक्‍तिहरू प्रयोग गर्न सक्छन्‌। (१ थिस्सलोनिकी ५:११, २५) यहोवा परिवर्तन हुनुभएको छैन। उहाँ सधैँ आफ्ना वफादार उपासकहरूलाई आशिष्‌ र सुरक्षा दिन चाहनुहुन्छ। यहोवाले साँचो ख्रिष्टियनहरूतर्फ आफ्नो “मुहार” फर्काएर तिनीहरूलाई अनुमोदन दिनुहुन्छ। यो कुरा थाह पाउँदा तिनीहरू शान्ति महसुस गर्छन्‌।

गन्ती ६:२४-२६ को प्रसङ्‌ग

 गन्तीको किताबको सुरुका १० वटा अध्यायमा यहोवाले इस्राएलीहरूलाई सिनै डाँडामा दिनुभएका निर्देशनहरू पाइन्छ। त्यतिबेला तिनीहरू प्रतिज्ञा गरिएको देशतर्फ जाँदै थिए। तिनीहरू झन्डै एक वर्ष त्यहाँ बस्दा यहोवाले तिनीहरूलाई एउटा राष्ट्रको रूपमा व्यवस्थित पार्नुभयो र तिनीहरूलाई केही नियम दिनुभयो, जुन पछि गएर व्यवस्थाको करार भनेर चिनियो।

 यहोवाले मोसालाई उहाँले पुजारीको रूपमा रोज्नुभएको हारुन तथा तिनका छोराहरूले इस्राएलीहरूलाई कसरी आशिष्‌ दिनुपर्छ भनेर पनि बताउनुभयो। (गन्ती ६:२२, २३) त्यो समयदेखि हारुन र तिनका सन्तानले इस्राएल राष्ट्रलाई गन्ती ६:२४-२६ मा उल्लेख गरिएको आशिष्‌ दिन थाले। समयको दौडान पुजारीले प्रत्येक दिनको अन्तिम बलिदान चढाउँदा यही आशिष्‌ दिने प्रचलन बन्यो।

 गन्तीको किताबको विषयवस्तुबारे बुझ्न यो छोटो भिडियो हेर्नुहोस्‌।

a यहोवा नेपाली भाषामा परमेश्‍वरको नाम हो, जुन हिब्रू भाषाबाट अनुवाद गरिएको हो। धेरैजसो बाइबल अनुवादमा परमेश्‍वरको नामको सट्टा “प्रभु”-जस्ता पदवीहरू प्रयोग गरिनुको कारणबारे बुझ्न “यहोवा को हुनुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

b अर्कोतर्फ इस्राएलीहरूले यहोवालाई मन नपर्ने काम गर्दा उहाँले तिनीहरूदेखि आफ्नो मुहार लुकाउनुभयो भनेर बाइबलमा बताइएको छ।​—यसैया ५९:२; मिका ३:४.

c न्यु इन्टरनेसनल भर्जन-को अध्ययन बाइबलअनुसार ती पदहरूमा परमेश्‍वरको नाम दोहोऱ्‍याइनुको कारण “त्यस नामलाई महत्त्व दिनु र [पद २७] को अभिव्यक्‍तिलाई जोड दिनु हो।” अर्कोतर्फ कसै-कसैले ती पदहरूमा परमेश्‍वरको नाम तीन पटक उल्लेख गरिनुले उहाँ त्रिएक हुनुहुन्छ भन्‍ने कुराको प्रमाण हो भनेर दाबी गर्छन्‌। तर तिनीहरूको दाबी सत्य होइन। त्रिएकलाई समर्थन गर्ने एउटा बाइबल स्रोतसामग्रीले के स्विकारेको छ भने त्यतिबेला पुजारीले परमेश्‍वरको नाम तीन पटक प्रयोग गरेर आशिष्‌ दिँदा “त्यो आशिष्‌ दिने पुजारी वा आशिष्‌ पाउने मानिसहरूको मनमा उहाँ त्रिएक हुनुहुन्छ भन्‍ने धारणा कदापि आएको थिएन। बरु तिनीहरूले आशिष्‌मा सुन्दरता र पूर्णता थपिएको महसुस गर्थे।” (द पुल्पिट कमेन्ट्री, खण्ड २, पृष्ठ ५२) थप जानकारीको लागि “के परमेश्‍वर त्रिएकको भाग हुनुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।